६ जेष्ठ २०८१, आईतवार

साउन १८ मा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

९ श्रावण २०७१, शुक्रबार
साउन १८ मा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

काठमाडौं, ९ साउन । भारतका प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदी यही साउन १८ गते नेपालको दुईदिने औपचारिक भ्रमणमा आउने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार साँझ भएको नेपाली काँग्रेसको पार्टी पदाधिकारी बैठकमा मुलुुकको समसामयिक राजनीतिक अवस्था, प्रधानमन्त्रीको अनुपस्थितिमा सरकार र पार्टीले सम्पादन गरेका कामको समीक्षाका साथै प्रधानमन्त्रीको स्वास्थ्यबारे छलफल भएको थियो ।
प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणमा उनका भारतीय समकक्षी  साउन १८ गते नेपाल आउने र उक्त भ्रमणका कार्यसूचीलगायत विषयलाई आज हुने मन्त्रिपरिषद् बैठकले टुङ्गो लगाउने नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले बैठकपछि सञ्चारकर्मीहरूलाई बताए ।
बैठकमा भारतीय प्रधानमन्त्रीको भ्रमणको तिथिको औपचारिक घोषणा भोलिको मन्त्रिपरिषद्ले गर्ने, उनलाई जनकपुर वा लुम्बिनीको भ्रमण गराउने र आजदेखि हुन लागेको भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमण, शनिबार हुने नेपाल–भारत संयुक्त आयोगको बैठकलगायत विविध विषयमा विचारविमर्श भएको जानकारी  उनले दिए ।
भारतीय प्रधानमन्त्रीको भ्रमणलाई सफल एवम् फलदायी तुल्याउन र प्रमुख राजनीतिक दलहरूबाट रायसुझाव लिन भोलि नै राजनीतिक दलका नेताहरूसँग छलफल हुने पनि प्रवक्ता बडूले बताए । यसैबीच परराष्ट्र मन्त्रालयका निमित्त सचिव शङ्करदास वैरागीले भारतीय प्रधानमन्त्रीको भ्रमणको कार्यसूची एवम् कार्यक्रम निर्धारण भइनसकेको जानकारी दिँदै मितिमात्र तय भएको स्पष्ट गरे ।  यसअघि सन् १९९७ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजराल र सन् २००२ मा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) शिखर सम्मेलनमा भागलिने सिलसिलामा प्रधानमन्त्री अटलबिहारी बाजपेयीले नेपालको भ्रमण गरेका थिए ।
नेपाल र भारतबीचको ऐतिहासिक, निकट तथा बहुआयामिक सम्बन्धका विविध पक्षमा छलफल गरी पारस्परिक सहयोग, सद्भाव एवम् सहकार्य विस्तार गर्न बहुप्रतिक्षित भारतीय प्रधानमन्त्रीको भ्रमण सफल हुने अपेक्षा गरिएको छ ।

अभिलेख

लोकप्रिय