विकू बचतको ३५औं वार्षिकोत्सव: वक्तृत्वकला प्रतियोगितामा गरिमा अधिकारी प्रथम
गैंडाकोट (नवलपरासी) : विकू बचत तथा ऋण सहकारी संस्थाले ३५औं वार्षिकोत्सवको अवसरमा बुधबार आयोजना गरेको माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा जनक नमुना मा.वि. गैंडाकोटका गरिमा अधिकारीले प्रथम स्थान हासिल गरेकी छिन् । त्यस्तै, बरचुली मा.वि. रजहरका प्राप्ति खतिवडा द्वितीय र कालिका नमुना मा.वि.का सृष्टि पोख्रेलले तृतीय स्थान हासिल गरेकी छिन् ।
कार्यक्रममा निर्णायकका रूपमा संयोजक कमल सुवेदी र सदस्य मुना धनञ्जय रहेका थिए । ‘सबैको पहिलो रोजाई विकू’ भन्ने शीर्षकमा रहेर वक्तृत्वकलामा प्रतिस्पर्र्धी विद्यार्थीहरूले आफ्नो भनाइ राखेका थिए ।
प्रतियोगितामा १३ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूको सहभागिता थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिए ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोईरालाले कार्यक्रमको उद्देश्य सहकारीका मूल्य, सदस्यहरूको सहभागिता र सामाजिक रुपान्तरणको महत्वलाई उल्लेख गरिन् । उनले विद्यार्थीलाई, सहकारी, बचत र पैसाको महत्व बुझाउन यस्ता प्रतियोगिता फलदायी हुने बताईन ।
संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटा (राजु)ले वक्तृत्वकलाले आत्मविश्वास बढाउने, नेतृत्व क्षमता विकास गराउने र अरुलाई प्रेरित गर्ने काम गर्ने हुँदा विकूले विद्यार्थीलाई प्रेरित गर्दै यस्ता कार्यक्रमहरु गर्ने गरेको बताए।
प्रतियोगिताको मल्यांकनकर्ता संयोजक एवं संस्थाको लेखा तथा अनुगमन समिति संयोजक कमल सुवेदीले सहकारी संस्थाले ३५ वर्षको अवधिमा सदस्यहरूको आर्थिक उन्नति र सामाजिक सहभागिता बढाउन महत्वपूर्ण काम गरेको स्मरण गरे । विकूका निवर्तमान अध्यक्ष ओम सापकोटा, संस्थापक अध्यक्ष खेमराज सापकोटा लगायतले संस्थाको गरिमा र योगदानलाई निरन्तरता दिन सबैको सक्रिय भूमिका आवश्यक रहेको कुरामा जोड दिएका थिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष एवं पूर्व अध्यक्षहरू, संस्थापक तथा सञ्चालक समिति, सेवा केन्द्रका संयोजक तथा उपसंयोजकहरू, विभागीय, क्षेत्रीय सेवा केन्द्र इन्चार्ज तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो। विकू साकोसका उपाध्यक्ष कालिदास गौडेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले गरेका थिए।
यसैगरी वार्षिकोत्सवको अवसरमा संस्थाले साउन ३० गते कोल्हुवा सेवा केन्द्रमा रक्तदान कार्यक्रम, ३१ गते सेवा केन्द्र स्तरिय कर्मचारीका लागि हाजिरीजवाफ र कर्मचारी स्तरिय फुटबल प्रतियोगिता, भदौ १ गते मानव सेवा आश्रममा सहयोग, भदौ २ गते गैँडाकोट वडा नम्वर १०, ११, १२ र १३ लाई पूर्ण सदस्य वडा घोषणा गर्ने कार्यक्रम रहेको विकू साकोसका मानविय स्रोत व्यवस्थापन विभाग प्रमुख मदन सापकोटाले जानकारी दिए।
यस्तै, संस्थाले भदौ ५ गते वार्षिकोत्सव बिशेष समारोह, व्यवस्थापन उपसमिति सदस्य स्तरीय खेलकुद म्युजिकल चियर, कर्मचारी स्तरिय नृत्य प्रतियोगिता र डिजीटल पार्कको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ भने संस्थाका सबै सेवा केन्द्रमा साँझ ७ बजे दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार