१४ बैशाख २०८१, शुक्रबार

प्रगति सहकारीको स्थापना दिवस, २७ जना जेष्ठ नागरिक सम्मानित

८ जेष्ठ २०७१, बिहीबार
प्रगति सहकारीको स्थापना दिवस, २७ जना जेष्ठ नागरिक सम्मानित

बागलुङ, ८ जेठ । प्रगति बहुउद्देश्यीय सहकारी संस्था बागलुङले आठौ स्थापना दिवसका अवसरमा बिहीवार २७ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

संस्थाका सदस्यहरु, सदस्यहरुका बाबुआमा र महिला सदस्यहरुका सासु ससुरा मध्ये ७५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । नगद १ हजार, सम्मान पत्र सहित दोसल्ला ओढाएर प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा जिल्ला सहकारी संघका अध्यक्ष रामबहादुर जिसी र संस्थाका अध्यक्ष महादेव सापकोटाले जेष्ठ नागरिकहरुलाई सम्मान गरेका थिए । संस्थाले स्थापना दिवसका अवसर पारेर गतवर्षदेखि जेष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गरेको सचिव तोयानाथ गौतमले जानकारी दिए । आगामी दिनमा अपाङ्गता भएका, विपन्न लगायतलाई सम्मान गर्ने लक्ष्य रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले सहकारीहरुले समाजमा विश्वास आर्जन गर्ने खालका गतिविधि सञ्चालन गर्नु पर्नेमा जोड दिए । सहकारी मार्फत आर्थिक सामाजिक विकाससंगै नागरिकहरुलाई सम्मानित भएर बाँच्नका लागि सहकारीहरुले सहयोग पु¥याउनु पर्ने उनको सुझाव थियो । त्यस्तै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा जिल्ला सहकारी संघका अध्यक्ष रामबहादुर जिसीले सहकारीको मूल्य मान्यता र सिद्धान्त अनुसार सहकारीलाई अगाडि बढाउन सके, समाजमा आर्थिक सामाजिक रुपान्तरणसंगै सामाजिक न्याय स्थापित गर्न सकिनेमा जोड दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, प्रगति बहुउद्देश्यीय सहकारी संस्थाका लेखा संयोजक दिपक गौतम, सल्लाहकार डा.सुदर्शन सिलवालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

२०६४ जेठ ८ गते ३२ जना सदस्यको ३ लाख २० हजार रुपैयाबाट कारोबार शुरु गरेको संस्थामा हाल ३ सय ८९ जना शेयर सदस्यको २ करोड २३ लाख शेयर रकम, ५ करोड बचत, ७ करोड ५३ लाख लगानी रहेको संस्थाले जनाएको छ । बागलुङ नगरपालिका कार्यक्षेत्रबाट कारोबार शुरु गरेको संस्थाले ११ वटा गाविस कार्यक्षेत्र विस्तार गरेको छ ।

अभिलेख

लोकप्रिय