‘धेरै सहभागी जुटाउने भन्दापनि समिटलाई स्तरीय बनाउने हाम्रो उद्देश्य हो’

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) को आयोजनामा यही फागुन १६ र १७ गते ‘बागमती प्रदेश साकोस समिट २०८०’ हुँदैछ । भक्तपुरको जर्मन होम हस्पिटालिटीमा दुई दिनसम्म चल्ने गोष्ठीमा विषय विज्ञहरुबाट ६ वटा कार्यपत्र प्रस्तुत हुनेछ ।
४ क्षेत्रहरुमा विभिन्न ६ वटा विषयवस्तु प्रस्तुती गरी उक्त विषयवस्तुहरु माथि छलफल गरी बागमती प्रदेशका सहकारी अभियानको भावी कार्यदिशा तय गर्न र साझा सवालका लागि ऐक्यवद्धता कायम गर्न सक्ने विषयवस्तुहरुको निष्कर्ष निकाल्न प्रयत्न गरिने आयोजकले जनाएको छ । कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाको सहभागिता रहने छ । समिटको सहआयोजकमा १३ वटै जिल्ला बचत संघहरु रहनेछन् ।
प्रस्तुत छ, समिटको औचित्य, आवश्यकता, महत्व, तयारीका विषयमा केन्द्रीत रहेर बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटासँग सहकारीखबरले गरेको कुराकानी
बागमती प्रदेश साकोस समिट गर्नुको उद्देश्य के हो ?
बागमती प्रदेशमा रहेका ८ हजार बचत तथा ऋण सहकारी संस्थाहरुको विकास र प्रवद्र्धनका साथै संस्थाहरुमा शुद्धिकरण ल्याइ सदस्यको बचतको सुरक्षा गर्नु हाम्रो दायित्व हो । १३ जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्था र बचत संघहरुको ऐक्यवद्धता कायम गर्न, साझा धारणा विकास गर्न र अभियानलाई सही बाटो देखाउने उद्देश्यका साथ समिटको आयोजना गरिएको हो । समिटमा सहकारी क्षेत्रको वर्तमान समस्याका बारेमा पनि व्यापक छलफल हुनेछ । बागमती प्रदेशमा पनि समुदाय र सदस्यकेन्द्रित सहकारीहरु प्रशस्त छन् । ती संस्थाहरुमा समस्या आउन नदिन र अहिले देखिएको समस्याको निराकरणको लागि मार्ग प्रशस्त गरौं भन्ने सोचका साथ यो समिटको आयोजना गर्न लागेका हौं ।
समिटमा के-कस्ता विषयमा कार्यपत्र प्रस्तुत हुन्छ?
समिटमा धेरै वटा कार्यपत्र प्रस्तुत गर्नेभन्दा पनि सहकारीका समसामयिक विषयमा घनिभूत छलफल गर्ने हाम्रो योजना छ । हामीले १ दिनमा ३ वटा कार्यपत्र प्रस्तुत गर्ने योजना बनाएका छौं । विषय विशेषज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुन्छ र टिप्पणीकर्तालाई पनि विषयवस्तुमा मात्रै केन्द्रित रहेर टिप्पणी गर्न भनेका छौं । २ दिनको समिटमा ३ सय जनाको सहभागिता रहनृछ । विषयवस्तुमा विज्ञता हासिल गरेका व्यक्तिहरुबाट कार्यपत्र प्रस्तुत हुने र सहकारी ऐन नियम कार्यान्वयनको अवस्था के छ ? ऐन नियममा कहाँ समस्या छ ? र कसरी प्रभावकारी रुपमा कार्यान्वय गर्न सकिन्छ भनेर पनि छलफल गर्छौं । त्यसैगरी सहकारीमा सञ्जाल व्यवस्थापन, कुन संघले के काम गर्ने र अभियानको साझा धारणा के हुन सक्छ भन्ने विषयमा पनि छलफल गरेर निचोडमा पुग्छौं ।
समिटमा कार्यपत्र प्रस्तुत गरेपछि ४ जनालाई टिप्पणीकर्ताको रुपमा राखेका छौं । उहाँहरुले पनि विषयवस्तुमा आधारित भएर बोल्नुहुनेछ । उहाँहरुले बोलेको विषयमा सहभागी साथीहरुकाबीच छलफल गराउँछौं र एउटा निष्कर्षमा पुगेरै छाड्छौं । २ दिनमा ६ वटा कार्यक्रम प्रस्तुत हुन्छन् । सहकारीमा सम्पत्ति शुद्धिकरण, जोखिमको न्युनिकरण, सहकारीमा सुशासन, बचतको सुरक्षा, ऋण लगानी र ऋण असुली, दोश्रो तहको नियामक निकाय लगायतका विषयमा छलफल हुनेछ । सहकारी अभियानको भूमिका, सहकारीमा नेतृत्व विकास र नेतृत्वलाई स्थापित गर्ने विषयमा पनि छलफल गरिनेछ । त्यसका साथै सहकारीमा देखिएको समस्या समाधानमा सदस्यको भूमिकाको विषयमा पनि छलफल गरी निष्कर्षमा पुग्ने हाम्रो लक्ष्य छ । मुलुकमा ३० हजार बढी सहकारी संस्था छन् । ती संस्थाहरुको एकीकरण कसरी गर्ने, एकीकरणलाई सफल बनाउने विधि के हो ? सहकारीमा फोर्स मर्जर सम्भव छ कि छैन ? भन्ने विषयमा पनि छलफल हुनेछ ।
कोरियाका सहकारीमा पनि समस्या आयो, त्यसपछि समाधानका लागि राज्य र अभियान दुवै लागे । समस्या समाधान पनि भयो । हामीकहाँ त्यस्तो बातावरण कसरी बनाउन सकिन्छ ? सहकारीमा नयाँ स्वरुपबाट जानको लागि नेपालले के कस्तो रणनीति अपनाउनुपर्छ भन्ने विषयमा पनि छलफल गरी मार्ग प्रशस्त हुनेछ ।
समिटमा बागमती प्रदेशभरिका बचत तथा ऋण सहकारी संस्थाको सहभागिता रहन्छ?
बागमती प्रोस्कुन आयोजक हो । समिटमा बागमती प्रदेश सरकारको पनि सहयोग लिन्छौं । नेफ्स्कुनलाई सहयोगीको रुपमा राखेका छौं । समिटमा १३ वटै बचत संघहरु सहआयोजकका रुपमा रहेका छन् । समिटमा १३ जिल्लाका बचत तथा ऋणका साथै अन्य सहकारी संस्थाहरुका प्रतिनिधिहरुलाई पनि सहभागी गराउँछौं ।
साझा धारणा विकास गर्ने कुरा उठान गर्नुभयो, सहकारीमा अहिलेसम्म सामुहिक धारणा विकास हुनै नसकेको हो?
सहकारी अभियानमा अहिलेसम्म साझा धारणा विकास हुन सकेको छैन । सहकारी अभियानभित्र जिल्ला, प्रदेश र केन्द्रमा विभिन्न संघहरु तथा राष्ट्रिय सहकारी महासंघ रहेको छ । सबै सहकारीहरुको साझा धारणा के हुनसक्छ भनेर हामीले छलफल गरिराखेका छौं । हामीले सहकारीमा तालिम शिक्षाको लागि स्रोत केन्द्र स्थापना गरौं भनेर लागेका छौं । जिल्ला संघ, प्रदेश संघ, केन्द्रीय संघ र महासंघले पनि विभिन्न तालिम दिइराखेका छन् । तालिममा एकरुपता छैन । त्यसैले स्रोतकेन्द्र स्थापना गरी त्यसमार्फत् पाठ्यक्रम नै विकास गरेर लैजाउँ भन्ने हाम्रो मान्यता हो । तालिमलाई प्रभावकारी बनाउन र कम शुल्कमा तालिम दिउँ भन्ने प्रोस्कुनको धारणा हो । धेरैलाई सहभागी गराएर जोखिम न्यूनिकरणको विषय तल्लो तहसम्म पुर्याउने हाम्रो लक्ष्य छ ।
साकोस समिटले सहकारी क्षेत्रमा देखिएको समस्याको पहिचान र समाधानको बाटो तय गर्छ त?
हामीले सरकार, राष्ट्रिय सहकारी महासंघ र नेफ्स्कुनलाई समेत समिटमा सहभागी गराएर बर्तमान समयमा देखिएको समस्यामाथि छलफल गरी समाधानको संयुक्त प्रयास खोज्छौं । के कारणले सहकारीहरु समस्यामा परे त्यसको पहिचान गरौं । राम्रो संस्थालाई क वर्ग, ठिकै खालको संस्थालाई ख वर्ग र जोखिममा रहेका तथा सुधार गर्न सकिने संस्थालाई ग र घ वर्गमा राखेर ती संस्थाहरुलाई व्यवस्थित बनाउँदै लैजाने दायित्व सरकार र अभियान दुवैको हो । यो विषयमा समिटमा छलफल हुन्छ । बागमती प्रदेशभित्र रहेका संस्थाहरुको अवस्था कस्तो छ भनेर अध्ययन गर्ने र रिपोर्ट समेत बनाउने तयारी गरेका छौं । त्यसका लागि राज्य, केन्द्रिय संघ र महासंघको सहयोग लिन्छौं । समिटबाट हामी घोषणापत्र जारी गर्दैनौं । संकल्पपत्र मात्र जारी गर्छौं । आगामी दिनमा सदस्यको बचतको सुरक्षा कसरी गर्ने, संस्थाहरुलाई सुशासनमा कसरी ल्याउने र जोखिम न्यूनिकरणका उपायहरु कसरी अवलम्बन गर्ने, त्यसका लागि सरकार र अभियानले के गर्ने भन्ने विषयमा मन्थन गरेर साझा धारणा निकाल्छौं ।
समिटमा सहभागीको उत्साह कस्तो छ ?
हामीले समिटलाई फरक ढंगले गर्न गइरहेका छौं । धेरै सहभागि जुटाउने भन्दापनि समिटलाई स्तरीय बनाउने उद्देश्य हाम्रो छ । सहभागी ल्याउने जिम्मा १३ वटै बचत संघलई दिएका छौं । सहभागीहरुले बचत संघमा रजिष्ट्रेशन गर्न सक्नुहुन्छ भने प्रोस्कुनको कार्यालयमा पनि रजिष्ट्रेशन खुल्ला गरेका छौं । फागुन ५ गतेभित्र नाम दर्ता गराएकाहरुलाई समिटमा सहभागी गराउनेछौं । सोही अनुसार सूचना जारी भएको छ । संस्थाका व्यवस्थापन प्रमुखहरुको सहभागितामा समिटमा हुनेछ ।
पछिल्लो समय जिल्ला तहदेखि प्रदेश र केन्द्र तहसम्म यस्ता गोष्ठी तथा समिट आयोजना हुने गरेको छ । यस्ता समिटहरुको आयोजना हुनु कत्तिको आवश्यक देख्नुहुन्छ ?
हरेक वर्ष समिट गर्नु राम्रो होइन । तीनचार वर्षमा एकपटक गर्दा यसको महत्व रहन्छ । केन्द्रिय संघहरुले समिट गर्दा अन्तर्राष्ट्रिय अभ्यासको बारेमा छलफल गर्नुपर्छ । प्रदेशभित्रका संस्थाहरुको अभिभावक रहेकाले ती संस्थाहरुको विकास र प्रवर्धन गरी सुशासनमा ल्याउने दायित्व हाम्रो हो । हामीले सरकारलाई पनि सहयोग पुर्याउने काम गर्नुपर्छ । जिल्ला भित्रका सहकारीमा सुशासन ल्याउने, जोखिम न्यूनिकरण गर्ने, प्रवद्र्धन र विकास गर्ने काम जिल्ला संघहरुले गर्छन् । प्रदेश संघले १३ जिल्लाका ८ हजार सहकारीको माझमा काम गर्नुपर्छ । गोष्ठीका लागि गोष्ठी गर्नुभन्दा पनि सहकारी क्षेत्रलाई अगाडि बढाउन एवं सकारात्मक सन्देश दिनको लागि समिट हो । समिटबाट निकालिएको निचोड सहकारी ऐननियम र सरकारले ल्याउने पोलिसीहरुहमा समावेश गरेर लैजानुपर्छ । त्यसका लागि यस्ता समिटहरु गर्नुपर्छ ।
समिटबाट जारी हुने संकल्पपत्रले बागमती प्रदेशका ८ हजार सहकारीलाई मार्ग निर्देशन गर्नसक्ला?
हामी सहकारी मन्त्रालय, सहकारी विभाग र बागमती प्रदेश पर्यटन, संस्कृति तथा सहकारी मन्त्रालयलाई पनि संकल्पपत्र बुझाउँछौं । उहाँहरुले पनि सहकारीमा अहिलेको आवश्यकता र समस्या समाधानको विषयमा समिटमा छलफल गर्न सुझाव दिनुभएको छ । समिटमा आएका सुझावहरुलाई कार्यान्वयन गर्ने प्रतिवद्धता उहाँहरुले जनाउनुभएको छ । १३ जिल्लाका सहकारीमा देखिएका समस्या के छन् र कसरी समस्या समाधान गर्न सकिन्छ ? जिल्ला तहदेखि केन्द्रसम्म सञ्जाल व्यवस्थापनमा कसरी मिलेर जान सकिन्छ र कामको वर्गिकरण कसरी हुन सक्छ? स्थानीय तहसम्म रहेका सहकारी संस्थामा हाम्रा कुराहरु पुर्याउन के गर्न सकिन्छ र सुशासन कायम गर्न हुन्छ ? ती विषयमा घनिभूत छलफल गरेर मात्र संकल्पपत्र जारी गर्छौं ।
अन्त्यमा के भन्नुहुन्छ?
समिटले सहकारी क्षेत्रमा देखिएको समस्या पहिचान र त्यसको निराकरणका उपाय खोजी गर्नेछ । आगामी दिनमा यस्ता समस्या आउन नदिन राज्यले आवश्यकता पर्दा ऐन संशोधन गरेर अगाडि बढ्नुपर्छ । कर्जा सूचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोष, ऋण असुली न्यायाधिकरण गठन गरेर समस्या समाधानमा सहयोग पुर्याउनुपर्छ । स्थिरिकरण कोष मुख्य उद्देश्य अनुसार सञ्चालन हुन सकेको छैन । यो कोषमा १०औं अर्ब पैसा भयो भने मात्र समस्या पर्दा संस्थाहरुलाई रेस्क्यु गर्न सकिन्छ । शुरुमा संस्थाको ब्यालेन्स सिटको आधारमा र पछि कम पैसा लिँदै ठूलो कोष खडा गर्न सकियो भने समस्या पर्दा संस्थाहरुलाई सहयोग गर्न सकिन्छ । सोही अनुसार कोषलाई अघि बढाउनुपर्छ ।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

सहकारी महासंघको आयोजनामा ‘ओपन फिडे र्यापिड रेटिङ’ चेस हुने
१५ बैशाख २०८२, सोमबार
नेतृत्वमा बस्नेहरुको प्रारम्भिक संस्थाको हालत हेरौं त !
१५ बैशाख २०८२, सोमबार
नेपालको सहकारी अभियान अब कता ?
१५ बैशाख २०८२, सोमबार