२ मंसिर २०८३, बुधबार

बंगलादेशी सहकारी प्रतिनिधिमण्डलद्वारा चन्दननाथ सहकारीको अर्गानिक मिनी मार्केट अवलोकन

२०८३ मंसिर २, बुधबार
बंगलादेशी सहकारी प्रतिनिधिमण्डलद्वारा चन्दननाथ सहकारीको अर्गानिक मिनी मार्केट अवलोकन

काठमाडौं : नेपालको सहकारी अभियानको अध्ययन तथा अवलोकनका लागि नेपाल भ्रमणमा रहेको बंगलादेशको द को–अपरेटिभ क्रेडिट युनियन लिग अफ बंगलादेश लिमिटेड (CCULB) को २० सदस्यीय प्रतिनिधिमण्डलले बुधबार काठमाडौंको भद्रकालीस्थित अर्गानिक मिनी मार्केटको अवलोकन गरेको छ।

जुम्लाको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित उक्त मिनी मार्केटको अवलोकनका क्रममा प्रतिनिधिमण्डललाई संस्थाका प्रमुख व्यवस्थापक ऋषिराज पाण्डेले स्वागत गर्नुभएको थियो।

सो अवसरमा पाण्डेले संस्थाले गर्दै आएका गतिविधिबारे प्रतिनिधिमण्डललाई जानकारी गराउनुभएको थियो। विशेषगरी संस्थाले आफ्ना सदस्यले उत्पादन गरेका रैथाने तथा अर्गानिक कृषि उपजको संकलन, बजारीकरण र बिक्री गर्दै आएको उहाँले बताउनुभयो। यसबाट स्थानीय उत्पादनलाई बजारसँग जोड्न तथा सदस्यको आयआर्जनमा सहयोग पुर्‍याउन संस्थाले भूमिका खेलिरहेको उहाँको भनाइ थियो।

उक्त अवलोकन कार्यक्रममा बंगलादेशी प्रतिनिधिमण्डलसँगै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालको समेत उपस्थिति थियो।

प्रतिनिधिमण्डलले मिनी मार्केटमा बिक्रीका लागि राखिएका सहकारीका विभिन्न स्थानीय तथा रैथाने उत्पादनसमेत खरिद गरेको थियो। टोलीले मार्सी चामल, स्याउ, च्याउको चाना, सिमी दाल, टिमुर, अर्गानिक चियालगायतका उत्पादन खरिद गरेको हो। यसले नेपाली सहकारीमार्फत उत्पादित स्थानीय वस्तुप्रति विदेशी सहकारी प्रतिनिधिहरूको चासोसमेत देखाएको छ।

भ्रमणका क्रममा टोलीले नेपालका नौवटा बचत तथा ऋण सहकारी संस्था, नेफ्स्कून तथा सहकारी रजिष्ट्रारको कार्यालयमा अध्ययन, अवलोकन, भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यतालिका रहेको छ।

प्रतिनिधिमण्डलमा बंगलादेशको सहकारी क्षेत्र हेर्ने मन्त्रालयका उच्च अधिकारी, सहकारी विभागका रजिष्ट्रार, CCULB का सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलगायत सहकारी क्षेत्रका प्रतिनिधिहरू सहभागी छन्।

नेफ्स्कून र CCULB बीच सन् २००५ देखि पारस्परिक अध्ययन तथा अवलोकन भ्रमणमार्फत सहकारी क्षेत्रको ज्ञान, सीप, अनुभव र असल अभ्यास आदानप्रदान हुँदै आएको छ। यसअन्तर्गत बंगलादेशका सहकारी प्रतिनिधिहरू नेपाल आउने र नेपाली सहकारी प्रतिनिधिहरू बंगलादेश जाने अभ्यास रहँदै आएको छ।

यस प्रकारका अध्ययन, अवलोकन तथा अनुभव आदानप्रदान कार्यक्रमले दुई देशबीचको सहकारी सम्बन्धलाई थप सुमधुर बनाउनुका साथै ज्ञान, सीप र अनुभवको आदानप्रदानमार्फत सहकारी अभियानको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

अभिलेख

लोकप्रिय