२३ बैशाख २०८१, आईतवार

‘लेखा सुपरिवेक्षण गोष्ठीले जोखिम व्यवस्थापन र वित्तीय अनुशासनका लागि कार्यदिशा तय गर्नेछ’

१६ आश्विन २०८०, मंगलवार
‘लेखा सुपरिवेक्षण गोष्ठीले जोखिम व्यवस्थापन र वित्तीय अनुशासनका लागि कार्यदिशा तय गर्नेछ’

राष्ट्रिय सहकारी बैंक लिमिटेडले यही असोज २५ र २६ हुने लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी-२०८० आयोजना गर्दै छ । काठमाडौंको याक एण्ड यति होटलमा आयोजना गरिएको गोष्ठीमा देशभरबाट ५ सयजना सहभागिता रहने बैंकले जनाएको छ । “दिगो, पारदर्शी र जोखिमरहित सहकारी लेखा सुपरीवेक्षण समितिको जिम्मेवारी” भन्ने थिमसहित आयोजना गरिएको गोष्ठीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वबाट विभिन्न ८ वटा विषयमा प्रस्तुती र छलफल हुनेछ ।
लेखा सुपरीवेक्षण समितिको भूमिकालाई थप प्रभावकारी बनाई सहकारीमा सुशासन एवं आन्तरिक नियन्त्रण पद्धति स्थापनामार्फत दिगो सहकारीको निर्माणमा योगदान पुग्ने गोष्ठीको मुख्य उद्देश्य रहेको छ । प्रस्तुत छ, गोष्ठी सञ्चालनको उद्देश्य, अपेक्षित उपलब्धी, सञ्चालन तरिका लगायतको विषयमा केन्द्रीत रहेर बैंकमा अध्यक्ष के.बी. उप्रेतीसँग गरिएको कुराकानी:

राष्ट्रिय सहकारी बैंकले पहिलोपटक लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी गर्दैैछ । गोष्ठी सञ्चालनको उद्देश्य के हो?
हाल सहकारी क्षेत्रमा केही समस्या देखिएको छ । समस्यामा आउनुको मुख्य कायरण लेखा सुपरिवेक्षण समितिको भूमिका प्रभावकारी नहुनु हो । यदी लेखा समितिले प्रभावकारी ढंगले काम गरेको थियो भने अहिलेको समस्या आउने नै थिएन । सहकारीले ऐन नियम पालना गरेन, सुशासनमा संस्था चनलेन, प्रयाप्त तरलता व्यवस्थापन गर्न सकेन भनेर खबरदारी गरेको थियो भने अहिलेको समस्या आउने थिएन ।
राष्ट्रिय सहकारी बैंकले विगत दुई दशकदेखि बैंकिङ सेवाको अलावा सदस्य सहकारी संघ/संस्थाहरुको संस्थागत विकासका लागि विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ । सहकारीहरुका वित्तीय तथा गैरवित्तीय आवश्यकता पूरा गर्न सहयोग पुर्याउनुका साथै सहकारीहरुलाई दिगो बनाउनको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विविध गतिविधिहरु मार्फत सहकारीहरुमा सुशासन, जोखिम न्यूनिकरण र आन्तरिक नियन्त्रण प्रणालीको विकासमा महत्वपूर्ण भूमिका निर्बाह गर्दै आएको छ । हालको सहकारी अभियानमा देखिएको बिषम अवस्थालाई मध्यनजर गरी राष्ट्रिय स्तरमा दुई दिवसीय गोष्ठी आयोजना गरेका हौं ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वबाट विभिन्न ८ वटा विषयमा प्रस्तुती र छलफलबाट लेखा सुपरीवेक्षण समितिको भूमिकालाई थप प्रभावकारी बनाइ सहकारीमा सुशासन एवं आन्तरिक नियन्त्रण पद्धति स्थापनामार्फत दिगो सहकारीको निर्माणमा योगदान पुग्ने अपेक्षा हामीले गरेका छौं । सहकारीको आर्थिक समृद्धि, संस्थागत विकास र सन्तुलित वित्तीय कारोबारमा लेखा सुपरीवेक्षण समितिको भूमिकालाई थप प्रभावकारी बनाउने, आन्तरिक नियन्त्रण प्रणालीको ढाँचा सम्बन्धमा छलफल गर्ने गोष्ठीको उद्देश्य हो । त्यस्तै सहकारीमा स्वनियमन र संस्थागत सुशासन अभिवृद्धिका लागि लेखा सुपरिवेक्षण समितिको सक्रिय भूमिकाको बारेमा स्पष्ट मार्गदर्शन प्रदान गर्ने र सहकारीमा जोखिम व्यवस्थापन र वित्तीय अनुशासनका लागि लेखा सुपरिवेक्षण समितिको स्पष्ट कार्यदिशा तय गर्ने गोष्ठीको मुख्य उद्देश्य हो ।

गोष्ठीको अपेक्षित उपलब्धी के हुन्?
हाल सहकारी क्षेत्रमा देखिएका समस्या न्यूनिकरण गर्न लेखा समितिको महत्वपूर्ण भूमिका रहन्छ । समितिलाई प्रभावकारी ढंगले अगाडी बढाउन सक्यो भने देखिएको समस्या न्यूनिकरण हुन्छ र थप समस्या आउन दिँदैन । गोष्ठीमा प्रस्तुत हुने विषयले समितिलाई प्रभावकारी ढंगले अघि बढ्न भूमिका खेल्नेछ । सहकारीको मूल्य, सिद्धान्त र बचत तथा ऋण सहकारीको दर्शन र स्वनियमनमा आधारित भएर सहकारी संस्थाहरु सञ्चालित हुने अपेक्षा हामीले गरेका छौं । त्यसतै लेखा सुपरिवेक्षण समितिको कार्यक्षेत्रभित्र रही सहकारी संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई बलियो बनाउनको लागि नीतिगत विषयमा दक्षता अभिवृद्धि हुने, विद्यमान अवस्थामा सहकारी क्षेत्रमा देखिएका चुनौति पहिचान गरी समाधानको लागि संस्थागत तयारी गर्न मद्दत पुग्ने र सहकारी संस्थाहरुको जोखिम व्यवस्थापनको लागि संरचनागत आधारहरु तयार हुने गोष्ठीका अपेक्षित उपलब्धी हुन् ।

गोष्ठीमा के–कस्ता विषयमा कार्यपत्र प्रस्तुत हुन्छन् त?
गोष्ठीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वबाट विभिन्न ८ वटा विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् । पहिलो दिन अर्थात् २५ गते नेपालको सहकारीमा लेखा सुपरीवेक्षण समितिको अभ्यासः व्यवस्था र अवस्था, वित्तीय सहकारीको जोखिम मापन ः संरचना र पद्धति, सहकारीको वित्तीय जोखिमः मापन र व्यवस्थापन रणनीति र सहकारीमा सञ्चालन एवं अनुपालना जोखिम ः मापन र व्यवस्थापन रणनीति विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।
त्यस्तै दोस्रो दिन अर्थात् जेठ २६ गते सहकारीको आन्तरिक नियन्त्रण प्रणालीः विकास र अभ्यास, सहकारीको सुशासन र स्वनियमनः प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, सहकारीको आन्तरिक नियन्त्रण प्रणाली ः विधि, प्रविधि र औजार विषयमा प्रस्तुती रहने छ । गोष्ठीको अन्तिम सत्रमा सहकारीको विद्यमान संकट सामनाः रणनीति र भावी कार्यदिशा विषयमा प्रस्तुती रहने छ ।

गोष्ठीमा सहभागिता जनाउन रजिष्ट्रेशन पनि खुला भैसकेको छ । देशभरका सहकारी संघ/संस्थाको लेखा समितिमा रहनुभएका सहकारीकर्मीलाई के भन्न चाहनुहुन्छ?
गोष्ठीमा छनोट भएका विषय र प्रस्तुतकर्ता विषय विज्ञ हुनुहुन्छ । राष्ट्रिय रुपमै गोष्ठी गर्न लागेका छौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञको प्रस्तुती राखेका छौं । समेटिएका विषय, सहभागिता र अन्तर्राष्ट्रिय व्यक्तित्वको समेत सहभागितामा नेपालमा यस्तो किसिमको गोष्ठी भएको थिएन । अहिलेको अवस्थामा यस किसिमको गोष्ठी निकै महत्वपूर्ण पनि छ । देशभरका सहकारीकर्मीहरुलाई सहभागिताको लागि आव्हान गर्दछु । रजिष्ट्रेशन खुला भैसकेको हुँदा पहिलो आउनेले प्राथमिकता पाउनु हुनेछ । सिमित सिट भएको हुँदा आजै रजिष्ट्रेशन गर्न पनि अनुरोध गर्दछु ।

अभिलेख

लोकप्रिय