१४ बैशाख २०८१, शुक्रबार

सहकारीमा दलगत प्रभाव

१० जेष्ठ २०७३, सोमबार
सहकारीमा दलगत प्रभाव

सहकारीमा दिएको योगदान, विषयवस्तुको ज्ञान, सहकारी अभियानको आवश्यकता र व्यवसायकि दक्षताभन्दा पनि पार्टीमा दिएको योगदानकोे आधारमा नेतृत्व पाउनु पर्ने विचारहरुले प्राथमिता पाईरहेको छ

madhav dulal– माधव दुलाल

सहकारी अभियान अहिले विश्वव्यापी बनेको छ । संसारका एक अरबभन्दा बढी नागरिकहरु यस अभियानमा छन् । नेपालको सन्दर्भमा पनि ५१ लाख भन्दा बढी नागरिकहरुले आफ्नो आर्थिक र सामाजिक रुपान्तरणका लागि सहकारी रोजेका छन् ।

सहकारीको विशिष्टता र महत्वको पहिचान हुँदाहुँदै पनि यसको उच्चतम प्रयोगबाट प्राप्त गर्न सकिने आर्थिक तथा सामाजिक प्रतिफल प्राप्त गर्न सकिएको अवस्था छैन । नेपालको सहकारी गतिविधि पनि ५९ औं वर्ष पुगेको छ । यस अवधिका नेपालको सहकारी अभियानले विभिन्न आरोह अबरोह पार गरि सकेको छ । सहकारी मार्फत गरिने व्यवसाय उत्तम मात्र नभई निर्विकल्प व्यवसाय हो भन्ने प्रमाणित भैरहेको छ । सहकारी अभियान जो कसैले नबुझेको र नजानेको विषय भएन । यसो हुँदा हुँदै पनि सहकारीको प्रयोगमा निखरता एवंम यसको असल प्रयोथ भईरहेको अवस्था भने छैन । सहकारी अभियानमा विद्यमान समस्या र चुनौतिहरु थुप्रै छन् । त्यसको लामै सुचि बन्छ । यस अभियानमा केही गलत विचार र प्रवृतिहरु हाबी भैरहेको अवस्था छ । सहकारी अभियानको गुणात्मक विकासका लागि यस्ता विषयहरुको चर्चा गर्नु सान्र्दभिक देखिएको छ ।

नेता बन्ने रहर !
सहकारीले आर्थिक पक्षलाई मात्र प्राथमिकता नदिई सामाजिक तथा मानवीय पक्षको पनि पृष्ठपोषण गरेको हुन्छ । तर, पनि यो एउटा नितान्त व्यवसायीक निकाय हो । यसले गर्ने व्यवसाय अरुको भन्दा फरक छ, परिष्कृत छ, वैज्ञानिक छ । मानवीय हुनुका साथै सबैलाई समेट्ने सक्ने विधि र प्रक्रिया छ । सहकारीका यस्ता विशेषताहरुको कारणबाट सहकारीको यात्रामा बढीभन्दा बढी मानिसहरुले सहभागिता जनाएका हुन् । सहकारीमा गतिविधिहरु निरन्तर चलिरहेका हुन्छन् । आम नागरिकहरुको प्रत्यक्ष सरोकार र सहभागिता भएको यस क्षेत्रको नेतृत्वमा आउन चाहनु तथा स्थापित हुन खोज्नु स्वभाविक हो । र, राम्रो पनि हो । यसबाट फाइदा नै हुन्छ । सहकारी सञ्चालनका लागि नेतृत्व त चाहिन्छ नै तर व्यवसायीक नेतृत्व । सहकारी प्राविधिक तथा व्यवस्थापन पक्षको समग्र सिंगो रुप हो । यी दुवै विषयलाई अलग बनाएर सहकारी बन्दैन । त्यसैले सहकारीको नेतृत्वमा आउन वा रहन चाहने हो भने आफ्नो पनि सोही अनुरुपको दक्षता र क्षमता विकास गर्नु राम्रो हुन्छ । सहकारीको नेतृत्व लिन रहर भन्दा पनि आवश्यकता सिर्जना गरिनु पर्छ । सरोकारवालाहरुले फलानोलाई जिम्मेवारी दिँदा ठिक हुन्छ भन्ने महशुस गर्न पाउनु पर्छ । अब सहकारीमा सिक्न होइन काम गर्न आउनु पर्छ मान्यता सिर्जना गरिनुपर्छ । नेपालको सहकारी अभियानमा सिक्ने होईन । काम गर्र्ने चरण पुगिसकेको छ । सहकारीको विषयमा अध्ययन भएको, व्यवसायिक दक्षता भएको तथा सहकारीको अन्तराष्टिय मुल्य र सिद्धान्तबमोजिक संघ संस्था सञ्चालन गर्नसक्ने व्यक्तिहरुले नेतृत्व लिँदा अपेक्षित उपलब्धी हासिल गर्न मद्दत्त पुग्दछ ।

दलगत प्रभाव
सहकारी अभियानको श्रीगणेश गर्ने ती २८ जना रोचडेलीहरुले सहकारी मार्फत उपभोक्ता भण्डार स्थापना गर्दा नै साजनीतिक प्रभावबाट सहकारीलाई टाढा राखिनुपर्छ भन्ने बनाएका थिए । यसैबाट बुझ्न सकिन्छ कि सहकारीलाई राजनीतिक प्रभावबाट टाढा राखिनु पर्ने विषय । यो सहकारीकर्मी, सहकारीका नेता । विभिन्न दलका नेताहरुले नबुझेका पनि होईनन् । तर यहाँ नितान्त व्यक्तिगत तथा दलगत स्वार्थका लागि सहकारीको पहुँच र हैसियतलाई प्रयोग गरिदै छ । सहकारी न छानो हो, जहाँसबै किसिमका आस्था राख्ने व्यक्ति र वर्गका मानिसहरु त्यहि छाना मुनी अट्दछ । सहकारी आर्थिक तथा सामाजिक विकास गर्ने औजार हो,जुन औजार जुन सुकै विचार वा आश्था राखे पनि चाहिन्छ । तर त्यसो हुन सकिरहेको छैन ।

यसमा सबैभन्दा दोषी सहकारीका नेताहरु नै हुन् । यस विषयलाई दलगत नेताहरु र सहकारीकर्मीहरुले पनि सहयोग गरिरहेका छन् । सहकारीका नेताहरुलाई सहकरीको प्रभाव र पहुँच बारे सबै कुरा थाहा छ । उनीहरु यो प्रभाव र पहुँचलाई कायम राखिरहन हदैसम्मको हर्कत गर्न तयार छन् । सहकारी संचालकको अनुभव नभए पनि आफ्नो संस्थालाई सही ढंगबाट संचालन गर्न नसके पनि सहकारीमा यसो हुनुपर्छ, उसो हुनुपर्छ भनि अर्ति उपदेश दिन पछि हट्दैनन् । सहकारीमा निरन्तर पहुँच राखिरहन आफु संलग्न रहेको संघ संस्थाबाट प्रतिनिधि हुन नसके पनि अन्य संघसंस्थाबाट प्रतिनिधि हुने तथा कहिले काहिँ त जिल्ला नै परिवर्तन गरेर भए पनि सहकारीमा राजनीतिक रंग हावी हुने चलन छ ।

संघहरुको निर्वाचताका अस्तित्वमै नभएका संघसंस्थाहरुका कागजातपत्र बटुलेर भए पनि सहकारीको नेतृत्वमा पहुँच राख्न खोज्नु सामान्यजस्तो भएको छ । यस्ता क्रियाकलापले प्रारम्भिक सहकारी संस्थामा समेत व्यवसायकितामा भन्दा राजनैतिक क्षेत्रप्रति चासो बढाएको छ । कतिपयले सहकारीको नेता बन्नकै लागि भए पनि आफ्नो आस्था रहेको दलसमेत त्याग गरेर सहकारी नेता हुने अभिष्ट राखेका छन् । कतिपयले जसरी भएपनि सहकारीको नेता हुने विषयलाई प्राथमिकता दिएका छन् । सहकारीमा दलगत राजनीति गरिनुपर्छ भन्ने विषय हावा हुन गएको पनि सहकारीमा नेताहरुकै कारणबाट भएको हो । आज भन्दा आठ दश वर्ष अगाडी सहकारीमा राजनीतिक खिचातानी कम थियो । सहकारीको आकार र पहुँचको वृद्धिसँगसँगै सहकारीको नेतृत्वमा रहिरहन दलगत नेताहरुलाई गुर्हान थालियो । र, यो बाटो धेरैका लागि सहिलो पनि भयो । सबै संघ संस्थाका सदस्य तथा प्रतिनिधिहरुको चित्त बुझाउनुभन्दा आफ्ना नेतालाई मनाउनुमै वेश देखियो । सहकारीमा दिएको योगदान, विषयवस्तुको ज्ञान, सहकारी अभियानको आवश्यकता र व्यवसायकि दक्षताभन्दा पनि पार्टीमा दिएको योगदानकोे आधारमा नेतृत्व पाउनु पर्ने विचारहरुले प्राथमिता पाईरहेको छ । निर्वाचनहरुमा विजय प्राप्त भएपछि दलगत विजय भएजस्तो व्यवहारहरु गरिएको छ । परिणामस्वरुप सहकारी क्षेत्रमा राजनीतिको दलगत राजनीति हावी भईरहेको छ ।

सहकारीमा दलगत प्रभावलाई हाबी बनाउन सहकारीका नेताहरुको भूमिका महत्वपूर्ण रह्यो । दलगत नेताहरुलाई समेत सहकारीको राजनीतिले तान्यो । सहकारीको प्रभाव र पहुँचले राजनीतिक नेताहरुलाई समेत यस क्षेत्रप्रति चासो बढेको छ । दलगत नेताहरुले सहकारीमा चासो राख्नु सहकारी अभियानका लागि नराम्रो विषय भने होईन । दलगतनेताहरुबाट सहकारी प्रति चासो र सरोकार राख्नदा यो क्षेत्रको विकास र प्रवद्र्धनमा तथा सहकारी मैत्री नीति निर्माणमा मद्दत पुग्दछ नै । तर, आफ्नै दलगत आश्था राख्ने तथा आफू निकटका व्यक्तिहरु नै जसरी पनि नेतृत्वमा रहनु पर्ने गलत धारणाको समेत विकास भएको छ । यता सहकारीकर्मीहरुलाई सहकारीमा दलगत राजनीति गरिनु गरिनु हुन्न यसको प्रभावले सहकारीको विकासमा नकारात्मक असर गर्न सक्छ भन्ने थाहा हुँदाहुँदै केही सहकारीकर्मीहरु आफ्नो संघ संस्थाको नेतृत्वमा आउन वा रहिरहन दलगत राजनीति प्रभावलाई बढाईरहेका छन् ।

कतिपय संस्थाका पदाधिकारीहरु राजनीतिक शास्था र व्यवहारका कारण राजनीतिक आस्थाको आधारमा संस्थाको नेतृत्वलाई सहयोग नगर्ने, संस्था छाड्ने। अर्को संस्था स्थापना गर्नेजस्ता गतिविधिमा समेत संलग्न छन् । कतिपय सहकारीकर्मीहरुले दलगत नेताहरु वा सहकारीका नेताहरुको आग्रह वा निर्देशनमा आफ्नो संस्थाको व्यवसाय, ख्याती तथा संस्थालाई दुरगामी असर पर्न सक्ने विषयहरुको ख्यालै नगरी प्रारम्भिक संस्थामा समेत राजनीतिक खिचातानी गरिहरेका छन् । यसरी राजनीतिक प्रभावमा सहकारी अभियान रहिरहनु पर्छ भन्ने गलत संस्कृतिको विकास भएको छ । र, यसले प्रसय समेत पाएको देखिन्छ ।

अन्त्यमा,
सहकारी अभियानमा यसका अलावा थुप्रै नीतिगत तथा व्यवस्थापकीय कमी, कमजोरीहरु रहेका छन् । अन्य धेरै चुनौती र समस्याहरु रहेका पनि छन् । सहकारीका चुनौती र समस्यालाई न्युनिकरण गर्ने दायित्व पनि हाम्रै हो । यसको उच्चतम् प्रयोगबाट सरोकार पक्षलाई यथेष्ट लाम पुर्याउने कर्तव्य पनि हाम्रै हो । तसर्थ आ आफ्नो स्वार्थ तथा दलगत प्रभावभन्दा पनि माथि उठेर संस्थागत आचरणको विकास गर्दा सबैको जय हुने देखिन्छ ।
जय सहकारी ।
(लेखक राष्टिय सहकारी संघका सञ्चालक हुन्)

अभिलेख

लोकप्रिय