१७ कात्तिक २०८२, सोमबार

रामकोट साकोसद्वारा १६औँ स्थापना दिवसमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

११५ जनाको रक्तदान, सामाजिक उत्तरदायित्वप्रतिको उत्कृष्ट उदाहरण

२०८२ कात्तिक ११, मङ्गलबार
रामकोट साकोसद्वारा १६औँ स्थापना दिवसमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

धादिङ : नीलकण्ठ-८ साघुँटार स्थित रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६औँ स्थापना दिवसको अवसरमा ‘रगत दान, जीवन दान’ भन्ने मूल नाराका साथ बृहत खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

रामकोट साकोसको आयोजनामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार सेवा केन्द्र धादिङले प्राविधिक सहयोग प्रदान गरेको थियो। कार्यक्रममा २५ जना महिला र ९० जना पुरुष गरी कुल ११५ जनाले रक्तदान गरेका छन्।

रक्तदान कार्यक्रमको उद्घाटन सहकारीका संस्थापक सदस्यहरू र स्थानीय समुदायका अगुवाहरूले संयुक्त रूपमा गर्नुभएको थियो। कार्यक्रममा सहकारीका सदस्य, विभिन्न संघ/संस्था, युवा समूह, स्थानीय बासिन्दा र स्वयंसेवकहरूको उत्साहजनक उपस्थिति थियो।

संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले भन्नुभयो, ‘रक्तदानले जीवन बचाउने अवसर दिन्छ। सामाजिक उत्तरदायित्व केवल नारा होइन, यो सहकारी संस्कृतिको आत्मा हो। हाम्रो संस्था आगामी दिनमा पनि यस्ता समाजोपयोगी कार्यहरू निरन्तर गर्दै जानेछ।’

अध्यक्ष श्रेष्ठले सहकारीले आर्थिक सशक्तीकरणसँगै सामाजिक दायित्व पूरा गर्न निरन्तर अग्रसर रहेको बताउँदै, सहकारीले समुदायमा ऐक्यबद्धता, सहयोग र सेवाको संस्कार स्थापित गर्न लागेको उल्लेख गर्नुभयो।

कार्यक्रमका क्रममा रक्तदानमा सक्रिय सहभागिता जनाउने रक्तदाताहरुलाई सम्मानपत्र वितरण गरिएको थियो। कार्यक्रममा सहभागीहरूले रक्तदानले केवल अरूको जीवन बचाउने मात्र नभई आफ्नै स्वास्थ्यका लागि पनि लाभदायक हुने बताएका थिए।

रामकोट साकोसले यसअघि २०८० साल चैत्र २० गते आयोजना गरेको रक्तदान कार्यक्रममा २२६ जना रक्तदाताले रक्तदान गरी धादिङ जिल्लामै ऐतिहासिक रेकर्ड कायम गरेको थियो। संस्थाले स्वास्थ्य, शिक्षा, सरसफाइ, वित्तीय साक्षरता र सामुदायिक विकासका विभिन्न अभियानमार्फत सामाजिक सेवामा निरन्तर योगदान दिँदै आएको छ।

कार्यक्रमले स्थानीय समुदायमा सहकारीप्रतिको विश्वास र आत्मीयता अझ प्रगाढ बनाएको सहभागीहरूको धारणा छ।

अभिलेख

लोकप्रिय