थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने ५ व्यवसाय
कतिपय अवस्थामा हातमा सीप र राम्रा योजना हुँदाहुँदै पनि पर्याप्त पुँजी नभएर व्यवसाय सुरु गर्न सकिरहेका हुँदैनन्। सुरु नै गर्ने भए पनि बैङ्कबाट वा साथीभाइसँग ऋण लिएर पैसा जुटाउनुपर्ने हुन्छ। घर जग्गा नै बेचेर व्यवसायमा लगानी गर्नेहरू पनि भेटिन्छन्। तर सुरु गरेको सबै व्यवसाय सफल नै हुन्छन् भन्ने छैन। दुःख गरेर जुटाएको ठुलो लगानी डुब्न पनि सक्छ। त्यसैले सुरुमै ठुलो लगानीमा लागिहाल्नुभन्दा पहिला सानो लगानीमा सुरु गर्न सकिने व्यवसायहरूको बारेमा पनि सोच्नु राम्रो हुन्छ। यो लेखमा हामी थोरै लगानीमा सुरु गरेर राम्रो आम्दानी गर्न सकिने ५ व्यवसायका बारेमा छलफल गर्दै छौँ।
अचार
खानामा स्वाद थपिदिने अचारलाई प्राय: सबैले मन पराउँछन्। विभिन्न फलफूल तथा तरकारीको अचारका बट्टाहरू पसल पसलमा भेटिन्छन्। तपाईँ आफैँले पनि बजारबाट अचार किनेर ल्याउनुभएको छ होला। सामान्यतया घरका सदस्यका लागि बनाइने अचार व्यावसायिक रूपमा बनाएर बेच्ने हो भने राम्रो आम्दानी गर्न सकिन्छ। यसलाई सुरुवात गर्न धेरै खर्च पनि लाग्दैन। अचार तयार गर्ने र प्याक गर्ने सामाग्री किनेर २० देखि २५ हजारको लागतमा घरबाटै सुरु गर्न सकिन्छ। ग्राहक बढ्दै गएपछि उत्पादन पनि बढाउन सकिन्छ।
मैनबत्ती
हामीले सामान्यतया लोडसेडिङ हुँदा मैनबत्ती प्रयोग गर्ने गरेका थियौँ। तर अरुबेला पनि यसको माग उत्तिकै हुने गर्छ। बजारमा वास्नादार र र उपचारात्मक मैनबत्तीहरूको राम्रो बिक्री हुने गरेको छ। विभिन्न होटेल तथा रेस्टुरेन्टमा क्यान्डल लाइट डिनरका लागि मैनबत्ती नभई हुँदैन। धार्मिक कार्यहरूमा र सजावटका लागि पनि यसको निकै खपत हुन्छ। चाडपर्वहरू विशेष गरी तिहारमा अझ धेरै बिक्छ। यसलाई बनाउन धेरै लगानी लाग्दैन। मैन, धागो, मैनबत्तीलाई आकार दिने रबर, सिलिकन, अलुमिनियम आदिबाट बनेका भाडाहरू, सुगन्धित तेल, मैन पगाल्नका लागि ओभन, थर्मोमिटर आदि सामाग्रीहरू किनेर यो व्यवसाय २० देखि ३० हजारको लागतमा सुरु गर्न सकिन्छ।
चाउमिन
छोटो समयमा तयार गरेर बेच्न सकिने खानेकुरा मध्ये चाउमिन पनि पर्छ। त्यसैले यसको फ्याक्ट्री खोल्नु पनि आम्दानी गर्ने एउटा राम्रो उपाय हो। यसका लागि चाउमिन बनाउने मेसिनमा लगानी लाग्छ। एक पटक किनिसकेपछि त्यति खर्च भने हुँदैन। मैदाको पीठो र प्याकेजीङका सामाग्री मात्र किने पुग्छ। यसरी यो व्यवसायबाट राम्रो बचत गर्न सकिन्छ। सुरुमा डेढ देखि २ लाखसम्म लगानी पर्छ।
कागज/कपी
स्कुल, कलेज, अफिस लगायत अन्य थुप्रै ठाउँमा कागजको प्रयोग धेरै मात्रामा हुने गर्छ। दुनियाँ डिजिटल समयमा प्रवेश गरे पनि कागजको माग कम भएको भने देखिँदैन। त्यसैले बजारमा यसको राम्रो सम्भावना छ। कागज फ्याक्ट्री सुरु गर्दा पनि मेसिनमा नै खर्च लाग्ने हो। मेसिनपछि काठ र कागज बनाउन प्रयोग हुने अरू रसायनहरू किनेर बनाउन सकिन्छ। त्यस्तै स्कुल र कलेजका लागि कपीको विशेष माग हुन्छ। राम्रोसँग मार्केटिङ गर्ने हो भने कपी बिक्दैन कि भनेर चिन्ता लिनुपर्दैन। अझ कागज आफैले उत्पादन गर्ने भएपछि त कपी बनाउन पनि थप सजिलो हुन्छ। अर्डर अनुसार यसरी कागज र कपी बनाएर बेचेमा राम्रो आम्दानी गर्न सकिन्छ। यो व्यवसाय गर्न साढे २ देखि ५ लाख सम्म लगानी लाग्छ।
कागज/कपडाका झोला
प्लास्टिकको प्रयोगले वातावरणमा असर पर्छ भन्ने कुरा बुझेका थुप्रै व्यक्तिहरूले कागज र कपडाका झोला बोक्न सुरु गरिसकेका छन्। प्लास्टिकको दाँजोमा लामो समयसम्म टिक्ने भएकाले पनि यस्ता झोलाको सम्भावना धेरै छ। कागज/कपडाबाट बनेका झोलामा खाद्य सामाग्री, फलफूल, तरकारी, कपडा, जुत्ता, गहना आदि मज्जाले राख्न मिल्ने भएकाले आजकाल साना तथा ठुला पसल र मार्टहरूमा पनि यसको व्यापार हुने गरेको छ। विभिन्न प्रकार/डिजाइनका कागज र कपडाहरू किनेर त्यसलाई आकर्षक झोलामा ढाल्न सकेमा सानै पुँजीबाट धेरै नाफा कमाउन सकिन्छ। यसका लागि ३ लाख देखि ५ लाखसम्म लगानी लाग्छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सदस्यका गुनासा, सुझाव तथा सल्लाह संकलन गर्दै राष्ट्रिय सहकारी बैंक
११ असार २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकमा विज्ञ सञ्चालक बन्न अवसर, आवेदन खुला
११ असार २०८३, बिहीबार