२२ असोज २०८३, बिहिबार

मिलीजुली कालिञ्चोक साकोसको ३३औँ साधारण सभा सम्पन्न, सदस्यलाई उद्यमी बनाउने लक्ष्य

२०८३ असोज २२, बिहिबार
मिलीजुली कालिञ्चोक साकोसको ३३औँ साधारण सभा सम्पन्न, सदस्यलाई उद्यमी बनाउने लक्ष्य

काठमाडौं : मिलीजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले आफ्नो कार्यक्षेत्रलाई तीन एकाइमा विभाजन गरी एकाइगत साधारण सभा सम्पन्न गरेपछि निर्णय प्रमाणित सभा समेत सम्पन्न गरेको हो ।

सभामा संस्थाका अध्यक्ष कृष्णबहादुर गौतमले ‘सदस्यको मनमा मिलिजुली, सदस्यको घरमा मिलिजुली’ भन्ने मूल नारालाई आत्मसात् गर्दै प्रविधिको अधिकतम उपयोगमार्फत सदस्यलाई सेवा प्रदान गर्दै आएको बताउनुभयो ।

छरिएर रहेका स–साना पुँजीलाई एकीकृत गरी सदस्यहरूको आर्थिक क्षमता अभिवृद्धि गर्ने तथा साहु–महाजनबाट महँगो ब्याजदरमा ऋण लिनुपर्ने बाध्यताबाट मुक्त गराउने पवित्र उद्देश्यका साथ संस्था स्थापना भएको उहाँले बताउनुभयो ।

सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गर्दै सदस्यहरूको आर्थिक, सामाजिक तथा जीवनस्तर सुधारमा योगदान पुर्‍याउने उद्देश्यका साथ संस्था सञ्चालन भइरहेको उहाँले बताउनुभयो । संस्थाले सदस्यलाई ऋणी मात्र बनाउने उद्देश्य नराखी उद्योग तथा व्यवसाय सञ्चालनमार्फत आर्थिक रूपमा समृद्ध बनाउने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो ।

संस्थाले सदस्यलाई ऋण लिनुअघि मासिक तीनपटक वित्तीय साक्षरता तथा ऋण व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षदेखि व्यवसाय विकास सेवा समेत प्रदान गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

वित्तीय संस्थाको सहज पहुँच नभएका स्थानमा समेत सेवाकेन्द्र स्थापना गरी सदस्यलाई घरदैलोमै वित्तीय सेवा उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रका सदस्यहरूको आर्थिक कारोबारलाई सहज, सरल र सुरक्षित बनाउन सेवाकेन्द्रले महत्वपूर्ण योगदान पुर्‍याएको उहाँको भनाइ थियो ।

आगामी दिनमा सेवाकेन्द्रको पहुँच विस्तार गर्ने, प्रविधिमैत्री सेवाहरूलाई थप प्रभावकारी बनाउने, वित्तीय सेवामा नवीनता ल्याउने तथा प्रत्येक सदस्यको आवश्यकतालाई केन्द्रमा राखेर सेवा प्रवाहलाई थप गुणस्तरीय बनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

सभामा सञ्चालक समितिका सचिव ठाकुरप्रसाद पाठकले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/०८४ को प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष सुरेशचन्द्र खड्काले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक प्रगति प्रतिवेदन तथा आगामी आर्थिक वर्षको प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो । लेखा सुपरिवेक्षण समितिका संयोजक नारायणप्रसाद सापकोटाले आर्थिक वर्ष २०८२/०८३ को प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्म संस्थामा २१ हजार २७३ सदस्य र ७ हजार ७९७ बाल सदस्य गरी कुल २९ हजार ७० जना सदस्य रहेको सभामा जानकारी दिइएको थियो ।

गत आर्थिक वर्षमा संस्थाले १ अर्ब १९ करोड २२ लाख ४२ हजार रुपैयाँ बचत संकलन गरी ९२ करोड ३१ लाख ३५ हजार रुपैयाँ ऋण लगानी गरेको छ । संस्थामा बाह्य ऋण शून्य रहेको तथा जगेडा कोषमा ९ करोड ११ लाख ६७ हजार रुपैयाँ पुगेको जनाइएको छ ।

असार मसान्तसम्म संस्थाको कुल वासलात १ अर्ब ४२ करोड ७१ लाख ५३ हजार रुपैयाँ पुगेको सभामा जानकारी दिइयो ।

संस्थाले ऋण लगानीपूर्व ऋण व्यवस्थापन शिक्षा तथा परामर्श कार्यक्रम अनिवार्य गरेको जनाएको छ । साना ऋण माग भएको दिनमै लगानी गर्ने व्यवस्था रहेको समेत संस्थाले जनाएको छ ।

ऋण लगानी गर्दा इन्जिनियरबाट धितो मूल्यांकन, हकवालाको मञ्जुरी, धितोबन्धक तथा अनलाइन रोक्काको प्रक्रिया अपनाउँदै आएको संस्थाले जनाएको छ । धितो लिलामबाट असुली गर्ने तथा क्षमता हुँदाहुँदै ऋण तिर्न आलटाल गर्ने सदस्यविरुद्ध कर्जा असुली न्यायाधिकरण र जिल्ला अदालतमा मुद्दा दायर गर्न सुरु गरिएको सभामा जानकारी दिइयो ।

संस्थाले सेवाकेन्द्रमार्फत वित्तीय पहुँच विस्तार, एकीकृत कारोबार तथा डाटा व्यवस्थापन, मोबाइल बैंकिङ तथा डिजिटल भुक्तानी, सदस्यमैत्री कार्यालय समय तथा कर्मचारी क्षमता र कार्यसम्पादन व्यवस्थापनमा जोड दिँदै आएको जनाएको छ ।

त्यसैगरी एक्सेस सियुलेगका सूचकअनुसार कार्य समीक्षा तथा कार्यान्वयन, आचारसंहिता, स्वमूल्यांकन, पियर मूल्यांकन र पाँच ‘एस’ पद्धति कार्यान्वयन गर्दै आएको संस्थाले जनाएको छ । समयसापेक्ष ब्याजदर, सदस्य शोकमा राहत, ज्येष्ठ सदस्य भत्ता, सुत्केरी सम्झना सहयोग, एकाइगत साधारण सभा तथा निर्णय प्रमाणित सभा, स्थापना दिवसमा रक्तदान तथा उत्कृष्ट सदस्य र कर्मचारी सम्मानलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ ।

संस्थाले आगामी चार वर्षका लागि रणनीतिक योजना निर्माण गोष्ठी सम्पन्न गरी आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट तयार गरेको जनाएको छ । विनियम, निर्वाचन नियमावली, आर्थिक प्रशासन नियमावली, सम्पत्ति शुद्धीकरण निवारण कार्यविधि तथा ऋण कार्यविधि समेत संशोधन गरिएको संस्थाले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८३/०८४ मा चारवर्षीय रणनीतिक योजनाअनुसार वार्षिक कार्यक्रम सञ्चालन गर्ने, सुशासन तथा गुणस्तरलाई थप सुदृढ गर्ने र अद्यावधिक गर्न बाँकी आन्तरिक कानुन अद्यावधिक गर्ने योजना संस्थाले अघि सारेको छ ।

त्यसैगरी ऋणीको समस्याको वास्तविक कारण पहिचान गरी प्रभावकारी असुली गर्ने तथा ऋणको लगातार तीन किस्ता नआएमा धितो लिलाम गर्ने नीति संस्थाले लिएको छ । कर्जा असुली न्यायाधिकरण र जिल्ला अदालतमा मुद्दा दर्ता गरी ऋण असुली प्रक्रिया अघि बढाउने, ऋण कार्यविधिको अर्धवार्षिक समीक्षा गर्ने तथा धितोको वार्षिक आन्तरिक मूल्यांकन गरी अपुग धितो थप गराउने वा ऋण चुक्ता गराउने कार्य अघि बढाउने संस्थाले जनाएको छ ।

ऋण अनुशासनसम्बन्धी सदस्य शिक्षा, पुँजी पर्याप्तता अनुपात सुधार, भाखा नाघेको ऋण घटाउने, कर्जा सूचना केन्द्रसँग सूचना आदानप्रदान गर्ने तथा बचत तथा कर्जा सुरक्षण कोषमा सहभागिता बढाउने नीति संस्थाले लिएको छ । भाखा नाघेको ऋण तथा ऋण सुरक्षण कोषसम्बन्धी भौतिक तथा डिजिटल सदस्य शिक्षा सञ्चालन गर्ने समेत संस्थाले जनाएको छ ।

संस्थाले कोष तथा शेयर वृद्धि, औसत शेयर कायम, स्थिर तथा चल लागत नियन्त्रण, आम्दानी वृद्धि, गैरबैंकिङ सम्पत्ति व्यवस्थापन, डिजिटल कारोबार विस्तार, सूचना प्रविधि तथा साइबर सुरक्षा र सम्पत्ति शुद्धीकरण निवारणमा थप प्रभावकारी प्रणाली प्रयोग गर्ने नीति अघि सारेको छ ।

त्यसैगरी सदस्य सम्बन्ध विस्तार, समता र समानतासहितको सेवा, मानव संसाधन तथा नेतृत्व विकास, महिला नेतृत्व तथा उद्यमशीलता विकास, महिला स्वास्थ्य तथा सुरक्षा कार्यक्रम, बाल तथा युवा शिक्षा, सामाजिक उत्तरदायित्व तथा मानव संसाधनको क्षमता विकास र व्यवस्थापनलाई समेत आगामी कार्यक्रमको प्राथमिकतामा राखिएको संस्थाले जनाएको छ ।

अभिलेख

लोकप्रिय