१४ बैशाख २०८१, शुक्रबार

दुग्ध सहकारी संस्था पुरस्कृत

२ श्रावण २०७१, शुक्रबार
दुग्ध सहकारी संस्था पुरस्कृत

कैलाली , २ साउन । कैलाली र कञ्चनपुर जिल्लाका दूध उत्पादन गर्ने तथा दूध चिस्याउने उत्कृष्ट सहकारी संस्था र दूध बिक्री गर्ने ‘बुथ म्यान’ (बिक्रेता)लाई पुरस्कृत गरिएको छ ।

दुग्ध विकास संस्थानको ४६ सौँ वार्षिकोत्सवका अवसरमा धनगढी दुग्ध वितरण आयोजना अत्तरियामा बिहीबार आयोजित समारोहमा टीकापुरको शान्ति नेपाल साना किसान सहकारी संस्था र राजीपुरको महिला कृषि दूध उत्पादन सहकारी संस्थालाई प्रमाणपत्रद्वारा पुरस्कृत गरियो ।

यसैगरी भैँसीको दूध बढी बिक्री गर्ने कैलाली टीकापुरकी कृषक शारदा सुवेदी, गाईको दूध बढी बिक्री गर्ने कञ्चनपुर बेलौरीका मोहनदेव भट्ट, बढी दूध बिक्री गर्ने धनगढीको अमरदीप सप्लायर्सका प्रोप्राइटर वीरेन्द्र भाट र महेन्द्रनगरको रस्मी दुग्ध बिक्री केन्द्रलाई रु पाँच हजारसहित प्रशंसापत्रद्वारा पुरस्कृत गरिएको छ ।

समारोहमा आयोजनाका प्रमुख हेमचन्द्र पौडेल र साना किसान सहकारी संस्था मालखेतीका अध्यक्ष नन्दलाल भट्टले संयुक्त रूपमा उत्कृष्ट सहकारी संस्था र दुग्ध व्यवसायीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
यसअघि अत्तरियास्थित पद्मा अस्पताल, सेवा नर्सिङ होम र ग्वासी मेडिकल हलमा उपचारमा रहेका झन्डै ५० जना बिरामीलाई आयोजनाका प्रमुख पौडेल नेतृत्वको टोलीले दूध र फलफूलसमेत वितरण गरेको थियो ।

हाल दैनिक दुई हजार लिटर दूध सङ्कलन गर्ने गरेको संस्थानले दैनिक एक हजार २०० लिटर दही र ६०० लिटर मोहीसमेत बिक्रीवितरण गर्दै आएको छ ।संस्थानले कञ्चनपुरका झन्डै १८ सहकारी संस्था र कैलालीका १० सहकारी संस्थाबाट दैनिक दूध सङ्कलन गर्दै आएको छ । संस्थानका दूध बिक्री गर्ने बुथहरू धनगढीमा ३६, महेन्द्रनगरमा २० र अत्तरिया बजारमा २० वटा सञ्चालनमा रहेका छन् ।

संस्थानले विसं २०६९ देखि दूध र दूधजन्य पदार्थ बिक्रीवितरण सुरु गरेसँगै जिल्लामा दूध उत्पादन गर्ने सहकारी संस्था र कृषकको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।

अभिलेख

लोकप्रिय