७ वैशाख २०८२, आईतवार

काम कुरो एकातिर …जालझेल सरकारतिर

२०७२ जेठ १९, मङ्गलबार
काम कुरो एकातिर …जालझेल सरकारतिर

काजी श्रेष्ठ / दोस्रो संविधानसभाको पहिलो बैठकमा एक वर्ष भित्र संविधान दिने कबोल दलीय अक्रमन्यता र इबीका कारण तुहिएको छ । त्यतिमात्रै होइनसंविधान जारी हुनुपर्ने मितिको पूर्व संध्यामा मुुलुकका राजनीतिक दलह ‘बाँदरे चरित्र’ प्रदर्शन गर्न पछि परेनन् ।

त्यसयता एउटै मेचमा बसेर एउटै केतलीको चियासम्म खान हिचकिचाएका दलहरु वैशाख १२ गतेको महाविपत्तीका कारण विनासर्त एउटै मेचमा बस्न पुगेका छन् । विनाशकारी भूकम्पले झण्डै नौ हजार नेपाली नागरिकको ज्यान लिएको छ । करिब २० हजारको हाराहारीमा घाइते भका छन् । लाखौं जनता घरबार विहीन भए । कैयौं टुहुरा बने । धेरैले सहारा गुमाए । प्राकृतिक विपत्तीले कैयौं नेपालीको गाँस खोसिएको छ । लाखौंको छानो उजाडिएको छ । यो महाविपत्तीले जति ठूलो पीडा, समस्या र दुःख हामीलाई भोगाएको छ, योसँगै वषौंदेखि देख्न नपाइएको एउटा सुखद आयाम पनि थपिएको छ । भूकम्पले धेरै नेपालीको मन दुखेको भए पनि वर्षौंदेखि नेपालीमा देख्न नपाइएको भाइचारा, सदभाव, मानवीयता, आत्मिएताको पुरानो परम्परागत सँस्कारलाई भने बूँत्याएको छ ।

हिमाली, पहाडी, तराईबासी र मधेशीको रेखा भूकम्पले भत्काइदिएको छ राजनीतिक दलहरु मुलुकमा आइपरेको विपत्तीपछि जुरुक्क उठेर एकै ठाउँमा उभिएका छन् । सबैले यतिबेला व्यक्तिगत र पार्टीगत इबी, लोभ र पापहरु भुलेर जनताको उद्धार, सहयोग र राहतमा लाग्नुपर्ने भावना व्यक्त गर्न थालेका छन् । एउटा झिनो स्वर ‘राष्ट्रिय सरकार’ भन्दै डरलाग्दो गरी उचालिन खोजेको छ । प्राकृतिक विपत्तिले मुलुक नराम्ररी थिलो थिलो भएको छ । भूकम्पले नराम्ररी प्रहार गरेको घाउमा हावहुरी, झरीवतास, सुख्खा पहिरोदेखि सम्भावित बाडीपहिरोले थप पीडा थप्ने काम भैरहेको छ । अझै गैरहेका स–साना भूकम्पले जनता भएका घरमा पनि पस्न डराइरहेका छन् । प्रभावित क्षेत्रमा अधिकांशको बास अझै खुला आकास र बारीका पाटामै भैरहेको छ ।

यतिबेला व्यक्ति, संस्था, सरकार र छिमेकी मुलुकले सक्दो उद्धार, राहत र व्यवस्थापनको काम गरीरहेका छन् । यो प्रयाप्त होइन । राज्यले यतिमात्रै गरेर बहादुरी सावित हुनसक्दैन । विपत्ती हो भन्दा भन्दै पनि यसलाई चुनौतिपूर्ण अवसरका रूपमा राज्यले लिएको देखिँदैन । व्यवहारभन्दा प्रचारात्मक कार्य भैदिनुले पीडितहरू थप पीडामा छन् । मानो दिने र मुरी फाइदा लिनेहरु उम्कने अवस्था आउन हुँदैन । अझै कतिपय गाउँमा, भीरमा र बाटोमा पुरिएका लाश झिक्ने काम भैसकेको छैन । राज्यले त यतिबेला तत्कालको राहत र दीर्घकालको मल्हमको योजना बनाउन जरुरी छ । त्यसका लागि राजनीतिक दलले हाम फालेर सघाउनुपर्ने हो । विडम्बना त्यो हुन सकेको छैन । बरु यही पीडाको खुड्किलो उक्लिएर केही लोभीपापी चरित्रहरु सरकारमा पुग्ने दाउ खोज्दैछन् ।

हो मुलुकको विपत्तीलाई व्यवस्थापन गर्न हामी सक्षम छौं भन्ने ढाडस सरकारले दिनुपर्ने हो । वर्तमान सरकारले त्यो अनुहार देखाउन नसकेको सत्य एकातिर छँदैछ । यति हुँदा हुँदै पनि नयाँ सरकार बनाएर पीडितलाई सहयोग पुग्छ भन्ने लालिपप देखाउनु भनेको थप सकस र पीडा दिने खेलको सुरुवात हो । नयाँ सरकार बनाए पनि हामीकहाँ सरकारको नेतृत्व गर्ने व्यक्ति अर्को ग्रहबाट आउने छैन् । जुनसुकै नाम दिएर नयाँ सरकारको पछि लाग्यौं भने मुलुकमा थप वेथिति हुने पक्का छ । किनकी नेपाली राजनीतिज्ञको चरित्र हामी सबैलाई थाहा छ । उनीहरु आफ्नो मान्छे सरकारमा पुग्ने र पुर्याउने नाममा कतिसम्म गिर्न सक्छन्, त्यो खुला सत्य सबैलाई थाहा छ । सत्ताको लुछाचुँडीमा समय त्यसै खेर जाने छ । त्यतिबेलासम्म जोखिममा रहेका गाउँका गाउँ थप समस्यामा पर्नसक्ने छन् । अहिले राष्ट्रिय सरकारको नाममा समय बर्बाद गर्नुभन्दा यही सरकारलाई टेका लगाएर राज्य र सरकार हुनुको अर्थ सावित गर्नु उत्तम हुने छ ।

अभिलेख

लोकप्रिय