काजी श्रेष्ठ
राष्ट्रिय सहकारी महासंघ लि. नेपाल स्थापनाको ३ दशकपछि ओमदेवी मल्ल पहिलो महिला अध्यक्ष बन्न सफल भएकी छिन् । नेपालको सहकारी अभियानको शीर्षस्थ निकायमा पहिलो पटक महिला नेतृत्व निर्वाचित भएको छ । त्यो पनि सर्वसम्मत् । यो इतिहास उमेरले ५० वर्ष काटेपछि अनि सहकारी अभियानमा २५ वर्ष बिताएपछि बल्ल ओमदेवीले रचिन् ।
मुलुकभर छरिएका ३१ हजार ३ सय बढी सहकारी संस्था, करिब ७३ लाख बढी सदस्य, ९४ अर्ब सेयर पुँजी, पौने ४ खर्ब ७८ अर्ब बढी बचत र ४ खर्ब २६ अर्ब बढी ऋण परिचालन र झण्डै ९४ हजार प्रत्यक्ष रोजगारी सृजना गर्ने सहकारी क्षेत्रकै सर्वोच्च अभिभावक निकाय महासंघमा अन्तत् एक महिला अभियन्ताको प्रवेश भएको छ । भलै त्यसका लागि ३० वर्ष पर्खनुपर्यो । नेपालमा सहकारी अभियानको इतिहासको चर्चा गर्दा यसको औपचारिक जग बसेको ६७ वर्षपछि अभियानको नेतृत्व जनसंख्याको हिसाबले आधा आकाश बढी ढाक्ने महिलाको काँधमा सरेको छ ।
२०५० साल आषाढ ६ गते स्थापना भएको महासंघको २०८० पुस २७ र २८ गते ललितपुरमा सम्पन्न ३१औं वार्षिक साधारण सभाले मल्लको नेतृत्वमा २५ सदस्यीय (२४ निर्वाचित र एक पदेन) सञ्चालक समिति तथा भिम प्रसाद तुलाचनको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित गरेको छ । मल्ल महासंघको चौथो अध्यक्ष बनेकी छिन् । दिपक प्रसाद बास्कोटा, केशव बडाल, मिनराज कडेलपछि मल्लको पालो आएको छ । महासंघको इतिहास हेर्ने हो भने संस्थापक अध्यक्ष बास्कोटाले १७ वर्ष, बडालले १० वर्ष र कडेलले ४ वर्ष महासंघमा काम गरे । अब बल्ल पालो मल्लले पालो पाएकी छिन् । महासंघमा सञ्चालक, उपाध्यक्ष, बरिष्ठ उपाध्यक्ष पदमा रही १४ वर्ष काम गरिसकेकी उनी यो पटक अध्यक्ष बनेकी हुन् । २०५५ सालमा रिलायबल बचत तथा ऋण सहकारी संस्थाबाट सहकारी अभियान प्रवेश गरेकी उनलाई २५ वर्ष बिताएपछि बल्ल महासंघको ‘कुर्सी’ मिलेको छ । यद्यपि, यो कुर्सीका लागि उनले थुप्रै कुस्ती खेल्नुपर्यो भन्ने हामीले सहजै अनुमान लगाउन सक्छौं । सहकारी अभियानभित्र प्रभावशाली पुरुषहरुको भीडमा एउटा महिला अभियन्ता अभियानको शीर्ष नेतृत्वमा पुग्नु कम चुनौतीपूर्ण थिएन, उनले आफू पनि समानान्तर प्रभावी भएको पुष्टि गरेकी छिन् ।
हो, ओमदेवीले कुर्सी त पाइन् तर त्यो ‘घुमाउने’ कुर्सी आराम गर्नका लागि होइन, काम गर्नका लागि हो । त्यो कुर्सीमा कैयौं काँडाहरु छन् । ती काँडामाथि बसेर अथक र अनवरत संघर्षको अर्को इनिङ शुरु गर्नका लागि हो । समाधान र उत्तर खोज्नेहरुलाई विकल्पहरु दिनका लागि हो । कुर्सीले काम खोज्छ । कुर्सीले कर्तव्यनिष्ठा खोज्छ । कुर्सी ती सबै गर्नका लागि हो । कुर्सीसँग स्वाभाविक रुपमा मोह, प्रलोभन र स्वार्थ जोडिएर आउँछ तिनलाई पन्छाएर अघि बढ्नका लागि हो । सहकारी अभियानकी ओमदेवी ‘दिदी’ कुर्सीसँगै जोडिएका यी यावत् कुराहरुबाट बेखबर छिन् भन्ने आशय पक्कै होइन, स्मरण गराएको मात्रै हो ।
संविधानसभा सदस्य समेत रहेकी उनी यस अर्थमा ‘भाग्यमानी’ पनि ठहरिइन कि संविधान निर्माण जस्तो गुरुत्तर अभिभारा बहन गर्ने निक्कै कम व्यक्तित्वहरुमध्ये उनी उनी परिन् जो सहकारी क्षेत्रसँग सधै नजिक रहिन् । अनि, उनी राष्ट्रिय सभा सदस्य भएकै समयमा सहकारी ऐन २०७४ लागू समेत भएको थियो ।
अभियानमा उनको निरन्रताले महासंघको नेतृत्व सम्भव भएको हो । यसबीच राष्ट्रिय देखि अन्तर्राष्ट्रिय अभियानको स्वाद ओमदेवीले चाखिसकेकी छिन् । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) मा नेपाल गएर के पायो भनेर कसैले सोध्यो भने अरु उत्तर त नआउला तर ओमदेवीले महासंघको नेतृत्व पाइन भन्यो भने विलकुल गलत हुँदैन । किनकि उनको परिचय नै आईसीए ग्लोबल बोर्ड मेम्बर थियो । हुनत् व्याकरणका हिसाबले आईसीए ग्लोबल बोर्ड मेम्बर भनिरहनुपर्दैन, आईसीएको सञ्चालक भन्दा हुन्छ किनकि आईसीए भनेपछि आईसीए ग्लोबल नै पर्छ, आईसीएका अन्य चार संगठनलाई आईसीए एपी, आईसीए अमेरिकाज्, आईसीए अफ्रिकाज् र आईसीए युरोप भनिन्छ । बोर्ड मेम्बर भनेको अंग्रेजी शब्द हो त्यसको भावानुवाद सञ्चालक हो । जे होस्, २०१७ नोभेम्बर १७ को मलेशियाको क्वालालम्पुरको आईसीए निर्वाचनमा इतिहास रच्दै नेपालबाट पहिलो पटक सञ्चालक निर्वाचित भएकी मल्ल अन्ततः नयाँ अग्रेजी वर्ष २०२४ को शुरुवाती महिनामै महासंघको अध्यक्ष निर्विरोध निर्वाचित भइन् ।
महासंघको सत्तारोहण पक्कै सहज थिएन । अनौपचारिक कुराकानीमा ओमदेवी ‘बडाल सर र मिनराज सरले मलाई जसरी पनि अर्को पटक तपाई नै अध्यक्ष हो’ भनेर वचन दिएको कुरा घरीघरी व्यक्त गर्थिन् । तर राजनीतिमा वाचाहरु तोड्नकै लागि गरिन्छन् भन्ने युक्ति पनि बारम्बार प्रमाणित भएका छन् । यो पटक त्यसो भएन । यसका पछाडि मिनराजलाई पार्टीले कुनै विशेष जिम्मेवारी दिने गरी मल्ललाई महासंघमा अघि सार्ने निर्णय एमालेले गरेको बुझिएको छ ।
यो पटक महिला सहकारी अभियानकर्मीहरुका लागि ओमदेवीलाई अघि सार्दा लैङ्गिक सशक्तिकरण, समानता, समता, फेमिनिजम्देखि उमन पावरका विषयहरुपनि एकसाथै आए । ओमदेवीमा महिला अभियानकर्मीहरुले भोलिको आफू देखे । त्यो देख्नु राम्रो पनि हो । जेहोस् ओमदेवीले आशा जगाइन्, सम्भावना देखाइन र आशा र सम्भावनालाई संघर्षको बलमा एउटा टुङ्गोमा पुर्याएरै छोडिन् । तर, यो टुङ्गोबाट उनले मुक्ति पाउदिनन् अभियानलाई पनि टुङ्गोमा पुर्याउनै पर्ने दायित्व उनमा छ । त्यसबाट पन्छिने सुविधा उनलाई छैन । एक्लै बस्दा अत्यधिक गुनासो गरेपनि, सार्वजनिक समारोहहरुमा उनले आफूलाई सशक्तै ढंगले प्रस्तुत गर्दै आएकी छिन् । जुझारु पनि छिन् । निर्वाचनको केही दिनअघि सम्म के हो के हो भनेर आशंकामा रहेकी उनले बालकोटबाट बाजी मारिन् पनि ।
यो पटक नेफ्स्कूनमा बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल अध्यक्ष निर्वाचित भएको २० दिनपछि महासंघमा पनि बरिष्ठ उपाध्यक्ष मल्ल अध्यक्ष बनिन् । यो संयोग मात्रै थिएन । सत्तारुढ नेपाली कांग्रेस पक्षधर सहकारीकर्मीहरुको भित्रि चाहना मिनराज भन्दा मल्लनै थियो । यद्यपि, नेफ्स्कूनमा ढकाल चुनावमै जानुपर्यो महासंघमा ओमदेवी सर्वसम्मत भइन् । नेफ्स्कूनमा निर्वाचनको भूकम्पले महासंघमा पनि परकम्प गएकै थियो । सोही कारण निर्वाचन पूर्वको सहकारीखबरसँगको ‘एक्सक्लुसिभ’ अन्तर्वार्तामा मिनराज कडेलले ‘परिस्थितिका कारण धेरै विवाद मतमतान्तर गरेर जाने अवस्था छैन’ भनेका थिए । त्यो ‘परिस्थिति’ अरु केही नभएर नेफ्स्कूनको निर्वाचनले दिएको परिणाम नै थियो । नेफ्स्कूनमा चन्द्र ढकालले उठाएको नेतृत्व परिवर्तनको एजेण्डालाई अघि बढाएर महासंघको नेतृत्वमा पुग्न ओमदेवीलाई केही सहज भयो । त्यस्तै ढकालले बरिष्ठ उपाध्यक्ष अध्यक्ष हुँदै आएको उदाहरण दिइरहँदा महासंघमा मल्ललाई पनि त्यही उदाहरण दिन सजिलो भयो ।
हिजो ‘सिष्टर, तपाई नै अब महाहसंघको अध्यक्ष हो’ भनेर बाचा गराएका मिनराजलाई पनि निर्वाचनको सम्मुख बोलेको कुरा प्रमाणित गर्नुपर्ने बाध्यता सृजना भयो । बालकोटसँगको बहसमा उनले यही आधारलाई बार्गेनिङ पोइन्ट बनाए । यद्यपि, उनी टिकट पाउन लाइनमा बसेकै हुन् । ठेलम्ठेल गरेकै हुन् । तर, एमालेको सहकारी विभागबाट महासंघ अध्यक्षको बल बालकोटको बार्दलीमा पुगेपछि अवस्था परिवर्तन भयो । निर्वाचनमा ओमदेवीलाई बालकोटको मात्र होइन ब्रसेल्स र दिल्लीको पनि आर्शिवाद मिलेको थियो । यी समर्थनहरु उनले भित्रबाटै जुटाएकी थिइन् । तर, यसअघिको नेफ्स्कूनको लेखमा मैले भनेजस्तै, महासंघमा ओमदेवीको जित केवल सुरुवात मात्रै हो ।
एकपटक अहिलेको अवस्था विश्लेषण गरौं । महासंघको निर्वाचनमा जे जस्ता परिदृश्य देखियो त्यसले गर्दा सरकार र सहकारी अभियान आमनेसामने भएका छन् । महासंघको महासंग्राममा सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पत्रकार सम्मेलनै गरेर असन्तुष्टि व्यक्त गर्दै निर्वाचनमा भाग समेत लिएनन् । दलहरुको दलदलमा सहकारी अभियानको सेतो वस्त्र मैलियो । सरकार बनाउन बहुमतको तुजुक देखाउने काम जस्तो भएको छ । केही राम्रा र महासंघमा सामेल हुनुपर्ने अभियन्ताहरु राजनीति दाउपेचकै कारण छुटेका छन् ।
एक अभियन्ताले मसँग म्यासेन्जरमा पोखेको अभिमत यहाँ जस्ताको तस्तै राख्न चाहन्छु, ‘यो सरकार चलाउने कुरा होइन, सहकारी चलाउने कुरा हो । एमालेको मात्र सहभागिताले महासंघ राम्रो हुँदैन । सहमति, सहकार्य र एकतामा मात्र अभियान सुन्दर बन्छ ।’ उनको कुरोमा दम छ ।
प्रारम्भिक सहकारी संस्थादेखि सबैतहका सञ्जालहरुमा राजनीतिक दलहरुको अनावश्यक हस्तक्षेपले अभियान थिलथिलो भएको छ । सहकारी इतिहासमै पहिलोपटक महासंघमा यस्तो स्तरको राजनीतिक खिचातानी र सहकार्य, एकता अनि सहकारिता बिनाको सञ्चालक समिति सर्वसम्मत् भएको छ ।
महासंघ ‘मात्र एमालेहरुको अखडा’ भएको छ, उता सरकार गठबन्धनको छ । जसरी सरकारमा एमाले विपक्षमा छ, सहकारी अभियानको सत्तामा हुँदाहुँदै पनि महासंघ अब प्रतिपक्षी बेञ्चमा पुगेको छ । ‘प्रतिपक्षी’ अभियानले भनेका कुराहरु, उठाएका सवालहरु र छेडेका बहसहरु सरकारको सत्तापक्षले कसरी लेला भन्ने सामान्य चेत त सबैमा हुन्छ नै । त्यही भएर ओमदेवीलाई अहसज छ । फेरि सत्ता पक्षका कतिपय प्रभावशाली व्यक्तिहरु हिजो ओमदेवीले राजनीतिक आस्थासँग गरेको पारपाचुकेप्रति अझै रिस साँधेरै बसेका छन् । उनीहरुको त्यो तुष अझै बाँकी नै छ । त्यसमाथि नेपाली कंग्रेसका अर्थमन्त्री प्रकाश शरण महतले ‘एमालेको क्लब’ महासंघलाई किन रकम दिने भनेर चालु आर्थिक वर्षको बजेटमा ब्रेक लगाइदिए ।
महासंघको टीमको कुरा गरौं । आशा लाग्दो अनुहारहरु अत्यन्त न्यून छन् । टीम शसक्त छैन । अभियन्ता भन्दा एउटै दलका ‘क्याडर’हरु छानिएका छन् । एउटा संघको निर्वाचनमा भर्खरै पराजित भएकाहरुले समेत ‘बाको बक्सिस्’ पाएका छन् । यद्यपि, सञ्चालक समितिमा महिला सहभागिता भने बढेको छ, जुन नेफ्स्कूनको निर्वाचनमा पनि देखियो । महासंघको अघिल्लो कार्यकालमा भन्दा दुबै समितिमा गरेर ३ जना महिला बढी चुनिएका छन् । दुबै समितिमा गरेर अहिले १० जना महिला पुगेका छन् । सहभागिताको हिसाबले यो करिब ३६ प्रतिशत हो जुन एकदमै राम्रो हो । महासंघको इतिहासमा सम्भवतः यो नै अत्यधिक महिला सहभागिता हो । यो अर्को इतिहास हो । यसले केही सकारात्मक सन्देशका कामहरु पस्कन सक्नुपर्छ अनि महिला सहभागिताले नतिजामुखी अर्थ निकाल्दछ । किनभने, हामीले महिला राष्ट्रपति पाएकै हो, महिला प्रधानन्यायाधीश भोगेकै हो र महिला सभामुखलाई सुनेकै हो । उनीहरुको कार्यकालमा जनअपेक्षाका के कस्ता काम भए, के कस्ता समस्या समाधान भए, के कस्ता विवाद उत्पन्न भए, खेपेकै हो, त्यसैले महासंघमा महिला हुने बित्तिकै समस्याहरु ‘फू मन्तर चट’ हुने हैनन् । त्यति भन्दाभन्दै पनि, महिलाले नेतृत्व गरेका सहकारी संस्थाहरु सुशासित हुन्छन्, पारदर्शी हुन्छन्, विश्वासिलो हुन्छन् भन्ने एक प्रकारको भाष्य सहकारी अभियानमा निर्माण भएको छ । अब महासंघमा मल्लको सत्तारोहणकै कारण भोलिका दिनमा यो भाष्य परिवर्तन नहोस् । हामी चाहन्छौं महिलाले नेतृत्व गरेको महासंघ झन् बढी सुशासित छ, मर्यादित छ, इमानदार छ र पारदर्शी छ भन्ने ‘न्यारेटिभ’ ले जरा गाढोस् ।
अर्को परिदृश्य हेरौं । अब महासंघमा दुई महिला हाबी । दुबै महिला इतिहास रचेका । तर, दुई महिलासँग अभियानको डाडुपन्यु भएपछि अवस्था के होला भन्ने सहजै कल्पना गर्न सकिन्छ । उनीहरुलाई शंकाको सुविधा दिएपनि नेतृत्वदायी भूमिकाका दुई महिलाबीच दिगो सम्बन्धको परिकल्पना सायदै कसैले गर्छ । दुबैलाई नजिकबाट चिनेकाहरुलाई अरु केही भन्नैपर्दैन बस यतिमात्रै काफी छ ।
हिजो मिनराजले महासंघको नेतृत्व गर्दा धेरेले साँच्चै ‘धेरै’ अपेक्षा गरेका थिए । शिक्षण, राजनीति र सहकारीको लामो र ग्रासरुट तहको अनुभव, आस्थामा अडिग, राष्ट्रिय अन्तर्राष्ट्रिय सहकारी बुझाइ र काम, प्रारम्भिक संस्थामा एक दर्जन बढी बर्षको काम, जिल्ला संघको नेतृत्व, नेफ्स्कूनमा लामो समय स्वयंसेवा, अक्कूको द्धितिय र प्रथम उपाध्यक्ष, आईसीए एपीको सञ्चालक आदि भूमिका प्राप्त गरेका उनीबाट अभियानले आश गर्नु जायज पनि थियो । उनको समयमा केही काम भए तर धेरे बाँकी रहे । यसबीच अभियान तंरगित भयो । उनी केही बहकिए पनि । सबैलाई खुसी पार्न खोज्दा अन्ततः धेरै उनीसँग बेखुस भए । मिनराजको हकमा भएको त्यही हो । अब यो निर्वाचन पछि मल्ल महासंघ, मिनराज मलेखु भन्ने आँकलन गर्न लागिएको छ । मिसन ८४ का लागि उनी जिल्लामा गएर खट्ने र प्रतिनिधिसभा निर्वाचनमा पार्टीबाट टिकट पाएर जित्ने अभियानमा जोडिने बुझिएको छ ।
तर, ओमदेवीको अवस्था भने फरक छ । उनको प्रारम्भिक संस्थाको अवस्था नाजुक छ । अभियान सुरु गरेका रिलायबल ‘अनरिलायबल’ बन्यो, मर्ज भयो र अहिले प्राकृतिक साकोस बनेको छ तर त्यसको अवस्था पनि बलियो छैन अनि उनको पनि त्यहाँ भूमिका छैननै भन्दा हुन्छ । केवल सल्लाहकारमा सीमित छिन् । यता, महासंघमा प्रतिनिधि बनेको जिल्ला कृषि संघ नाम मात्रको छ । देखाउनलाई केही काम छैन । बचत ऋणबाट शुरु भएको उनको यात्राले महासंघको प्रतिनिधि बन्नकै लागि जिल्ला कृषि संघको सहारा लिन पुगेके जगजाहेर छ ।
उनमा गहिरो अध्ययन अनुसन्धानको अभाव छ । वाणीमा सरस्वतीको बास छैन । अन्तर्राष्ट्रिय सहकारी अभियानसँग नजिक रहेपनि विश्व अभियानको गहिराइमा पौडिन मार्न सकेकि छैनन् । उनले पौडी खेल्ने भनेको केबल ४ फिटमा मात्रै हो । अनि त्यही चार फिटलाई अधिकांश नेपालीले १२ फिटमा डाइभ हानेको मानेका मात्र हुन् । उनी स्वभावैले अस्थिर छिन् जुन बेलाबेलाका उनका पारिवारिक, राजनीतिक र सहकारी जीवनले दर्शाइसकेका छन् । नेपालबाट सहकारी विषयमा भारतबाट डिप्लोमा गर्ने उनी पहिलो सहकारी अभियन्ता त हुन् तर त्यो सर्टिफिकेटले न उनको संस्था बलियो बनायो न अभियानका ज्वलन्त समस्याहरुको समाधान पस्कियो । त्यसैले हिजोबाट पाठ सिकेर ओमदेवीले अब प्रारम्भिक संस्थालाई बलियो बनाउनुपर्छ, आफूले प्रतिनिधित्व गरेको जिल्ला संघलाई अभियानले देख्दासुन्दा छिः नभन्ने बनाउनुपर्छ । सबै दल र भावनाहरु मिलाएर लान सक्नुपर्छ । उनको टीममध्ये अधिकांशको प्रारम्भिक संस्थाको हरिबिजोग छ, जिल्ला संघ भोटको भकारी मात्र भएको छ । दुनियालाई देखाउने संस्था र संघ छैनन । उदाहरणीय संस्था र संघ छैनन । अन्तर्राष्ट्रिय अभियानमा काम गरेकी र सम्बन्ध सम्पर्क राम्रो बनाएकी मल्ललाई सम्झिएर नेपाल आउने विदेशीलाई अब उनले कुन संस्था र संघ भ्रमण गराउछिन् ? प्रश्न अहम् छ ।
यी विषयहरुको बोध उनमा हुनुपर्छ । हिजो जे जस्तो भएपनि, पुस २९ बाट उनले फरक ढंगले सोच्नुपर्छ । केवल ‘ओम देवी स्तुत्यै नमः’ भनेर अस्थिपञ्जर मात्र बाँकी रहेको अभियान अब अघि बढ्ने अवस्था छैन । नेफ्स्कूनका चन्द्र ढकाललाई झै उनलाई पनि एउटा अवसर प्राप्त भएको छ । चुनौतीहरुसँग पौठेजोरी खेल्दैं अवसरहरु सृजना गरेर सफलता खोज्ने हो भने असम्भव पक्कै छैन । उनीबाट सहकारीको साख जोगाउने, सदस्यहरुको बचत सुरक्षणको ग्यारेन्टी गर्ने, संस्थागत तथा व्यक्तिगत आचरण (सुशासन) सुधार गर्ने, सहकारीको व्यावसायिकीकरण गर्ने लगायत सहकारी ऐनको परिपालना, आवश्यक संशोधन, बाँझिएका कानूनहरु संशोधन लगायत थुप्रै कामहरु गर्ने अवसर छ ।
तर, महासंघ आफैले जो अगुवा उही बाटो ..भन्ने भनाइलाई गलत प्रमाणित गर्नुपर्छ । आफूले बनाएका मार्गनिर्देशनहरु पहिला आफैले पालना गरेर रोल मोडल बन्नुपर्छ ।
अन्त्यमा, यो पटकको महासंघको निर्वाचनको सं(वि)योग पनि कस्तो पर्यो भने राष्ट्रिय एकता दिवस तथा ३०२ औं पृथ्वी जयन्तीको दिन महासंघको ३१औं वार्षिक साधारण सभा थियो । एकता र एकीकरणको सन्देश दिनुपर्ने दिन महासंघको निर्वाचनले विभाजन र विग्रहको बिगुल फुक्यो । गोरखाका राजा पृथ्वी नारायण शाहले बाइसे र चौबिसे राज्यहरु एकीककरण गरेर सिङ्गो नेपाल निर्माण गरेका थिए, त्यही गोरखा (धुँवाकोट) की चेली ओमदेवीले भने एकीकरणको सन्देश दिन सकिनन् । त्यसैले यो अपशकुनलाई उनले कर्मको आभाले कसरी सकुन बनाउन सकिन्छन् त्यो हेर्न केही समय पर्खिनै पर्छ ।