लक्ष्मी महिला साकोसले मनायो २८औँ वार्षिक उत्सव, संस्थागत दिगोपनमा जोड
काभ्रेपलाञ्चोक : लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि., पनौती–५, चौकोटले आफ्नो गरिमामय २८औँ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ।
संस्थाकी अध्यक्ष हिमाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, संस्थापनाकालका सदस्यहरू, हालका सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरू, कर्मचारीहरू एवं शुभेच्छुकहरूको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीले गर्नुभएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै उपाध्यक्ष कविता कार्कीले संस्थाको हालसम्मको वित्तीय अवस्था तथा समसामयिक विषयहरूबारे जानकारी दिनुहुँदै संस्थामा हाल ३६०० शेयर सदस्यबाट करिब ३ करोड २० लाख रुपैयाँ शेयर संकलन भएको, बचत रकम करिब ३० करोड रुपैयाँ रहेको तथा ऋण लगानी २३ करोड ७५ लाख रुपैयाँ पुगेको जानकारी गराउनुभयो। यसरी संस्थाले कुल करिब ३६ करोड ७५ लाख रुपैयाँ बराबरको सम्पत्ति निर्माण गर्न सफल भएको उल्लेख गर्नुभयो।

उहाँले संस्थाले सुशासन र नियमको पूर्ण पालना गर्दै कर्जा जोखिम कोषको व्यवस्थापन गर्दै आएको र सदस्यहरूको हितलाई मध्यनजर गर्दै सरल ब्याजदरमा ऋण लगानी गर्दै आएको जानकारी गराउनुभयो ।
कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष मैया महतले संस्थाले हासिल गरेको प्रगति र उपलब्धिप्रति गौरव व्यक्त गर्नुभयो। उहाँले सम्पूर्ण सञ्चालक समिति मर्यादित, कर्मचारी अनुशासित र सदस्य केन्द्रित सेवा प्रवाहमा जोड दिनुपर्ने सुझाव दिनुभयो। साथै, विगतमा महिलाहरूका लागि आर्थिक सहयोगका अवसरहरू न्यून भएको अवस्थामा संस्थाले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै यसलाई पुस्तान्तरण गर्दै निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
संस्थापक अध्यक्ष तिर्थमाया प्रधानले संस्थाको २८ वर्षे यात्रालाई स्मरण गर्दै महिलाहरू मात्रको सक्रियतामा यस्तो संस्था स्थापित भई जिल्ला तथा प्रदेशस्तरमा पहिचान बनाउन सफल हुनु गौरवको विषय भएको बताउनुभयो। उहाँले प्रारम्भिक चरणमा विभिन्न चुनौतीहरूको सामना गर्दै संस्था स्थापना गरिएको उल्लेख गर्दै हाल केही सहकारीहरूमा देखिएका नकारात्मक गतिविधिप्रति चिन्ता व्यक्त गर्नुभयो र संस्थाले सुशासन र सुरक्षामा अझै ध्यान दिनुपर्ने सुझाव दिनुभएको थियो ।
कार्यक्रमको समापनमा संस्थाका अध्यक्ष हिमाली श्रेष्ठले अग्रजहरूको सुझावलाई कार्यान्वयन गर्दै संस्थालाई अनुशासित र सन्तुलित रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, सदस्यहरूको विश्वास कायम राख्दै संस्थाको दिगो विकासमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार