८ मंसिर २०८३, मङ्गलबार

लुम्बिनीमा अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन हुँदै, ६५० जनाको सहभागिता रहने

२०८३ मंसिर ८, मङ्गलबार
लुम्बिनीमा अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन हुँदै, ६५० जनाको सहभागिता रहने

काठमाडौं : राष्ट्रिय सहकारी महासंघको आयोजनामा आगामी मंसिर २४ देखि २६ गतेसम्म लुम्बिनीमा ‘अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन’ हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा स्वदेश तथा विदेशका गरी करिब ६५० सहकारीकर्मी सहभागी हुने महासंघले जनाएको छ ।

महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सहकारीमार्फत विश्व शान्ति, सामाजिक सद्भाव र दिगो विकासको सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो ।

उहाँका अनुसार दिगो शान्तिका लागि न्याय, समावेशिता, समानता र सबैका लागि आर्थिक अवसर आवश्यक छन् । पारस्परिक सहयोग, लोकतान्त्रिक सहभागिता र समानताका सिद्धान्तमा आधारित सहकारी संस्थाले शान्ति निर्माण र दिगो विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने भएकाले सम्मेलन आयोजना गर्न लागिएको हो ।

सम्मेलनमा सहभागी हुन स्वदेश तथा विदेशका सहकारीकर्मीलाई सदस्य संघमार्फत आग्रह गरिएको छ । सम्मेलनका लागि उत्साहजनक रूपमा दर्ता भइरहेको जानकारी दिँदै पोखरेलले इच्छुक सहकारीकर्मीलाई छिटो नाम दर्ता गरी आफ्नो स्थान सुरक्षित गर्न आग्रह गर्नुभयो ।

सम्मेलनमा शान्ति निर्माणसँगै सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे समेत छलफल हुने उहाँले बताउनुभयो । केही सहकारी संस्थाले सदस्यको बचत अपचलन गर्दा समग्र सहकारी अभियानमाथि नै प्रश्न उठिरहेको अवस्थामा क्षेत्रका विद्यमान समस्या समाधानका लागि सम्मेलनले मार्गनिर्देश गर्ने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

अन्तर्राष्ट्रिय सहकारी क्षेत्रमा भएका सफल अभ्यासलाई नेपालमा भित्र्याउँदै सहकारी अभियानलाई थप सुदृढ र व्यवस्थित बनाउन पनि सम्मेलनले सहयोग पुर्‍याउने महासंघको विश्वास छ । सम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) एसिया प्रशान्त क्षेत्रका अध्यक्ष डा. चन्द्रपाल सिंह यादवसमेत सहभागी हुने पोखरेलले जानकारी दिनुभयो ।

सम्मेलनमा सहकारीको दिगोपन, वित्तीय स्रोत परिचालन, नयाँ प्रविधिको प्रयोग र सहकारी क्षेत्रका विभिन्न आयामबारे कार्यपत्र प्रस्तुत तथा छलफल हुनेछ । साथै स्थानीय, प्रदेश र संघीय सरकार तथा सहकारी अभियानबीच अन्तरसंवाद गरी सहकारी क्षेत्रमा देखिएको अन्योल हटाउने र नयाँ गति प्रदान गर्ने लक्ष्य राखिएको छ ।

सम्मेलनमा शान्ति निर्माण र सहकारी, आर्थिक समानता, युवा तथा महिला नेतृत्व, जलवायु परिवर्तन तथा दिगोपन, दिगो विकास लक्ष्य, डिजिटल रूपान्तरण र विश्वव्यापी साझेदारीलगायत विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् ।

सम्मेलनबाट सहकारीमार्फत शान्तिका लागि आधिकारिक लुम्बिनी घोषणापत्र जारी गर्ने, सम्मेलनको कार्यवाही प्रतिवेदन तयार गर्ने तथा सरकार र अन्तर्राष्ट्रिय सहकारी निकायका लागि कार्यान्वयनयोग्य नीतिगत सुझाव प्रस्तुत गर्ने लक्ष्य राखिएको छ । त्यस्तै अन्तर्राष्ट्रिय साझेदारी तथा युवा सहकार्य सञ्जाल निर्माण र विश्व सहकारी शान्ति मञ्च स्थापनामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

महासंघका अनुसार सम्मेलनले सहकारीमार्फत शान्ति स्थापनामा हुने योगदानबारे विश्वव्यापी सचेतना बढाउने, सरोकारवालाबीच सञ्जाल विस्तार गर्ने र जलवायु परिवर्तन तथा प्राविधिक ज्ञान आदानप्रदानका लागि अन्तर्राष्ट्रिय सहकार्यको वातावरण बनाउनेछ ।

त्यसैगरी सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन, बजारीकरण, कृषि, वित्तीय क्षेत्र तथा उद्यम व्यवसायमा परिचालन गर्न अन्तर्राष्ट्रिय अभ्यास भित्र्याउने लक्ष्य पनि सम्मेलनले राखेको छ । यसबाट मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणमा योगदान पुग्नुका साथै बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थालाई व्यवस्थित गर्न प्रस्तावित सहकारी प्राधिकरण ऐनलाई प्रभावकारी बनाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्मेलनमा सहभागी हुन स्वदेशी सहकारीकर्मीका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँ र विदेशी सहभागीका लागि २५० अमेरिकी डलर शुल्क निर्धारण गरिएको महासंघले जनाएको छ ।

अभिलेख

लोकप्रिय