१९ असोज २०८३, सोमबार

किसान साकोसको ३१औँ साधारणसभा: इकाई सभा सम्पन्न, प्रमाणीकरण सभा असोज २४ गते

२०८३ असोज १९, सोमबार
किसान साकोसको ३१औँ साधारणसभा: इकाई सभा सम्पन्न, प्रमाणीकरण सभा असोज २४ गते

गैंडाकोट : किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१औँ वार्षिक साधारणसभाअन्तर्गत दुईवटा इकाई सभा सम्पन्न भएका छन्। दलदलेदेखि पश्चिम र पूर्व क्षेत्रलाई समेटेर आयोजना गरिएका इकाई सभामा सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।

इकाई नं. १ को सभा असोज १७ गते कावासोती–१६, डण्डाबजारस्थित थारु राष्ट्रिय सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रमा सम्पन्न भएको हो। सभामा पञ्चदृष्टि, देवज्योति, कावासोती, विष्णुनगर, पिठौली, समृद्धि, कुनाको, पञ्चवटी, भविष्यनिर्माण, अरुणखोला, दुम्किबास र सर्दी सेवाकेन्द्रअन्तर्गतका सदस्यहरूको सहभागिता थियो।

त्यसैगरी इकाई नं. २ को सभा असोज १८ गते गैंडाकोटस्थित नारायणी रिसोर्ट, नारायणी किनारमा सम्पन्न भएको थियो। उक्त सभामा सौहार्द, समृद्धि भरतपुर, सप्तगण्डकी, सप्तरङ्गी, नारायणगढ, हिमचुली, सहज, विजयनगर, मुकुन्दपुर, हर्कपुर, अमरापुरी र जनमुखी सेवाकेन्द्रअन्तर्गतका सदस्यहरूको सहभागिता थियो। दुवै इकाई सभाको अध्यक्षता संस्थाका अध्यक्ष भोजराज पौडेलले गर्नुभएको थियो।

नियामकीय निर्देशनअनुसार अतिथि उपस्थिति र औपचारिक कार्यक्रमलाई न्यून गर्दै सदस्यहरूको मात्र सहभागितामा इकाई सभा आयोजना गरिएको संस्थाले जनाएको छ। इकाई नं. १ को सभा ९१ वर्षीय ज्येष्ठ सदस्य डोलकुमारी अधिकारीले दीप प्रज्ज्वलन गरी शुभारम्भ गरेकी थिइन् भने इकाई नं. २ को सभा ९३ वर्षीय ज्येष्ठ सदस्य यज्ञप्रसाद भट्टराईले दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको थियो।

सदस्यको बचत सुरक्षा र सेवामा प्राथमिकता

सभामा संस्थाको विगत, वर्तमान अवस्था तथा सदस्यसँगको सम्बन्धबारे संस्थाका पूर्वअध्यक्ष एवं सञ्चालक समिति सदस्य गोपालप्रसाद गौतमले धारणा राख्नुभएको थियो। उहाँले संस्था गतिशील र पारदर्शी ढंगले सञ्चालन गर्दै सदस्यको बचत सुरक्षालाई सुनिश्चित गर्न तथा सदस्य सेवामा केन्द्रित हुँदै आएको बताउनुभयो। नियामक निकायका निर्देशन पालना गर्दै सदस्य र संस्थाको हितलाई नेतृत्वले प्राथमिकतामा राखेको उहाँको भनाइ थियो।

त्यस्तै, संस्थाका सञ्चालक, निवर्तमान अध्यक्ष एवं ऋण उपसमिति संयोजक श्रीहरि चालिसेले संस्थाका सेवा तथा सुविधा प्रभावकारी रहेको बताउनुभयो। ‘केही गर्छु’ भन्ने सदस्यका लागि वित्तीय पहुँच सहज बनाइएको उल्लेख गर्दै उनले बचत तथा ऋणलगायत वित्तीय कारोबारका लागि किसान साकोस नै भरपर्दो विकल्प बन्ने गरी सेवा प्रवाह गरिरहेको बताउनुभयो।

संस्थाका उपाध्यक्ष एवं साधारणसभा तयारी उपसमिति संयोजक चिन्तामणि कँडेलले दुवै सभामा उपस्थित सदस्यलाई स्वागत गर्नुभएको थियो। उहाँले संस्थालाई विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउने सदस्यको प्रशंसा गर्दै उत्कृष्ट कारोबार गर्ने सदस्यलाई शुभकामना व्यक्त गर्नुभयो।

१३ कार्यसूचीमा छलफल, प्रतिवेदन सर्वसम्मत पारित

पूर्वनिर्धारित कार्यसूचीअनुसार सञ्चालन भएको सभामा १३ वटा विषयमा छलफल भएको थियो। आर्थिक वर्ष २०८२/८३ को प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८३/८४ को प्रस्तावित नीति तथा कार्यक्रम, गत आर्थिक वर्षको वित्तीय प्रतिवेदन तथा चालु आर्थिक वर्षको प्रस्तावित बजेट प्रस्तुत गरिएको थियो।

त्यसैगरी लेखा सुपरीवेक्षण समितिको आर्थिक वर्ष २०८२/८३ को आन्तरिक लेखापरीक्षणसहितको वार्षिक प्रतिवेदन र स्वतन्त्र लेखापरीक्षकबाट गरिएको वार्षिक लेखापरीक्षण प्रतिवेदनलगायतका प्रतिवेदन सभामा प्रस्तुत भई सर्वसम्मत पारित भएका छन्।

कार्यक्रमिक प्रतिवेदन तथा नीति तथा कार्यक्रम सहसचिव दुर्गाप्रसाद चालिसेले, वित्तीय प्रतिवेदन तथा प्रस्तावित बजेट कोषाध्यक्ष राजेन्द्र गौतमले प्रस्तुत गर्नुभएको थियो। लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन तथा लेखापरीक्षकको अनुपस्थितिमा स्वतन्त्र लेखापरीक्षण प्रतिवेदनसमेत समितिका संयोजक तिलक पराजुलीले प्रस्तुत गर्नुभएको थियो।

संस्थाको परिकल्पना ‘समृद्ध सदस्य, दिगो साकोस’ साकार पार्न अवलम्बन गरिने रणनीति, संस्थाको वर्तमान अवस्था तथा आगामी प्राथमिकताबारे प्रमुख कार्यकारी अधिकृत सञ्जय राज तिमिल्सिनाले विस्तृत जानकारी गराएका थिए।

सभामा सदस्यहरूले संस्थाप्रतिको आफ्ना अनुभूति, अपेक्षा तथा प्रस्तुत प्रतिवेदन र प्रस्तावमाथि जिज्ञासा र सुझाव राखेका थिए। सदस्यबाट प्राप्त सुझावलाई संस्थागत रूपमा आत्मसात् गर्ने प्रतिबद्धता जनाउँदै सञ्चालक समितिका तर्फबाट विषयगत रूपमा जिज्ञासाको सम्बोधन गरिएको थियो।

उत्कृष्ट सदस्यलाई सम्मान

इकाई नं. २ को सभा सञ्चालन सहजीकरण संस्थाका सचिव सरस्वती कँडेलले तथा इकाई नं. १ को सभा संस्थाका विभागीय प्रमुख प्रेमप्रसाद अधिकारीले गर्नुभएको थियो।

इकाई सभा व्यवस्थापनका लागि छुट्टाछुट्टै कार्यदल गठन गरिएको थियो। सभा सफल बनाउन योगदान पुर्‍याउने सदस्य तथा सरोकारवालालाई इकाई नं. १ का व्यवस्थापन कार्यदल संयोजक एवं सञ्चालक समिति सदस्य देवी घिमिरे र इकाई नं. २ का संयोजक डिलाराम सापकोटाले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

कार्यक्रममा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, पूर्वअध्यक्ष, सल्लाहकार, केन्द्रीय विषयगत उपसमिति, सेवाकेन्द्र व्यवस्थापन उपसमिति, कर्मचारी तथा सदस्यहरूको सहभागिता थियो।

सो अवसरमा उत्कृष्ट बचतकर्ता सदस्य, उत्कृष्ट समूह, उत्कृष्ट प्रविधि प्रयोगकर्ता सदस्य तथा उत्कृष्ट ऋणी सदस्यलाई सम्मान तथा पुरस्कारसमेत प्रदान गरिएको थियो।

संस्थाको ३१औँ वार्षिक साधारणसभाअन्तर्गत निर्णय प्रमाणीकरणका लागि इकाई प्रतिनिधिहरूको बैठक असोज २४ गते गैंडाकोटस्थित होटल द नारायणी, कालीगण्डकी चोकमा आयोजना हुने संस्थाले जनाएको छ।

अभिलेख

लोकप्रिय