१५ वैशाख २०८२, सोमबार

‘सहकारीको छवि निमार्णमा लेखा समितिको भूमिका बढी रहन्छ’

२०८० असोज १८, बिहिबार
‘सहकारीको छवि निमार्णमा लेखा समितिको भूमिका बढी रहन्छ’

“दिगो, पारदर्शी र जोखिमरहित सहकारी लेखा सुपरीवेक्षण समितिको जिम्मेवारी” भन्ने थिमसहित राष्ट्रिय सहकारी बैंकले असोज २५ र २६ हुने लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी-२०८० आयोजना गर्दै छ । उक्त गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वबाट विभिन्न ८ वटा विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।
लेखा सुपरीवेक्षण समितिको भूमिकालाई थप प्रभावकारी बनाई सहकारीमा सुशासन एवं आन्तरिक नियन्त्रण पद्धति स्थापनामार्फत दिगो सहकारीको निर्माणमा योगदान पुग्ने गोष्ठीको मुख्य उद्देश्य रहेको छ । प्रस्तुत छ, गोष्ठी सञ्चालनको आवश्यकता, प्रस्तुत हुने विषयवस्तु लगायतमा केन्द्रीत रहेर राष्ट्रिय सहकारी बैंकका लेखा सुरपरिवेक्षण समितिका सदस्य केशवप्रसाद सापकोटासंग गरिएको संक्षिप्त कुराकानी:

लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीको आवश्यकता किन पर्यो?
सहकारीमा सञ्चालक समितिले नियमित रुपमा आफ्नो काम गर्दै जान्छ । संस्थामा सुशासन कायम गराउन लेखा सुपरिवेक्षण समितिको भूमिका महत्वपूर्ण रहन्छ । सहकारी ऐन नियमदेखि सञ्चालक समितिले गरेका कामहरु नीति संगत छ छैन? संस्थाको हितमा छ की छैन? संस्थालाई अगाडी बढाउन मार्गनिर्देशन गराउन लेखा समितिको भूमिका महत्वपूर्ण रहन्छ । तर, नेपालमा लेखा समितिको भूमिका निकै कमजोर देखियो । सहकारी संस्थालाई बलियो बनाउने सन्दर्भमा कम काम गरेको देखियो ।

यदी समितिलाई बलियो बनाउने हो भने सहकारीमा देखिएको कुशासनको अन्त्य हुन्छ । संस्थाको छबी निमार्ण गर्न लेखा समितिको बढी भूमिका रहन्छ । वास्तवमा भन्ने हो भने समितिको भूमिका कमजोर देखिएकै कारण लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० आयोजना गरेका हौं ।

२ दिनको गोष्ठीले लेखा समितिको भूमिका बलियो होला त?
यो सुरुवात मात्रै हो । राष्ट्रियदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएका जोखिम कस्ता छन्? ति जोखिमलाई कसरी न्यूनिकरण गर्ने? जोखिम न्यूनिकरणका लागि लेखा समितिले के–के काम गर्न सक्छन्? भन्ने विषयमा बृहत छलफल गदछौं । गोष्ठीको अन्तिम दिन छलफलको आधारमा लेखा समितिले गर्ने कामहरुको चेकलिष्ट बनाउँछौं । उक्त चेकलिष्टलाई बुकलेट बनाएर वितरण गर्दछौं । बैंकको लेखा सुपरिवेक्षण समितिले निरन्तर फलोअप समेत गर्नेछ । सहकारी संस्थाको लेखा समितिको क्षमता अभिवृद्धिमा हामी निरन्तर काम गर्नेछौं ।

नेपालको सहकारीमा लेखा समितिको भूमिका कमजोर देखियो भन्नुभयो । हामी कहाँ चुक्यौं त?
पहिलो कुरा त बुझाउने र पढाउने कुरामै हामी चुकेका हौं । दोस्रो भनेको लेखा समिति जगेडा जस्तो बन्यो । सञ्चालक समितिमा अट्न सकेन भने लेखा समितिमा राखिदिने परिपाटी धेरै सहकारीमा बस्यो । लेखा समितिमा क्षमतावान् व्यक्ति चाहिन्छ भन्ने बुझाईमा अभियान कमजोर देखियो । सञ्चालक समितिले लेखा समितिलाई दक्ष बनाउन पनि नखोजेको देखिन्छ । अहिलेकै गोष्ठीमा पनि लेखा समितिका पदाधिकारीलाई प्रतिनिधित्व नगराउन खोजेको देखिन्छ । समग्रमा भन्नुपर्दा लेखा समितिको भूमिका कमजोर देखिँदा नै सहकारी क्षेत्रमा असर गरेको देखिन्छ ।

गोष्ठीमा कस्ता कस्ता विषयलाई प्राथमिकतामा राखेको छ?
२ दिनसम्म सहकारीको जोखिम कै विषयमा केन्द्रीत हुन्छौं । सहकारी संस्थामा आउन सक्ने जोखिमका विषयमा छलफल गराउने छौं । वित्तीय जोखिम, गैर वित्तीय जोखिम, आन्तरिक तथा बाह्य जोखिम लगायतमा छलफल गराउने छौं । देखा पर्ने जोखिमको सामना कसरी गर्ने? जोखिमलाई न्यूनिकरण गर्न कस्ता कस्ता औजार प्रयोग गर्ने? सञ्चालक समितिलाई कसरी सचेत गराउने? भन्ने विषयमा हामी छलफल गराउने छौं ।

अभिलेख

लोकप्रिय