सार्क सम्मेलनमा ९२० पत्रकार, तीन सयभन्दा बढी विदेशी (सार्क सम्मेलन विशेष)
काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औँ शिखर सम्मेलनका लागि अहिलेसम्म तीन सयभन्दा बढी विदेशी पत्रकारले प्रेस पास लिइसकेका छन् ।
सार्क मुलुकका २७५ र बाँकी अन्य मुलुकका गरी हालसम्म कुल ३२५ विदेशी पत्रकारले प्रेस पास लिएका छन् । सूचना विभागले लाजिम्पाटस्थित होटल र्याडिसनमा स्थापना गरेको सूचना केन्द्र (मिडिया सेन्टर) मा प्रेस पास र सुरक्षा पासका लागि छुटपुट विदेशी पत्रकारबाट आवेदन आउने क्रम अझै जारी रहेकाले यो सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।
विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाका अनुसार नेपालीसहित कुल १ हजार १७६ जनाले आवेदन दिएकामा हालसम्म ९२० पत्रकारले प्रेस पास लिएका छन् ।
सूचना केन्द्रमा निःशुल्क वाइफाइसहित १० कम्प्युटर, प्रेस ब्रिफिङ कक्ष र सूचना सामग्री उपलब्ध हुने स्थानको व्यवस्था गरिएको छ । केन्द्रमा स्वदेशी र विदेशी पत्रकार जम्मा हुने क्रम सुरु भइसकेको छ ।
महानिर्देशक कोइरालाले शिखर सम्मेलन हुने स्थान राष्ट्रिय सभागृहमा हरेक मुलुकका राज्य नियन्त्रित सञ्चार माध्यमका एक एक प्रतिनिधि र फोटोग्राफरलाई प्रवेश दिइने र निजी क्षेत्रका पत्रकारका लागि सभागृहको बाहिरबाट राष्ट्र प्रमुख तथा सरकार प्रमुखको आवतजावतका दृश्य कैद गर्न सकिने व्यवस्था गरिएको जानकारी दिए । यस्तै राष्ट्र प्रमुखहरू रहने स्थल सोल्टी होटल, आवतजावत गर्ने मुख्य ठाउँहरू माइतीघर, बानेश्वर, तीनकुनेमा पनि फोटो पत्रकारका लागि विशेष व्यवस्था गरिएको छ । सबै पत्रकारले सोल्टी होटल र अन्य स्थानमा हुने बहुपक्षीय तथा द्धिपक्षीय भेटघाट र बैठकको समाचार सङ्कलन र दृश्य कैद गर्न सक्नेछन् ।