सार्क सम्मेलनमा यस्तो छ, काठमाडौंको ट्राफिक व्यवस्थापन (सार्क सम्मेलन विशेष)
काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औँ शिखर सम्मेलनका लागि आवश्यक ट्राफिक व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा महाशाखा प्रमुख प्रहरी नायब महानिरीक्षक केशव अधिकारीले मङ्सिर ८ गतेदेखि १२ गतेसम्म उपत्यकामा सवारीसाधन संचालनमा जोरविजोर नम्बर प्रणाली लागू गरिने जानकारी दिए ।
जोर विजोर प्रणालीअनुसार मङ्सिर ८, १० र १२ गते जोर नम्बर प्लेट र मङ्सिर ९ र ११ गते विजोर नम्बर प्लेटका सवारी साधनमात्रै गुड्न पाउनेछन् । सो प्रणाली लागु भएपश्चात जोर विजोर प्रणाली मिच्ने गरी सवारी साधन चलाए कारबाही गरिने महाशाखाले जनाएको छ ।
मङ्सिर ८ गते सो प्रणाली उल्लङ्घन गर्नेलाई जुनबाटो आएको हो त्यही बाटो फर्काइदिने र ९ गतेदेखि नियम उल्लङ्घन गर्नेको सवारी साधन नियन्त्रणमा लिनुका साथै जरिवाना पनि गरिने छ ।
आकस्मिक सेवाका सवारी साधन (अस्पताल, एम्बुलेन्स, दमकल, शववाहन), विवाहका सवारी साधन र हरियो नम्बर प्लेटका पर्यटक सवारीसाधनमा भने जोरविजोर प्रणाली लागू हुने छैन । “अत्यावश्यक सेवाका सवारीसाधन (ग्यास, दूध, पानी, तरकारी, पेट्रोलियम पदार्थ आदि) उपत्यकाबाट बाहिरका लागि चल्ने सवारीसाधन, रात्रि बस र दिवा सेवाका यात्रुवाहक सवारीसाधनलाई सीमित मात्रामा जोरविजोर प्रणाली लागू गरिनेछ ।’ नायब महानिरीक्षक अधिकारीले भने । ती सवारी साधनलाई बिहान ५ बजे अगावै आफ्नो गन्तव्यतर्फ लाग्न आग्रह गरिने तथा विशिष्ट पाहुनाको रुटका आधारमा नियन्त्रित रुपमा समय मिलाएर चल्न दिइनेछ । सरकारी सवारी साधनको हकमा गृह मन्त्रालयको पासको आधारमा र कूटनीतिक नियोगले सुरक्षा पासका आधारमा, सञ्चारमाध्यमले सञ्चारमाध्यम उपसमितिको पासका आधारमा जोरविजोर प्रणाली लागू नगरिने महाशाखाले जनाएको छ ।
सम्मेलनस्थल राष्ट्रिय सभागृह नजिकै रहेको पुरानो बसपार्क मङ्सिर ८ गतेदेखि नै खाली गरिने छ । त्यहाँ पार्किङ गरिने सवारी साधनका लागि रुटअनुसार सानो–गौचरन, लैनचौर, जडीबुटी, त्रिवि गेट कीर्तिपुरनजिकै र ढुङ्गेअड्डामा पार्किङ्को व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
सम्पूर्ण सवारी मार्ग, वैकल्पिक मार्ग, समारोहस्थल, पार्किङलगायत व्यवस्थापन योजना, ट्राफिक परिचालनको योजना, सार्कमा खटिने सम्पूर्ण ट्राफिक प्रहरीलाई अनुशिक्षण दिइएको प्रमुख अधिकारीले बताए । उपत्यकामा मङ्सिर ९ देखि १२ गतेसम्म शैक्षिक संस्था बिदा र मङ्सिर १० र ११ गते सार्वजनिक बिदा दिइएकोले पनि ट्राफिक व्यवस्थापनमा सहज हुने आशा गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार