१ असोज २०८२, बुधबार

हातेमालो सहकारीको सप्ताहव्यापी कार्यक्रम, वृद्ध वृद्धाहरुलाई राहत वितरण

२०७१ जेठ १४, बुधबार
हातेमालो सहकारीको सप्ताहव्यापी कार्यक्रम, वृद्ध वृद्धाहरुलाई राहत वितरण

बारा । सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले छ वर्ष पुरा गरी सातौं वर्ष प्रवेशको अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ । कार्यक्रमको पहिलो दिन आज पथलैयास्थित जेष्ठ नागरिक सम्मान वृद्धाश्रममा रहेका ८ वृद्ध वृद्धाहरुलाई कपडा, खाद्यसामग्री र फलफुल वितरण गरिएको छ ।

राहत सामग्री वितरण गर्दै हातेमालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण पौडेलले जेष्ठ नागरिकहरुको सम्मान र जिविकाको सहजीकरणमा राज्य, समुदाय र नागरिक समुदाय गम्भिर हुनुपर्ने बताए । घरघरमा जेष्ठ नागरिकको सम्मान र उनीहरुको आवश्यकता परिपूर्तिमा परिवारका सदस्यहरु जिम्मेवार हुन पौडेलले आग्रह गरे । कार्यक्रममा बोल्दै वृद्धाश्रमका महासचिव राजेश धानुकले वृद्धाश्रमको आर्थिक अवस्था कमजोर भएको अवस्थामा हातेमालोको सहयोगले ठुलो राहत मिलेको बताए । संस्थाका सञ्चालक पेशल मुल्मीको अध्यक्षता, सञ्चालक सीता गुरुङको स्वागत र व्यवस्थापक महेश ढुंगेलको सहजीकरणमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष विनोद कलवार, सचिव यज्ञ आले, कोषाध्यक्ष शिव वाग्ले, सञ्चालकहरु ईद्रिस मियां र सुशिला आचार्यलगायतको उपस्थिति रहेको थियो ।

सातौं वर्ष प्रवेशको अवसरमा संस्थाले १५ गते रामवनमा विद्यार्थीहरुलाई पाठ्यसामग्री वितरण, १७ गते सरसफाई र २० गते स्थापना दिवस विशेष कार्यक्रम आयोजना गरिनेछ । २०६५ जेठ २० गते ७२ जना सदस्यहरुले स्थापना गरेको हातेमालो सहकारीमा हाल १३ सय सदस्यहरुवीच १२ करोडको कारोवार गरिरहेको छ । मध्यतराईको उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको रुपमा स्थापित हातेमालोले गुणस्तरीय वित्तिय सेवामार्फत समुदायको आर्थिक र सामाजिक रुपान्तरणसहित सामाजिक उत्तरदायित्वका कार्यहरु गरिरहेको छ ।

अभिलेख

लोकप्रिय