१५ बैशाख २०८१, शनिबार

के सहकारी नाफाको लागि मात्रै हुन्?

१३ फाल्गुन २०८०, आईतवार
के सहकारी नाफाको लागि मात्रै हुन्?

एकदिनको कुरा हो,  म काम विशेषले हाम्रो सहकारीको बजार प्रतिनिधिको साथ सदस्य भेट्न उहाँको व्यवसाय चलिरहेको पसलमा पुगें । यसरी बजार घुम्न मन लाग्ने मेरो रुचि पनि हो । यत्तिकैमा एक जना अनि समाजमा बुझ्ने तथा शैक्षिकरुपले सचेत व्यक्तित्व आउनुभयो र भन्नुभयो,  ‘अहिले सहकारीहरु नाफाको खोजीमा मात्र देखिन थाले ।’ अनि म जिज्ञासु हुँदै हजुरले किन यसो भन्नुहुन्छ भनेर सोधें, उहाँलले उत्तर दिदै भन्नु भयो, “सदस्यहरुलाई शसक्तिकरण गर्ने, आत्मविश्वास बनाउन ध्याने दिने गरिँदैन । कसरी नाफा बाँढ्न सकिन्छ भनेर सेयर सदस्य र सहकारीकर्मीको ध्यान त्यता तिर मात्र गयो । अनि बैंकको सेयर किने जस्तो सहकारीको सेयर पनि नाफै गर्न हो भन्ने मानसिकताले काम गरेको छ । यसरी सोच्नु भनेको सहकारीको सिद्धान्त तथा मूल्य भन्दा फरक हुन जान्छ । हैन र ? खास सहकारीले आफ्ना सदस्यहरुलाई सशक्त बनाउने हो । सदस्यलाई आयआर्जन गर्न सक्ने बनाइदिनु पर्ने हो । सदस्यहरुको सीप वृद्धिमा जोडदिनुपर्ने हो । भएको पैसा राख्ने अनि नाफा खोज्ने प्रवृति बढ्दो छ । हुनत मानिसले कुरा बुझेको हुनुपर्ने हो तर चेतना परिवर्तन नभएको देखियो । ल तपाई नै भन्नुस् न मेरो कुरा कस्तो लाग्यो? कुरा बुझ्ने व्यवहारमा नउतार्ने जस्तो देखिन्छ । सहकारी भन्ने बित्तिकै मिलेर काम गर्ने,  सबैलाई शसक्त बनाउने हो । व्यवसायमा सहयोग खोज्ने हो । आफूले उत्पादन गरेका वस्तुलाई बजारीकरण गर्न सहयोग गरिदिने हो । आफ्ना सदस्यका निम्ति क्षमता अभिवृद्धिकालागि हातेमालो गरिदिनुपर्ने र आवश्यक पुँजी लगानी गर्न सहयोग गर्ने हो । अहिले के भैराखेको छ, भने रोग लागेमा ऋण दिने, पसलमा उदारो तिर्न सकिरहेको हुँदैन ऋण दिएको छ । लत्ता कपडा किन्न पैसा दिएको छ । ल भन्नुस त, सहकारीको ऋण उठ्छ? वास्तवमा हामी उत्पादन मुखी हुनुपर्ने हो । जसले गर्दा राष्ट्रिय पुँजीलाई पनि टेवा दिन्थ्यो । अनि रोजगारीको पनि सिर्जना गर्न सक्थ्यो । अनि पो सहकारी राष्ट्रको तेस्रो खम्बा हुन सक्थ्यो ! यसो हुन त उत्पादनमा लाग्नु पर्यो नि त हैन र भन्नुस् त? दुःखको कुरा खै सरकारको नीति? ती नीतिहरुले उत्पादन मुखी बनाउन सहयोग गर्नुपर्ने हैन र? सरकारका नीतिहरु ठूला–ठूलालाई फाइदा हुने देखिन्छ । तर तल्लो स्तर (आर्थिक पहुँचका हिसाबले) का मानिस जो बिहान–बेलुका हातमुख जोड्न जोहो गर्ने व्यक्तिहरुका लागि कामै नगर्ने खालको नीति बनेको । मलाई लाग्छ सरकारको नीतिको प्रभावले आज सहकारीको अवस्था यस्तो भएको हो ।’

यति भनेपछि म अवाक भएँ । मौन स्विकृति जनाउँदै उक्त जिज्ञासु व्यक्तिलाई सरल जवाफको साथ मुसुमुसु हाँस्दै टाउको हल्लाएँ ।

मेरो बजार प्रतिनिधिको साथ अर्को सदस्यले उद्यम गर्नुभएको फर्म तर्फ बाटो लागें ।

यो माथिको घटना एक प्रतिनिधि हुन सक्छ । आम मानिसमा सहकारी प्रति कस्तो भावना छ र सहकारीको भूमिका समाजमा केके हुन सक्छन् भनी यस आलेखलाई अगाडी बढाउन चाहन्छु ।

नेपाली बृहत शब्दकोषले सहकारीलाई साथी, सहयोगी, सहायक व्यक्ति तथा एकसाथ मिलेर काम गर्ने वा साथ साथै काम गर्ने भनेर लेखेको पाइयो । के अहिले सहकारीहरु आफ्नो अर्थको शब्द अनुसार चलेका छन् त? यो एक गम्भीर प्रश्न हुनसक्छ । सहकारी भन्ने बित्तिकै समान आर्थिक स्तर इच्छा, रुचि र आवश्यकता भएका तथा एउटा निश्चित भौगोलिक सीमा मित्र बसोबास गर्ने वा प्रवृतिका कार्यमा संलग्न भएका मानिसले आपसी हितका निम्ती आर्थिक कारोबार गर्न स्थापित गरिएको संस्था भन्ने बुझिन्छ ।

सहकारीको मूलभूत उद्देश्य सदस्यहरूको आर्थिक उत्थान गरी सामाजिक न्याय र समानता दिलाउनु हो । समाजमा व्याप्त गरिबी, व्यापारिक एकाधिकार जस्ता आर्थिक एवं सामाजिक विसंगतिहरुको अन्त्य गरी सहकारीताको माध्यमबाट समाजका निम्न आय वर्गीय गरीब जनसमुदायको जीवनस्तर उकास्न र उनीहलाई सामाजिक न्याय दिलाउनु सहकारीको प्रमुख ध्येय हो ।

सहकारीले आर्थिक उपार्जनलाई मात्र ध्यान दिनुहुँदैन । यसले आफ्ना सदस्यको चेतना विकासका लागि सहकारी शिक्षा, तालिम र परामर्श दिनु यसको शैक्षिक उद्देश्य हो । त्यसो हुनाले आर्जित रकमको केही प्रतिशत सहकारी तालिम, शिक्षा, परामर्श सेवा, सेमिनार, गोष्ठीजस्ता शैक्षिक क्रियाकलापमा खर्च गर्ने हुनाले यसको भूमिका शिक्षित समाज निर्माण गर्नु पनि हो ।

सहकारीले समाजमा मिलेर बस्न सिकाउँछ । सहकारीकरणले बचत गर्ने बानीको विकास गराउँछ । यसले बचत गर्नको लागि अवसर हेर्न, सिक्न र जान्नको लागि सदैव उत्प्रेरित हुनुपर्दछ । यसले सीप हुनेहरुलाई सिप नहुनेसँग सहकार्य गरी आत्मबल बढाई आत्म स्वाबलम्बन बन्ने बानीको विकास गराउनु पर्दछ । प्रजातन्त्रिक नेतृत्व बिना सहकारीको कल्पना समेत गर्न सकिदैन । यसप्रकारको अवस्थाले सहकारीको विकास र विस्तारले देशका नागरिकहरुको आर्थिक आयआर्जनमा त प्रगती हुन्छ नै साथै यसले समाजमा भाईचाराको विकास गरी राष्ट्रिय एकताको माला तैयार गर्न महत्वपूर्ण योगदान दिन सक्छ ।
सबैभन्दा बढी सहकारीले आयआर्जनको क्षेत्रमा लगानी गनुपर्छ । यसको मुख्य उद्देश्य पनि कृषिमै लगानी गर्नु हो । व्यापार, उद्योगमा पनि लगानी गर्न सकिन्छ । बजार क्षेत्रका सहकारीहरुले उद्योगमा लगानी गर्न सक्छन् । कृषि कर्जामा यान्त्रिकरण भनेर ट्याक्टरमा लगान गर्न पनि सकिन्छ । सदस्यलाई ऋण लिनका लागि मात्रै हैन उनीहरु संस्थाको सदस्य पनि हुन् भनेर सोच्ने वातावरण बनाउन पर्छ । उत्पादन, बेचबिखन, उपभोक्ता भण्डारण, तालिम, अस्पताल सञ्चालन, विद्यालय सञ्चालन, कोल्ड स्टोर जस्ता क्षेत्रमा लगानी बढाउन पर्ने देखिन्छ । संस्थासँग आबद्ध किसानले आफ्नो उत्पादन तुरन्तै सस्तोमा बेच्न नपरोस् भनेर कोल्ड स्टोर बनाई उनीलाई तत्काल खाँचो पर्ने पैसा कर्जा बापत दिन सकिन्छ । जतिबेला किसानले मूल्यपाउँछ त्यसबेला उनीहरुको अनुमतिमा उनीहरुको उत्पादन बेचेर उनीहरुको मूल्य किसानलाई दिएर ब्याज मात्रै संस्थाले लिने व्यवस्था गरी कृषि क्षेत्रमा प्रर्वधन गर्न सकिन्छ ।

सहकारीले बेलैमा मल विउ व्यवस्थापन गरी कृषकलाई चाहिएको बेलामा उचित मूल्यमा वितरण गर्न सक्छन् । सहकारीहरु बैंक, फाइनान्स जस्तो वित्तीय संस्था होइन तर यहाँ यस्तै बनाइयो । सहकारीले २५–३० प्रतिशतसम्म ब्याज दिने लोभमा अस्वस्थ विज्ञापन पनि गरेको पाइन्छ । लोभ र प्रलोभन देखाएर सहकारीका नाममा सर्वसाधारणबाट पैसा उठाएर यदाकदा सुनियो । घरजग्गा, सेयर, विलाशितामा प्रयोग गरियो । त्यो फेरि सहकारीले लगानी गरिदियो । अब त्यो लगानी कति उत्पादन मुल भयो? यो संस्थाले जान्ने कुरा हो । भोली किस्ता तिर्न नसक्ने, विभिन्न घटना परिघटना पर्न जाने पनि यसरी नै देखिन्छ र देखिदै पनि आएको छ ।

बचत तथा ऋण सहकारी (साकोस) को विश्वको सर्वोच्च सञ्चाल विश्व ऋण परिषद्ले साकोसका चार सिद्धान्त प्रतिपादन गरेको छ । जसमध्ये पहिलो सिद्धान्त सदस्यसुरक्षाको सिद्धान्त रहेको छ । त्यसो हुनाले साकोसले विश्वास गरेको वस्तु तथा सेवा सदाय मैत्री हुनुपर्दछ र सेवा विकास गर्दा सदस्य केन्द्रित सेवा विकास गर्नुपर्दछ । सहकारीले सेवा प्रवाह गर्दा लाग्ने शुल्कका दरहरु सदस्यहरुसँग करोबार सम्पन्न गर्नु अगावै सदस्यमैत्री माध्यमको प्रयोग गरी जानकारी गराउनुपर्दछ । सहकारीले गर्ने प्रत्येक कारोबार जस्तैः त्रैमासिक रुपमा सदस्यसँग ब्याजदर, लाभांश, शुल्क आदिका वारेमा विवरण उपलब्ध गराउनुपर्छ । सदस्यलाई निष्पक्ष र समान व्यवहार गर्नुपर्दछ । व्यक्तिगत सामिप्यता र चिनजानका आधारमा सेवा प्रवाहमा विभेद गर्नुहुँदेन । क्षमतामा आधारित ऋण लगानीको सिद्धान्तमा रहेर ऋणको अभ्यास गर्नुपर्दछ । ऋण असुली गर्दा कानुन सम्मत र सम्मान व्यवहार तथा विधिको मात्र प्रयोग गर्नुपर्दछ । सहकारीले सदस्यलाई नियमित बचत परिचालन, ऋण सदुपयोगिता र वित्तीय साक्षरता सम्बन्धी शिक्षा प्रदान गर्नुपर्छ । त्यसोहुँदा सहकारीले वस्तु तथा सेवा विकास, उपयोग, वितरण आदिमा नियमित वित्तीय साक्षरता प्रदान गरी सहकारी सदस्य सुरक्षाप्रति प्रतिवद्ध भन्ने विश्वस्त बनाउन सके सदस्य सम्बन्धी दिगो हुन्छ ।

सहकारी सञ्चालनको मुख्य आधार भनेकै निरन्तर शिक्षा हो । आफ्नै अभ्यासबाट तथा देश विदेशका अभ्यासबाट पनि धेरै पक्षहरुको ज्ञान लिन सकिन्छ । सहकारी सदस्य, शिक्षा, व्यवस्थापन तालिम, सञ्चालकहरुको तालिम, लेखा सुपरीवेक्षण समितिको तालिम लगायत सम्बन्धीत सहकारीले निश्चित पाठ्यक्रम पनि बनाउँदै लैजानुपर्छ ।

अहिले प्रविधिको युग हो । दक्ष जनशक्ति व्यवस्थापन र प्रविधिको उपयोग गरिँदै आइरहेको अवस्थामा वित्तीय सहकारी सञ्चालनमा एक मापदण्ड निर्धारण गरी प्रविधिमा आधारित सेवा, कारोबार र मुक्तानीलाई वित्तीय संस्थाहरुको आन्तरिक सञ्जालमा जान आवश्यक छ । जसबाट समुदायका सदस्यहरुले बैंक वित्तीय संस्थाको उपलब्ध गराएका सबै सेवा सुविधाहरुको उपयोग गर्न सक्नेछन् भने सहकारीको वित्तीय करोबारको विश्वसनियता कायम हुनेछ ।

वित्तीय सहकारी सञ्चालन नितान्त प्राविधि विषय भएकोले आवद्ध संघ/संस्थाहरुमा नेतृत्व, व्यवस्थापन र सदस्यहरुका लागि सहकारीका विश्वव्यापी मान्यता र सिद्धान्तका विषयको साथै अद्यावधिक ज्ञान, सीप, कौशल र धारणालाई निखार ल्याउन देशभरीकै सदस्यहरु जोडिन पानि सान्दर्भिक देखिन्छ । विशेषतः विश्व ऋण परिषदले सिफारिस गरेका ६ वटा समाधानहरु: वितीय अनुगमन प्रणाली (पल्र्स) कृषि लगानी निर्देशिका, वित्तीय साक्षरता मार्गदर्शन, नमुना सहकारी विकास निर्देशिका, सहकारीमा महिला सहभागिता प्रवर्द्धन निर्देशिका, समुदाय परिचालनको प्राविधिक औजार विकासलाई बढावा दिन आवश्यक छ।

कोभिड भन्दा पहिले हामीले घरमा बसेर कार्यालयको काम गर्ने गरिन्थ्यो । अनलाइन शिक्षा तथा तालिम लिने कुराको कल्पना भन्दा बाहिर थियो । तर कोभिडपछि हामी घरमा बसेर पनि काम गर्न सक्छैं साथै अभौतिक माध्यमबाट सिकाइ गर्न सक्छौं भन्ने ज्ञान सिकिएको छ । त्यस्तै यसको सकारात्मक असरहरूमा विद्युतीय प्रणालीहरु मोबाइल बैकिङ, क्यूआर स्क्यान आदि जस्ता प्रविधिको अपरिहार्यता तथा महत्व देखिएको छ । त्यसो हुनाले अहिलेको समयमा कर्मचारी उत्पादकत्व वृद्धि हुँदै गएको छ । छिटो छरितो सेवा प्रचार गर्न सहज हुँदै गएको छ ।

लेखको सारः
सहकारीहरू नाफा कमाउनका लागि मात्रै नभई सेयर सदस्यहरूको तथा समग्र समुदायको, आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षको सुधार तथा जर्गेना गर्नको लागि सदैव तत्पर हुनुपर्दछ । मानिसको चेतनास्तर वृद्धि गर्नुमा सहकारीको ठूलो योगदान रहेको हुन्छ जसलाई मध्येनजर राख्दै समग्र मानिसको दुख: सुखको सारथी सहकारी बन्न सक्नुपर्छ । सहकारी शिक्षामार्फत स्थानीय, प्रदेश तथा संघीय सरकारले सहकारी शिक्षा सम्बन्धी पाठ्यक्रम विकास गरी ग्रासरुटदेखि जनचेतना अभिवृद्धि गरी कुल ग्राहस्थ उत्पादनमा जोड दिन आवश्यक देखिन्छ ।

अभिलेख

लोकप्रिय