१५ वैशाख २०८२, सोमबार

‘सदस्यको विश्वास जित्न सके सहकारीमा समस्या आउँदैन’

२०८० कात्तिक १७, शुक्रबार
‘सदस्यको विश्वास जित्न सके सहकारीमा समस्या आउँदैन’

पछिल्लो समय सहकारीहरु सकसमा छन् । ग्राहकमा आधारित संस्थाहरुमा एकपछि अर्को समस्या देएिको छ । समस्यामा परेका संस्थाको अवस्थालाई विश्लेषण गर्ने हो भने उनीहरु पूँजी जम्मा गर्ने माध्यम मात्र सहकारीलाई बनाएको देखिन्छ । सहकारीमा जम्मा भएकाे  पूँजी उनीहरुले आफू र आफ्ना-आफन्त एवं व्यवसायिक साझेदारका व्यवसाय प्रवर्धनमा प्रयोग गरेको देखिन्छ ।
सहकारीमा समस्या आउनुमा कोभिड-१९ महामारी, विश्वव्यापी आर्थिक मन्दी र सहकारीको बलियो संस्थागत प्रणालीको अभावका कारण आम सर्वसाधारणमा यस क्षेत्रप्रति सिर्जना भएको अविश्वास नै हो । त्यस्ता सहकारीले गर्दा समग्र सहकारी क्षेत्रप्रति नै असर परेको देखिन्छ । यिनै विषय र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको आसन्न निर्वाचनको विषयमा केन्द्रीत रहेर संघका लेखा समिति सदस्य शुसिलकुमार बस्न्यातसँग गरिएको कुराकानी:

‘सञ्चालकको मनोमानीले सहकारीमा समस्या आएको हो, आर्थिक मन्दीलाई मात्र दोष दिन मिल्दैन’

केही सहकारी संस्थाहरुमा समस्या देखिएका छन् । समस्या आउनुमा दोषी को?
विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीको असर नेपालमा पनि पर्न गयो । सोही कारण सहकारी क्षेत्रमा पनि असर परेको देखिन्छ । तर, यो एउटा पाटो मात्रै हो । सुरु सुरुमा काठमाडौं उपत्यका केन्द्रीत ठूला ठूला संस्थामा मात्रै समस्या आएको देख्यौं ।

काठमाडौंमा ७७ जिल्लाकै मानिसहरुको बसोबास छ । यहाँ सञ्चालित सहकारीहरु समुदायिक केन्द्रीत कम छन् । समुदाय र सदस्य केन्द्रीत नहुँदा केही समस्या आउन सक्छ । सोही अनुसार केही संस्थामा समस्या देखिएको हो । जुन सहकारी समुदाय र सदस्य केन्द्रीत छन् त्यहाँ समस्या नै छैनन् । कम्पनीको मोडलमा सहकारी सञ्चालन गर्दा समस्या देखिएको हो । केही संस्थाले अनुत्पादक क्षेत्रमा लगानी गरे । आर्थिक मन्दीका कारण ती सम्पत्तिहरु सहजै बिक्रि हुन सकेन । त्यसकारण पनि केही समय समस्या देखिएको हो ।

आर्थिक मन्दी र सञ्चालकहरुले आफूखुशी रकम चलाउँदा समस्या आएको हो । पहिलो कुरा सहकारी क्षेत्र बचाउने हो । त्यसपछि व्यवस्थित बनाउँदै लैजानुपर्छ ।

सहकारी क्षेत्र बचाउने कुरा गर्नुभयो । सरकारको साथ कस्तो छ ?
खासमा सहकारी स्वनियमनमा सञ्चालन हुनुपर्ने हो । जुन संस्था स्वनियमनमा चलेको छ त्यसलाई सरकारको साथ आवश्यक पर्दैन । सहकारीमा सदस्यनै सक्रिय हुनुपर्छ । सदस्यलाई शिक्षा, तालिमको माध्यमबाट सक्रिय बनाउनु पर्छ । सदस्य बन्नुपूर्व अनिवार्य सहकारी शिक्षा आवश्यक छ । सहकारी बुझेर मात्रै सदस्य बन्ने वा सदस्यता दिने हो भने समस्या आउँदैन । सदस्यको विश्वास जितेर काम गर्नसक्ने सहकारीमा समस्या आउँदैन ।
तपाईं नेफ्स्कूनको नेतृत्वमा हुनुहुन्छ । अहिलेको समस्यामा नेफ्स्कूनले कस्तो भूमिका निर्वाह गरेको छ ?
आवश्यकताको आधारमा नेफ्स्कूनले संस्थाहरुलाई सहयोग गरिरहेको छ, कोरोना महामारी होस् या अहिलेको विषम परिस्थिती । अहिलेको अवस्थामा पनि कर्जा रोकेका छैनौं । हामीसँग प्रर्याप्त तरलता छ । नेफ्स्कूनले खेल्नुपर्ने भूमिका र दिनुपर्ने सेवामा कुनै कसर बाँकी राखेका छैनौं ।

लेखा समितिले आफ्नो जिम्मेवारी पुरा नगर्दा सहकारीमा समस्या आएको भन्ने सुनिन्छ । सहकारीमा लेखा समिति सक्रिय र जिम्मेवारी पूर्वक काम नगरेकै हो त?
सञ्चालक समितिले गरेका निर्णयहरु ठीक छ छैन भनेर हेर्न जिम्मेवारीमा लेखा समिति रहन्छ । सञ्चालक समितिमा अट्न नसकेकाहरुलाई लेखा समितिमा राख्ने परिपाटी विगतमा थियो । तर अहिलेको परिस्थितीले सहकारीकर्मीलाई पाठ सिकाएको छ । जुन संस्थामा लेखा समिति सक्रिय छ त्यहाँ सुशासन कायम भएको पाएका छौं । संस्था सबल र पारदर्शी हुन पनि लेखा समितिको सक्रियताले ठूलो अर्थ राख्दछ ।

नेफ्स्कूनको चुनावी साधारण सभा यसै वर्ष हुँदैछ । सहकारीहरु सकसमा छन् । यस्तो अवस्थामा पनि तपाईंहरु चुनावमा केन्द्रीत हुनुहुन्छ । तपाईं निर्वाचनबाट नेतृत्व चयन की सहमतीको पक्षमा ?
म कहिल्यै पनि चुनावको पक्षमा छैन । सहकारीका सबै तहमा सहमतिमै नेतृत्व चयन हुनुपर्छ भनेर आवाज समेत उठाउँदै आएको छु । आर्थिक कारोबार गर्ने निकायमा निर्वाचन हुनुहुँदैन भन्ने मान्यता राख्छु ।

यहाँ राजनीतिक दलको आधारमा निर्वाचन हुन्छ । वित्तीय कारोबार गर्ने निकाय भएको हुँदा दलगत रुपमा निर्वाचन हुनुहुँदैन भनेर आवाज उठाएको हुँ । यसले दीर्घकालीन रुपमा असर पर्छ । सम्पूर्ण दल निकटलाई समेटेर सहमतिमै नयाँ नेतृत्व चयन गर्नुपर्छ ।

दलीय भागबण्डाका आधारमा नेतृत्व चयन गर्दा सक्षम व्यक्तिलाई अन्याय हुँदैन ?
अहिलेको परिस्थितीमा सबै दल निकट सहकारीकर्मीहरु एकजुट हुनुपर्छ । सहमतीमै नेतृत्व चयन हुनुपर्छ । तर यसो हुँदा सक्षम व्यक्तीहरु नै नेतृत्वमा आउनु पर्छ । नेतृत्व चयन गर्दा सक्षमलाई अवसर दिनुपर्छ । यो वा त्यो भन्दा पनि सहकारी बुझेको, अनुभवी, नेतृत्व गर्न सक्ने व्यक्ति आउनुपर्छ । सहमतिमा नेतृत्व चयन गर्दा विगतमा गल्ती भएका छन् । त्यो गल्ती यसपटक हुनुहुँदैन ।

नेफ्स्कूनमा तपाईको प्रवेश कसरी भयो ?
गत निर्वाचनबाट लेखा सुपरीवेक्षण समितिको सदस्यमा निर्वाचित भए । त्यसभन्दा अघि ऋषिराज घिमिरे र डिबी बस्नेतको समितिमा विभिन्न उपसमितिमा रहेर काम गरे । त्यसभन्दा अघि जिल्ला सहकारी संघको पनि विभिन्न पदमा रहेर काम गरे । नेफ्स्कूनको सञ्चालक समितिको सदस्यमा मेरो दाबी थियो । तर, विविध कारणले लेखा समितिको सदस्यमा मेरो उम्मेदवारी रह्यो ।

लेखा समितिको सदस्यमा रहेर झण्डै ४ वर्ष काम गर्नुभयो । यस बीचमा कस्तो रह्यो अनुभव ?
यस बीचमा धेरै कुरा सिक्ने र बुझ्ने अवसर पाएको छु । लेखा समितिको दायर पनि फराकिलो छ । हामी आएपछि आन्तरिक लेखा परिक्षणको सुरुवात गर्यौं । लेखा समितिको संयोजक आफैमा लेखा परिक्षक पनि भएको हुनाले धेरै कुरामा सुधार गरेका छौं । लेखा समिति सदस्य सुभद्रा म्यामको दोस्रो कार्यकाल र म पनि व्यवस्थापनको विद्यार्थी भएको हुनाले सक्रियता बढेको छ । विगतको भन्दा अहिलेको टिम सक्रिय छ । यस बीचमा संयोजक नवराज सापकोटाबाट धेरै कुरा सिक्ने अवसर मिल्यो ।

आगामी नेतृत्वमा तपाईंको उम्मेदवारी के मा रहन्छ ?
मेरो दाबेदारी लेखा समिति संयोजक हो । यस बीचमा धेरै कुराको अनुभव संगालेको छु । संयोजक पदको न्याय गर्न सक्छु । तर, सबैलाई समेटेर लैजानु पर्छ भन्ने मान्यता म राख्दछु ।

अभिलेख

लोकप्रिय