सहकारी संघ काभ्रेको ४५औँ साधारण सभा सम्पन्न, विभिन्न विधामा पुरस्कार तथा सम्मान
संघका अध्यक्ष अमन पोटे श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभामा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार तथा पूर्वअध्यक्षहरू, विषयगत सहकारी संघका अध्यक्ष एवं प्रतिनिधि, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष तथा पूर्वअध्यक्ष, जिल्लाका क्रियाशील सञ्चारकर्मी, सदस्य संघ/संस्थाका प्रतिनिधि, विभिन्न उपसमितिका सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
काभ्रेपलाञ्चोक, असोज १७ : जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकको ४५औँ वार्षिक साधारण सभा शनिबार संघको भवन, बनेपामा सम्पन्न भएको छ।
कार्यक्रममा संघकी महिला उपाध्यक्ष मिरा सत्यालले स्वागत मन्तव्य राख्नुभएको थियो। अध्यक्ष श्रेष्ठले संघका समग्र गतिविधि, वर्तमान अवस्था तथा आगामी कार्यदिशाबारे धारणा राख्दै संघका गतिविधिलाई क्रमशः डिजिटाइजेसनतर्फ अघि बढाउँदै मितव्ययिता र प्रभावकारी व्यवस्थापनलाई प्राथमिकता दिइएको बताउनुभयो।
उहाँले संघ तथा सदस्य संस्थाहरू नियामक निकायका निर्देशन, नीति तथा मापदण्डको पालना गर्दै सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो। सहकारी संस्थाहरू सदस्यकेन्द्रित हुनुपर्ने उल्लेख गर्दै बचत तथा ऋणको कारोबारमा मात्र सीमित नरही उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनासँग जोडिनुपर्ने धारणा व्यक्त गर्नुभयो। सहकारी अभियानलाई थप व्यवस्थित, प्रविधिमैत्री र उत्पादनमुखी बनाउने विषयमा समेत उहाँले जोड दिनुभएको थियो।
साधारण सभामा संघका सचिव प्रकाश बञ्जाराले आ.व. २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा संघले वर्षभरि सञ्चालन गरेका कार्यक्रम, गतिविधि तथा संस्थागत प्रगतिका विषय समेटिएका थिए। सचिव बञ्जाराले आ.व. २०८३/८४ का लागि प्रस्तावित वार्षिक नीति तथा कार्यक्रमसमेत सभामा प्रस्तुत गर्नुभएको थियो।
त्यसैगरी, संघका कोषाध्यक्ष अर्जुन प्रसाद सापकोटाले आ.व. २०८२/८३ को आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संघको आर्थिक अवस्था तथा वित्तीय गतिविधिबारे जानकारी गराउनुभएको थियो। उहाँले आ.व. २०८३/८४ का लागि अनुमानित आय–व्ययसहितको बजेट तथा प्रस्तावित कार्यक्रमसमेत प्रस्तुत गर्नुभएको थियो। लेखा सुपरिवेक्षण समितिका सदस्य पवनराज कर्णजीतले समितिको वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्नुभएको थियो।
विभिन्न विधामा पुरस्कार तथा सम्मान
साधारण सभाको अवसरमा सहकारी अभियान, पत्रकारिता तथा व्यवस्थापन क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा उत्कृष्ट कार्यसम्पादन गर्ने सहकारी संस्था र कर्मचारीलाई विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।

सहकारी पत्रकारिता पुरस्कार–२०८३ बाट पत्रकार मोतीराम तिमल्सिना सम्मानित हुनुभएको छ। काभ्रेलाई मुख्य कार्यक्षेत्र बनाई साढे दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय तिमल्सिनाले सहकारी, सामाजिक तथा आर्थिक क्षेत्रका गतिविधिलाई निरन्तर उजागर गर्दै आउनुभएको छ। सहकारीको उद्गम काभ्रेको बनेपासँग जोडिएको तथ्यको खोज तथा प्रचार, सहकारी पीडित बचतकर्ताका सवालमा आवाज उठाउनुका साथै खोजमूलक र जिम्मेवार पत्रकारितामार्फत पु¥याएको योगदानको कदरस्वरूप उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
सहकारी व्यवसाय पुरस्कार–२०८३, कृषि विधातर्फ प्रतिष्ठा कृषि सहकारी संस्था लि., पाँचखाल–३ सम्मानित भएको छ। कृषि, पशुपालन तथा दुग्ध व्यवसाय प्रवद्र्धनसँगै कृषकलाई आवश्यक सामग्री, सहुलियतपूर्ण ऋण, तालिम तथा प्रविधि उपलब्ध गराउँदै सदस्यको आयआर्जन र कृषि व्यवसायीकरणमा पु¥याएको योगदानका आधारमा संस्था पुरस्कृत भएको हो।
त्यसैगरी, सहकारी व्यवसाय पुरस्कार–२०८३, बहुउद्देश्यीय विधातर्फ सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्था लि., पनौती–६ सम्मानित भएको छ। कृषि प्रवद्र्धन, सदस्य तथा समुदायको क्षमता अभिवृद्धि, सामाजिक गतिविधि, सर्वसुलभ ऋण तथा सहकारी सुपथ मूल्य पसल सञ्चालनलगायत बहुआयामिक सेवामार्फत सदस्य र समुदायको आर्थिक–सामाजिक विकासमा पु¥याएको योगदानका आधारमा संस्था सम्मानित भएको हो।
सहकारी सर्वोत्कृष्ट कर्मचारी पुरस्कार–२०८३ बाट लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि., पनौती–५ का प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी सम्मानित हुनुभएको छ। सदस्यकेन्द्रित सेवा, संस्थागत सुशासन, वित्तीय अनुशासन, कर्मचारी व्यवस्थापन, जोखिम नियन्त्रण तथा प्रविधिमैत्री सेवा प्रणालीको विकासमा पु¥याएको दीर्घकालीन योगदान र व्यवस्थापकीय कार्यसम्पादनका आधारमा उहाँ पुरस्कृत हुनुभएको हो।
त्यसैगरी, असल ऋणी संस्था पुरस्कार तथा सम्मान–२०८३ बाट नमस्ते कृषि सहकारी संस्था लि., धुलिखेल–३ सम्मानित भएको छ। कृषि क्षेत्रमा ऋण लगानीमार्फत सदस्यको आयआर्जनमा सहयोग गर्दै ऋणको सदुपयोग, नियमित साँवा तथा ब्याज भुक्तानी र जिम्मेवार वित्तीय व्यवहार कायम गरेको आधारमा संस्थालाई उक्त सम्मान प्रदान गरिएको हो।
बन्द सत्रमा छलफल
साधारण सभाको बन्द सत्रमा सदस्य तथा प्रतिनिधिहरूले संघका गतिविधि, आर्थिक अवस्था, आगामी नीति तथा कार्यक्रम र सहकारी अभियानसँग सम्बन्धित विभिन्न विषयमा प्रश्न तथा जिज्ञासा राखेका थिए। उठेका प्रश्नहरूको जवाफ संघका सचिव प्रकाश बञ्जारा र अध्यक्ष अमन पोटे श्रेष्ठले दिनुभएको थियो।

बन्द सत्रको समापन गर्दै अध्यक्ष श्रेष्ठले संघको ४५औँ वार्षिक साधारण सभा सफल बनाउन सहयोग गर्नुहुने सदस्य संघ/संस्था, प्रतिनिधि, अतिथि, सञ्चारकर्मी, सल्लाहकार, उपसमिति सदस्य तथा कर्मचारीलगायत सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभएको थियो।
साधारण सभाले संघको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन, आगामी नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्दै जिल्लाको सहकारी अभियानलाई थप व्यवस्थित, प्रविधिमैत्री, मितव्ययी, सदस्यकेन्द्रित तथा उत्पादनमुखी बनाउँदै अघि बढ्ने दिशालाई प्राथमिकता दिएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी संघ काभ्रेको ४५औँ साधारण सभा सम्पन्न, विभिन्न विधामा पुरस्कार तथा सम्मान
१७ आश्विन २०८३, शनिबार
मनोज रायमाझी काभ्रेकै सर्वोत्कृष्ट सहकारी व्यवस्थापन प्रमुख
१७ आश्विन २०८३, शनिबार
ज्येष्ठ सदस्यको आँखामा खुसी, बुडोल सामुदायिक साकोसको सम्मानमा आत्मीयता
१५ आश्विन २०८३, बिहीबार