७ भदौ २०८३, आईतवार

मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा, सदस्य विश्वाससँगै समृद्धिको सङ्कल्प

२०८३ भदौ ७, आईतवार
मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा, सदस्य विश्वाससँगै समृद्धिको सङ्कल्प

काठमाडौं : दोलखाको चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड ३४औँ वर्षमा प्रवेश गरेको छ। २०५० साल भाद्र ७ गते स्थापना भई २०५० साल मंसीर २ गते तत्कालिन जिल्ला सहकारी कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकमा संस्था दर्ता भएको थियो।

विगत ३३ वर्षदेखि सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनमा सहकारीताको माध्यमबाट योगदान पुर्याउँदै आएको संस्थाले ३४औँ वर्षमा प्रवेशसँगै वित्तीय अनुशासन, सुशासन, सदस्य संरक्षण, प्रविधिमैत्री सेवा र दिगो संस्थागत विकासलाई प्राथमिकतामा राख्दै आएको छ।

सदस्यहरूको साझा आवश्यकता, विश्वास र समृद्धिलाई केन्द्रमा राखी स्थापित संस्थाले तीन दशकभन्दा लामो यात्रामा विभिन्न उतारचढाव, अवसर र चुनौती पार गर्दै आफ्नो संस्थागत पहिचान स्थापित गरेको छ।

संस्थाका अध्यक्ष कृष्ण बहादुर गौतमले स्थापना दिवस केवल उत्सव मनाउने अवसर मात्र नभई विगतका उपलब्धिको समीक्षा, वर्तमान अवस्थाको आत्ममूल्याङ्कन र आगामी दिनको स्पष्ट सङ्कल्प गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो।

उहाँका अनुसार सहकारी क्षेत्रका बदलिँदा नियामकीय व्यवस्था, प्राकृतिक विपद्, भूकम्प, कोभिड–१९ महामारीपछिको आर्थिक तथा वित्तीय असहजता, सदस्यहरूको आयस्तरमा आएको परिवर्तन तथा समग्र अर्थतन्त्रमा देखिएका चुनौतीका बीच पनि सदस्यप्रतिको जिम्मेवारीलाई सर्वोपरि ठानी संस्था निरन्तर अघि बढिरहेको बताउनुभयो। ‘यी चुनौतीहरूले हामीलाई कमजोर बनाउनुको सट्टा अझ जिम्मेवार, अनुशासित, सजग र दूरदर्शी बन्न प्रेरित गरेका छन्,’ अध्यक्ष गौतमले भन्नुभयो।

आगामी दिनमा संस्थाले वित्तीय अनुशासन, पारदर्शिता, उत्तरदायित्व, प्रभावकारी जोखिम व्यवस्थापन, सदस्य संरक्षण र संस्थागत सुशासनलाई कार्यसम्पादनको मूल आधार बनाउने उहाँले बताउनुभयो ।

संस्थाको प्रत्येक नीति, निर्णय र कार्यक्रमलाई ‘सदस्य पहिलो’ भन्ने मूल भावनाबाट निर्देशित गर्दै सदस्यहरूको वास्तविक आवश्यकता पहिचान गर्ने, सुरक्षित बचतको वातावरण निर्माण गर्ने तथा उत्पादशील र उद्यमशील क्षेत्रमा जिम्मेवार ढङ्गले कर्जा प्रवाह गर्ने संस्थाको योजना छ।

वर्तमान वित्तीय क्षेत्रका चुनौतीलाई मध्यनजर गर्दै बचतको सुरक्षा, ऋणको गुणस्तर, प्रभावकारी ऋण असुली, जोखिम न्यूनीकरण र पर्याप्त तरलता व्यवस्थापनलाई संस्थाले उच्च प्राथमिकतामा राखेको प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले बताउनुभयो ।

ऋण लगानीलाई थप व्यवस्थित, तथ्यमा आधारित र विवेकपूर्ण बनाउँदै कर्जा सदुपयोगिता, नियमित भुक्तानी र वित्तीय अनुशासनलाई संस्थागत गरिने उहाँको भनाई छ । विगतका कारणले ऋण भुक्तानीमा समस्या भएका सदस्यलाई सम्भव भएसम्म सहजीकरण, परामर्श र उपयुक्त व्यवस्थापनका माध्यमबाट संस्थासँग जोड्दै नियमित वित्तीय व्यवहारमा फर्काउने प्रयास गरिने समेत संस्थापना दिवसको दिन संस्थाले प्रतिवद्धता जनाएको छ। साथै, संस्थाको हित, सदस्यको हित र प्रचलित कानुनको सीमाभित्र रही ऋण असुली तथा जोखिम व्यवस्थापनका आवश्यक प्रक्रिया प्रभावकारी रूपमा अघि बढाइने संस्थाको भनाई छ।

संस्थागत सुशासनलाई संस्थाको मेरुदण्डका रूपमा स्थापित गर्दै ऐन, नियम, निर्देशिका, मापदण्ड, नियामकीय व्यवस्था, सहकारीका सिद्धान्त तथा अन्तर्राष्ट्रिय असल अभ्यासको पूर्ण पालना गर्ने प्रतिबद्धता संस्थाले जनाएको छ।
विगतमा संस्थाले नेफ्स्कून, राष्ट्रिय सहकारी बैंक तथा आन्तरिक राजस्व कार्यालयलगायतका निकायबाट प्राप्त सम्मान तथा उपलब्धिलाई आगामी दिनमा अझ उत्कृष्ट कार्यसम्पादन गर्न प्रेरणा र जिम्मेवारीका रूपमा लिएको जनाएको छ। यस्ता उपलब्धि सम्पूर्ण सदस्य, कर्मचारी, सञ्चालक तथा शुभेच्छुकहरूको सामूहिक योगदानको प्रतिफल भएको अध्यक्ष गौतमको भनाइ छ।

नेफ्स्कूनको प्राविधिक सहयोग तथा एशियाली ऋण महासङ्घद्वारा प्रवद्र्धित एक्सेस र सियुलेगजस्ता संस्थागत गुणस्तर अभिवृद्धिका कार्यक्रमबाट प्राप्त अनुभवलाई निरन्तर आत्मसात् गर्दै संस्थाले आफ्नो कार्यप्रणालीलाई अन्तर्राष्ट्रिय असल अभ्याससँग जोड्दै लैजाने अध्यक्ष गौतमले बताउनुभयो ।

समयको मागसँगै प्रविधिको प्रयोगलाई सेवा विस्तार र सदस्य सुविधा अभिवृद्धिको महत्वपूर्ण माध्यमका रूपमा विकास सीईओ न्यौपानेको भनाई छ। डिजिटल तथा प्रविधिमैत्री सेवा, सुरक्षित वित्तीय कारोबार, सूचना तथा तथ्यमा आधारित निर्णय प्रणाली र आधुनिक व्यवस्थापन पद्धतिको विकासमार्फत सदस्यलाई छिटो, सरल, सुरक्षित, पारदर्शी र विश्वसनीय सेवा प्रदान गर्ने प्रयासलाई निरन्तरता प्रतिवद्धता संस्थाले व्यक्त गरेको छ ।

सहकारी केवल वित्तीय कारोबार गर्ने संस्था नभई साझेदारी, आत्मनिर्भरता, सामाजिक उत्तरदायित्व र सामूहिक समृद्धिको अभियान भएको संस्थाले जनाएको छ। सोहीअनुसार वित्तीय साक्षरता, सहकारी शिक्षा, उद्यमशीलता विकास, नेतृत्व विकास, युवा तथा बाल बचतकर्ताको वित्तीय क्षमता अभिवृद्धि, शिक्षा तथा स्वास्थ्यसम्बन्धी सचेतना र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी बनाइने अध्यक्ष गौतमको भनाई छ ।

पर्यावरणीय संरक्षण, सामाजिक उत्तरदायित्व र दिगो आर्थिक विकासलाई संस्थागत कार्यसंस्कृतिको अभिन्न अङ्ग बनाउँदै संयुक्त राष्ट्र सङ्घका दिगो विकास लक्ष्य तथा सहकारीका अन्तर्राष्ट्रिय मूल्य, सिद्धान्त र मान्यतासँग संस्थाका कार्यक्रमलाई क्रमशः आबद्ध गर्दै लैजाने संस्थाको लक्ष्य छ।

‘संस्थाको भौतिक संरचनाभन्दा ठूलो सदस्यको विश्वास हो, संस्थाको पूँजीभन्दा महत्वपूर्ण सदस्यको भरोसा हो र संस्थाको वास्तविक सम्पत्तिभन्दा मूल्यवान् सदस्यसँगको दीर्घकालीन सम्बन्ध हो,’ अध्यक्ष गौतमले भन्नुभयो ।

३४औँ स्थापना दिवसका अवसरमा संस्थाले विगतका सफलताबाट उत्साहित हुँदै चुनौतीबाट सिक्ने, कमजोरी सुधार्ने, असल अभ्यासलाई संस्थागत गर्ने र नयाँ सम्भावनालाई अवसरमा रूपान्तरण गर्ने अठोट गरेको छ।

‘सदस्यको विश्वासलाई आधार, सुशासनलाई मार्ग, वित्तीय अनुशासनलाई शक्ति, प्रविधिलाई साधन र सदस्य समृद्धिलाई गन्तव्य बनाएर मिलिजुली कालिञ्चोक साकोसलाई अझ सुरक्षित, सक्षम, सबल, पारदर्शी, प्रविधिमैत्री र दिगो सहकारी संस्थाका रूपमा विकास गर्ने हाम्रो दृढ सङ्कल्प छ,’ अध्यक्ष गौतमले भन्नुभयो।

३४औँ स्थापना दिवसको अवसरमा सम्पूर्ण शेयर सदस्य, बालबचतकर्ता, नियामक तथा सहयोगी निकाय, सहकारी अभियन्ता, सञ्चारकर्मी, कर्मचारी परिवार, शुभेच्छुक तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ, विश्वास, सुझाव र सहकार्यको अपेक्षा संस्थाले गरेको छ।

यस्तो छ वित्तीय अवस्था
२०८३ असार मसान्तसम्मको अद्यावधिक वित्तीय विवरणअनुसार मिलिजुली कालिञ्चोक साकोसको कुल सम्पत्ति १ अर्ब ४५ करोड पुगेको छ। संस्थाको कुल बचत १ अर्ब २० करोड रुपैयाँ रहेको छ भने लगानीमा रहेको ऋण ९३ करोड २८ लाख रुपैयाँ रहेको छ।

संस्थाको शेयर पुँजी ६ करोड ३९ लाख रुपैयाँ, जगेडा कोष ९ करोड १० लाख रुपैयाँ र कुल संस्थागत पुँजी ९ करोड १० लाख रुपैयाँ रहेको छ। त्यस्तै, अन्य कोषमा ६ करोड ९ लाख रहेको वित्तीय विवरणमा उल्लेख छ।

हाल संस्थामा २१ हजार २७३ सदस्य रहेका छन् भने २ हजार १७७ जना ऋणी सदस्य रहेका छन्।

अभिलेख

लोकप्रिय