६ जेष्ठ २०८१, आईतवार

लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीको तयारी पूरा

२४ बैशाख २०८१, सोमबार
लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीको तयारी पूरा

काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा बैशाख २५ र २६ गते हुने लेखा सुपरिवेक्षण समितिको दोश्रो राष्ट्रिय गोष्ठीको तयारी पूरा भएको छ ।

सोल्टी होटलमा आयोजना हुने उक्त गोष्ठीका लागि आवश्यक तयारी पूरा भएको नेफ्स्कुनकी उपाध्यक्ष एवं गोष्ठीकी संयोजक शान्ती अधिकारीले जानकारी दिइन् । ‘गोष्ठीमा सहभागिता जनाउन हामीले अपेक्षा गरे अनुसार नै देशभरका संस्थाहरुबाट लेखा समितिका पदाधिकारीले नाम दर्ता गराउनुभएको छ’, उनले भनिन्, ‘गोष्ठीले लेखा समितिका पदाधिकारीहरुमा ज्ञान र सीप प्रदान गर्नुका साथै आफ्नो कर्तव्य के रहेछ भन्ने कुराको स्पष्ट जानकारी दिनेछ ।’ “संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूति ः प्रभावकारी लेखा सुपरिवेक्षण समिति” भन्ने थिमका साथ दोश्रो राष्ट्रिय गोष्ठी हुन लागेको उनले जनाइन् ।

नेफ्स्कुनका अध्यक्ष चन्द्र प्रसाद ढकालले यस अघि नै लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी सम्पन्न गरिसक्नुपर्ने भएपनि प्राविधिक कारणले केहि ढिला भएको बताए । संस्थाभित्र सुशासन कायम गर्न र लेखा समितिको क्षमता अभिवृद्धि गर्न यो गोष्ठी फलदायी हुने उनको भनाई छ । समय अनुकूल नभएपनि नेफ्स्कुनको साधारणसभा र बोर्ड बैठकले नै पारित गरिसकेकाले निर्धारित तालिका अनुसार नै गोष्ठी सम्पन्न गर्न लागेको उनले बताए । गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायका प्रमुख र प्रतिनिधिहरुले विविध विषयमा प्रस्तुतिकरण गर्ने भएकोेले सहभागिका लागि यो महत्वपूर्ण हुने उनले जनाए ।

गोष्ठीको पहिलो दिन ‘संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूतिः प्रभावकारी लेखा सुपरिवेक्षण समिति’ भन्ने विषयमा नेफ्स्कुनका सीइओ शवजी सापकोटाले, ‘प्र.का.अ., ले.सु.स., आ.ले.प. र बाह्य लेखापरिक्षकको सम्बन्ध ः परीक्षणका क्षेत्र ,विधि र प्रकृयाहरु’ विषयमा आइक्यानका तर्फबाट संजिव ढकालले र ‘स्वस्थ एवम् सुरक्षित साकोस निर्माणः औजार र प्रविधि’ विषयमा आकुकी प्रतिनिधि एलिनिटा भि. सानरोक्यूले प्रस्तुतिकरण दिने तालिका रहेको छ । सोही दिन ‘लेखासुपरिवेक्षण समितिको अभ्यासः सरोकारवालाको चासो र भूमिका’ भन्ने विषयमा सदस्य संस्थाका लेखा समिति संयोजक र विषयविज्ञहरुबीच सामुहिक छलफल हुनेछ ।

त्यसैगरी दोश्रो दिन ‘नियामकीय दृष्टिकोणमा सहकारी क्षेत्रको विद्यमान समस्या र समाधानमा सदस्य र समितिको भूमिका’ भन्ने विषयमा सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेको, ‘वित्तीय सहकारीमा आन्तरिक नियन्त्रण प्रणाली: विश्व अभ्यास र नेपालको सम्भावना’ भन्ने विषयमा विश्व ऋण परिषद् (ओकु) की प्रतिनिधि एरिन ओ हेनरीको, ‘संस्थागत सुरक्षा र सुपरिवेक्षणमा वित्तीय क्षेत्रको अभ्यास र साकोस अभियान’ विषयमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालको र उत्प्रेरणात्मक प्रस्तुतीकरण ः ‘समस्या, नेतृत्व, सम्भावना र समाधान’ विषयमा रमण नेपालीको प्रस्तुतिकरण रहनेछ ।
गोष्ठीमा देशभरबाट करिब ३ सय ५० जनाले रजिष्ट्रेशन गराएको आयोजक नेफ्स्कूनले जनाएको छ।

अभिलेख

लोकप्रिय