सहकारीले गर्ने व्यवसायका कुरा

सहकारी व्यावसायिक सङ्गठन हो । यसले पारिवारिक र सामाजिक व्यवसाय गर्छ र गर्नुपर्छ । सहकारीले गर्ने व्यवसायको पहिलो उपभोक्ता यसैका सदस्य हुन् । सदस्य सहकारीका मालिक हुन् । आफैले गरेको व्यवसाय, आफैले सेवा तथा वस्तुको उपभोग गर्ने भएकाले यहाँ मूल्यमा न्याय हुन्छ । गुणस्तरमा कहिल्यै सम्झौता हुँदैन । अर्थात् नराम्रो सेवा र नराम्रो वस्तु उत्पादन गरिँदैन । जसरी आफैले खाने, आफ्नै घरको भान्सामा पाक्ने खानामा चाहेर कसैले मिसावट गर्दैनन् ।
सहकारीलाई पहिला परिवारको रुपमा बुझ्ने र विकास गर्ने काम गरौं । मन मिल्ने, उद्देश्य मिल्ने, सहयोग गर्न तयार, सहभागी हुन तयार सदस्यहरुको परिवार । यस्ता सदस्यहरु सेवा लिनदिन सक्ने दुरीमा हुन्छन् वा सदस्य भएको स्थानमा सेवा दिन सकिने संरचना पुर्याउन सहकारी सक्षम हुनुपर्छ ।
सहकारीले गर्ने व्यवसायमा सदस्यको विश्वास हुनुपर्छ । विश्वास भएकालाई सदस्य बनाउनु पर्छ वा सदस्य भएपछि विश्वासमा लिन र विश्वास दिलाउने काम गर्नुपर्छ । विश्वासको आदानप्रदानको पहिलो शर्त पारदर्शिता हो । छलछाम र ढाकछोप गर्नाले सङ्का बढाउँछ । धेरै मानिसहरु कमजोरी लुकाउने र राम्रो मात्रै देखाउने गर्छन् । यसो गर्दा केही समयलाई राम्रै भएपनि सदस्यको दिगो विश्वासका लागि यो तरिका ठिक होइन ।
नेपालमा स्थापना भएका लगभग सबै सहकारीले गर्ने व्यवसाय भनेको बचत ऋण व्यवसाय हो । यो सजिलो व्यवसाय भएको छ । सजिलो व्यवसाय हुँदाहुँदै पनि कतिपय सहकारीले यो व्यवसायमा पनि सफलता पाउन सकेका छैनन् । यसको मुख्य कारण सहकारीमा पैसा जोडियो तर सदस्यको मन जोडिएन । जुन सहकारीमा सदस्यको मन जोडिएन त्यस्ता सहकारीमा एउटै परिवारको भावना विकास हुन पाएन । अझ कतिपय अवस्थामा एउटै परिवारको भावना विकास हुनै दिईएन । परिवारको भावना भनेको अपनत्वको भावना हो । विश्वासको भावना हो । जहाँ अपनत्व र विश्वास हुन्छ, त्यहाँ परिवारको भावना हुन्छ । जहाँ परिवारको भावना हुन्छ त्यहाँ सबैको सहयोग र योगदान हुन्छ । परिवारका सदस्यलाई आवश्यकताका आधारमा संरक्षण र सुरक्षा प्राप्त हुन्छ । जस्तैः पाका, रोगी, बालबालिका, अशक्त आदिलाई सुरक्षा र सहयोग गरिन्छ । त्यसैले सफल सहकारी एउटा परिवारको अवधारणामा अगाडि बढ्छ ।
सहकारीले गर्ने व्यवसायका कुरा
सहकारीले गर्ने व्यवसायको पहिलो उपभोक्ता वा सेवाग्राही सहकारीका सदस्य नै हुनुपर्छ । जस्तो बचत ऋणको व्यवसाय गर्ने सहकारीले सदस्यसँग मात्रै बचत लिने र सदस्यलाई मात्रै ऋण लगानी गर्ने भनेर परिभाषित गरिएको छ । यो परिभाषा उपयुक्त थियो र छ । तर कतिपय बचत तथा ऋणको कारोबार गर्ने सहकारीमा पनि परिवारको अनुभूती हुन दिइएन वा गराइएन । संस्था स्थापना गर्ने, सञ्चालक वा समितिमा बसेका मालिक र सेवा लिन आउने ग्राहक जस्तो व्यवहार भयो । सदस्यमा विश्वास पलाएन, विश्वास हुनेगरी काम गरिएन । त्यसैले संकट आएको सदस्यले थाहा पाएनन् र थाहा पाउँदा सहयोग गर्ने मनसाय पनि बनेन् । बरु उल्टै आफ्नो पैसा सुरक्षित गर्न फिर्ता लिनेको लाईन लाग्यो । जुन सहकारीले सदस्यलाई विश्वासमा लिएर काम गरे अथवा परिवारको भावना विकास गराए त्यहाँ समस्य आएन वा सबै मिलेर समस्याको समाधान गरे, गरिरहेका छन् ।
सहकारीले गर्ने व्यवसाय भनेको बचत ऋण मात्रै हुँदै होईन । यो त सहकारीले गर्ने अनेकन व्यवसाय मध्येको एक हो । अझ सदस्यलाई बचत गर्ने बानिको विकास गराउन, फजुल खर्च कटौती गर्न, सदस्यले गर्ने उद्यम र व्यवसायका लागि सजिलै कर्जा उपलब्ध गराउन, सदस्यको खाँचो गाह्रो परेको बेला सापटी उपलब्ध गराउन बचत तथा ऋणको कारोबार पनि गर्ने हो ।
सहकारी ऐन २०४८ जारी भएपछि यो ३०/३२ वर्षको अवधिमा सहकारीले मूलतः बचत तथा ऋणको व्यवसाय गरेको अवस्था छ । यसमा पनि व्यापक सुधार र सुरक्षाको खाँचो देखिएको छ । सहकारीलाई सहकारी जस्तो नबनाउँदा र नबुझ्दा नै अहिलेको सङ्कट देखा परेको हो । अब सहकारीले जुनसुकै व्यवसाय गरे पनि सहकारीको मर्म, सिद्धान्त, मुल्यमान्यतामा रहेर व्यवसाय गर्नुपर्छ । यसो गर्दा असफल भन्ने हँुदैहुँदैन । अन्यत्र संकट आउँदा पनि सहकारीमा संकट आउँदैन र आउन हुँदैन ।
सहकारीले गर्ने व्यवसायको मर्म भनेको कुन व्यवसाय गर्दा चाँडै र धेरै नाफा हुन्छ भन्ने होइन । कुन र कस्तो व्यवसायले सदस्यको आवश्यकता पुरा गर्छ भन्ने हुनुपर्छ । जस्तै, सहकारीका सदस्यले दुध उत्पादन गर्छन् तर बजारको समस्या भएको छ भने डेरी उद्योग खोल्न सकिन्छ । दुधका परिकार बनाएर बजारमा बिक्रि गरेर सदस्यको दुधको बजार सुरक्षित गर्न सकिन्छ । सदस्यले धेरै आलु उत्पादन गर्छन् भने कोल्ड स्टोर सञ्चालन गर्न सकिन्छ । आलु चिप्सको उद्योग शुरु गर्न सकिन्छ । सदस्यले धान, गहुँ, मकै, तोरी, कोदो उत्पादन गर्छन् भने पहिले ‘वेयर हाउस’ सञ्चालन गर्न सकिन्छ । वेयर हाउसमा समान राखिदिएर चाहिने पैसा ऋणको रुपमा उपलब्ध गराउन सकिन्छ र बजारमा भाउ केही बढेपछि बिक्रि गर्न सहजिकरण गर्न सकिन्छ ।
सदस्यहरुको भान्सामा चाहिने ग्याँस, चामल, पिठो, तेल, मसला, दाल, अचार, पापड, मिठाई, चिया, आदिको उद्योग सञ्चालन गरेर सदस्यलाई उचित मूल्यमा गुणस्तरिय समान उपलब्ध गराउन सकिन्छ । सदस्यले उत्पादन गरेका तरकारी संकलन गरेर सदस्यको भान्सासम्म पुर्याउन सकिन्छ । सदस्य धेरै किसान छन् भने किसानलाई चाहिने मल, बिउ, औजार, कृषि सामग्रि, प्रविधि आदि उपलव्ध गराउन सकिन्छ । सदस्यले पशु पालन गरेको भए दाना, औषधि, औजार, प्रविधि आदि सप्लाई गर्न सकिन्छ । सदस्यले उत्पादन गरेका हाँस, कुखुरा, खसी, राँगा, बंगुर, माछा आदि किनेर सटर हाउस (माछामासु पसल) सञ्चालन गर्न सकिन्छ ।
शहरमा बस्ने धेरै सदस्यले खुद्रा पसल सञ्चालन गरेका रहेछन् भने उनीहरुलाई चाहिने सामग्रीको उत्पादक, थोक बिक्रेता तथा डिलर बनेर सदस्यलाई समान उपलब्ध गराउन सकिन्छ । यस्ता अनेकन व्यवसाय सञ्चालन गर्न सकिन्छ ।
सहकारीले गर्ने व्यवसाय सदस्य केन्द्रीत भयो भने कहिल्यै असफल हुनु पर्दैन । तर, सदस्यलाई परिवारको अनुभूति हुनुपर्छ र गराउनु पर्छ । परिवारको अनुभूति गराउन सक्ने गरी अपनत्व बोध हुने गरि सदस्य बनाउनु पर्छ । परिवारको बोध गराउन सदस्यको सुखः दुखःमा सहभागि बन्ने खालका कार्यक्रम बनाउनु पर्छ । अप्ठ्यारो परेको बेला सदस्यको घरमा पुगेर सहयोग र सहानुभूति दर्शाउनु पर्छ । खुसीमा खुसी बाढ्न पुग्नुपर्छ ।
सफल जीवन यापनका कला एवं शीपहरुको आदानप्रदान गर्नुपर्छ । सदस्यलाई संस्थाका सवै गतिविधिका बारेमा निरन्तर सूचना दिईरहनु पर्छ । यो काम निकै कठिन त छ तर यही काम नगरीकन सदस्यलाई परिवारको अनुभूति गराउन, अपनत्वको भाव जगाउन सकिँदैन । जब परिवारको सदस्य भएको अनुभूति हुन्छ, संस्थाप्रति अपनत्व महशुस हुन्छ, संस्थाको काममा पूर्ण विश्वास र भरोसा हुन्छ तब संस्थाले दिने सेवा र उत्पादन प्रति पूर्ण भरोसा हुन्छ । जब यस्तो भरोसाको विकास हुन्छ तब विज्ञापनको जरुरत पर्दैन, प्राइम लोकेशन खोजेर महङ्गो भाडा तिर्ने शोरुमको आवश्यकता पर्दैन । समान र सेवाको मूल्य बढाएर धेरै नाफा गर्ने आवश्यकता पर्दैन । थोरै मुनाफा लिएर गुणस्तरिय समान र सेवा दिन सकिन्छ । नाफाबाट पनि सञ्चालन खर्च काटेर र जगेडा कोषमा पैसा छुट्याएर फेरी शेयर लाभांश र संरक्षित पूँजीफिर्ता कोषबाट सदस्यलाई नै लाभ पुग्छ । यस्तो विश्वासको अवस्था सृजना भएपछि वस्तु र सेवाको मूल्य कति छ, महङ्गो वा सस्तो भनेर सदस्यले मतलव नै गर्दैनन् । तुलना नै हुँदैन । तर यो अवस्थासम्म पुग्न र पुर्याउन अलि मेहनत गर्नै पर्छ । खुला बजारमा नाफा कमाउन उद्योग खोल्ने र व्यापार गर्नेसँग प्रतिस्पर्धा गरेर मूल्य घटाएर वा गुणस्तरमा सम्झौता गरेर वस्तु र सेवा दिन प्रतिस्पर्धा गर्ने हो भने सामाजिक व्यवसायमा टिक्न र टिकाउन सकस हुन्छ ।
सहकारी व्यवसाय सफल बनाउन अर्को महत्वपुर्ण कुरा छ । त्यो भनेको सहकारीमा सबैले बराबरी काम गर्नु पर्छ, बराबरी योगदान गर्नुपर्छ, मैले मात्रै किन धेरै गर्ने भन्ने भावना पनि देखिन्छ । यो गलत हुन्छ । सबैले सहयोग गर्ने हो, सकारात्मक सोच राख्ने हो तर सबैले बराबरी काम गर्नुपर्छ, बराबरी योगदान गर्नुपर्छ भन्ने हुँदैन । जो जति बढी जिम्मेवारीमा बसेको हुन्छ उती नै बढ्ता काम र योगदान गर्नुपर्छ । जिम्वेवारीमा बस्नेसँग संस्थाको स्वार्थ बाहेक अरु कुनै स्वार्थ हुनु हुँदैन । जिम्मेवारीमा बस्नेले यो अनुभूति गर्नुपर्छ की यो व्यवसाय डुब्यो भने म डुब्छु । डुब्नु भनेको घाटा हुनु मात्रै होइन त्योभन्दा बढी हो । घाटा भए नाफामा लान सकिन्छ तर डुब्दा इमेज बिग्रन्छ । इमेज भनेको विश्वास हो । विश्वास गुम्यो भने फेरी प्राप्त गर्न धेरै मुस्किल हुन्छ । अहिले विश्वास गुमाएका कतिपय संकटमा परेका सहकारी र तिनका नेताले अब कहिल्यै विश्वास प्राप्त गर्न सक्ने छैनन् । यो चाँही डुब्नु हो ।
मेरो आफ्नै अनुभव के छ भने नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले २०७० सालबाट डेरी उद्योग निर्माण शुरु गर्दा म संस्थाको अध्यक्ष हुनुको नाताले मैले नै धेरै जिम्मा लिएर काम गरे । नजानेको विषय, नगरेको विषय भएकाले अधिक सिक्न प्रयास गरे । विज्ञहरुसँग छलफल र मरामर्श गरे । सिक्न कञ्जुस्याई गरिन । असफल भएका डेरी र सफल भएर सञ्चालनमा रहेका डेरीको अवलोकन र अध्ययन गरे । यस्तो अध्ययन र छलफलमा डेरी व्यवसाय हेर्ने समुहलाई सँगै लिएर हिँडियो । प्राप्त अनुभवहरुलाई सञ्चालक समितिमा छलफल गरियो । सबैको छलफलबाट निस्किएको निर्णयलाई कार्यान्वयनमा लगियो । यसो गर्दा राम्रो नराम्रो कामको जिम्मा सबैले लिने अवस्था बन्यो । सबैको सहयोग र सुझाव पाइयो । उद्योग स्थापना भएर उत्पादनमा गएपछि डेरी प्रोडक्टलाई बजारमा चिनाउन र स्थापित गर्न धेरै नै मेहनत गर्नुपर्यो । प्रतिस्पर्धिहरुले टिक्नै दिदैनन् कि जस्तो पनि भयो । तर हामीलाई हार्ने र पछि फर्कने छुट थिएन ।
जस्तोसुकै अवस्था सहेर भएपछि सफल हुनै पर्ने बाध्यता थियो । किनकी यो डेरी उद्योग असफल हुँदा एनएमसीका लागि ठूलो क्षति हुनसक्थ्यो । यो क्षतिले हाम्रो साख बिग्रन्थ्यो र नयाँ नयाँ व्यवसाय शुरु गर्ने अवस्था नै बन्दैनथ्यो । त्यसैले म र अरु केही साथिहरुले आफ्नो काम, पेशा, व्यवसायलाईभन्दा धेरै मेहनत गरेर र समय दिएर अन्ततः डेरी उद्योगलाई सफल पारेरै छाड्यौं । शुरुका तिन वर्ष अनुमानभन्दा धेरै नै घाटा भयो । तर, नआत्तिकन निरन्तर लागि रह्यौं र सफलता प्राप्त भयो ।
डेरी उद्योग धेरै नै चुहावट हुने व्यवसाय भएकाले चुनौती धेरै थियो । जुनसुकै व्यवसायमा पनि चुहावटको सम्भावना हुन्छ । विज्ञ र अनुभवी व्यक्तिको सुझाव सल्लाह एकदमै आवश्यक पर्छ । टिमको विश्वास, लक्ष्यमा सबैको एकता, चुहावट (समयको चोरी, क्षमता भएर पनि काम नगर्ने, नजान्नेले पनि धेरै जानेको अभिनय गर्ने, खरिद बिक्रिमा कमिसन, समूह र संस्थाको हितभन्दा आफ्ना निजी हितको प्राथमिकता आदि) लाई नियन्त्रण गर्न कतिपय निर्णयमा कठोर बन्नु पर्ने हुन्छ । तर जब हामी आफ्ना मानिसलाई जागिर खुवाउने लोभमा लाग्छौं त्यसपछि त्यस्ता मानिसलाई संरक्षण गर्न शुरु गर्छौं । यो कामले संस्थाको व्ययसायमा ठूलो अवरोध सिर्जन गर्छ । यसलाई शुरुबाटै व्यवस्थापन गर्न सक्नुपर्छ । हाम्रालाई होइन राम्रालाई कामको अवसर दिनुपर्छ । राम्रो गर्न नसक्नेलाई बिदा दिन कुनै दुविधा पाल्नु हुँदैन र ढिलो पनि गर्नु हुँदैन । आ-आफ्नो काममा सबैलाई जिम्मेवार बनाउनु पर्छ । घडी हेरेर छुट्टी लिने कर्मचारीभन्दा काम सकेर छुट्टी लिने कर्मचारीको विकास गर्नुपर्छ ।
व्यवसाय गर्ने सहकारीले सबैलाई खुसी पार्ने मोडलमा होइन नीति, नियम, लक्ष र उद्देश्यलाई प्रधान मान्नुु पर्छ । लक्ष, उद्देश्य र नीतिनियममा सहमति र एकता हुनुपर्छ, एकता खोज्नु पर्छ । सहमत हुन नसक्नेहरु बाहिरिन्छन् वा फरक बाटो हिँडछन् । यसमा धेरै चिन्ता गर्न आवश्यक छैन । सहकारी व्यवसायका उत्पादन र सेवाको पहिलो उपभोक्ता वा प्रयोगकर्ता सदस्यलाई नै बनाउनु पर्छ । सदस्यको विश्वास जितेपछि यसलाई सदस्य बाहिर विस्तार गर्नु उपयुक्त हुन्छ ।
सेवा र वस्तुको उत्पादन लागत कम गर्न सकिने सबै उपाय अवलम्बन गर्नुपर्छ । किनकी बजारमा वस्तु वा सेवा गुणस्तरिय मात्रै भएर पुग्दैन मूल्यमा प्रतिस्पर्धी पनि हुनुपर्छ । तबमात्रै सदस्य र अरु उपभोक्ताको रोजाइमा पर्छ । सहकारीले गर्ने व्यवसाय स्थानीय कच्चा पदार्थमा आधारित र सदस्य एवं स्थानीय उपभोक्ताको आवश्यकताका हुँदा सफल हुने सम्भावना बढी हुन्छ ।
सहकारीले गर्ने व्यवसायमा ठूलाठूला कुरामा प्रायः सबैको नजर पर्ने गर्छ तर साना साना र महत्वपूर्ण काममा मानिसको खासै ध्यान हुँदैन । यस्ता सानासाना कामलाई व्यवस्थित गर्दै जाँदा नै राम्रो परिणाम आउने गर्छ । जस्तै कुनै उद्योग वा व्यवसायमा शौचालय त हुन्छ नै । तर त्यो सफा र व्यवस्थित छैन भने बुझे हुन्छ त्यो उद्योग वा व्यवसायमा अरु कुनै काम व्यवस्थित छैन । सरसफाई, समानको राखरखाव, लेनदेन, हिसाब, गोदाम आदि व्यवस्थित छैन । सरोकारवालासँग गरिने संवाद र व्यवहार ठिक छैन भने बुझे हुन्छ यस्तो व्यवसायले असफल हुने यात्रा शुरु गरेको छ । यस्ता साना लाग्ने कुरामा धेरैको ध्यान गएको पाईदैन । यसलाई व्यवस्थित गर्नै पर्छ ।
(उप्रेती नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)का संस्थापक अध्यक्ष हुन्)
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

सहकारी महासंघको आयोजनामा ‘ओपन फिडे र्यापिड रेटिङ’ चेस हुने
१५ बैशाख २०८२, सोमबार
नेतृत्वमा बस्नेहरुको प्रारम्भिक संस्थाको हालत हेरौं त !
१५ बैशाख २०८२, सोमबार
नेपालको सहकारी अभियान अब कता ?
१५ बैशाख २०८२, सोमबार