आईडियल साकोसको २७औँ साधारण सभा सुरु, असोज २६ गते निर्णय प्रमाणीकरण सभा

काठमाडौं : राजविराज-४, सप्तरी स्थित आईडियल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभा सुरु भएको छ।
तीन वटा एकाइमा हुने साधारण सभाअन्तर्गत बुधबार (असोज २१ गते) एकाइ (क) हनुमाननगरमा सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष गणेशकुमार आशको सभापतित्वमा सम्पन्न सभाको सञ्चालन व्यवस्थापक विनोदकुमार साफीले गर्नुभएको थियो।
एकाई (ख) पातोमा २२ गते बिहीबार पातोबजार, एकाई (ग) राजबिराज स्थित जिल्ला समन्वय समितिको सभाहलमा २३ गते शुक्रबार हुनेछ । त्यस्तै निर्णय प्रमाणिकरण सभा २६ गते सोमबार संस्थाको कार्यालय भवनमा सम्पन्न हुने कार्यसूचि रहेको छ।

साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष आशले २८ वर्षअघि व्यवसायी, शिक्षक, बुद्धिजीवी तथा समाजसेवी अगुवाहरूको विचार, नेतृत्व र परिकल्पनाअनुरूप ४२ जनाले बीउ पुँजीका रूपमा प्रतिव्यक्ति १ हजार रुपैयाँका दरले ४२ हजार रुपैयाँबाट संस्था सुरु गरिएको बताउनुभयो। उहाँका अनुसार हाल संस्थामा १८ हजार ५६२ जना शेयर सदस्य, चुक्ता शेयर पुँजी १२ करोड ५६ लाख ५१ हजार ६०० रुपैयाँ र जगेडा कोष १४ करोड २६ लाख ७५ हजार ८७७ रुपैयाँ रहेको छ। त्यसैगरी, कुल बचत १ अर्ब १९ करोड ६० लाख ४७ हजार ८४१ रुपैयाँ, कुल ऋण लगानी ७५ करोड ४ लाख ८६ हजार २२३ रुपैयाँ र कुल सम्पत्ति १ अर्ब ४८ करोड १३ लाख १४ हजार १७७ रुपैयाँ रहेको सभामा बताउनुभयो।
उहाँले सहकारी भनेकै सदस्य भएकाले सदस्य भए मात्र सहकारी रहने बताउनुभयो। उहाँले सहकारी बोक्रा भएको र सदस्य गुदी भएको भन्दै सदस्य खुसी हुँदा आफू पनि खुसी हुने बताउनुभयो। त्यसैले सदस्यहरूको आवश्यकता र बजारअनुरूप सदस्य सेवा सञ्जाल विस्तार गरी सेवाका नयाँ क्षेत्रहरू पहिचान गर्दै संस्था निरन्तर प्रगतितर्फ अघि बढेको जनाउनुभयो।
उहाँले सहकारी ऐन, सहकारी नियमावली, सहकारी मापदण्ड तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेका निर्देशन तथा मापदण्डले असल अभ्यासका क्रममा विभिन्न अवसर सिर्जना भए पनि केही चुनौती थपिएको बताउनुभयो। चुनौतीको अर्थपूर्ण समाधानका लागि केन्द्रीय र प्रदेश सहकारी ऐनको संशोधनमा सबै निकायका निर्देशन तथा मापदण्डमा एकरूपता हुनु जरुरी रहेको उहाँको भनाइ छ।
उहाँले सहकारी सिद्धान्त, मूल्य र मान्यतालाई पूर्ण रूपमा आत्मसात् गरी अगाडि बढेका सहकारीहरूलाई सहज वातावरण सिर्जना हुँदै गए पनि सदस्य केन्द्रित नयाँ व्यवसाय गर्न नपाउने प्रावधानले बचत तथा ऋण सहकारीलाई लगानीमा चुनौती थपेको बताउनुभयो।
संस्थाले आफ्ना सम्पूर्ण सेवाहरू द्रुत गतिमा प्रदान गर्न प्रयास गरिरहेको भन्दै केही सहकारीहरूको खराब सुशासनका कारण उत्पन्न परिवेश, राजनीतिक अस्थिरता, व्यापार–व्यवसाय सञ्चालनमा आएको मन्दीजस्ता अवस्था हुँदाहुँदै पनि गत वर्ष तर्जुमा गरिएका अधिकांश कार्यक्रम सम्पन्न गरी केही नयाँ कार्यक्रमको थालनी गरिएको जनाउनुभयो।
अध्यक्ष आशले आधुनिक प्रविधिको एकीकृत सेवा कार्यक्रम तथा नवीनतम प्रविधिको प्रयोग, गरिबी निवारणसँग सम्बन्धित एकीकृत साक्षरता कार्यक्रम, सदस्यको उद्यमशीलता विकास, निजी क्षेत्र र सरकारी निकायसँगको सहकार्य, युवा तथा महिला केन्द्रित कार्यक्रम, प्रविधि तथा क्षमता अभिवृद्धिजस्ता कार्यक्रम सञ्चालन गरिने जनाउनुभयो। संस्थाको समग्र विकासका लागि नीति, विधि र प्रविधिमा विशेष जोड दिँदै ‘डिजिटल वित्तीय सहकारी संस्थाका रूपमा स्थापित गर्ने’ अभियानलाई अगाडि बढाइने बताउनुभयो।

जन्मदेखि स्वर्गसम्मको सदस्य सेवालाई विभिन्न उमेर समूहमा वर्गीकरण गरी सदस्य स्वागत कार्यक्रम, सुत्केरी भत्ता, बाल बचत खाता खोल्ने कार्यक्रम, स्कुल जाने बाल बचतकर्ता विद्यार्थीहरूलाई आईडियलको स्टेशनरीसहित झोला वितरण, बचतकर्ताहरूलाई बर्थडे केक वितरण, ऋण बीमा, तालिम, मृतक राहत, स्कुल–स्कुलमा आईडियल कार्यक्रम, युवासँग आईडियल साकोस कार्यक्रम, युवा सञ्जाल विस्तार तथा अक्षय कोषमा धनराशि विस्तार कार्यक्रम सञ्चालन गरेको जनाउनुभयो।
त्यसैगरी, महिला सशक्तीकरण, ज्येष्ठ सदस्य सम्मान कार्यक्रम, आईडियल सदस्य सहुलियत स्वास्थ्य सुरक्षा कार्यक्रम, संस्थामा २ वर्ष पूरा गरेको सदस्यलाई आकस्मिक राहत ऋण, कृषि तथा उत्पादन क्षेत्रको प्रवद्र्धन कार्यक्रम, उद्यमशीलताका लागि प्रोत्साहन कार्यक्रम, समुदायका लागि मेरो योगदान कार्यक्रम, ज्येष्ठ नागरिकलाई आईडियलको टेक्ने लठी तथा मृतक राहतजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको र अधिकांश नयाँ सदस्य सेवा कार्यक्रमलाई यस वर्षको वार्षिक कार्यक्रममा समावेश गरी योजनाबद्ध रूपमा प्रदान गरिने जनाउनुभयो।
त्यसैगरी, सदस्यहरूलाई डिजिटल माध्यमबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको र थप नयाँ प्रविधिको प्रयोग गर्दै आगामी दिनमा अघि बढ्नुपर्ने बताउनुभयो।
सभामा संस्थाका सचिव शैलेसकुमार चौधरीले गत आर्थिक वर्ष २०८२/०८३ को प्रगति विवरण तथा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित वार्षिक कार्यक्रम, कोषाध्यक्ष मञ्जुदेवी शाहले आ.व. २०८२/०८३ को वित्तीय प्रगति विवरणको समीक्षा तथा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित र आ.व. २०८४/०८५ का लागि अनुमानित वित्तीय लक्ष्य तथा बजेट प्रस्तुत गर्नुभएको थियो।
त्यसैगरी, लेखा समितिका संयोजक दिनेशकुमार साहकसेराले लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, टिप्पणी तथा सुझाव पेस गर्नुभएको थियो।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बिन्धवासिनी साकोसको ३३औँ साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन
२१ आश्विन २०८३, बुधबार
आईडियल साकोसको २७औँ साधारण सभा सुरु, असोज २६ गते निर्णय प्रमाणीकरण सभा
२१ आश्विन २०८३, बुधबार
सहायक खजाञ्चीदेखि सीईओसम्म : मदन बस्नेतको २५ वर्षे सहकारी यात्रा
२१ आश्विन २०८३, बुधबार