१ फागुन २०८१, बिहिबार

सहकारीमा सुशासन

२०७७ असार २३, मङ्गलबार
सहकारीमा सुशासन

सुर्यप्रसाद रिमाल

पृष्ठभुमी

जुनसुकै प्रकृतीका सहकारी पनि सहकारी सिद्धान्त तथा मुल्य मान्यताका आधारमा संचालन हुनुपर्दछ । वित्तीय, उत्पादक, श्रमिक तथा उपभोक्ता लगायतका सबै प्रकारका सहकारीहरु सदस्य केन्द्रित भई सञ्चालन हुनुपर्दछ । सहकारी मुख्य उद्देश्य नै सदस्यहरुको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकास गर्नु रहेको हुन्छ । आफ्नो कार्यप्रती आफै जिम्मेवार हुँदै स्व–नियमनका आधारमा चल्ने संस्था नै सहकारी हो । सामुहिक नेतृत्व, एकता, इमान्दारिता, समानता, सहकार्य, परस्पर सहयोग, सुशासन, वित्तीय अनुसासन, स्वावलम्वन, पारदर्शिता, खुलापन, स्वनियन्त्रण, स्वनियमन नै सहकारीका आदर्श हुन । जसले गर्दा सहकारीलाई एउटा व्यवसायको रुपमा मात्रै नबुझि एउटा सामाजिक अभियानको रुपमा बुझ्ने गरिन्छ । एकका लागि सबै र सबैका लागि एकले सहयोग गर्ने जसमा प्रत्येकले आफैलाई र सबैलाई सहयोग गर्नुपर्दछ भन्ने मान्यता सहकारीमा राखिन्छ । सहकारी ऐन २०७४ को दफा २५ (ग) अनुसार सदस्यहरुलाई शिक्षा, सुचना, तालिम प्रदान गर्ने तथा सदस्य संस्था वा संघमा शुसासन प्रवद्र्धन गर्ने, गराउने कार्य सहकारी स्वयंको हो । साथै दफा २६ (झ) अनुसार सहकारी क्षेत्रमा सुशासन प्रवद्र्धन गर्ने जिम्मेवारी राष्ट्रिय सहकारी महासंघमा समेत रहेको छ ।

बिषय प्रबेश

सामान्य अर्थमा सुशासन भन्नाले उत्तम किसिमको शासन व्यवस्थातथा उत्तमराज्य व्यवस्था÷असल शासन व्यवस्था लाई बुझिन्छ । जहाँ प्रशासनिक अधिकारको समुचित प्रयोग हुन्छ । सक्षम, निश्पक्ष, उत्पादनशिल, मितव्ययी, छरितो, जनमुखि, चुस्त र जनउत्तरदायी प्रशासन हुन्छ । सामाजिक दृष्टिकोणले सामाजिक न्याय, सामाजिक सुरक्षा तथा समावेशीकरण सहितको समतामूलक समाजको निर्माण गर्ने र नैतिक दृष्टिकोणले भ्रष्टचार रहित गरिब केन्द्रित सामाजिक आर्थिक बिकास गर्ने कार्यलाई नै सुशासन भनिन्छ । सुशासन देखिने बिषय नभएर सदस्यहरुले अनुभुती गर्ने बिषय हो । सहकारीमा प्रत्यक्ष रुपमा संलग्न हुने संचालक तथा कर्मचारीहरुले आफ्नो कार्य सम्पादनमा पारदर्शिता, अनुमान योग्यता, नतिजामुखि व्यवस्थापन, सहभागिता र उत्तरदायित्वलाई सक्रियपुर्वक निर्वाहगर्ने भुमिका नै सुशासन हो । मेलै यस लेखमा सहकारी संस्थामा देखिने सुशासन सम्बन्धी जोखिम र सुशासन कायम गर्न संचालक समिति तथा व्यवस्थापनले खेल्नुपर्ने भुमिकाको बारेमा चर्चा गरेको छु ।

सहकारीमा सुशासन सम्बन्धी जोखिम

सहकारीका सदस्यहरुले साधारणसभामार्फत संचालक समितिको छनौट गरी संस्था संचालन गर्ने जिम्मेवारी प्रदान गरेका हुन्छन् । सहकारीको संचालनमा संचालक समितिको प्रतक्ष्य संलग्नता रहन्छ । सहकारीको शासन संचालक समितिमार्फत गरिने भएकाले सहकारीमा सुशासन कायम गर्नु संचालक समितिको जिम्मेवारी हो । संचालक समितिमा तपशिलका व्यवहारीक तथा व्याक्तिगत कारणले गर्दा सहकारीको सुशासनमा जोखिम सृजना भएको हुने गर्दछ ।

1) सहकारी ऐन, नियमावली तथा मापदण्ड लगायत सहकारीले पालना गर्नुपर्ने अन्य नीति नियम तथा निर्देशनहरुको बारेमा संचालकलाई ज्ञान नहुनु,

2) मलाई ज्ञान छैन भन्ने ज्ञान नहुनु र आफुले जे भनेको छ त्यही ठिक हो भनेर निर्णय लाद्नु,

3) संचालक समितिमा खुला छलफल हुन नसक्नु, कुनै एक व्याक्तिको वरिपरी संचालक समिति रुमल्लीनु,

4) सदस्यहरुको बिचार तथा सल्लाहलाई महत्व नदिई संचालकले आफु खुसी आफु अनुकुल संस्था संचालन गर्नु,

5) संस्था संचालनका लागी आवश्यक नीति तथा कार्यबिधिहरु निर्माण नगरी सहकारी संस्था संचालन गर्नु,
6) आवश्यक प्रकृया पुरा नगरी, आवश्यक कागजात पुरा नगरी संचालकलाई ऋण लगानी हुनु ,

7) अधिकांश ऋण संचालक तथा संचालकको परिवार तथा साझेदारहरुमा केन्द्रित हुनु,

8) आधाभन्दा बडि संचालकहरुमा ऋण लगानी हुनु ,

9) संचालकहरुले ऋण समयमा भुक्तानी नगरी ऋणको भाखा नाघनु,

10) व्यवस्थापनले संचालकहरुमा लगानी भएको ऋण असुलीका लागी प्रभावकारी रुपमा ताकेता गर्न नसक्नु,

11) संचालकहरुकै ऋणको भाखा नाघेपछि अरु सदस्यलाई लगानी गरिएको ऋण समेत असुली गर्ने नैतिक हैसियत संचालक समितिमा नहुनु, जसले गर्दा समग्र ऋण समस्याग्रस्त हुदैजानु,

12) लगानी कार्यमा संचालकले व्यवस्थापनलाई हस्तक्षेप गर्नु,

13) उत्पादनशिल क्षेत्रमा ऋण केन्द्रित नहुनु र ऋण सदुपयोगीता निरिक्षण नगरीनु,

14) सदस्यहरु संग छलफल कार्यक्रमहरु आयोजना नगर्नु.

15) बार्षिक कार्ययोजना र बजेट नबनाई संस्था संचालन गर्नु,
16) कर्मचारी भर्ना प्रकृया पारदर्शी नहुनु, खुला प्रतिश्पर्धाको आधारमा नभई संचालकहरुले आफुखुसी कर्मचारी नियुक्त गर्नु,

17) संस्थाको व्यवस्थापनमा संचालक समिति हावी हुनु,

18) संचालकहरुलाई सहकारीको वित्तीय बिश्लेषण गर्ने बिषयमा ज्ञान नहुनु र मासिक बैठकमा सहकारीको वित्तीय बिश्लेषण सम्म पनि नगर्नु,

19) संचालक तथा कर्मचारीका ज्ञान तथा क्षमता बिकासका कार्यक्रममा सहभागी नहुनु,

20) सहकारी र सहकारी मार्फत सदस्यको समुन्नतीमा भन्दा पनि आफ्नो पद प्रतिष्ठामा ध्यान केन्द्रित गर्नु,

21) एकै परिवारका तथा नाता भित्रका व्याक्तिहरु नै संचालकमा, लेखासमितिमा तथा कर्मचारीहरुमा समेत हावी हुनु ,
22) लेखा समिति निश्कृय हुनु,

23) संचालकहरुले मासिक रुपमा पारिश्रमीक लिनु,

24) ऋण लगानी तथा धितो मुल्यांकन गर्दा आर्थिक प्रलोभनमा पर्नु,

25) साधारण सभा प्रभावकारी नहुनु, साधारण सभामा सदस्यहरु बिच प्रभावकारी छलफल हुन नसक्नु,

26) प्राप्त हुन बाँकी व्याजलाई पनि आम्दानीको रुपमा देखाएर नाफा बितरण गर्नु,

27) भाखा नाघेको ऋणको सहि गणना नगर्नु र आवश्यक ऋण सुरक्षण कोषको व्यवस्था नगर्नु,

28) आयकर कट्टा नगरी बैठक भत्ता बुझनु,

29) नियमनकारी निकायमा समयमा प्रतिबेदन तथा अन्य बिबरणहरु समयमा पेश नगर्नु,

30) एकभन्दा बढि सहकारीमा संचालक हुनु ।

 

सहकारीमा सुशासन कायम गर्न संचालक समितिले खेल्नुपर्ने भुमिका

सहकारी सामुहिक नेतृत्व, एकता, इमान्दारिता, समानता, सहकार्य, परस्पर सहयोग, वित्तीय अनुसासन, स्वावलम्वन, पारदर्शिता, खुलापन, स्वनियन्त्रण, स्वनियमनका आधारमा संचालन हुने गर्दछ । नेपालमा धेरै सहकारीहरु भएता पनि सहकारी मार्फत देशको आर्थिक, सामाजिक तथा सांस्कृतीक बिकासमा अपेक्षीत योगदान पुग्न सकिरहेको छैन, यसको एउटा कारण सहकारीमा पर्याप्त सुशासन कायम हुन नसक्नु पनि हो । सहकारीमा सुशासन सहकारी आफैले कायम गर्नुपर्दछ, यद्यपी सुशासन प्रवर्धन गराउने कार्यमा केन्द्रिय संघ, महासंघ तथा सहकारी बैक जस्ता सस्थाहरुले सहयोग पुर्याउन सक्दछन । सहकारीमा सुशासन कायम गर्न संचालक समितिले खेल्नुपर्ने भुमिकालाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ।

1) सहकारी ऐन, नियमावली, मापदण्ड, संस्थाको बिनियमको अध्ययन गर्ने र सो आधारमा संस्था संचालन गर्ने,

2) सहकारीमा आवश्यक कार्यबिधि तथा निर्देशिकाहरु निर्माण गरि सो आधारमा संस्था संचालन गर्ने.

3) रणनीतिक योजना, बार्षिक कार्ययोजना तथा बजेट निर्माण गरि सो आधारमा संस्था संचालन गर्ने,

4) कार्यबिधि, योजना तथा बजेट निर्माण गर्ने जिम्मेवारी संचालकले लिई तिनको प्रभावकारी कार्यान्यन गर्न व्यवस्थापनलाई स्वतन्त्रता प्रदान गर्ने,

5) व्यवस्थापन द्धारा गरिएको कार्यान्वयनको अनुगमन गर्ने, लक्ष्य उपलब्धीको नियमित समिक्षा गर्ने र आवश्यक नियन्त्रणका कार्यहरु गर्ने,

6) राष्ट्रिय सहकारी बैक तथा केन्द्रिय संघहरु मार्फत संचालित सहकारी स्तरीकरण कार्यक्रममा संस्थागत रुपमा सहभागी हुने,

7) संचालक तथा कर्मचारीहरु नैतिक रुपमा इमान्दार र आर्थिक रुपमा अनुसासित हुने ।

 

समग्रमा

सहकारीका संचालकहरुले कानुनमा उल्लेख गरे भन्दा पनि बढी उदारताका साथ नैतिक आचरणको पालना, सदस्य सहभगीता सहभागीता कायम गरेर सुशासनको प्रत्याभुती गराउनु पर्दछ । सहकारीमा सुशासन छ की छैन भन्ने कुरा संचालक तथा कर्मचारीहरुको व्यवहार तथा सहकारीका सदस्यहरुमा देखिएको आर्थिक, सामाजीक तथा संस्कृतिक उन्नयन बाट अनुभुति गर्न सकिन्छ, जब सदस्यहरुले संस्थाले प्रदान गरेको सेवाबाट उच्चतम सन्तुष्टि प्राप्त गर्दछन् अनिमात्र सुशासन भएको महशुस हुन्छ ।

(लेखक राष्ट्रिय सहकारी बैकका तालिम अधिकृत हुन्)

 

 

अभिलेख

लोकप्रिय