१७ वैशाख २०८३, बिहिबार

साझा प्रकाशन अझै ३० करोड ऋणमा

२०७१ जेठ ५, सोमबार
साझा प्रकाशन अझै ३० करोड ऋणमा

काठमाडौँ, ५ जेठ । आन्तरिक अव्यवस्थाबाट ग्रस्त साझा प्रकाशन सुधारका लागि शिक्षा मन्त्रालयले नयाँ व्यवस्थापक नियुक्त गरेपनि सो संस्था अझै रु ३० करोड ऋणमा डुबेको छ ।
प्रकाशनका नवनियुक्त अध्यक्ष तथा महाप्रबन्धक दीवाकर ढुङ्गलले गत २०७० माघदेखिको तलब बाँकी रहेको, गरिमा मासिक प्रकाशन गर्न नसकिएको तथा जनक शिक्षा सामग्री केन्द्र, सहकारी विकास बैंक, कर्मचारी सञ्चय कोषलगायतका संस्थालाई साझाले सो बराबरको रकम तिर्नुपर्ने भएको बताए ।
साझा बचाऊ सङ्घर्ष समितिसँगको आजको छलफलमा अध्यक्ष ढुङ्गेलले संस्थाका अगाडि चुनौती र सम्भावना एकै साथ रहेकाले यसको सुधारमा सघाउन र गुमेको साखलाई फिर्ता गराउन लेखक तथा साहित्यकारसँग अपिल गरे।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साझाका अध्यक्ष तथा महाप्रबन्धक ममता झालाई अनियमितताको आरोपमा निलम्बन गरेपछि ढुङ्गेलाई सो जिम्मेवारी दिइएको हो । उहाँ पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक पनि हुन ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा महाप्रबन्धक भिक्टर प्रधानले वर्तमान सञ्चालक समिति र कर्मचारीका कारण संस्था डुबेको बताउँदै तत्काल साधारणसभा गरी नयाँ सञ्चालक समिति ल्याउन माग गरे ।
भेलाले पूर्व अध्यक्ष तथा महाप्रबन्धक साहित्यकार डा. तुलसीप्रसाद भट्टराईको संयोजकत्वमा १७ सदस्यीय साझा सुदृढीकरण समन्वय समिति गठन गरेको छ ।

अभिलेख

लोकप्रिय