१० असोज २०८३, शनिवार

गण्डकी साकोसको ३५ औं साधारण सभा सम्पन्न, संस्थागत पुँजी ११ प्रतिशत कायम

२०८३ असोज १०, शनिवार
गण्डकी साकोसको ३५ औं साधारण सभा सम्पन्न, संस्थागत पुँजी ११ प्रतिशत कायम

गैँडाकोट (नवलपरासी)  : गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष गोविन्द सुवेदीको अध्यक्षतामा सम्पन्न साधारणसभामा आध्यात्मिक चिन्तक एवं प्रेरणादायी वक्ता ब्रह्मकुमार विजय राज सिग्देल प्रमुख वक्ताका रूपमा सहभागी हुनुहुन्थ्यो।

संस्थाका ज्येष्ठ सदस्य रविलाल उपाध्यायले पानसमा दीप प्रज्वलन गरी साधारणसभाको उद्घाटन गर्नुभएको थियो। उद्घाटनका क्रममा पूर्वअध्यक्षहरूले बचतको प्रतीकस्वरूप खुत्रुकेमा ५० का नोट राख्दै सहकारीमा बचत गर्ने अभियानप्रति ऐक्यबद्धता जनाएका थिए। संस्थाको ३३ वर्षको यात्राको प्रतीकस्वरूप पूर्वअध्यक्ष, अतिथि तथा सञ्चालकहरूले ३३ वटा दियोमा दीप प्रज्वलनसमेत गरेका थिए।

कार्यक्रममा सञ्चालक समिति सदस्य प्रमिला सापकोटाले ‘गण्डकी आस्था’ वाचन गर्नुभएको थियो भने धना पौडेल र मिना केसीले सहकारी सचेतनामूलक स्वागत गीत प्रस्तुत गर्नुभएको थियो।

संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष केदारनाथ न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो। सञ्चालक समितिका तर्फबाट सहसचिव जयकृष्ण सापकोटाले आर्थिक वर्ष २०८२/८३ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/८४ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।

त्यस्तै, कोषाध्यक्ष शकुन्तला न्यौपाने तिवारीले आर्थिक वर्ष २०८२/८३ को आर्थिक प्रतिवेदन तथा प्रस्तावित बजेट र लेखा तथा सुपरिवेक्षण समिति संयोजक विष्णुप्रसाद शर्माले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

‘समृद्धिको पहिलो आधार पैसा होइन, सोच हो’

प्रमुख वक्ता ब्रह्मकुमार विजय राज सिग्देलले जीवन उपयोगिता र सहकारिताको समुचित अभ्यासले व्यक्तिको जीवनमा पार्ने सकारात्मक परिवर्तनबारे प्रेरणादायी सम्बोधन गर्नुभएको थियो। ‘समृद्धिको पहिलो आधार पैसा होइन, सोच हो, सोच बदलौँ, बानी बदलौँ, जीवन बदलौँ’ भन्ने भावसहितको मन्तव्यले सहभागीलाई प्रेरित गरेको थियो।

उहाँले संस्थाको आगामी यात्रा थप सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो। सदस्यहरूका तर्फबाट खुमनाथ पौडेल र लक्ष्मी पाण्डेले लिखित तथा मौखिक जिज्ञासा तथा सुझाव प्रस्तुत गर्नुभएको थियो। सल्लाहकार संयोजक पोषणराज सुवेदी र सल्लाहकार वेदप्रसाद गौडेलले संस्थाको प्रगति तथा साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

३५ उत्कृष्ट सदस्य तथा बाल बचतकर्ता सम्मानित

साधारणसभाको अवसरमा सदस्यहरूको उत्पादन प्रदर्शनी तथा बिक्री स्टलसमेत राखिएको थियो। क्यापिटल रिफ्रेन्स ल्याब प्रालिको प्राविधिक सहयोगमा आयोजित निःशुल्क मधुमेह परीक्षण शिविरबाट करिब ३०० जनाले सेवा लिएका थिए।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट ३५ जना सदस्य तथा बाल बचतकर्तालाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो। आर्थिक वर्ष २०८२/८३ को वर्ष उत्कृष्ट सेवा केन्द्रका रूपमा स्वाभिमान सेवा केन्द्रलाई सम्मान गरिएको थियो भने वर्ष उत्कृष्ट कर्मचारीका रूपमा अमरापुरी सेवा केन्द्र कार्यालयकी बचत सहायक सरस्वती गौतमलाई पुरस्कृत गरिएको थियो।

साधारणसभाले सचिव, कोषाध्यक्ष, लेखा तथा सुपरिवेक्षण समितिका प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ। साथै विनियम संशोधन प्रस्ताव, वार्षिक नीति तथा कार्यक्रम र बजेटसमेत स्वीकृत गरेको छ।

१७ हजारभन्दा बढी सदस्य, २ अर्ब २५ करोड कुल सम्पत्ति

अध्यक्ष गोविन्द सुवेदीले संस्थाको ३३औँ साधारणसभाबाट सर्वसम्मत रूपमा निर्वाचित भई प्राप्त जिम्मेवारीलाई आत्मसात् गर्दै संस्था वित्तीय रूपमा सक्षम र बलियो पुँजीसहित अघि बढिरहेको बताउनुभयो। संस्थाले हाल ११ प्रतिशत संस्थागत पुँजी कायम गरेको, सदस्यलाई सन्तुष्टिपूर्ण सेवा तथा उचित प्रतिफल प्रदान गर्न सफल भएको र बचत तथा ऋण कारोबारका आधारमा संरक्षित पुँजी फिर्ता कोषसमेत वितरण गर्दै आएको उहाँले जानकारी दिनुभयो।

प्रतिकूल मौसमका बाबजुद साधारणसभा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण शेयर सदस्यप्रति अध्यक्ष सुवेदीले धन्यवाद व्यक्त गर्नुभएको थियो।

हाल गण्डकी साकोसमा १७ हजार २७० भन्दा बढी शेयर सदस्य, करिब २ अर्ब २५ करोड रुपैयाँ कुल सम्पत्ति, ७ वटा सेवा केन्द्र र ३५ जना कर्मचारी रहेका छन्। गैँडाकोट नगरपालिका कार्यक्षेत्र रहेको संस्थाले एसियाली ऋण महासंघ (अकु) ले नेफ्स्कुनमार्फत सञ्चालन गरेको एक्सेस ब्रान्डिङ कार्यक्रममा सहभागिता जनाउँदै हालसम्म चार पटक एक्सेस ब्रान्ड प्राप्त गरिसकेको जनाएको छ।

अभिलेख

लोकप्रिय