१४ बैशाख २०८१, शुक्रबार

सहकारी बैंकले गठन गर्यो विद्यालयमा सहकारी बाल क्लव

१२ चैत्र २०७७, बिहीबार
सहकारी बैंकले गठन गर्यो विद्यालयमा सहकारी बाल क्लव

काठमाडौं : युवा विद्यार्थीहरुलाई सहकारीका बारेमा सचेत बनाउने उद्देश्यका साथ राष्ट्रिय सहकारी बैंक लिमिटेडले सामुदायिक विद्यालयमा सहकारी बाल तथा युवा क्लव गठन गर्ने अभियानसुरु गरेको छ ।

बैंकको वार्षिक कार्यक्रम अन्तरगत प्रत्येक शाखाले एक एक वटा विद्यालयमा क्लव गठन गरी विद्यार्थीहरुलाई सहकारी सम्बन्धी सचेतना प्रदान गर्ने बैंकले जनाएको छ । यसैबीच काठमाडौंस्थित गोंगवु शाखाले ग्रामसेवा माध्यमिक विद्यालय धर्मस्थली काठमाडौंमा विद्यार्थीहरुको भेलामार्फत बिहीवार सहकारी बाल क्लव गठन गरेको छ ।

उक्त विद्यालयमा कक्षा ८ मा अध्ययनरत सिन्धु भण्डारीको अध्यक्षतामा गठित सहकारी बाल क्लवको उपाध्यक्षमा अभिषेक क्षेत्री, सचिवमा छिरिङ शेर्पा, सह–सचिवमा जुली तामाङ, कोषाध्यक्षमा एलिना लिम्बु, सहकोषाध्यक्षमा दावा शेर्पा रहनु भएको छ । यस्तै सदस्यहरुमा विपना तामाङ, जेनिसा तामाङ, कविता चापागाई, सुरज तामाङ र रञ्जित तामाङ रहनु भएको छ । क्लवको संरक्षकमा विद्यालयका शिक्षक उत्तम कुमार शाही रहनु भएको छ ।

जिल्ला सहकारी संघ लिमिटेड काठमाडौंसंगको सहकार्यमा आयोजित सहकारी बाल क्लव गठन कार्यक्रममा राष्ट्रिय सहकारी बैंक गोंगवु शाखा समन्वय उपसमितिका संयोजक मनोज भण्डारी, सदस्यहरु देव कुमार श्रेष्ठ र तारानाथ सापकोटा तथा विद्यालयका शिक्षक बासुदेव पाण्डेले विद्यार्थीहरुलाई संगठित गर्दै सहकारीका बारेमा सचेत बनाउन क्लवले समन्वयकारी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

सहकारी बाल क्लव गठनको आवश्यकता र यसले गर्ने कामका बारेमा गोंगवु शाखाका प्रमुख विनोद भट्टराईले जानकारी गराउनु भएको थियो । सहकारी बैंकले ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर बैंकका शाखाहरुमार्फत पहिलो चरणमा ६८ वटा विद्यालयमा क्वल गठन गर्न लागिएको हो ।

बैंकले सबै शाखाहरुलाई एउटा एउटा विद्यालयमा सहकारी बाल तथा युवा क्लव गठन गरी विद्याथीहरुलाई सहकारी सचेतना, वित्तीय साक्षरता, निवन्ध प्रतियोगिता लगायत विविध रचनात्मक र सिर्जनशिल कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

अभिलेख

लोकप्रिय