१४ बैशाख २०८१, शुक्रबार

साना किसान विकास बैंक

२३ असार २०७२, बुधबार
साना किसान विकास बैंक

जलन कुमार शर्मा,

प्रमुख कार्यकारी अधिकृत

नेपालको ग्रामीण विपन्नता र पछौटेपन न्यूनिकरण गर्ने उद्देश्यले बि.सं. २०३२/०३३ देखि साना किसान विकास कार्यक्रम सञ्चालनमा आएको हो । यस कार्यक्रमलाई साना किसानहरुको हित अनुकुल बनाउन साना किसान सहकारीको संस्थागत विकास गरिएको हो । साना किसानद्वारा सञ्चालित सहकारी संस्थाहरुलाई ऋणपुँजीको व्यबस्था गर्न कृषि विकास बैंक, नेपाल सरकार, नेपाल बैंक लि., नविल बैंक लि. र साना किसान सहकारी संस्थाहरुको संस्थापकत्वमा २०५८ असार २२ गते राष्ट्रीयस्तरको “घ” वर्गको लघुवित्त बैंकको रुपमा यस बैंकको स्थापना भयो । वित्तीय रुपले सक्षम र लघुवित्त वजारमा थोक कर्जा प्रदायक अग्रणी बैंक हुने यस बैंकको परिकल्पना रहेको छ ।

तेहाै साधारण सभाको निर्णयले यस बैंकको अधिकृत पूँजी ६४ करोड, जारी तथा चुक्तापुँजी ३४ करोड ६० लाख २३ हजार ५०० पुर्याइएको छ । चुक्ता पूँजी मध्ये कृषि विकास बैंकको २२ प्रतिशत, नेपाल बैंक लि.को ६ प्रतिशत, नविल बैंको ३ प्रतिशत, साना किसान सहकारी संस्थाहरुको ३९ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व रहेको छ ।

२०७२ साल जेठ मसान्तमा यस बैंकको कुल सम्पत्ति ८ अर्ब ९८ करोड पुगेको छ । स्थापनाकाल देखिनै मुनाफामा सञ्चालित यस बैंकले आर्थिक वर्ष ०७०/७१ मा ११ करोड ४१ लाख खुदनाफा गर्न सफल भएकोमा चालु आ.ब.को ९ महिनाको अवधिमा नै ११ करोड ५२ लाख खुद मुनाफा आर्जन गरेको छ ।

२०७२ जेष्ठ मसान्तसम्ममा ३१२ हजार महिला र १२५ हजार पुरुष सदस्य गरी ४ लाख ३८ हजार घर परिवार, यस बैंकको सेवाबाट लाभान्वित भएका छन् । ४१२ साना किसान कृषि सहकारी संस्था तथा ८३ समान प्रकृतिका अन्य सहकारी संस्थाहरु समेत गरी कुल ४९५ सहकारी संस्थाहरु यस बैंकमा आवद्ध भएका छन् भने थप २०८ संस्था साना किसान सहकारी अनुसरणका माध्यमबाट स्थापना हुने क्रममा रहेका छन् । अनुसरण भैरहेको २०८ संस्थामा संलग्न साना किसान सदस्यहरु समेत जोड्दा यस बैंकको सेवामा ५ लाखभन्दा बढी परिवार समेटिएका छन् ।

बैंकले आफुसँग आबद्ध संस्थाहरुलाई शुरुदेखि २०७२ जेष्ठमसान्तसम्ममा २५ अर्ब ६३ करोड लगानी गरी १७ अर्ब ६४ करोड असुली गरिसकेको छ । २०७२ जेष्ठ मसान्तसम्म बैंकको लगानीमा रहेको ऋण ७ अर्ब ९९ करोड रहेको छ । बैंकले लगानी गरेको कर्जा मध्ये भाखा नाघेको कर्जा रकम १ प्रतिशत भन्दा कम रहेको र बैंकको कर्जा असुलीदर ९९.७५ प्रतिशत रहेको छ ।

बैंकसँग कारोबार गर्ने ४९५ सहकारी संस्थामा आबद्ध साना किसान सदस्यहरुबाट जम्मा भएको शेयर, बचत आदी गरी ११ अर्ब ९७ करोड स्थानीय पुँजी र बैंकको लगानी ७ अर्ब ९९ करोड समेत गरी साना किसान सहकारी संस्था क्षेत्रमा झण्डै २० अर्ब पुँजि परिचालनमा भएको छ भने यसमा बैंकको लगानीको हिस्सा ३९ प्रतिशत रहेको छ । यसबाट साना किसान सहकारी संस्थाहरु वित्तीय आत्मनिर्भरता तर्फ उन्मुख हुँदै गएका छन् भन्न सकिन्छ । संस्थाहरुको आफ्नै पुँजीको विकासमा बैंकले जोड दिएको छ ।

बढ्दो मासुजन्य पदार्थको आयात घटाउन देशभित्रै मासुजन्य पदार्थको उत्पादन बढाउने उद्देश्यले यस बैंकले नेपाल सरकारको ऋण सहयोगमा आर्थिक वर्ष २०६७/०६८ देखि सहुलियतपूर्ण मासुजन्य पशुपालन कर्जा कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो कार्य २०६७ चैत्र महिनाको अन्त्यबाट शुरु भएको हो । यस कार्यक्रममा कुल ३३ हजार किसानलाई ३ (तीन) अर्ब मासु तथा दुग्धजन्य पशुपालन कर्जा लगानी गर्ने लक्ष थियो । जसमा २०७२ जेठसम्म आइपुग्दा ३१० संस्थाका ५२ हजार २२ जना किसानलाई ४ अर्ब ०९ करोड कर्जा प्रवाह भएको छ । सो रकमबाट किसानहरुले बाख्रा, बंगुर, पाडापाडी, भैसी र गाई जस्ता २ लाख ८७ हजार ९१ पशुवस्तु पालन गरका छन् । यस कार्यक्रमका माध्यमबाट बार्षिक रुपमा झण्डै ४ अर्बको हाराहारीमा मासु तथा दुग्धजन्य पदार्थ उत्पादन भएको अनुमान गरिएको छ ।

वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तरगत एशियाली विकास बैंकको सहयोगमा Rural Finance Sector Development Cluster Programme-II अन्तरगत बैंकको सूचना प्रविधिमा सुधार कार्य सम्पन्न भएको छ । कमजोर कार्यसम्पादन स्तर भएका ६२ संस्थाको पुनसंरचना कार्य गरिएकोमा ५७ संस्थाहरुको सुधारमा उत्साहबद्र्धक सफलता मिलेको छ । साथै यस कार्यक्रम अन्तर्गत पहाडी र हिमाली २५ जिल्लाका ६० संस्थाबाट ३० हजार परिवारमा १७ करोड बराबरको लघुवित्त सेवा विस्तार गर्ने कार्यक्रम रहेकोमा हालसम्म ३५ जिल्लाका १३७ संस्था मार्फत १ लाख १४ हजार परिवारमा २ अर्ब ५९ करोड बराबरको लघुवित्त सेवा विस्तार भएको छ । यस कार्यक्रममा तोकिएको सबै कार्यहरुमा उच्च प्रगति हासिल भएको छ ।सहयोगी संस्था एशियाली विकास बैंकको उच्च मुल्इाङ्कन सहित डिसेम्वर २०१४ मा यो कार्यक्रम सम्पन्न भएको छ ।

साना किसान सहकारी संस्थाको प्रवद्र्धन र विस्तारका लागि नेपाल सरकार कृषि मन्त्रालय मार्फत आईएफएडीबाट मध्य पश्चिम र पश्चिमाञ्चलका ६ जिल्लामा साना किसान सहकारीको सेवा विस्तारका कार्यहरु भैरहेका छन् । विगतमा साना किसानको संस्थागत विकामा जिआईजेडबाट उल्लेखनीय सहयोग भएको छ । युएनसीडीएफको सहकार्यमा ४० हजार साना किसानको घरलाई उज्यालो पुर्याउने कार्य शुरु भएको छ । साना किसानलाई स–साना कारोबार गर्न खर्चहुने पैसा र समयका बचतका लागि मोवाइल थैली सेवा शुरु गर्नमा प्रयासरत छौं ।

नेपाल सरकारको सहयोगमा साना किसान सहकारी संस्थाहरु मार्फत पशुधन सुरक्षण, सामाजिक तथा सामुदायिक, तालिम र अनुशरण कार्यक्रम संचालन हुँदै आएको छ । आगामी दिनमा पहाडी, हिमाली र दूर्गम क्षेत्रमा बैंकको व्यवसाय विस्तारका लागि अझै बढी स्रोत जुटाई लघुवित्त सेवाबाट बञ्चित आदिवासी, मधेसी, दलित, जनजाती, सुकुम्वासी र विपन्न ग्रामीण महिला वर्गको लघुवित्त सेवामा पहुँच बढाउने लक्ष रहेको छ । यस्तै संस्थाको वित्तीय स्वास्थ्य सुधार तथा संस्थामा संलग्न नेतृत्व वर्ग र व्यवस्थापनमा संलग्न कर्मचारीको समेत क्षमता अभिवृद्धि गर्न अवसरहरूको खोजी गरी तालिम, अवलोकन भ्रमण, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका गोष्ठी र सम्मेलन जस्ता अवसरहरुमा सहभागी गराउने कार्यक्रम रहेको छ ।

नेपालको कृषिमा प्राविधिक ज्ञानयुक्त जनशक्ति सहित नविन प्रविधि र पुँजीको उपयोगको अभावमा खाँचो अनुसारको कृषि विकास असम्भव नै हुन्छ । कृषि पेशाबाट पलायन युवाशक्तिलाई कृषि कार्यमा आकर्षित गर्न पनि त्यत्तिकै खाँचो छ । यस सन्दर्भमा साना किसानका छोराछोरी (युवा/युवती)हरुलाई आधुनिक कृषि प्रविधिको ज्ञान हाँसिल हुने १०–११ महिनासम्मको कृषि तालिमको व्यबस्था मिलाउन बैंकले गरेको आग्रहलाई इज्रायल सरकारबाट सकारात्मक सहयोग भएको छ । जस अनुसार हालसम्म दुई चरणमा गरी ७२० जना, इज्रायल पठाइएको छ भने तेस्रो चरणमा पनि ५०० जनाभन्दा केही बढी प्रशिक्षार्थी बिद्यार्थीहरुलाई इज्रायल पठाउने तयारी भैरहेको छ ।

बैंकले सर्बसाधारणमा शेयर जारी गरेपछि नेप्सेको सुचि अनुसार यस बैंकको शेयर मुल्य १३०० माथीको अङ्कको समुहमा रहनुले हामीलाई हर्षित एवं चुनौतिपूर्ण अवस्थामा उभ्याएको छ । आइपिओमा गइसकेपछि शेयर कारोबारले त्यस संस्था र निकाय प्रति जनसमुदायको सरोकार हुने गर्दछ । पारदर्शिता, व्यावसायिक कुशलताका साथसाथै संस्थागत जवाफदेहिताले हाम्रो कार्यगर्ने शैलिमा समय अनुसार प्रविधिको प्रयोग, उत्पादनमुखि व्यवसाय र त्यसबाट बढीभन्दाबढी साना किसानहरुले कम लागतमा पुँजीको प्रतिफल लिन सकुन भन्ने कुरामा सदैब हामीलाई चनाखो रहन जिम्मेवारीको बोध हुन गएको विषय यहाँ राख्नु सान्दर्भिक ठानेको छु । हामी प्रति सरोकार राख्ने सम्पूर्ण पक्ष (Stakeholders) ले देखाएको विश्वास किंचितरुपमा घट्न जानु हुँदैन भन्ने हाम्रो प्रण पनि रहेको छ ।

यही २०७२ बैशाख १२ र २९ गतेको प्रलयकारी भुकम्प र त्यसपछिका अनेकौ पराकम्पनका कारण साना किसानहरु सबैभन्दाबढी पिडित बन्न पुगेका छन् । पिडित साना किसानहरुको पिडामा साथदिन गरिएको आव्हानको छोटो अवधिमानै नेपालका २७२ साना किसान सहकारी संस्थाहरुबाट १ करोड ३० लाखभन्दाबढीको राहत सहयोग जुटाउन सम्भव भएको थियो । सो सहयोग रकमबाट ६६ साना किसान सहकारी संस्थाका सदस्यहरुलाई चामल १७६ टन्, १४४४ थान त्रिपाल, २५० टर्च, २३ थान सोलारसेट, १२०० थान छाता वितरण गरिएको छ ।

आउँदो पिढीलाई साना किसान अभियानमा लाग्न प्रेरणा मिलोस् भन्ने अभिप्रायले विगतमा साना किसान अभियानलाई उल्लेखनीय योगदान गर्नुहुने अग्रज विशिष्ट महानुभावहरुलाई बैंक दिवसको अवसरमा सम्मान गर्दै आएकोमा उक्त कार्यलाई निरन्तरता दिने नीति रहेतापनि महाभुकम्पको कारण यो १४ औं बैंक दिवसमा उक्त कार्यलाई स्थगन गरिएको छ ।
देशमा कृषिको व्यावसायिकरण एवं उत्पादन र उत्पादकत्व बढाउन आवश्यक छ । कृषि उत्पादनमा साना किसानहरुको अग्रणि भूमिका हुने हुँदा ऋणको आवश्यकता मात्र पुरा गर्न सकेमा पनि किसानको उत्पादन गर्ने क्षमता अभिवृद्धि भई साना किसानहरुलाई लाभ पुग्नुको अतिरिक्त सम्पूर्ण मुलुकलाई नै फाइदा पुग्ने कुरामा विश्वस्त हुन सकिन्छ ।

अभिलेख

लोकप्रिय