२६ वैशाख २०८३, शनिवार

विकू बचतको ३६औं साधारण सभा सम्पन्न, १ अर्ब ८२ करोडको पूँजी कोष निर्माण

२०८२ असोज २६, आईतवार
विकू बचतको ३६औं साधारण सभा सम्पन्न, १ अर्ब ८२ करोडको पूँजी कोष निर्माण

गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३६औं वार्षिक साधारण सभा सम्पन्न शनिबार सम्पन्न भएको छ । तीन वटा एकाईमा भएको संस्थाको ३६औं वार्षिक साधारण सभा अन्तर्गत शनिबार एकाई ३ को सभा गैंडाकोटस्थित विजय सामुदायिक शिक्षा सदनको प्राङ्गणमा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाले २६ जनाले दैनिक ५० पैसाबाट सुरु गरिएको सहकारी हाल करिब १ लाख २५ हजारभन्दा बढी सदस्य र झण्डै ११ अर्ब रुपैयाँ बराबरको वित्तीय कारोबारमा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले हालसम्म विकू पूर्ण सदस्यता वडा घोषणा कार्यक्रम, बालबालिकाका लागि डिजिटल पार्क निर्माण, भान्सा साक्षरता कार्यक्रम, चौतारामा डाक्टर कार्यक्रम लगायतका सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सचिव गोविन्द कँडेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विकूले ‘बचत नै विकासको बिउ हो’ भन्ने नीतिसाथ निरन्तर बचत संकलन र ऋण परिचालनमा केन्द्रित रहँदै आएको बताउनुभयो । उहाँले सहकारीको बचत, लगानी तथा सदस्य संख्या निरन्तर वृद्धि हुँदै गएको उल्लेख गर्नुभयो ।

त्यस्तै, कोषाध्यक्ष पुष्पराज बरालले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै संस्थाले १ अर्ब ८२ करोड ४५ लाख ७५ हजार रुपैयाँको पूँजी कोष निर्माण गरेको र ३५ अर्ब ९९ करोड ९२ लाख ७ हजार रुपैयाँ ऋण लगानी गर्न सफल भएको जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८१/८२ मा संस्थाको कुल सदस्य संख्या गत वर्षको तुलनामा ४ प्रतिशतले वृद्धि भई १ लाख २५ हजार ४ सय ८४ पुगेको छ भने कुल पूँजी १० अर्ब २ करोड ५१ लाख ९५ हजार पुगेको जानकारी दिनुभयो । गत आर्थिक वर्षमा संस्थाले १९ करोड ८७ लाख २१ हजार २५३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको र सो अवधिमा सेयर पूँजी ८३ करोड ९० लाख १६ हजार ५०० रुपैयाँ पुगेको पनि उहाँले जानकारी दिनुभयो ।

लेखा सुपरिवेक्षण समितिका संयोजक कमल सुवेदीले सहकारीका सदस्यहरूबीच प्रविधिको प्रयोग र पहुँचमा उल्लेखनीय वृद्धि भएको बताउँदै वित्तीय कारोबारमा डिजिटल प्रणालीको प्रयोगले पारदर्शिता र सहजता बढाएको उल्लेख गर्नुभयो । उहाँले संस्थाले कागजी अभिलेखलाई विद्युतीय प्रणालीमा रूपान्तरण गर्नुका साथै जोखिम व्यवस्थापनका लागि विशेष कोष गठन गरेको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष ओमप्रसाद सापकोटा, संस्थापक अध्यक्ष खेमराज सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमकोे सहजीकरण प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद पौडेलले गर्नुभएको थियो ।

कार्यक्रममा सेयर सदस्य, साधारण सदस्य तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो ।

त्यस्तै, विकू बचत तथा ऋण सहकारी संस्थाले इकाइ १ अन्र्तगत असोज २३ गते थारु राष्ट्रिय संग्रालय परिसर, कावासोती डण्डा र असोज २४ गते इकाइ २ अन्र्तगत भेडाबारी खेल मैदान (गौचरन), गैंडाकोट ११ भेडाबारीमा साधारण सभा सम्पन्न भएको थियो ।

अभिलेख

लोकप्रिय