‘सदस्य केन्द्रित र निर्देशित सहकारी समस्यामा आउँदैन’ (सहकारी सचिव केदार न्यौपानेको अन्तर्वार्ता)

केदार न्यौपाने, सचिव
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
अहिलेको अवस्थामा सहकारीको भूमिका कस्तो देखिएको छ र कस्तो हुनुपर्दछ ?
राज्य र सहकारीको भूमिका उस्तै रहन्छ । सहकारीहरुले पनि विपत्को अवस्थामा धेरै राम्रो काम गरिरहेको छ । अहिलेको अवस्थामा पनि राम्रै काम गरेको हामीले पाएका छौं । तर, केही सहकारीले भने ध्यान पुर्याएका छैनन् ।
सदस्यको अवस्था कस्तो छ ?, सदस्यको परिवारको अवस्था कस्तो छ ?, सदस्यको परिवार विदेशबाट आएका छन् की ?, त्यसतर्फ पनि सहकारीले ध्यान पुर्याउनु पर्दछ । तर त्यसतर्फ ध्यान पुर्याएका छैनन् भन्ने लागेको छ । सदस्य र परिवारलाई खाने, बस्ने, औषधी उपचारको व्यवस्था गर्नुपर्दछ । यसतर्फ सबै सहकारीको ध्यान जानु आवश्यक छ । आफ्ना सदस्यलाई सुरक्षित बनाउनु पर्दछ । खाना नपाएर, उपचार, औषधी नपाएर मर्न दिनु भएन । सरकारले स्थापना गरेको कोषमा पनि सहकारीको सहयोग अपेक्षा गरेका छौं ।
म पनि कुनै सहकारीको सदस्य हुँ । त्यो सहकारीले मलाई एक कल पनि गरेको छैन । फोन, म्यासेज, सोसियल मिडियामार्फतस सदस्यको जानकारी लिनु पर्दछ तर मलाई सम्पर्क नै गरेका छैनन् । सहकारीका सिद्धान्तले के यही भन्छ त ?, खान पाए नपाएको कुनै मतलब छैन । अहिलेको अवस्थामा सबै सदस्यको समग्र पक्षको जानकारी सहकारीले लिनु पर्दछ । र, यस तर्फ सोच्न म सम्पूर्ण सहकारीकर्मीलाई अनुरोध गर्दछु । सहकारी भनेको परिवार हो । सहकारीले सदस्यलाई परिवारको जस्तै व्यवहार गर्नुपर्छ ।
सहकारी संस्थाले के गर्ने त ?
सामाजिक उत्तरदायित्वका कुरा व्यवहारमा देखिएन । बचत तथा ऋणले सोही अनुसारको काम गर्नु ठिकै हो । बचत तथा ऋणको मात्र काम गरेर हुन्छ त ?, सदस्यको अवस्थाको बारेमा जानकारी लिनु परेन ?, अप्ठेको परेको बेला मद्दत गर्नु परेन ?, खान बस्न, औषधी, उपचारमा समस्या छ की यसबारे सोधी खोजी गर्नु पर्दैैनत ?, समन्वय गरिदिने काम सहकारी गरिदिनु पर्दछ । जुनसुकै विषयका सहकारीले तरकारी, खाद्यान्न, औषधी घर घरमा पुर्याईदिन सक्छ । त्यस बापत सदस्यले पैसा तिर्न तयार छ । समन्वय भने गरिदिनुपर्छ । यस्तो बेला सहकारी अघि आउनुपर्छ । टेक्ने लौरो जस्तो सहकारी बन्नु पर्दछ । सूचना प्रवाह गर्ने माध्यम पनि सहकारी बन्नु पर्दछ ।
सहकारीले सवारी पास नभएका कारण कार्यालय खोल्न पाएका छैनन् । कसरी सेवा प्रवाह गर्ने त ?
यो भन्दा धेरै अप्ठेरोमा पनि सहकारीले सेवा प्रवाह गरेका छन् । अहिले पनि गरिरहनु भएको छ । तर, सवारी पास घर घरमा पास पुर्याउन सकिएन । पास नभएको कारणले सेवा प्रवाह गर्न सकिएन भनेर कुरा आएको छैन । सहजिकरण गरिरहेका छौं । प्रतिकुलतालाई अनुकुलता आफैले बनाउने हो । सवारी पास नभएका कारणले सेवा प्रवाह गर्न सकिएन भन्ने हुँदैन ।
सहकारीले जिम्मेवारी बोध हुने गरी काम किन गर्न सकेन ?
सहकारी स्वचालित हुन्छ । सरकारले निर्देशन गर्न नपर्ने गरी काम गर्नु पर्दछ । हात जोडेर गराउने काम दिगो हुँदैन । सहकारीको सिद्धान्त अनुसार काम गर्ने हो । । सदस्यको भावना, माग अनुसार काम गर्ने हो । आफैले संयन्त्र विकास गर्ने हो । तर सहकारीमा संयन्त्र नै बनेन । बचत तथा ऋणमा मात्र केन्द्रित भए । नाम अनुसारको काम मात्र गरे तर समाज र सदस्य प्रतिको उत्तरदायित्व भुले ।
बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्ने कुरा आएको छ । सहकारीमा के हुन्छ ?
सहकारीको ब्याज सरकारले घटाउने बढाउने होईन । सिलिङमात्र तय गरिदिने हो । घटाउने बढाउने सदस्यले नै हो । सहकारी पनि वित्तीय क्षेत्र हो । राहत प्याकेज को कुरा गर्दा बैंक तथा वित्तीय संस्थाले सरकारबाट पाउने कुरा सहकारीले पनि पाउनु पर्छ । यसमा हामी पहल गर्ने छौं । सहकारी तल्लो स्तरसम्म पुगेको छ । ग्रमिण क्षेत्रमा सहकारी पुगेको छ । हाम्रो सकारात्मक ध्यान पुग्नेछ ।
नयाँ निक्षेप नआउने र भएको पनि फिर्ता जाने अवस्था छ । बचत फिर्ताको पनि सिमा तोकिएको छ । यसले सहकारीमा समस्या पो आउने हो की ?
यो कुराको विश्लेषण गरेका छौं । सिद्धान्त अनुसार चलेका छन् कि छैनन् त्यो मुख्य कुरा हो । संस्था डुब्ने अवस्था नदिन सदस्य अगाडी आउँछन् । सहकारीका सदस्यले नै संस्थाको स्वामित्व लिन्छन् । सदस्यलाई सहकारी बुझाएका छौं भने कहाँ समस्या आउँछ र ?, सदस्य केन्द्रित र निर्देशीत सहकारीलाई समस्या आउँदैन । ढुक्क भएर संस्था सञ्चालन गर्दा हुन्छ । त्यस्तो अप्ठेरो भयो भने सदस्यले जोगाई हाल्छन् नि । धेरै पैसा निकाल्न खोजेको अवस्थामा बुझाउने हो । सम्झाउने हो नि । सदस्यको स्वामित्व नभएको सहकारीमा समस्या आउन सक्छ । सहकारीको सिद्धान्त, मुल्य मान्यता अनुसार चलेका सहकारीमा समस्या आउँदैन । समस्या आउन नदिन सरकार, अभियान लाग्नु पर्छ । बढी मात्रमा प्रारम्भिक सहकारी आफै लाग्नु पर्छ ।
सहकारीमा तरलता कम हुँदै गएको छ । तरलता व्यवस्थापन गर्न सरकारले सहयोग गर्न सक्दैन र ?
अहिले नै भन्न सकिने अवस्था छैन । छलफल गरेर मात्र अघि बढ्न सकिन्छ । सबैको कुरा बुझेर अघि बढ्न सकिन्छ । अभियान र सरकारबीच छलफल गर्नु पर्दछ ।
अहिलेको अवस्था र भोली पर्न सक्ने समस्याका बारेमा अध्ययन आवश्यक छ । यसतर्फ सरकार सजक छ ?
पहिलो कुरा त बुझाईमा समस्या छ । अध्ययन गर्न कमिटी बनाउने कुरा अघि बढेको छ । छिट्टै कमिटी गठन होला र अध्ययन हुनेछ ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी पीडितको कथामा आधारित चलचित्र ‘महाभोज’ को दर्शकद्वारा व्यापक प्रशंसा
२८ जेष्ठ २०८२, मंगलवार
सहकारी बैंक र कृषि तथा पशुपन्छी विकास मन्त्रालय बीच कृषि कर्जामा ब्याज अनुदान सम्झौता
२७ जेष्ठ २०८२, सोमबार
सहकारी नियामकीय मापदण्ड-२०८२ संशोधनका लागि पहल गर्न महासंघद्वारा कार्यदल गठन
२० जेष्ठ २०८२, सोमबार