१४ बैशाख २०८१, शुक्रबार

५५ सय सदस्यलाई मेची बहुउद्देश्यीयको ‘सदस्य शिक्षा तथा वित्तीय साक्षरता’

१७ फाल्गुन २०७९, बुधबार
५५ सय सदस्यलाई मेची बहुउद्देश्यीयको ‘सदस्य शिक्षा तथा वित्तीय साक्षरता’

दमक : झापाको दमकमा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

विविध कारोबारका बारेमा तथा वित्तीय जानकारी दिने उद्देश्यले सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो । संस्थाले हरेक वर्ष सदस्य शिक्षा कार्यक्रम गर्दै आएको छ।

पुस १ गतेदेखि ६ गतेसम्म यस वर्ष मात्र सदस्य बन्नुभएका सदस्यहरुका लागि र फागुन ९ गतेदेखि १४ गतेसम्म यस आ.व. भन्दा अगाडि बन्नुहुने सदस्यहरुलाई सदस्य शिक्षा कार्यक्रमको आयोजना गरिएको थियो । सदस्यहरुलाई प्रत्येक दिन दुई समूहमा विभाजन गरी उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।

सबै दिन सञ्चालित कार्यक्रमको अध्यक्षता शिक्षा तथा तालिम व्यवस्थापन उपसमिति संयोजक लक्ष्मीप्रसाद दाहालले गरेका थिए। कार्यक्रमको सञ्चालन सोही उपसमितिका सदस्यहरुले आलोपालो गरेका थिए।

६ दिन सञ्चालित कार्यक्रममा दमक र कमल सेवा कार्यालय अन्तर्गतका ७ हजा २ सय ३२ सदस्य मध्ये ५ हजार ५ सय ८२ जना सदस्यहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अर्धवार्षिकपछि संस्थाको वित्तीय कारोबारको अवस्थाका बारेमा चर्चा गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले बचत, कर्जा, शेयर पूँजी, बाह्य कर्जा तथा समग्र वासलातको अवस्थाबारे सदस्यहरुलाई जानकारी गराएका थिए ।

संस्थाको यस आ.व. को माघ मसान्तसम्ममा बचत १०.१४ प्रतिशत, कर्जा लगानी १.०३ प्रतिशत, शेयर पूँजी ३.३४ प्रतिशत, सदस्य संख्याः ८.८६ प्रतिशत र वासलात १.४७ प्रतिशतले बृद्धि भएको छ । कूल बचत निक्षेप २ अर्ब ३९ करोडमध्ये दीर्घकालीन प्रकृतिको बचतमा १ अर्ब ४१ करोड भन्दा माथि (५८.७३ प्रतिशत) रकम रहेकाले संस्थालाई सहज रुपमा सञ्चालन गर्न सहयोग पुगेको तथा बिना धितो कर्जा लगानी नरहेको, भाखा नाघेको कर्जा रकम ०.२७ प्रतिशत मात्र रहेको र तरलता रकम पर्याप्त रहेको बगालेले जानकारी दिए ।

कार्यक्रममा उत्कृष्ट अंक ल्याई प्लस टू उत्तीर्ण गर्ने सदस्यका छोराछोरीहरु मध्ये रोशन पोख्रेललाई १० हजार तथा प्रमाण पत्रले पुरस्कृत गरिएको थियो । त्यस्तै मुटुको अपरेशन गरे बापत संस्थाको तर्फबाट दमक-९, निवासी सदस्य यज्ञनिधि चम्लागाईलाई ५० हजार र दमक-६, नमुना मार्गका आगलागी पीडित सदस्यहरु संगीता श्रेष्ठ र सविता श्रेष्ठलाई जनही ५० हजार सहयोग रकम प्रदान गरिएको संस्थाका सहव्यवस्थापक चन्द्र थापाले जानकारी दिए ।

अभिलेख

लोकप्रिय