किन नयाँ सहकारी ऐन ल्याउनु परेको हो ?
सहकारी ऐन, २०४८ २०४८ साल देखि प्रचलनमा छ ।
यसमा सहकारीले के के गर्न हुन्छ ? र
के के गर्नु हुँदैन भन्ने प्रष्ट उल्लेख छैन ।
नियमनको व्यवस्था छैन । मापदण्डका कुरा उल्लेख छैन ।
सहकारी संस्था दर्ता गर्ने काम मात्र भइरहेको छ । हाल ३० हजार सहकारी संस्था रहेकामा वचत र ऋणको कारोबार गर्ने १२ हजार रहेका छन् ।
सहकारी संस्थाको कारोबारमा जति भद्रगोल भए पनि,
संस्थाका अध्यक्ष, सन्चालक लगायतले जति बदमासी गरे तापनि,
सहकारी सिद्धान्तको विपरीत काम गरे तापनि दफा ४३ ले १५००। एक हजार पाँचसय रुपैयाँसम्म रजिष्ट्रारले जरिवाना गर्न सक्ने र दफा ४१(३) ले संस्था नै खारेज गर्न सक्ने कानूनी अधिकार रहेको छ ।
सहकारीको नाममा अरबौं रुपैयाँ उठाएर अन्य व्यवसायमा लगानी गरियो ।
ब्याज बढी पाइन्छ भनी निक्षेप मागियो, ब्याजको प्रलोभन विज्ञापन गरेरै दिइयो ।
सहकारीले ब्याज दिने भनी निक्षेप वा वचतको आव्हान गर्ने होइन । तर ऐनको फितलो व्यवस्थाले यी प्रतिकूलतालाई रोक्न सकेन । सफल भनेका सहकारी संस्थाले पनि विकास वैंक भन्दा पनि अगाडि बढेर वैंकिंग कारोबार गरिरहेका छन् ।
सहकारी विकास बोर्ड जुन उद्देश्यले खडा गरियो, जुन रुपमा कानून आयो । एउटा नीति निर्माण गर्ने निकायको रुपमा सन्चालन हुनु पर्ने थियो । तर ऐनको उद्देश्य अनुरुप पटक्कै सन्चालन हुन सकेन ।
सहकारी ऐन, २०४८ ले अहिलेको सहकारी आन्दोलन र समयको मागलाई सम्बोधन गर्न सक्तैन । जनताको सहकारीमा करिब १० अरब र सहकारीको नाममा हाउजिंगमा करिव डेड अरब रुपैयाँ समेत जनताको साडे एघार अरब रुपैयाँ जोखिममा पर्दा यो ऐनले कुनै सम्बोधन गर्न सकेको छैन ।
जोखिममा परेको रकम फिर्ता गराउन सक्ने प्रभावकारी कानूनी व्यवस्था नै छैन । सिर्फ मुलुकी ऐन ठगीको महल अनुसार प्रहरीले अनुसन्धान तहकिकात गरेमा मात्र ठगीमा मुद्दा चल्न सक्छ । मुद्दा चलेतापनि जनताको वचत रकम फिर्ता हुने गुन्जाइस भने छैन ।
सहकारी संस्थाको नाममा आएको विकृति र विचलनलाई पनि यो ऐनले सम्बोधन गर्न सकेन ।
त्यसैले जनताको डुब्ने अवस्थामा पुगेको पैसा फिर्ता गराउन र वचतको नाममा जनताको पैसा दुरुपयोग गर्नेलाई कानूनको दायरामा ल्याई मासेको पैसा फिर्ता गराउन र अपराध अनुसारको कानूनी सजाय गराउन सहकारी ऐनको नयाँ मस्यौदा प्रस्ताव गरिएको छ ।
हालको यो ऐनमा परिच्छेद १२ दफा ४९ रहेका छन् भने प्रस्तावित ऐनमा परिच्छेद १७ र दफा ८१ रहेका छन् ।
यो प्रस्तावित ऐनले वर्तमानका सवै समस्याको सम्बोधन गर्नेछ । सहकारी क्षेत्रमा उत्पन्न हुने कार्य सञ्चालन तथा व्यवस्थापनका कठिनाईहरु सहकारी प्रवद्र्धन समितिले मापदण्ड, आदेश, निर्देश जारी गरी भविष्यमा आउने समस्याहरुको समयमै निराकरण हुने विश्वास लिइएकोछ ।
राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९ अनुसार गठित यो विकास बोर्डले ले नै यो समितिको काम गर्नु पर्ने हो । विकास वोर्ड खारेज गरेर नयाँ ऐनमा नै अमुक नाम दिएर राखिनु पर्ने हो तर राजनीतिक विवाद आउने आशंकाले हाललाई विकास वोर्ड खारेज गर्ने प्रस्ताव गरिएको छैन ।
सहकारीमा दुरुपयोग भएको रकम असूल उपर गर्नको लागि समस्याग्रस्त सहकारी संस्थाको पुनव्र्यवस्थापन आयोग RECOVERY PANNEL को रुपमा प्रस्ताव गरिएकोछ । हाल कार्यरत जाँचबुझ आयोगमा सुझाव दिने बाहेक असूल उपर गराउने र उनीहरुको सम्पत्ति व्यवस्थापन गराउने कानूनी अधिकार नभएकाले प्रस्ताव गरिएको आयोगले प्रभावकारीरुपमा काम गर्न सक्ने विश्वास लिइएको छ ।
मुद्दा गरेर मात्र डुबेको रकम फिर्ता गराउनु पर्ने भयो भने अनुसन्धान गर्ने अधिकारी, मुद्दा गर्ने निकायको रुपमा सहकारी ऋण तथा निक्षेप असूली न्यायाधिकरणको प्रस्ताव गरी सो ऐन र नियमावली नै पनि मस्यौदा गरी पेश गरिएकोछ ।
यी दुवै ऐनका मस्यौदालाई हाल संविधानसभा संसदको अधिवेशन चालु नभएकाले अध्यादेशको रुपमा जारी गर्नु पर्दछ । नियमावली नेपाल सरकारले नै पारित गर्नुपर्दछ ।
नियामक निकाय प्रवद्र्धन समितिले मापदण्ड, नीति, आदेश आदि जारी गरेपछि मापदण्डमा नपरेका कुराहरु सहकारी नियमावलीमा पारिनु पर्दछ । त्यसैले सहकारी नियमावली मस्यौदा गरिएको छैन । अध्यादेश जारी भएपििछ वा ऐन लागू भएपछि तयार पार्न सकिन्छ ।
सहकारीमा पीडित हुनेहरु बढी ब्याजको लोभमा नेपाल सरकारका पूर्व उच्च पदाधिकारी लगायत नांग्लो पसले समेतको रकम परेको छ । त्यही ब्याजबाट जीवन गुजारा गर्ने पेन्सनर, छोराबुहारीले नहेरेका वृद्धवृद्धा, अर्को आयश्रोत केही नभएका समाजका धेरै असहायहरु परेका छन् । दुई वर्ष देखि सावाँ ब्याज नपाएपछि कतिले आत्महत्या गरे भने कति यही पीरले मरे । खर्च नपाएर कति मर्नु न बाँच्नुको दोसाँधमा छन् ।
यस्ता जनताको रोदनमा आँशु पुछ्ने काम अब नेपाल सरकारको भएको छ । जनताको रकम डुबाउनेसंग कानूनी प्रकृया पूरा गरेर फिर्ता नगराएसम्म सरकारले केही सम्बोधन गर्नु उचित हुन्छ ।
जीवन धान्न नसक्ने अवस्थाका वचतकर्तालाई आंशिक रुपमा भुक्तानी दिने मेलोमेसो गर्नु पनि पर्दछ । रुग्न उद्योगको नाममा वा अन्य कतिपय सामाजिक सेवामा सरकारले अनुदान र लगानी गरिरहेको छ भने यी पीडितहरुको घाउमा मल्हम लगाउने तिर पनि किन नसोच्ने ? सरकारी कमजोरीकै कारणले पनि सहकारीमा यसरी जनताको रकम डुब्न गएको हो । सरकारले समयमै नियन्त्रण र नियमन गरेको भए यो स्थिति आउने थिएन ।
नयाँ ऐन प्रारम्भ भएपछिका सांगठनिक सुधार गर्नु पर्ने कुराहरुः
सहकारी विभागलाई सुदृढ गर्नु पर्नेः
– बजेट वक्तव्य र नेपाल सरकारको वार्षिक नीति र कार्यक्रममा परेको वांकी ३७ जिल्लामा जिल्ला सहकारी कार्यालय स्थापना गर्नु पर्ने :
– “सहकारी निक्षेप तथा ऋण असूली न्यायाधिकरण” स्थापना गर्नु पर्ने,
– तीन जना सदस्य मध्ये अध्यक्ष जिल्ला न्यायाधीशमध्येबाट तोकिएमा भत्ता मात्र दिए पुग्ने अन्य सुविधा दिनु नपर्ने । दुई जना सदस्यको हकमा तलव भत्ता जिल्ला न्यायाधीशसरह अन्य सुविधा दिनु पर्ने ।
– श्रेस्तेदार र १२।१५ जना कर्मचारीको दरवन्दी आवश्यकता पर्ने
– काठमाडौं जिल्लाको सहकारी डिभिजन कार्यालयमा १ जना जिल्ला न्यायाधिवक्ता सरकारी वकीलको दरवन्दी राख्नु पर्ने ।
– निक्षेप तथा ऋण असूली अधिकृतको दरवन्दी थप गर्नु पर्ने ।
– राजस्वमा केही आर्थिक भार बढ्न सक्ने ।
अब गर्नु पर्ने कामः
प्रतिवेदन दिन तयार छ । नयाँ ऐनको मस्यौदा सहित ।
नेपाल सरकारले अध्यादेश जारी गर्नु पर्दछ भन्ने महशुस गर्नु पर्दछ ।
नयाँ सहकारी ऐन र सहकारी संस्थाको निक्षेप तथा ऋण असूली न्यायाधिकरण २ वटा अध्यादेश जारी गर्नु पर्ने ।
त्यसपछि नयाँ कानूनी व्यवस्था अनुसार वचतकर्ताको डुबेको रकम र हाउजिंग दिलाउन सहकारी प्रवद्र्धन आयोग गठन गर्नु पर्ने । त्यसो भएमा मात्र डुबेको वचत र हाउजिंगको रकम उठाउन सकिन्छ ।
नयाँ आयोगमा अन्य व्यक्तिलाई ल्याए पनि हुन्छ ।
अब जाँचबुझ आयोगलाई के गर्ने ?
पीडितको चाहना यो आयोगले नै डुबेको रकम फिर्ता दिलाउनेछ भन्ने छ । तर यो आयोगले कानूनी अधिकार नभएकाले रकम फिर्ता दिलाउन नसक्ने कुरा पीडितहरुले बुझेका छैनन् ।
फिर्ता दिलाउने उपाय खोजेको र समस्यामा परेका सहकारीका सन्चालकलाई अधूरा आयोजनाको काम शुरु गराइएको । त्यसो गरेमा पीडितहरुलाई केही सम्बोधन हुनेछ ।
जाँचबुझ गर्ने आयोग भएकाले अन्य कानूनी कारबाही गर्ने अधिकार नभएकाले पीडितको डुबेको रकम फिर्ता दिलाउन यो आयोग प्रभावकारी हुन सक्तैन ।
तसर्थ, नयाँ ऐनको प्रस्तावित आयोगले काम शुरु नगरेसम्म यसलाई आगामी ७ जेठ देखि म्याद थप गर्न सकिन्छ वा खारेज गरे पनि हुन्छ ।
प्रस्तावित ऐन बमेजिम अर्को आयोग नबन्ने हो भने १२ हजार पीडितको पीडाको संबोधन भएन भन्ने गुनासो रहिरहनेछ ।
(वचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाहरुको छानविन गर्न गठित जाँचबुझ आयोग, २०७०)
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार