७ वैशाख २०८२, आईतवार

सहयात्रीको १९ वर्षे यात्रा: नाम जस्तै सदस्यको सुख दु:खको ‘सहयात्री’

२०८१ पुष २३, मङ्गलबार
सहयात्रीको १९ वर्षे यात्रा: नाम जस्तै सदस्यको सुख दु:खको ‘सहयात्री’

काठमाडौं : काठमाडौं-३१, मिनभवनमा मुख्य कार्यालय रहेको सहयात्री बचत तथा ऋण सहकारी संस्थाले १९ वर्षे यात्रा सुरु गरेको छ ।

२०६३ साल पुस १९ गते बुधबार स्थापना भएको सहयात्री बहुउद्देश्यीय सहकारी संस्था (हाल बचत तथा ऋण) ले यसबीच स्वाभाविक आरोह अवरोह पार गरेको छ । बहुउद्देश्यीयबाट सुरु भएको सदस्यसँगको ‘सहयात्रा’ २०७६ साल कार्तिक १ गतेबाट बचत तथा ऋण सहकारीमा परिणत भएको थियो ।

संस्थाले शुक्रबार विस्तारित मञ्चको कार्यक्रम आयोजना गरी १९औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा सदस्य सम्मान, वित्तीय साक्षरता र सचेतना कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा प्रशिक्षक कुवेर निरौलाले ‘वित्तीय साक्षरता’ को सहजिकरण गरेका थिए । त्यस्तै प्रहरी प्रभाग काँडाघारीका प्रहरी निरीक्षक राजन थापाले ‘महिला बालबालिका विरूद्ध हुने अपराध सम्बन्धी कानूनी सचेतना’ को सहजिकरण गरेका थिए ।

त्यस्तै संस्थाका अध्यक्ष खेमराज सुवेदीले ‘संस्थागत जानकारी तथा विस्तारित छलफलमा’ सहजिकरण गरेका थिए । कार्यक्रममा विभिन्न १२ विधामा सदस्य, बाल बचतकर्ता, लघुवित्त केन्द्र, कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

२६ जना सदस्य र २६ हजार सेयर पुँजीबाट सुरु भएको सहयात्रीमा हाल ५ हजार १९८ सदस्य जोडिएका छन् । उक्त सदस्य मध्ये लघुवित्ततर्फ ४६९२ र नियमित ५०६ जना रहेको छ । सदस्यहरु मध्ये अधिकांश महिला छन् ।

संस्थाले २०७० चैत्र ५ गतेदेखि लघुवित्त कार्यक्रम सञ्चालन गरेको थियो । यस अवधिसम्म आईपुग्दा लघुवित्त केन्द्र संख्या १९९ पुगेको छ । लघुवित्त कार्यक्रममा ४ हजार ६९२ जना सदस्य जोडिएका छन् भने १ हजार ६९० जना बाल बचतकर्ता सहयात्रीमा जोडिएका छन् । लघुवित्त कार्यक्रमबाट कर्जा उपभोग गर्ने सदस्य संख्या २ हजार १२८ जना रहेका छन् ।

यस्तो छ वित्तीय अवस्था
४ करोड ५१ लाख ९६ हजार सेयर पुँजी रहेको संस्थाको कुल कारोबार ३४ करोड ८४ लाख ७ हजार रहेको छ ।

संस्थाले २२ करोड ७८ लाख २७ बचत संकलन गरी २८ करोड ४० लाख ८८ हजार कर्जा प्रवाह गरेको छ । संस्थाको बाह्य ऋण ३ करोड २ लाख ७१ हजार रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा संस्थाले ५४ लाख ३१ हजार नाफा गरेको थियो ।

सदस्य सेवामा समर्पित
संस्था सदस्यको सुख दुःखको ‘सहयात्री’ बन्नुपर्ने संस्थाका अध्यक्ष सुवेदी बताउँछन् । संस्थाले सदस्य सुरक्षाका ४ वटा कार्यक्रम गर्दै आएको छ । जस अन्तर्गत सदस्य ऋण सुरक्षण कार्यक्रम, जटिल रोग र दुर्घटनामा आर्थिक सहयोग, आँशु पुछ्ने कार्यक्रम र सुत्केरी भेटघाट कार्यक्रम गर्दै आएको छ । त्यस्तै सामाजिक उत्तरदायित्वतर्फ पनि विविध कार्यक्रम गर्दै आएको छ ।

‘सदस्यहरुको दुःखको क्षणमा मलम लगाउन सकेनौं भने सहकारीको अर्थ हुँदैन’, उनले भने, ‘हामी अस्वाभाविक सदस्य विस्तार भन्दा पनि भएका सदस्यहरुलाई आपतविपत् पर्दा पूर्ण रुपमा साथ सहयोग गर्ने काम गरेका छौं । आँसु पुछ्ने कार्यक्रम त्यस्तैमध्येको एउटा हो । यो सदस्यले फिल गर्ने कार्यक्रम हो ।’

संस्थाले सदस्यका परिवारमुलीको मृत्युमा २५ हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । लघुवित्त मोडल सञ्चालन गरेको साकोसले त्यस अन्तर्गत प्रति सदस्य अधिकतम ३ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्दै आएको छ । साकोसले दिवंगत सदस्यहरुको कर्जा मिनाहा कार्यक्रम पनि सञ्चालन गरेको छ । यस्तै, सदस्यको अभिभावकको मृत्युमा पनि आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।

त्यस्तैै, अनुकरणीय सत्मर्कममा जोडिएका महिलाहरुलाई बुहारी सम्मान गर्ने गरेको छ भने मातृशिशु भेटघाट कार्यक्रम, निरन्तर तालिम शिक्षा, अध्ययन अवलोकन भ्रमणमा सदस्यहरुलाई नियमित जोड्दै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत सदस्य र समुदायसँग घनिष्ठ सम्बन्ध कायम गर्दै आएको अध्यक्ष सुवेदीले जानकारी दिए ।

‘काठमाडौंका शहर केन्द्रीत सहकारीहरु प्रति हेर्ने दष्टिकोण फरक रहेको वर्तमान अवस्थामा काठमाडौंको सहकारी अभियान पारदर्शी, सुशासीत र सहकारीमार्फत सदस्यको जनजिविकामा निर्दिष्ट लक्ष्य प्राप्तिमा गतिशिल छन् भन्ने सन्देश प्रवाह गर्न हामी चाहन्छौं’, उनले भने ।

अध्यक्ष सुवेदी भन्छन्, ‘सहयात्रीलाई लाखौं सदस्यको प्यारो बनाउनु छ । सबैको मन र घरको संस्था बनाउनु छ । यही अठोठका साथ अविचलित यात्रामा छौं ।’

अभिलेख

लोकप्रिय