५ जेष्ठ २०८१, शनिबार

तरलता अभाव र सहकारी

२६ असार २०७९, आईतवार
तरलता अभाव र सहकारी

दाई, सहकारीले लगानी नगर्दा हाम्रो व्यापार चौपट भयो । सहकारीको सानो सानो ऋणले के हुन्छ र भन्ने लाग्थ्यो तर आज सहकारीको महत्व हामीले बुझ्दैछौं भन्ने सदस्यहरु बजार तिर जादा बाक्लै भेटिन थालेको छ । तरलता अभावले अहिले बैंक, वित्तीय संस्था तथा सहकारीहरुले लगानी रोकेको अवस्था छ । सानो सानो रकम विना धितो लगानी गरेर सदस्यहरुलाई थप पुँजी गर्नको लागि सहकारी उत्तम माध्यम भएको सदस्यहरुको बुझाई रहेको छ । प्रत्यक्ष सदस्यहरु सँग कारोबार गर्दै आएको सहकारी भएको हुँदा सहकारी प्रति सदस्यहरुको विश्वास र भरोसा पनि बैंक तथा वित्तीय संस्थाभन्दा बढी पाउन सकिन्छ ।

दीपेन जी, सहकारी संस्थाले ऋण लगानी गर्दैनौं भन्न सकिन्छ तर बचत फिर्ता दिन सक्दैनौं भन्न सकिँदैन यो तरलता अभावमा भनेरे केही सहकारीकर्मी साथीहरु भन्ने गर्नु हुन्छ । सहकारी संस्था जति सफल भए पनि केही गलत मानसिकताबाट संचालित सहकारीले गर्दा वा कति सहकारीको सही व्यवस्थापन नहुँदा सहकारी संस्थाहरुका घटनाले सदस्यहरु चाडो त्रसित बन्ने गरेका छन् ।

कोरोनाको कहरको बेला होस् की तरलता अभाव भएको बेला होस् या अन्य कुनै विपत्तिमा सदस्यहरुको हितमा सहकारी रहने गर्दछ । सदस्यहरुलाई बचत गर्ने बानीको विकास सहकारीले घर घरमा पुगेर गराउने गरेको छ । दुई वर्ष कोरोनाले असर पारेको आर्थिक क्षेत्र फेरी तरलता अभावले आर्थिक मन्दी ल्याउने भयो भन्ने चर्चा पनि त्यत्तिकै हाम्रो समाजमा चलेको छ । केही महिनादेखि केही सहकारी संस्थाहरुले ऋण लगानी गरेको पाईदैन कतिले सुचना जारी गरेर ऋण लगानी बन्द रहेको जानकारी गराएका छन् त कतिले लगानी गरि रहेका छन् । कोरोना कहरले थलिएको आर्थिक क्षेत्र केही हदसम्म भए पनि उठ्दै गरेता पनि तरलता अभावले फेरी थलिने त हैन भन्ने चिन्ता पनि उत्तिकै बढेको छ । सदस्यहरुबाट थोरै थोरै बचत गराउँदै सदस्यहरुमै ऋण लगानी गरेर सदस्यहरुको पैसा सदस्यहरुमै लगानी गरिने क्षेत्र सहकारी भएको हुँदा बचत र ऋण सुरक्षित रहनु पर्दछ ।

असारे झरी, आर्थिक मन्दी झै बजार, आर्थिक वर्षको अन्तिम महिना । बैंकको बढ्दो ब्याजदर, ऋणले भाका नाघेको अवस्था । ब्याज तिर्नु पर्ने तागेता सहि रहँदा सदस्यहरुलाई पिडा वोध अवश्य नै भएको छ तथापी यो क्लोजिङ महिना हो हाल्नु त ब्याज छदै छ । ऋण त तिर्नु पर्छ नै । कारोबार गर्नु त छदैंछ । अवस्था सधै एकै नास हुँदैन । परिस्थीती जस्तो भए पनि स्थिती हामीले आशाबादी बनाउनु पर्छ । आफुले लिएकोे ऋण, आफ्नो बचत आफैले सुरक्षित गर्ने हो । कोरोनाको कहरमा पनि सहकारी क्षेत्रले उल्लेख्य योगदान गरेको चर्चा हामीले देख्यौं, सुन्यौ र सदस्यहरुसँग प्रत्यक्ष जोडिएर दुःख शुखमा सहभागी भएका छौं ।

समय निरन्तर चलि रहन्छ । आज तरलता अभाव भएता पनि सहकारी क्षेत्र फेरी उठ्ने छ । सदस्यहरुको बचत सदस्यहरुमै ऋण लगानी गरिएको हुँदा स्वंयम सदस्यहरु नै संस्थाको दिर्घकालिन विकासको मेरुदण्ड रहेको हुँदा संस्थामा नियमित कारोबार गरौं ।

ऋण लगानी बन्द हुँदा आम सदस्यहरुलाई व्यवसायमा थप पुँजीको अभाव भएको हाम्रो पनि बुझाई छ । आर्थिक कारोबार गर्दै सदस्यहरुलाई बचत गर्ने बानीको विकास, ब्याजको गणना साथै वित्तीय साक्षरता र सहकारी शिक्षाले सदस्यहरुमा सहकारी प्रतिको आकर्षण बढ्दो छ । सदस्यहरुलाई सहज पहुँच र सदस्यहरुको सेवा सहकारीको पहिलो उद्देश्य भएको हुँदा कर्मचारीमार्फत सहकारीले घरघरमा गएर सेवा सुविधा उपलब्ध गराउँदा सदस्यहरुलाई धेरै नै राहात भएको छ । सदस्यहरुलाई आर्थिक कारोबारमा जोडेर दैनिक बचत गराउँदै ऋण असुली पनि दैनिक हुँदा सहकारी संस्थाबाट ऋण लिएर व्यापार व्यवसाय संचालनमा सहज भएको आम सदस्यहरुको धारणा छ । दैनिक जसो ऋण तिर्दा ऋण तिरेको भान नै नहुने पनि सदस्यहरुको राय छ । अहिले बजारमा तरलताको अभाव भएता पनि सहकारी संस्थाहरुले सदस्यहरु सँग दैनिक बचत साथै ऋण असुलीले पनि सहकारी संस्थाहरुमा तरलता खासै अभाव भएको छैन । सदस्य सदस्य बीच बचत र ऋणको कारोबार गरिदा सदस्यहरु सचेत रहनु पर्दछ । ऋण लगानी, बचत गर्ने बानीको विकास, विपत्तिमा सहकारीको साथले सहकारी उत्तम क्षेत्र भएको सदस्यहरुको बुझाई छ ।

यो आर्थिक वर्षको अन्तिम महिना हो । वर्ष भरि गरेको कामको लेखा जोखा साथै कार्य सम्पादन गरि संस्थाले लिएको वर्ष भरिको लक्ष्यलाई यस अन्तिम महिनामा कार्य सम्पादन पूर्ण गर्नु पर्ने हुँदा संस्थाले सदस्यहरुलाई ऋण असुलीमा फलोअप गरेकै होला । संस्थाले वर्ष भरि ऋणको असुलप गर्नै पर्दछ । वार्षिक लक्ष्य अनुरुप बचत संकलन, ऋण असुली लगायत अन्य वार्षिक योजना पुरा गराउनु कर्मचारीको कर्तव्य हो । सोही अनुरुप कर्मचारीहरु आफ्नो जिम्मेवारीमा रहँदा सदस्य ज्युहरुले पनि आफुले लिएको ऋण प्रति सचेत र जिम्मेवारी पूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नु पर्दछ । संचालक भनेका संस्थाको उन्नती र प्रगतिको पहरेदार हुन् । तसर्थ हामी सम्पूर्ण सदस्यहरुलाई अनुरोध गर्न चाहान्छौं की यो महिना मात्र हैन वित्तीय कारोबार गर्ने संस्थाहरुको हरेक दिन क्लोजिङ डे हो । आफुले नियमित कारोबार गरौं ।

सदस्यहरुको वृद्धि विकासमा सहकारीको अहम भूमिका रहन्छ । सहकारीका धेरै सदस्यहरु आर्थिक गतिविधिमा संलग्न भएका हुन्छन् । सहकारीले सदस्यहरुलाई आर्थिक गतिविधिमा संलग्न गराई आर्थिक उपार्जनका काममा संलग्न गराएर आर्थिक समृद्घिमा टेवा सहकारीले गरेको हुन्छ । थोरै थोरै बचत गर्ने बानीको विकास गराउँदै सहकारीमा सदस्य भएका हुन्छन् । नियमित बचत गर्नु पर्छ । दुःख सुखमा सहकारी सदस्यहरुको घर दैलोमा पुगेर सदस्यहरु सँग प्रत्यक्ष संलग्न रहेको क्षेत्र सहकारी हो । सहकारी संस्था र सदस्यहरु बीचमा आर्थिक सम्बन्ध, सामाजिक सम्बन्ध साथै साँस्कृतिक सम्बन्ध पनि सहकारीबाट भएको हुन्छ । सहकारी संस्था भन्ने वित्तिकै वित्तीय कारोबार गर्ने संस्था हो । त्यसमा पनि बचत तथा ऋण सहकारी संस्थाले वित्तीय कारोबार गर्ने गर्छ । सदस्यहरु पनि सहकारीमा वित्तीय कारोबार गर्न नै जोडिएका हुन्छन् । बचत गर्न होस् या ऋण लिन होस् सदस्यहरु आर्थिक गतिविधिमा संलग्न भई सहकारीको वृद्धि विकासमा सदस्यहरुको योगदान उच्च हुन्छ । असारे चटारो हिजो पनि थियो आज पनि रहने छ । तसर्थ हामी सदस्यहरु अनुशासित भई आफ्नो संस्थाको विकासमा लागौं ।

पिडा व्यवसायीको

कोरोना कहरले थलिएको व्यापार व्यवसाय । तरलता अभावले छाएको मन्दी । दिन प्रति दिन बैंकको बढ्दो ब्याजदर । व्यापार घाटाले चुलिदै गएको ऋणको बोझ । ऋणको किस्ताले भाका नाघेको अवस्था । साहुको छिन छिनमा फोनको घण्टिले तर्सिएको मानसिकता । बैंकको ताकेताले घर बसी नसक्नुको अवस्था । पसलमा ग्राहक नआएको स्थिती । साहुको तिर्नु पर्ने दायित्वले नयाँ सामान थप गर्न नसकेको अवस्था । बैंकको भाका नाघ्यो । आफ्नो बाँकी उठदैन् । घर भेटीलाई भाडा तिर्न नसकेर थपिँदै गएको मासिक भाडा । भाडावालाले भाडा नबुझाएर बढ्दै गएको ऋणको भारी । असार मसान्तको अन्तिम साता । बैंकले लिलामी प्रकृयामा जाने सुचना जारी गर्छु भनेर पटक पटक फोन गरि रहेको छ । सहकारीले ऋण दिँदैन बैंकले ऋण थप गर्दैन । कोरोनाको कहरमा त केही ऋण थप गरेर भए पनि बैंकले व्याजको समाधान गरेको थियो तर यस पटक त्यो पनि छैन । जसरी पनि ऋण तिर्नु पर्यो भन्ने निर्देशन मात्र आउँछ ।

आज आम उद्योगी व्यवसायीहरुको पिडा यस्तै होला । के यो समस्या सधैं रहन्छ त ?, श्रीलंकामा आर्थिक मन्दी आयो भन्ने हल्ला मिडियामा चलेको छ । के नेपालमा पनि आर्थिक मन्दी आउने त हैन?, या यो पुर्व संकेत त हैन?, आम व्यवसायीको मानस पटलमा खेलेको कुरा छ । कोरोनाको कहरले कयौं व्यापारीहरुलाई घरबार विहिन बनायो होला त कयौंले व्यापार व्यवसाय गुमाए होला । अभिभावक गुमाएको पिडाले थलिएको परिवार या उपचारको क्रममा भएको व्यायभारबाट तंग्रिन नसकी रहको आर्थिक अवस्थामा थप आजको बजारको अवस्थाले झनै अत्यास पारेको छ । कोरोनाको कहरपछि केही हदसम्म व्यापार व्यावसाय खुल्न थालेको थियो तथापी यो तरलता अभावले थप संकट ल्याउन सक्ने आम व्यवसायीको बुझाई छ । व्यवसाय गरेको धेरै भयो तर हालको अवस्था जस्तो हामीले महसुस गरेको थिएन भन्ने व्यवसायीहरु पनि यसै बजारमा भेटिनु भएको छ । पसल पसलमा दैनिक जसो माग्नेको संख्या बढ्दो छ । चन्दा, चिठ्ठा, आर्थिक सहयोगको पत्र होस् या बाढी पिडित, अग्नी पडित, भुकम्प पिडित होस् सबैको सहयोग व्यवसायीले गर्दै आएको छन् । सबैको दुःख सुखमा व्यवसायीको साथ सहयोग हुने गरेकै छ । तर हालको अवस्थाले व्यवसायीको पिडा दिन प्रति दिन बढ्दै गएकोे छ ।

विद्यालयको चर्को फी । बिजुली पानीको बिल उत्तिनै आउँछ । बजारमा महंगी यति बढेको छ । व्यापारीले कुनै पनि सामान किनेर ल्याएर बेच्ने हो तर मुल्य वृद्धिले गर्दा व्यापार गर्न नै अफ्ट्यारो लाग्ने अवस्था भै सक्यो । यो आज भोलीको चरम मुल्य वृद्घिको अवस्था छ । पेट्रोल, डिजल र ग्याँसको लगभग डबल मुल्य वृद्घि भएको छ । कर्मचारीको तलबले घर खर्च चल्न गाह्रो भएको छ । दैनिक काम गरेर गुजार गर्नु धेरै कठिन भएको आम मानिसको बुझाई बन्दै गएको छ । साना र मध्यम व्यवसायिहरुको यो पिडा सहन नसक्ने बन्दै गएको छ । करले यिनै व्यवसायिहरुलाई आतंक बनाउने गर्दछ । दिन भरी असारे झरीले बाहिर निस्कने अवस्था छैन । पानी पर्दा झरी, घाम लाग्दा गर्मी उत्पात हुन्छ । प्रकृतिको विपत्ती पनि थामी सक्नु छैन । जे जस्तो अवस्था भए पनि हामी मानव जातीले सहनु पर्छ । तथापी हामी व्यवसायी आशाबादी बन्नु पर्छ । हरेक क्षण अस्थायी छ । यी समस्याबाट अवश्य एक दिन छुटकारा पाइने छ । व्यापार व्यवसाय पुरानो अवस्थामा फर्कने छ । हामी फेरी उठने छौं ।

(लेखक युवा व्यवसायी तथा सहकारीकर्मी हुन्)

अभिलेख

लोकप्रिय