सीमा पुरी
सहकारी संस्थामा जागिरे छु । बजार प्रतिनिधि मेरो पोस्ट । पढ्दै छु र सहकारीमा काम गर्दै छु । बिहान कलेज जान्छु । दिउँसो सहकारी संस्थामा काम गर्छु । मेरो पेशा, मेरो प्रेम दुबै मेरो परिवारलाई मन परेन । हरेक दिन कार्यालय समयमा विभिन्न पसल, घर, कोठा, कारखाना, संघ संस्थाहरुमा गएर सदस्यको पैसा संकलन गर्नु र सदस्यका समस्या कार्यालयसम्म पुर्याउनु मेरो मुख्य काम थियो ।
म आफ्नो पेशामा पुर्ण सन्तुष्टी थिँए । यही पेशाले मलाई घाम पानीसँग जुध्न सिकायो । मान्छे सामु पुग्न र बोल्न सिकायो । पैसाको महत्व बुझायो । धेरै जनाको स्नेहको पात्र बनायो । विभिन्न खाले मान्छेलाई कसरी व्यवहार गर्ने भन्ने बारे सिकायो । बजार प्रतिनिधि भएर काम गर्नु मेरो जीवनको लागि सुनौलो र सम्झन लायक दिनहरु बन्यो ।
बुवा आमालाई छोरीले पैसा उठाउने काम गर्छिन घर घर, गल्ली गल्ली पुगेर भन्न लाज लाग्छ रे । बैंकमा काम गर भन्ने परिवारको चाहना नराम्रो त होइन तर मेरो काम मलाई प्यारो थियो छोड्न सकिन । तलब राम्रो थियो । कलेजको समयको पनि राम्रो व्यवस्थापन मिलेको थियो । रमाउँदै आफ्नो दैनिकी पुरा गर्दै थिँए । मेरो काम र मिहेनतले संस्था र सदस्य दुबै खुशी राख्न सकिरहेकी थिँए । सययले मेरो मन भित्र अर्को सहकारी संस्थामा म जस्तै काम गर्ने अरुण लाई राखिदियो । मैले उसलाई मनभित्र बस्ने ठाँउ बनाईदिए र उसको प्रेम मनमा भरेर राखे । उ पनि म जस्तै आफ्नो पेशासँग खुशी थियो । हाम्रो चाहाना, गन्तव्य र पेशा प्रतिको लगाव समान बन्यो ।
घरमा विवाहको कुरा चल्दा मैले अरुणलाई सामु ल्याँए । कोठामा बस्ने, कमाएर खान बस्न र पढाई खर्च आफै व्यबस्था गर्नु पर्ने । उमेर मेरै बराबर । घर काठमाडौं बाहिर । यस्तो सम्बन्ध नटिक्ने कुरा आयो सबैबाट । चिना हेराईयो, मेल खाएन रे । आफ्नो मनले खाने मान्छेसँग विवाह गर्न मन मात्र मिलेर हुँदैन रहेछ । चिना पो मिल्नु पर्ने रहेछ । काठमाडौं मै घर हुनुपर्दो रहेछ । आफ्नो कमाईमा भन्दा सम्पत्तीवाला बाउ आमाको कमाईमा पढ्नु पर्दो रहेछ । विवाहा गर्न मन हैन हैसियत मिल्नु पर्ने रहेछ । यही बुँझे ।
अरुणलाई सुनाए, सबै कुरा
हामी दुबैजना २० र २१ का थियौं । समाज र परिवारले हाम्रो पेशा र प्रेमलाई स्वीकार गरेन । हामी बसेर परिकल्पना गर्यौ र हाम्रो जिन्दगी को १० बर्षको रणनैतिक योजना बनायौं । विवाह गर भनेर भन्दा भन्दै परिवार थाके । साथिभाई थाके । आफन्तहरु थाके । उमेर गयो केटा पाउँदैन बिहे हुँदैन भनेर भन्नेहरु थाके । थाकेनत केबल हाम्रो प्रेम ।
भिडभाड र तडकभडक भन्दा पर थियो हाम्रो प्रेम । चुपचाप तय गरेको योजना पुरा गर्दै थियो हाम्रो प्रेमले । घाम पानी, हावा हुरि, अभाव, खटाई, थकाई, शंका, चुनौती, समाघान, विश्वास हुँदै हाम्रो प्रेमको उमेर बढ्दै गयो, हाम्रो उमेर सँगै ।
१० वर्षको लामो समय पार गर्यौ हामीले । आज अरुण काठमाडौं कै एउटा राम्रो समुदायमा सञ्चालित सहकारीको संस्थाको प्रमुख कार्यकारी अधिकृत बन्न सफल भयो । यो लामो अबधिमा मैले मेरो परिवारलाई बैंक र सहकारी बीचको फरक बुझाउन सँके । सहकारीको आफ्नै गरिमा छ र सहकारीमा काम गर्ने हरेक तहका कर्मचारीहरुको आफ्नै हैसियत छ भन्ने कुरा बुझाए । अरुण दश वर्षमा आफ्नो लक्ष्यमा पुगेको छ । पाएको जिम्मेवारीलाई उसले राम्रोसँग निभाउन सक्नेछ । म उसलाई साथ दिईरहेकी छु ।
हामीले अमेरिका, अस्ट्रेलीया, युके, लगायत अन्य सुविधा सम्पन्न देशका सपना देखेनौं । आफ्नै देशको माटोमा कर्ममा लागिरहेका छौं । आज पनि अरुणको काठमाडौंमा घर छैन । उ फ्ल्याट लिएर बसेको छ । मैले पनि आफुलाई यो दश वर्षमा आफ्नो नजरमा प्रफेक्ट मान्छे बनाएकी छु । अरुको नजरमा म के छु थाहा छैन ।
मेरो पेशामा खुशी छु । म अहिले पनि विभिन्न सस्थाहरु, समाज, टोल महिला समुह र साना व्यवसाय गर्ने महिला दिदिबहिनिहरु सँग काम गर्दै छु ।
मेरो पनि तह फेरियो । एउटै सस्थामा विभिन्न तह पास गर्दै म्यानेजरसम्म आईपुगेको छु । खुशी छु म आफ्नो काममा । गर्व छ मलाई मेरो पेशा प्रति ।
आज मेरो काम खर्च कटौती कसरी गर्ने, बचत कसरी गर्ने, नियमित बचतको महत्व के हो ?। थोरै थोरै गर्दै गरेको बचत भोली कति पुग्न सक्छ भनेर सदस्यलाई सिकाउँछु बुझाउँछु ।
बैंक र सहकारीको सेवामा बीच के फरक छ भन्ने कुरा सिकाउँछु । तालिम दिन्छु । विभिन्न सहकारीहरुको अवलोकन गर्छु । नयाँ नयाँ सिक्छु । जानेको कुरा सिकाउँछु । विदेश गएर सहकारीको तालिममा भाग लिएको छु । धेरै सदस्यहरुलाई आत्मनिर्भर बनाएको छु । दाम कति कमाए हिसाब छैन तर धेरै सन्तुष्टि र अलिकती नाम कमाएको छु ।
धेरैजनाको विश्वास र माया कमाएको छु । अरुण र म आफ्नो आफ्नो काममा लागेका छौं । उसले मेरो काम बुझेको छ । जिम्मेवारी बुझेको छ र मैले उसको । हाम्रो उमेरले तीन दशक पार गर्यो । लिएको लक्ष्य पुरा गर्यौ । अब परिवारको इच्छा पुरा गर्नु छ । बिवाह गरेर । आज पनि मेरो बाबा आमा ले अरुणलाई मनबाट अपनाउनु भएन ।
दश वर्षपछि फेरी उही केटाको नाम सामु आउँदा सबै चकित पर्नु भयो । सबैको मनबाट मेटिसकेको अरुण सामु आउँदा सबै छक्क पर्नुभयो । अल्लारे बेलाको क्षणिक आकर्षण हो भन्ने बुझेको परिवारको लागि अरुण सामु आउनु अचम्मैको कुरा हुने भयो नै । हाम्रो मौन प्रेमलाई सबैले समय अनुसार हरायो, सकियो केही बाँकी छैन । को कहाँ छ भन्ने समेत हेक्का भएन छ । हुन पनि हामी मौन प्रेममा थियौं । भड्किलो र देखावटी प्रेम हामीले कहिल्यै गरेनौं । पुनः चिना जुराईयो । चिना मिल्दैन रे । अहिले पनि मिलेन रे । मिल्दैन चिना भने, दैव मन किन मिलाईस सोंचे । मिल्दैन हैसियत भने हामी के गरौँ ?, समाज किन सस्तो साेंचाई बनाउँछ ?, ठुलो सानो, धनी गरिब किन छुट्टियो ?, शहरको ठुलो घर र गाँउको सानो घर बीच हाम्रो प्रेमको घाँटी किन रेटिँदै छ ?, आमा बाबाले खुशी खुशी बिदा दिए म अरुणको भाडाको घरमा पनि रमाउँदै जिन्दगी काट्न सक्छु । यहीँ कुरा बुझाई रहे परिवारलाई । परिवारबाट खुशी खुशी अनमिएर जान चाहान्छु ।
अरुणको परिवार सिघा साधा गाउँले परिबेशमा बस्नु हुन्छ । म जस्तो अबस्थामा गए पनि सहज स्वीकार हुन्छ । यसलाई पनि गरिबसँग विकल्प हुँदैन भन्न बाँकी राख्दैन अझै समाज । गरिसँग धनी हुने हजार सुत्र र सम्भावना छन् र उदाहरण पनि । धनीसँग धेरै मात्रामा डर छ, कतै धन सम्पत्तीको कमी नहोस् भन्ने ।
जो जहाँ छ आफ्नै हैिसयतमा विना दवाब बाँच्न पाउनु पर्छ । यही हो मानवताको धर्म म यस्तै कुरा सोच्छु । एकले अर्कोलाई सानो देख्न र भन्न कतै मिल्दैन यही सिकाउँदै छु । बुझाउँदै छु । म मेरो परिवारलाई ।
आज हाम्रो देश कोभिड–१९ को महामारीमा परेको छ । सबै नेपाली लकडाउनमा घरमै थुनिएको छौं । आज हेर्न सक्छौं देश भरिका सहकारी संस्थाले कसरी खटेर आफ्ना सदस्यलाई सेवा दिईरहेका छन् । घरको ढोकामा भएको बैंकको एटिम मेसिन बिग्रेको छ । बैंक खुलेको छैन । टाढा जाने अवस्था छैन । यस्तो बेलामा सहकारीले भने घरैमा पैसा ल्याईदिन्छ । आफुले बचत गरेको पैसा घरमै पाउँदाको खुशी कस्तो हुन्छ र सहकारी क्षेत्र के रहेछ त भन्ने कुरा मेरा बुवा आमालाई बल्ल यो लकडाउनको समयमा बुझाए । उहाँहरुको हेराई बदलियो । सोचाई बदलियो । विचार बदलियो । म खुसी छु । अरुण खुसी छ । हामी एक अर्कालाई पाउने दिन कुर्दै काम गर्दै छौं ।
अहिलेको जटिल समयमा अरुण रातदिन केही नभनि समुदायमा खटेर काम गर्दैछ । म पनि आफ्नो सहकारीमार्फत खटिरहेको छु । आफ्ना सदस्यहरुलाई सेवा गरिरहेका छौं । हामीले चाहेको भए दश वर्ष पहिले नै बिद्रोह गरेर आफू खुशी विवाहा गर्न सक्ने थियांै तर हामीले त्यसो गरेनौं । पहिले आफुलाई बुझ्यौं । दोबाटोमा भेट भएर सुरु भएको प्रेमलाई समय दियौं र बुझ्यौं । जिन्दगीको उतार चढावलाई स्वयंले भोग्यौं । परिपक्का बन्दै आफुले तय गरेको दश वर्षे जिन्दगी को रणनैतिक योजना पुरा गर्न सफल भयौं ।
जिन्दगीको सन्तुलन परिक्षण निकाल्छौं सम्बन्धहरुलाई मिलाउनका लागि । घाटा नाफा जे पर्ला आफ्नै पोल्टा मा थापी नयाँ जिन्दगी सुरु गर्ने योजना तय गरेका छौं । हामो परिवारले हामी जे चाहन्छौं त्यो पुरा गर्ने छ भन्ने कुरामा ढुक्क छौं ।
अहिलेको अवस्था सामान्य बनेपछि हाम्रो लागि समय झनै कठिन हुन सक्छ । वित्तीय संस्थाहरुले यो महामारीपछि केही समय चुनौती सामना गर्नु पर्नेछ र अहिले हामी हाम्रो विवाहको मिति अलिपछि सारी संस्थाको कम अबधिको लागि रणनैतिक योजना बनाउन तिर लागेका छौं ।
हाम्रो प्रेमको मिलन हुन भने अझै पनि केहि समय लाग्ने भएको छ । त्यो दिनको प्रतिक्षा गर्दै आजको चुनौतिको सामना गर्न तिर लागीरहेका छौं ।
मनमा प्रेमको दिप जलिरहेको छ ।
मिसेस निशा अरुण बन्न अझै केही महिना, केही साल पनि लाग्न सक्छ । पुरानो हुँदैन माया, जुनी जुनीलाई पनि भन्दै आफ्नो कर्म गर्दै छौं । अरुणको मनमा निशा र निशाको मनमा अरुण बसेको छ । यो प्रेमिल साथ सहकारी दिएको मिठो उपहार भनेर मानेका छौं ।
जय सहकारी ।
(लेखक सज्जन महिला साकोस, काठमाडौंका अध्यक्ष हुनुहुन्छ ।)