१५ बैशाख २०८१, शनिबार

सहकारीमा नवीनतम प्रविधिमार्फत अबको डिजिटलाइजेसन सेवा

३० फाल्गुन २०८०, बुधबार
सहकारीमा नवीनतम प्रविधिमार्फत अबको डिजिटलाइजेसन सेवा

प्रयाप्त अभिलेख र प्रमाणको अभावमा नेपालको बैंकिङ प्रणालीको विकासको इतिहास पत्ता लगाउन निकै कठिन छ । तर पनि प्रारम्भिक कालमा साहु, महाजन, सुनार र व्यवसायीहरूले ऋण दिएर ब्याजको सट्टामा घिउ, अन्न लिने गर्दथे, जसको बैंकिङ प्रणालीको विकासको एउटा व्यवहारलाई देखाउँछ ।

राजा गुणकामदेवले जारी गरेको गुणाङ्क मुद्रामानदेवले जारी गरेको मानाङ्क चलनमा थियो । राजा शङ्करधर साख्वाले काठमाडौं र भक्तपुरका जनतालाई राज्यलाई तिर्नुपर्ने ऋण चुक्ता गरेर नेपाल सवंतको सुरुवात गरेका थिए ।

यसबाहेक जय प्रकाश मल्लले सुनको सिक्का, महेन्द्र मल्लले चाँदीको सिक्का, रत्न मल्लले तामाको सिक्काले पनि त्यस समयको पैसाको प्रयोगलाई देखाउँछ । त्यस पश्चात् सुन धितोमा जनतालाई ऋण उपलब्ध गराउन तेजरथ अड्डा स्थापना भएको इतिहास छ ।

१९९४ साल कात्तिक ३० गते नेपाल बैंकको स्थापनाले औपचारिक रुपमा बैंकिङ सेवाको सुरुवात भयो । त्यस पश्चात् २०१३ साल बैशाख १४ गते नेपाल राष्ट्र बैंकको स्थापना पश्चात् आधुनिक बैंकिङ प्रणालीको विकासमा सहजता प्रदान गरेको देखिन्छ । त्यसै समय चितवन जिल्लाको शारदानगरमा बखानसिंह गुरुङको नेत्वृत्वमा बखान सहकारी स्थापनामा भएको इतिहास छ ।

नेपालको बैंकिङ क्षेत्रको विकास विश्व बैंकिङ विकासभन्दा ढिलो सुरु भएता पनि सरकारको उदारीकरण सँगै द्रुत गतिमा विस्तार भएको बैंक तथा वित्तीय संस्था र सहकारीको संस्था, त्यसबाट सिर्जना भएको प्रतिस्पर्धा र एकै प्रकृतिको कार्यले नेपालको अर्थतन्त्रको आकारमा यति धेरै वित्तीय संस्था आवश्यक नरहेको र सख्यात्मक भन्दा पनि गुणात्मक रुपमा बिकास गर्ने गरि विश्लेषण सुरु गरे सँगै क, ख, ग, घ, वर्गका बैंक तथा वित्तीय संस्थालाई मर्जर प्राप्ति, पुँजी, वृद्धि नीति लिएको देखिन्छ । सहकारीमा हालै मात्र नियामक निकाय, सरकार र अभियानकर्मीले समेत सहकारीलाई गुणात्मक र सुशासनमा संचालन गर्ने गरि सघन अनुगमनसहित ऐन, कानुन संशोधन गर्न बहसको बिषय बनेको छ ।

पछिल्लो समय सुस्ताएको अर्थतन्त्रका कारण सहकारी क्षेत्रको साखमा समस्या देखिएको छ । केही ठुला सहकारीहरु समस्या आउँदा सहकारी प्रति जनमानसमा त्रास सृजना भएको छ । शहर केन्द्रीत, सुशासनमा संचालन नभएका, गलत सोच भएका मानिस संलग्न सहकारीमा समस्या आएको छ । साथै सहकारीमा आन्तरिक सुशासन, प्रविधिको प्रयोगको अज्ञानताले समेत समस्या निम्तायको छ । सहकारी आफैले उत्पादन गर्ने होइन । सदस्यलाई उत्पादन गर्न सहजिकरण गरि उद्यमी बनाउने हो । सहकारी स्वनियममा संचालन हुनुपर्दछ । तर विधि, विधान र कानुन भन्दा बाहिर हुने क्रियाकलापमा अन्य संचालक र कर्मचारी सहभागी हुनु हुँदैन तर दवाव र जागिरको बाध्यताले जुनुसुकै निर्देशन पनि मान्न तयार हुनुपर्ने अवस्था हाल केही सहकारीमा विद्यमान छ ।

नेपालको वित्तीय क्षेत्र ८ दशकको समयसम्म आइपुग्दा समेत डिजिटाइजेशनको हकमा भने वित्तीय क्षेत्र पछाडि नै छ । हाल विभिन्न फिनटेक कम्पनीहरूले भुक्तानीमा आधारित आर्थिक कारोबारलाई विस्तार गरि ग्राहक तथा सदस्यलाई सेवा प्रवाहमा अधिकतम सहजता प्रदान गरिरहेका छन् ।

नेपालमा वित्तीय क्षेत्रको डिजिटाइजेशन भनेको भुक्तानीमा आधारित आर्थिक कारोबारलाई मात्र लिने गरिन्छ तर डिजिटाइजेशन भनेको अटोमेशन र पेपर लेस कार्य पनि हो । वित्तीय संस्थाभित्र भुक्तानीको मात्र कार्य हुँदैन विभिन्न आन्तरिक कार्य, ग्राहक वा सदस्यसँग सेवा प्रवाहमा थुप्रै कागजी कार्यहरु हुने गर्दछन । त्यस्ता कामलाई कागजरहित बनाउनु नै वित्तीय क्षेत्रको डिजिटाइजेशन हो ।

अहिले पनि वित्तीय क्षेत्रमा कागजका दस्तोवेजहरु सुरक्षित राख्नुपर्ने कानूनी प्रावधान छ । तसर्थ, पहिले कानूनी रूपमा भए पनि यस्तो बाध्यकारी व्यवस्था हटाइयो भने वित्तीय क्षेत्र पूर्ण डिजिटाइजेशन भएको मान्न सकिन्छ ।

वित्तीय क्षेत्रमा ग्राहक तथा सदस्यलाई प्रदान गर्ने अधिकांश सेवा प्रक्रियामा विवरणहरु दोहोरीने, सम्पत्ति शुद्धीकरण ऐनले तोके बमोजिम जोखिमको आधारमा अध्याबधिक गरिराख्नु पर्ने, संस्थाको नीति, विधि बमोजिम संचालित नहुने साथै सेवाहरु एकै प्रकृतीको समेत हुने भएकोले जसलाई पुरा गर्न अधिक मानव संसाधनको समाबेश गर्नु पर्ने, मानविय हस्तक्षेपको कारणले कतिपय कार्यहरु त्रुटिपूर्ण र ढिला हुन सक्ने भएकोले हालको आधुनिक प्रविधिको प्रयोगबाट रोवोटिक अटोमेशनमा संचालन गर्न उपयुक्त देखिन थालेको छ ।

स्वचालितीकरणले डेटा प्रशोधन, बिश्लेषण, सूचना प्रक्रिया, अनुसन्धान र मुल्यांकनलाई स्वचालित बनाई आवश्यक निर्णय लिन सहजता प्रदान गर्दछ । यसले कार्यमा समय र श्रमको बचत गर्दछ, गल्तीहरू र संस्थागत जोखिम कम गराई शुसासनमा संस्था संचालन गर्न सहजिकरण प्रदान गर्दछ ।

वित्तीय क्षेत्रमा डिजिटलाइजेसन मार्फत स्वचालित नीति, नियम र प्रक्रियाहरूसँग पङ्क्तिबद्ध रूपमा सम्पूर्ण विश्लेषणसहित तयार, समिक्षा, अनुमोदन र प्रमाणिकरणका लागि प्रयोगकर्ताहरूलाई सिमा अनुसार स्वचालित रिमाइन्डर र सूचनाहरू मार्फत् दक्षता र सहजता प्रदान गर्दछ । विशेषगरी सदस्यता कायम गर्दाको केवाइसी वा खाता खोल्दाका फारम, सदस्य तथा ग्राहकलाई ऋणको कारोबार गर्दा प्रयोग गरिने कागज, वित्तीय क्षेत्रमा कुनै न कुनै सेवा लिन जाँदा कागजकै फर्म भर्नुपर्ने बाध्यता अन्त गरि बैंकिङ क्षेत्रलाई अटोमेशन गर्न आवश्यक छ ।

अटोमेशन सिस्टमले ऋण लगानी कार्यमा मूल्याकन, जोखिम बिश्लेषण, परियोजनाको बिस्तृत बिश्लेषण साथै ऋण स्वीकृतीलाई स्वायत्त र डिजिटलाइजेशन गर्दछ । साथै वित्तीय संस्थालाई द्रुत गतिमा ऋण प्रकिया पुरा गर्न मद्दत गर्दछ ।

नेपालको वित्तीय क्षेत्र डिजिटाइजेशनमा अन्य देशको तुलनामा पछाडि पर्नु नवीनतम प्रविधिमा लगानी गर्न डराउनु पनि हो । नेपालमा अझै पनि प्रविधिमा लगानी गर्नु भनेको खर्च गर्नु हो भनेर बुझने गरिन्छ । अब संस्थालाई नेतृत्व गर्ने व्यक्तिले प्रविधिलाई नजिकबाट बुझनु पर्दछ । संस्थालाई प्रविधिमैत्री बनाउनु पर्दछ । नवीनतम प्रविधिको प्रयोग विना अबको नेतृत्वले संस्थालाई समय अनुसार अगाडी बढाउन चुनौतीको सामना गर्नुपर्ने देखिन्छ ।

आजको दिनमा संस्थामा कति कर्मचारी छन् भनेर होइन कस्तो प्रविधिको प्रयोग गरेर अग्रणी सेवा प्रदान गरी व्यबसाय वृद्धि गर्ने भन्ने कुराको मनन गर्ने बेला आएको छ । प्रविधिमा लगानी भनेको व्यवसायीक रणनीतिको साझेदार हो भनेर बुझनु पर्दछ । साथै अबको बैंकिङ क्षेत्र नबिनत् प्रविधिको प्रयोगले मात्र डिजिटाइजेशन गर्न सम्भव छ ।

आकाश डिजिटल वित्तीय क्षेत्रको अटोमेशन तथा डिजिटलाइजेसन कार्यमा छोटो समयमा आक्रामक रुपमा बजार हिस्सा ओगटेको कम्पनी हो । यस कम्पनीले निर्माण गरेको अटोमसन सफ्टवेयरले सदस्य पहिचान फारम, कर्जाको आवेदनदेखि कर्जाचुक्ता नहुँदासम्मका सम्पूर्ण आन्तरिक तथा कानुनी लिखत कागजातकार्यलाई संस्थाको नीति विधि बमोजिम अटोमेशन माध्यमबाट डिजिटलाइजेसन गर्दै आइरहेको छ ।

यस सिस्टमले वित्तीय क्षेत्रम हुने सबै प्रकारका कागजातलाई अटोमेसन गराउन सहजिकरण गराउँदै आएको छ । साथै, नेपालको कानुनले डिजिटल दस्तखतलाई पनि मान्यता प्रदान गरेमा पेपरलेस गर्नै सम्मको पुर्वाधारसहित अगाडी बढेको छ ।

साथै आकाश डिजिटलले वित्तीय संस्थाहरुलाई सदस्य तथा ग्राहकको सेवामा अझ बढि सहजता प्रदान गर्न इन्फोडेभलपर्ससँग अनुप्रयोग प्रोग्रामिङ्ग इन्टरफेसमार्फत सहकार्य गरेको छ । इन्फोडेभलपर्स वित्तीय संस्थालाई सफ्टवेयर लगायत डिजिटल सेवा सुविधा प्रदान गर्ने नेपालको अग्रणी कम्पनी पनि हो ।

नेपालमा कोरोना महामारी पश्चात् प्रविधिप्रति जनआकाक्षा बढ्न थालेको छ । कोरोनाको महामारीमा बैंक तथा वित्तीय संस्थाले प्रविधिको अधिकतम प्रयोग गर्न सके कम जनशक्तिले पनि ग्राहक तथा सदस्यलाई सेवा प्रदान गर्न सकिने कुरामा विश्वस्त बनाएको छ । त्यस समय पहिला प्रविधि किन चाहियो भन्ने मानसिकतावथियो । त्यो मानसिकता परिवर्तन भएको छ । अब नविनतम् प्रविधिको प्रयोग गरी बैंक तथा वित्तीय संस्थालाई डिजिटाइजेशनतर्फ अगाडी बढ्न बाध्यता नै भएको छ ।

२०३० सम्म नेपालका सहकारीलाई पुर्णरुपमा डिजिटलाइजेसन गराउने अभियानसहित राष्ट्रिय सहकारी महासंघको आयोजनामा नेपालमै पहिलो पटक यही चैत्र १ र २ गते काठमाडौंको याक एण्ड यति होटलमा ‘सहकारी डिजिटल कन्क्लेभ’ हुँदैछ । कार्यक्रममा सहकारीमा प्रयोग हुने टेक्नोलोजीको सम्भाव्यताहरूमा सहकारीकर्मी, आईसिटी विशेषज्ञ र पोलिसी मेकरहरु गहिरो छलफल हुने भएकोले पनि सहभागी सहकारीका व्यबस्थापन प्रमुखहरुले नवीनतम प्रविधिलाई अझ नजिकबाट बुझ्न सकिने अपेक्षा गरिएको र उक्त कार्यक्रमलाई महत्वका साथ हेरिएको छ ।

(लेखक अधिकारी आकाश डिजिटल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत हुन्)

अभिलेख

लोकप्रिय