२३ बैशाख २०८१, आईतवार

सन्दर्भ अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारी संस्था दिगो हुने सात आधारहरु !

१६ असार २०८०, शनिबार
सन्दर्भ अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारी संस्था दिगो हुने सात आधारहरु !

– भीम गुरुङ

हरेक वर्षको जुलाई महिनाको पहिलो शनिबार सहकारी विश्वभर अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउँदै आएको छ । सहकारी अभियान विश्वको सबैभन्दा पुरानो र ठूलो सञ्जाल भएको सामुहिक व्यवसाय समेत हो । आजभन्दा १०१ वर्ष अगाडि अर्थात सन् १९२२ बाट संयुक्त राष्ट्रसंघको अगुवाईमा संसारभर सहकारी दिवस धुमधामका साथ मनाउँदै आईरहेको हो । दिवसका दिन खासगरि सहकारी अभियानको तर्फबाट भए गरेका असल अभ्यासहरुको चर्चा परिचर्चा, सहकारीले विश्व मानचित्रमा खेलेको भूमिका, दिगो विकास र मानव विकासको क्षेत्रमा यसको महत्व, सहकारी ब्राण्डका उत्पानहरुको प्रर्दशनी, बजारीकरण र बिक्री वितरण, सहकारी क्षेत्रको समसामयिक समस्या, कारण र समाधानका उपायहरु साथै भावी दिनमा यसले खेल्नुपर्ने भूमिका लगायतका विषयहरुमा बहस पैरवी र अन्तरकृया हुने गरेको छ । यस वर्ष ‘दिगो विकासको लागि सहकारी’ भन्ने मूल थिमका साथ विश्वभर यो दिवस मनाईदैछ । सन् १८४४ मा बेलायतको रोचडेल शहरबाट २८ जना औधोगिक मजदुरहरुबाट शुरु भएको सामुहिक अभियान यतिखेर विभिन्न मुलुकको आर्थिक विकासको उपयुक्त मोडलको रुपमा विकास भईरहेको छ । बेलायतको कोअपरेटिभ युके, जापानको जेए, नोरिनचुकिन बैक, भारतको अमूल र इफ्को, फ्रान्सको क्रेडिट एग्रिकोल, क्यानाडाको डेष्डार्जिन र इजरायलको कृषि सहकारी अभियान जस्ता केही नमूना सहकारी उधोगहरु बहुराष्ट्रिय कम्पनी भन्दा उपल्लो दर्जाको रुपमा स्थापित छन् । विश्वभरका ठूला ३०० सहकारीको तथ्याँक मात्र केलाउने हो भने पनि सहकारी मार्फत २८ करोड बढीलाई प्रत्यक्ष रोजगारी दिईरहेको छ । नेपालमा पनि सहकारी अभियानलाई तीन खम्बे अर्थतन्त्रको एउटा सवल खम्बाको रुपमा संविधानले अंगिकार गरेको छ । ७३ लाख भन्दा बढी मानिसहरु सदस्यको रुपमा आवद्ध भएको सहकारी अभियानमा ९३ हजार बढीले प्रत्यक्ष रोजगारी पाईरहेको छ । तर पछिल्लो समयमा सहकारीमा देखिएको छिटफुट समस्याले सहकारीको दिगोपनामा प्रश्नचिन्ह खडा भएको छ । आखिर सहकारी कसरी दिगो रुपमा सञ्चालन गर्न सकिन्छ ? यसको खास आधारहरु के रहेछन् भनेर अध्ययन गर्ने क्रममा सफल देखिएका सहकारीका गतिविधी, असल अभ्यास र उनीहरुको रणनीतिबाट सहकारी संस्था दिगो हुने केही आधारहरुलाई बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।

१) सैद्धान्तिक रुपमा स्पष्टता
सहकारी क्षेत्रमा सबैभन्दा ठूलो समस्यको रुपमा देखिएको पाटो भनेको सैद्धान्तिक विचलन हो । सहकारी संस्था कस्को लागि खोल्ने हो ? किन खोल्ने हो ? कुन विषयको खोल्ने हो भन्ने विषयमा यसका परिकल्पनाकारहरु स्पष्ट हुन जरुरी छ । खोल्ने सहकारी, चलाउने कम्पनी, हुन पर्ने सहकारीकर्मी भयो साहुकारी । सहकारी भनेको सदस्यहरुको संस्था हो, यसलाई सदस्यबाटै नियन्त्रण गर्छ, सिद्धान्तत यो अरु कम्पनी र सामाजिक संस्था भन्दा फरक हो भन्ने कुरा बुझ्न जरुरी छ । यो नाफाको लागि मात्रै होईन, सेवाको लागि पनि हो भन्ने बुझेर मात्रै सहकारी अभियानमा आउन पर्ने हुन्छ । बास्तवमा सहकारी अन्र्तराष्ट्रिय रुपमा मान्यता प्राप्त सिद्धान्त, मूल्य मान्यता र आदर्शमा संचालन हुन्छ भन्ने जानकारी हुने सहकारीहरु दिगो रुपमा अगाडि बढिरहेका छन् । तसर्थ सैद्धान्तिक स्ष्ष्टता यसको एउटा मूख्य आधारस्तम्भ हो ।

२) भिजनरी लिडरसिप
सहकारी संस्थालाई दिगो बनाउने अर्को महत्वपूर्ण आधार भनेको यसका संचालकहरु हुन् । सहकारी संस्थाका सदस्यहरुबाट आफ्नो प्रतिनिधीका रुपमा आवधिक निर्वाचन मार्फत सञ्चालकहरु निर्वाचित हुन्छन् । सञ्चालकहरुले सदस्यहरुको हित र दिगो सहकारी निर्माणका लागि भिजन मिसन तयार गर्ने, योजना तथा नीतिहरु निर्माण गर्ने र यसको कार्यान्वयनका लागि कर्मचारी परिचालन गर्न सक्नुपर्छ । सञ्चालकहरु नीति निर्माता हुन सदस्यहरुको पहरेदार हो, दैनिक व्यवस्थापनमा हस्तक्षेप गर्न हुदैन भन्ने कुराको समेत ख्याल राख्न सक्नुपर्दछ । आफ्नो कार्यकालमा संस्थालाई कुन उचाईमा स्थापित गर्ने, कति सदस्य बनाउने, वित्तीय रुपमा कति सुरक्षित र बलियो बनाउने भन्ने कुराको संचालकहरुमा हेक्का हुन जरुरी छ । वर्तमान सञ्चालकहरुले भावी नेतृत्व समेत तयार गर्दै सहकारीलाई पूस्तौ पुस्ता सम्म सहज रुपमा सञ्चालन हुने रोड म्याप तयार गरेर छोड्न सक्नुपर्दछ । सञ्चालकहरुले आफ्नो कार्यकाल पश्चात पनि निरन्तर योगदान गर्दै भावी पुस्ताप्रतिको चिन्ता र सरोकार राख्न सक्नुपर्छ अनि मात्र दिगो सहकारी निर्माणमा टेवा पुग्दछ ।

३) क्रियाशिल सदस्य
सदस्यहरु सहकारीका मेरुदण्ड हुन् । यो विषय सहकारीका सदस्य र यसका नेतृत्व कर्ताले बुझ्न र बुझाउन जरुरी छ । ऋण लिन सदस्य बन्ने, नाफाको लागि सदस्य लिने वा बढी ब्याज पाउने लोभमा सदस्य बन्ने प्रवृत्तिले सहकारीहरुमा समस्या देखिएको छ । सदस्यलाई ग्राहकको रुपमा व्यवहार गर्ने, वार्षिक साधारण सभामा सहभागी नगराउने जस्ता रोग कतिपय संस्थामा देखिन्छ । तसर्थ सदस्यहरुलाई विभिन्न तालिम मार्फत क्रियाशिल गराउने, नियमित बचतमा सहभागी गराउने, सदस्य सहभागितामा नीति निर्माण गर्ने, ऋण सदुपयोगिता र यसको जोखमको बारेमा परामर्श सेवा दिने र सदस्यको हरेक सुख दुःखमा सहकारीले साथ दिने, सदस्य ग्राहक होईन मालिक हो भन्ने वातावरण सिर्जन गर्ने र सदस्यले पनि आफ्नो भूमिका र कर्तव्य पालना गर्ने हो सहकारी कहिल्यै पनि समस्यामा पर्दैन । सक्रिय सदस्य नै दिगो सहकारीको आधारस्तभ्म हो ।

४) कर्मचारी व्यवस्थापन र परिचालन
सहकारीलाई दैनिक रुपमा सञ्चालन गर्ने भनेको यसको व्यवस्थापनमा खटिने कर्मचारीहरु हुन् । कर्मचारीहरु दक्ष, कुशल, इमान्दार, सदस्यमैत्री र परिश्रमी हुन पर्दछ । सहकारी संस्थाको उद्धेश्य हासिल गर्न आवश्यक कर्मचारीहरुको व्यवस्थापन र परिचालन यसको अर्को महत्वपूर्ण पक्ष हो । आवश्यकता भन्दा बढी कर्मचारी, आम्दानी भन्दा बढी खर्च गर्ने, क्षमता भन्दा बढी अधिकार प्रत्यायोजन र कर्मचारीको बोझ मिलाउन सकिएन भने संस्था अधोगति तर्फ जाने खतरा हुन्छ । तसर्थ कर्मचारी र कामको तादम्यता मिलाउदै कर्मचारीहरुलाई दिगो रुपमा संस्थामा स्थापित गर्न सक्ने वातावरण कायम गर्ने र श्रम ऐनको पालनामा ध्यान दिन सकियो भने कर्मचारी र संस्थाको दिगोपनाको कल्पना गर्न सकिन्छ । तसर्थ सहि कर्मचारी, सहि समयमा सहि पदमा नियुक्ती गरि परिचालन गर्नु दिगो सहकारी निर्माणको अर्को आधारशिला हो ।

५) सुशासन र सहकार्य
सुशासन सहकारी सञ्चालनको एउटा अपरिहार्य शर्त हो । सञ्चालक समितिले प्रचलित ऐन कानूनको अधिनमा रहेर संस्थाको दैनिक प्रशासन सञ्चालनको लागि न्यूनतम नीति तथा कार्यविधी निर्माण गर्नुपर्दछ । यिनै नीति विधीका आधारमा संस्था संचालन गरिनुपर्दछ । हाल समस्यामा परेका सहकारीको अवस्था हेर्दा सुशासनको न्यूनतम शर्तहरु समेत पालना गरेको पाईदैन । जिम्मेवारीपन, पारदर्शिता, जवाफदेहिता, कर्तव्यपालनको विषयमा चुकेकै कारण धेरै संस्थाहरु धरापमा परेका छन् । नीति भन्दा नेता प्रधान गतिविधीले वित्तीय अपराध मौलाउनुका साथै वित्तीय अनुशासन उल्लंघन भएको थुप्रै घटनाहरु नेपाली सहकारी अभियानमा व्याप्त छन् । यस्ता गतिविधीले सहकारीलाई दिगोपन होईन, क्षणभरमै समाप्तिको बाटोतिर पुर्याउँदछ । अर्को कुरा सहकारीका संघहरु र नियामक निकायसंगको नियमित र अर्थपूर्ण सहकार्यले सहकारीलाई मार्गदर्शन र निर्देशन गर्ने हुँदा यस्ता सहकार्यले सहकारीको दिगपना र स्तरीयतामा समेत सहयोग गर्दछ ।

६) नविन प्रविधि र परियोजना
समय परिवर्तनशील छ । परिवर्तित समयसंगै द्रुत गतिमा नविन प्रविधीको विकास भईरहेको छ । यो नविन प्रविधिलाई प्रतिस्पर्धी रुपमा अंगीकार गर्दै संस्थामा भित्रयाउन सक्ने संस्थाहरु नै अब्बल देखिदै आएको छ । संस्थामा नविन वस्तु तथा सेवाको विकास गरि प्रविधिमैत्री सेवाको विकास गर्दा नयाँ सदस्य र युवा वर्गलाई आकर्षण गर्न सकिन्छ । नयाँ र युवा सदस्यहरुको आगमनले संस्थालाई दिगो रुपमा सञ्चालन गर्न मद्धत गर्नेछ । त्यसरी नै सदस्यहरुको माग र चाहना बमोजिम नयाँ नयाँ परियोजनाहरु निर्माण र सञ्चालनले सहकारीलाई अग्रगतितिर डोरयाउछ । संस्थाले दीर्घकालिन योजना, रणनैतिक योजना र वार्षिक योजनाहरुलाई समय सापेक्ष विकास र विस्तार गर्दै जानु पर्दछ ।

७) समुदाय केन्द्रित गतिविधि
सहकारी संस्थाहरु समुदायमा आधारित हुन्छन् । समुदायको हरेक क्षेत्रमा सहकारीको उपस्थिति रहनु पर्दछ । जुन सहकारीले समुदाय केन्द्रित गतिविधीलाई प्राथमिकता राखेको हुन्छ, त्यहि सहकारीले समुदायको साथ प्राप्त गरेको हुन्छ । समुदायले साथ दिएको संस्था नै दिगो रुपमा सञ्चालन हुने गर्छ । खास गरि सहकारीका सात सिद्धान्त मध्ये सातौ नम्बरमा रहेको समुदायप्रति चासोमा रहेर समाजमा रहेका हरेक क्षेत्र र वर्गसंग समन्वयात्मक ढंगबाट संस्थाले आर्जन गरेको नाफा मध्ये केहि प्रतिशत सदस्य र समुदायको हित तथा संरक्षणका लागि विविध गतिविधी सञ्चालन गरिनु पर्दछ । यस्ताखाले गतिविधीले संस्थालाई समुदायमा परिचित गराउने र समुदायको हरेक नागरिकलाई सहकारीको सदस्य बनाउन मद्धत गर्दछ । व्यक्ति, परिवार, समूह, समाज र समुदायमा केन्द्रित हुदै सबैलाई समेट्न सकेको अवस्थामा मात्रै सहकारीको दिगो भविश्यको कल्पना गर्न सकिन्छ ।

(लेखक पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि. कास्कीका प्रमुख कार्यकारी अधिकृत हुन्)

 

अभिलेख

लोकप्रिय