१५ वैशाख २०८२, सोमबार

‘नेफ्स्कूनको अबको जोड सञ्जालीकरण, स्थिरीकरण र प्रमाणीकरण’

२०८१ साउन ३१, बिहिबार
‘नेफ्स्कूनको अबको जोड सञ्जालीकरण, स्थिरीकरण र प्रमाणीकरण’

२०४५ साल साउन ३२ गते अर्थात् आजकै दिन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)को स्थापना भयो । नेफ्स्कून जेठो सहकारी संघ पनि हो । साकोस अभियानको समसामयिक मुद्दाहरुमा संघका बहसहरु बाक्लिएका छन्, पैरवीहरु परिपक्व हुँदै गएका छन् भने सरकार र साकोस अभियान हातेमालो गर्दै अघि बढेका छन् । वित्तीय सहकारीहरुको जोखिम सुपरिवेक्षण, दिगोपना, व्यावसायीकिरणमार्फत उन्नत छवि निर्माणमा नियामक र नेफ्स्कून सहकार्यमा जुटेका छन् । बद्लिदो समय अनुरुप बदलिएका तालिम शिक्षाका स्वरुप र सिकाइहरुले साकोस अभियानको मजबूतीकरणमा भूमिका खेलका छन् । प्रस्तुत छ, नेफ्स्कूनको समग्र अवस्थाका बारेमा प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटासँग गरिएको कुराकानी ।

‘वार्षिक २५ सदस्य संस्थाको पुरै कारोबारकाे जिम्मा लिन्छौं’

अघिल्लो लेखा परिक्षणको रिपोर्टको एड्भर्स ओपिनियनले कतिको पोलेको छ?
हामीले गतवर्ष लोन लस प्रोभिजनमा पयाप्त पैसा छुट्याउन नसकेकै हो । अर्बको अंकमा प्रोभिजन गर्नसक्ने अवस्था थिएन । त्यसको विकल्प भनेको की त ब्यालेन्स सिट घटाउने वा प्रोभिजन गर्नु नै थियो । गत वर्ष नेफस्कूनले आर्जन गरेको ४२ करोड रुपैयाँ नै हामीले प्रोभिजन गर्यौं । अहिले त्यो स्थिति छैन, जति प्रोभिजन गरेको छ, त्यसले नै यथेष्ट पुग्ने अवस्था छ । पछिल्लो समय फागुनदेखि असारसम्म हामी पुरै समय रिकभरीमा लाग्यौं । ठुलो संयन्त्र रिकभरीका लागि लगायौं । त्यो बीचमा नोटिस निकाल्ने, लिलामी प्रक्रियामा लैजाने र दाखिला गर्ने जस्ता कार्य गरेकाले अहिलेको रिपोट पोजेटिभ नै आउँछ ।

नयाँ सञ्चालक समिति आएपछि खर्च कटौती भएको छ । सेवा सुविधा लिनेदेखि अन्य थुप्रै खर्च कटौती गरेका छौं । यो वर्ष वित्तीय अवस्था विग्रिएको छैन र यसलाई क्रमशः व्यवस्थापन गरेर जानुपर्छ । केही महिनामा रिकभरी गर्न सकिँदैन र थप समय लिन्छ । हाम्रा सदस्य संस्थाहरुले कसरी कारोबार गरेका छन् भन्ने कुराले पनि रिकभरीमा प्रभाव पार्छ । सदस्यहरुले ऋण तिरिदिए भने न हाम्रा सदस्य संस्थाले पनि ऋण तिर्छन् । हामीले वित्तीय अवस्थालाई क्रमशः सुधार गर्दै लगेका छौं ।

एकातिर लगानी गरेको शेयरको प्रतिफल नआउने अर्कोतर्फ नेफ्स्कूनमा राखेको बचत नै असुरक्षित हुने हो कि भन्ने डर सदस्य संस्थाहरुलाई छ नि?
पर्याप्त प्रोभिजन गर्न नसकेका कारण बजारमा यस्तो हल्ला छाएको हो । जति हामीले नाफा गरेका थियौं, त्यो रकम प्रोभिजन गर्न पर्याप्त भएन । हामीले धेरै पैसा नाफा पनि नदेखाउन र कमाएको पैसालाई पनि नबाँडिकन प्रोभिजन गरौं भनेर लाग्यौं । व्यवस्थापकीय दृष्टिकोण र ऋण व्यवस्थापनका हिसाबले संघ समस्या परेको होइन । पल्र्सले १ प्रतिशत, ३५ प्रतिशत र शतप्रतिशत लोन प्रोभिजन गर्न भनेको छ । एक वर्ष नाघ्ने बित्तिकै २० करोड लगानी गरेको पैसा २० करोड नै प्रोभिजन गर्नुपर्छ । यसले गर्दा हामीलाई दबाव परेको हो । त्यसले अन्य वित्तीय संस्थाको तुलनामा समस्यामा परेको हो कि जस्तो देखिन्छ । अब त्यो अवस्था छैन । कोभिडको समयमा बजारमा पैसा थुप्रियो । जसले गर्दा सहजै ऋण लगानी भयो । पैसा भएपछि केही मात्रामा भए पनि ब्याज आउँछ भन्ने हुन्छ । सहज र खुकुलो ऋण लगानीका कारण असुलीमा केही दबाव परेको हो ।

सञ्चालकहरुको संस्थाको अनुगमन नेफ्स्कून व्यवस्थापनले गरेको छ । आउटकम के भयो ? के कस्ता सबल र कमजोरी अनि ब्लन्डरहरु भेटिए?
अहिले टिममा नयाँ अनुहारहरु बढी छ । मन्त्रालयले बनाएको निर्देशिकाको आधारमा अनुगमन गरेका हौं । सुधार गर्नुपर्ने ठाउँहरु धेरै छन् । बिग्रेको भन्न खोजेको होइन । हामीले टेक्निकल टिम र सञ्चालकहरुको क्रस गराएर संस्थाहरुको अनुगमन गरेका छौं । अनुगमनले उहाँहरुलाई सुधारको लागि सहयोग गरेको छ र राम्रो संस्था बनाउन के के गर्नुपर्ने रहेछ भन्ने ज्ञान समेत मिलेको छ । वित्तीय संरचना मिलाउने, पोलिसी निर्माण गर्ने र नीतिगत प्रक्रियामा धेरै ज्ञान नभएको पाइयो । कतिपय कुरा आजको भोलि नै हुँदैन । उहाँहरु सुधारको प्रक्रियामा हुनुहुन्छ । सञ्चालक समितिको बैठकले अनुगमन गरेका संस्थाहरुलाई संघले प्राविधिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । संस्थाहरुको सुधारका लागि संघले पटकपटक अनुगमन गर्नेछ ।

अब नेफस्कुन कसरी अघि बढ्छ?
बचत तथा ऋण सहकारी संस्थामा जम्मा भएको बचत सदस्यको हो । सदस्यले संस्थामा जम्मा गरेको बचत सुरक्षित छ भनेर प्रत्याभूति दिने काम पनि नेफस्कूनले गर्छ । पछिल्लो समय नेफस्कूनले छवि निमार्ण गर्नुपर्छ भनेर बचत ऋण सहकारीको लागि ब्राण्ड समेत निर्माण गरेर लगेका छौं । हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डको विकास गरेका छौं । कार्यालय सञ्चालन गर्ने देखि आफ्ना वस्तु तथा सेवाको स्तरीकरण गर्ने, उच्च प्रविधिको प्रयोग गर्ने र जाने बुझेका सञ्चालक तयार गर्ने काम हामीले गर्दै आएका छौं ।

त्यसैगरी संस्थागत पुँजी निर्माण गर्न संस्थाहरुलाई अभिप्रेरित गर्ने र दिगो रुपमा संस्था सञ्चालन गर्ने वातावरण बनाउने काम हामीेले गरिरहेका छौं । भाका नाघेको ऋण घटाई संस्थालाई वित्तीय रुपमा स्वस्थ राख्न हामीले सघाउँदै आएका छौं ।

पछिल्लो समय बचत तथा ऋण सहकारी संस्थाहरु एकै ठाउँमा आउनुपर्छ भनेर सञ्जालीकरणको शुरुवात गरेका छौं । सञ्जालभित्र बसेपछि एउटा संस्थाले जानेको कुरा अर्को संस्थालाई सेयरिङ गर्ने र एक संस्थासँग भएको टुल्स अर्को संस्थालाई हस्तान्तरण गर्न सकिन्छ । नेफ्स्कूनमा करिब ५ हजार सहकारी संस्था सदस्य छन्, ५ हजार थरिको पोलिसी नबनोस् भन्ने हाम्रो मान्यता हो । एउटै पोलिसी सबै संस्थाहरुले लागू गरुन् । संस्थाको वस्तु तथा सेवामा केही फरक होउन् तर सञ्चालन प्रक्रिया एउटै होस् भनेर हामीले सञ्जालिकरणको अवधारणा ल्याएका हौं । सोही अवधारणा अन्तर्गत युनिफिकेशनको शुरुवात गरेका छौं । अन्य देशमा त्यसलाई इन्टिग्रेशन भनिन्छ । हामीले इन्टिग्रेशन गर्न नसकेर युनिफिकेशनबाट उस्तै देखियौं र यसबाटै इन्टिग्रेशनको लेभलमा जाने योजना बनाएका थियौं । तर, विश्वमा आएको कोभिड १९ का कारण इन्टिग्रेशनको प्रक्रिया अगाडि बढाउन सकिएन । इन्टिग्रेशनको लागि सबै भन्दा महत्वपूर्ण टुल्स भनेको प्रविधि हो । प्रविधि नभई इन्टिग्रेशन सम्भव हुँदैन । प्रविधि बिना कम्युनिकेशन सम्भव हुँदैन । इन्टिग्रेशनको सामान्य मोडल भनेको एटिएम कार्ड हो । जहाँ गएर पनि पैसा झिक्न मिल्छ । यही कुरा हामीले सहकारीमा ल्याउन खोजेका हौं । त्यसको लागि प्रविधि आवश्यक पर्छ । त्यो बिना इन्टिग्रेशन हुँदैन । त्यसका लागि हामीेले अहिले धेरै समय र स्रोत लगाएका छौं । बचत तथा ऋण सहकारी संस्थामा इन्टिग्रेशनले काम गर्नेछ र यो नेफ्स्कूनको लागि एउटा माइलस्टोन बन्नेछ ।

अर्कोतर्फ विश्वव्यापी रुपमा नै बचत तथा सहकारी संस्था यात प्रभावकारी नियमन गरेर चल्छ वा प्रमाणिकरणबाट चल्छ । प्रमाणिकरण, सञ्जालीकरण र स्थिरिकरण गरेर नै बचत ऋण सहकारीहरु दीगो रुपमा सञ्चालन हुने हो । राष्ट्र बैंकबाट स्वीकृत लिएको भए यी कुनै कुरा चाहिँदैन थियो । राष्ट्र बैंकले निर्देशन जारी गर्छ र त्यो निर्देशनलाई सबै वित्तीय संस्थाले पालना गर्नैपर्छ । राष्ट्र बैंकको गाइडलाईनमा नहिँड्ने संस्थाको हकमा लाइसेन्स खारेज गर्ने वा दण्ड जरिवाना गर्ने भन्ने हुन्छ । तर सहकारीको हकमा त्यो व्यवस्था छैन । त्यो अवस्था नभएकाले हामीले संस्थाहरुलाई फकाएर यो गर्दा राम्रो हुन्छ भन्दै ट्रयाकमा लैजानुपर्ने हुन्छ । हामीले गरेको इफोर्ट खेर गएको छैन । जति सहकारी संस्थाले ब्राण्ड पाए अथवा १५–१६ अर्ब सम्मको सम्पत्ति बनाए । यसमा नेफ्स्कूनको ठुलो देन छ ।

अहिले हामी माथि भनिएका ३ वटा कुरालाई कसरी संयोजन गर्ने भनेर लागिपरेका छौं । ती ३ वटा कुराको संयोजन मार्फत सदस्यको बचतको सुरक्षा र सहकारीमा आवद्ध सदस्यहरुको व्यक्तिगत जीवनस्तर सुधार नै हाम्रो मुख्य चुनौती हो । यसका लागि सुरक्षित संस्था आवश्यक पर्छ । अहिले सहकारीमा विश्वासको संकट छ, सदस्यहरुले विश्वास गर्ने वातावरण बनाउनु त्यतिकै जरुरी छ । बैंकहरुमा समस्या आयो भने राष्ट्र बैंकले जिम्मा लिन्छ र बैंकले समस्या पर्दा केन्द्रीय बैंकलाई गुहार्न पाइन्छ । सहकारीका सदस्यले कहाँ गएर गुहार्ने ? कुनै सहकारीले सदस्यको बचत हिनामिना गर्यो भने पहिला पालिका जाने होला, पालिकाले विभागमा पठाइदिन्छ र विभागले फेरी प्रदेश पठाउँछ । सदस्यको बचतको सुरक्षा यो निकायले गरिराखेको छ है भनिदिने कोही पनि छैन । सदस्यको बचत डुब्दैन र त्यसको जिम्मा हामी लिन्छौ भन्ने निकाय भएन । अहिलेसम्म नेफ्स्कूनले कुनै पनि संस्थाको बचतको जिम्मा लिएको छैन ।

आ.व. २०८१ देखि ८४ सम्मको रणनीतिमा सय वटा सहकारी संस्थाको बचतको जिम्मा हामीले लिने भनेका छौं । प्रत्येक वर्ष २५ वटा सदस्य संस्थाको पुरै काराेबारको जिम्मा लिँदै जाने र आगामी चार वर्षमा एक सय संस्थाको बचतको जिम्मा लिने काम नेफ्स्कूनले गर्छ । त्यसका लागि नेफ्स्कूनले हरेक दिन प्रत्येक संस्थाको कारोबार हेर्छ । तब मात्र संस्थाको जिम्मा लिन सकिन्छ । यसका लागि हामीले इनसाइट मनिटरिङ गर्न ८ जना अफिसर नियुक्त गरेका छौं भने अफसाइट मनिटरिङको लागि १६ जना अफिसर फिल्डमा जानेछन् । ८ जनाले संस्थाहरुको हरेक जानकारी लिएर बसेका हुन्छन् । त्यसको मनिटरिङ सिष्टमलाई स्थिरिकरण कोषमा लगेर जोडेका छौं । नेफ्स्कूनले दिएको ढाँचाको आधारमा संस्थाहरुले प्रतिवेदन पेश गर्छन् । उक्त प्रतिवेदनलाई नेफ्स्कूनको सिष्टममा राखेर हेर्छौं । जहाँ रातो लाग्छ, तत्काल संस्थाहरुलाई खबर गरेर सुधार गर्न भन्छौ । जस्तै प्राथमिक पुँजी कोष भन्दा बढी बचत संकलन भए तुरुन्त बचत फिर्ता गर्ने व्यवस्था मिलाउन निर्देशन दिन्छौं । मुद्दती निक्षेपमा बढी रकम राखे भने तुरुन्तै निकाल्न भन्छौं । तरलतामा हुनुपर्ने भन्दा कम पैसा भयो भने बढाउन निश्चित समय दिन्छौं र तोकेको समयमा रकम पुर्याएनन् भने हामी पठाइदिन्छौं ।

कोरियाका संस्थाहरुमा हुनुपर्ने भन्दा कम तरलता भयो भने त्यतिनै खेर रकम पठाइन्छ, सोधेर बस्दैन । संस्थाहरुलाई तरलता व्यवस्थापन गर्न सक्नुहुन्छ कि हामी नै पठाइदिउँ भनेर सोध्छौं । यो लेभलमा हामीले अफसाइट मेकानिजमलाई डेभलप गरेका छौं । अहिले हाम्रो जोड सञ्जालीकरण, स्थिरीकरण र प्रमाणीकरणमा नै रहेको छ ।

नेफ्स्कूनमा ५ हजार सदस्य छन्, सय संस्थाको मात्र जिम्मा लिन्छौं भन्न मिल्छ ?
फेडरेसनको काम लविङ गर्ने हो । वन उपभोक्ता महासंघ, पालिका महासंघ, उद्योग परिसंघ जस्ता निकायलाई हेर्नुभयो भने ती संस्थाहरुले लविङ मात्र गर्छन । नेफ्स्कूनले त संस्थाहरुको जिम्मा नै लिन खोजिराखेको छ । हामीले चुनौतीलाई स्वीकार गरेका हौं । हामीले ४ वर्षपछि पनि नेफ्स्कूनको सदस्य ५ हजार हुन्छन् भनेका छौं । अहिले नेफ्स्कूनमा ४ हजार ७ सय सदस्य छन् । यही रेसियोलाई हेर्ने हो भने ८ हजार पुग्नुपर्ने हो । तर हामी तेसरी जादैनौं । हामी ३ सय भन्दा बढी सहकारी संस्थालाई खारेज गर्नै प्रक्रियामा छौं । नेफ्स्कूनको गाइडलाइन र वित्तीय अनुशासनमा नचल्ने संस्थालाई सदस्य बनाइराख्नुको कुनै अर्थ छैन । नेफ्स्कूनको लोगो र साइनवोर्ड मात्र राख्ने तर मनलागि गर्छन् भने हामी हाम्रो सदस्य भनेर बस्दैनौं । ५ हजार सहकारी संस्था मध्ये ३ हजार ९ सय संस्थाको वृद्धि र विकासमा हामी काम गर्छौं । १ हजार सहकारीलाई प्रत्यक्ष रुपमा हेर्छौं । चार वर्षमा १ सय सहकारी संस्थाको जिम्मा लिन्छौं । हामीले काम गर्ने मोडल अब यो हुन्छ ।

नेफ्स्कुनले ब्राण्डिङ गरेका संस्थाहरुको अवस्था के छ ?
हामीले ५ हजार संस्थालाई ब्राण्डिङ गर्ने भनेको होइन । ब्राण्डिङ भनेको प्रत्यक्ष हेरेर दिने कुरा हो । एक्सेस र प्रोबेसन ब्राण्ड पाएका संस्थाहरु समुदायस्तरमा छन् । ब्राण्डिङ संस्थाहरु समुदायमा आधारित छन् र ती संस्थाहरुलाई कुनै प्रकारको मन्दीले छुँदैन । ती संस्थाहरुको संस्थागत पुँजी ५ प्रतिशत माथि रहेको छ । एक रुपैयाँ पनि ब्याज तिर्नु नपर्ने पैसा संस्थामा हुनु भनेको राम्रो पक्ष हो । उनीहरुको कार्यसञ्चालन पद्धति, सुशासन, योजना, नीति र रणनीतिमा शंका गर्नुपर्ने ठाउँ नै छैन । ब्राण्ड माइण्डसेट नबनाएका संस्थाहरुलाई जोखिम सुपरिवेक्षण कार्यक्रम (कब्र्स)मा जोड्छौं । संस्थामा जोखिम कहाँ–कहाँ हुन सक्छ भनेर संस्थाहरुलाई देखाइदिने काम कब्र्सले गर्छ । तर त्यो ब्राण्डिङ कार्यक्रम भने होइन । यहाँनिर जोखिम छ, यसो गर्नु भनेर सिकाउने मात्रै हो ।

अहिले नेफ्स्कुनमा आवद्ध संस्थाहरुले पनि बचत फिर्ता गर्न नसकेको अवस्था छ नि ?
नेफ्स्कूनको सदस्य भएपछि अनुशासनमा हिँड्नुपर्छ । संस्थाहरुको आफ्नै पोलिसी हुन्छ । संस्थाभित्र सुशासन कायम गरिएको हुन्छ भनेर विश्वास गरियो । सदस्य संस्थाले नेफ्स्कुन र नेफ्स्कुनले सदस्य संस्थालाई विश्वास गर्नैप¥यो । सहकारीको मर्म भन्दा बाहिर जानु भएन । त्यो प्रतिवद्धता हुँदा विश्वासको बातावरण बन्छ र सदस्यहरुले सहकारीलाई विश्वास गर्छन् । त्यो हुन सकेन भने विश्वास भत्किँदै जाँदो रहेछ । संसारमा एक हजार भन्दा बढि सहकारी संस्था रहेको कुनै पनि देश छैन । धेरै संस्थाको व्यवस्थापन गर्न चुनौतीपूर्ण छ । त्यसका लागि ठुलो मेकानिजम चाहिन्छ । उनीहरुको कारोबार केन्द्रले हेर्नुपर्छ र नहेरिकन ब्राण्ड दिन सकिँदैन । संस्थाको यथार्थ अवस्था नहेरिकन संस्था सुरक्षित छ भन्न र सुरक्षाको प्रत्याभूति दिन सक्दैनौं ।

नेफ्स्कूनले एक हजार संस्थाको जिम्म लिन सक्छ । बाँकी संस्थालाई वृद्धि र विकासको स्तरमा लैजानुपर्छ । अब सहकारीको संख्या पनि घट्दै जान्छ । सहकारीको संख्या बढेर जाने अवस्था म देख्दिन । सबै संस्थाहरु अस्तित्वमा रहँदैनन् । अहिले १४ हजार बचतऋण सहकारी संस्थाको तथ्यांक लिन गइयो भने तिनको तथ्यांक भेटिँदैन । ठूला संस्थाको दायरा बढेर गएको छ । साना संस्थाहरु अस्तित्वमा रहन सक्ने अवस्था छैन । अब संस्थाहरुले बाध्य भएर मर्जमा जानुपर्छ वा बन्द गरेर खारेजीमा लैजानुपर्ने हुन्छ । जसले गर्दा संस्थाहरुको संख्या घटेर जान्छ । अब नेफ्स्कुनको विनियम संशोधन हुन्छ । कस्तो संस्थाका सञ्चालक नेफस्कुनको नेतृत्वमा सञ्चालक र लेखा समितिमा आउन पाउने भन्ने क्राइटेरिया बन्छ । हामी राम्रो बनेपछि मात्रै अरुलाई राम्रो बनाउन सक्छौं ।

छैठौं रणनीतिक योजनाका मुख्य लक्ष्य र गन्तव्य, मिसन र भिजन के हो?
चार वर्षे रणनीतिले ‘स्वस्थ र सुरक्षित साकोसहरुको जवाफदेही र एकीकृत सञ्जाल निर्माण’को लक्ष्य लिएको छ । संस्थाहरुमा केही भयो भने संघ जवाफदेही हुन सक्नुप¥यो । अहिलेसम्म हामी जवाफदेही थिएनौं । हामीले रिसोर्स प्रयोग गर्न एग्रिमेन्ट गर्छौं । एउटा सदस्यता लिने आवेदन र अर्को सञ्जालमा बस्ने आवेदन फर्म हुन्छ । सय वटा संस्थाको जिम्मा लिन नेफ्स्कूनले मागेको जानकारी दिन्छु र संघले भनेको सबै कुरा पालना गर्छु, नगरेमा नियमनकारी निकायमा लेखेर पठाउने अधिकारी पनि दिन्छु भने करारीय ऐक्यवद्धता गर्नुपर्छ । संघसँग सम्झौता पालना गर्छु र नगरे कारवाही गर्न अनुमति दिन्छु, आवश्यक सूचना उपलब्ध गराउँछु भनेर ऐक्यवद्धतामा उल्लेख गर्नुपर्छ । सबै कुरा नेफ्स्कूनलाई जिम्मा लगाउँछु भनेपछि हामीले व्यवस्थापन गरिदिने हो।

अभिलेख

लोकप्रिय