BREAKING NEWS:
Search

सहकारीका जिउँदा इतिहासः जसले नेपालमा सहकारीको जग बसाले


अनिल ढकाल / चितवन

कृष्णमान गुरुङ सहकारीका जिउँदा इतिहास हुन् । ८६ वर्षीय गुरुङ २०१३ सालमा स्थापना भएको मुलुककै पहिलो सहकारी बखानका संस्थापक हुन् । २०११ सालमा गोरखामा गएको पहिरोले विस्थापित भई चितवन आएकाको बसाइसराइको व्यवस्था गर्न सहकारी खोलिएको कृष्णमान बताउँछन् ।

राप्ती दुन परियोजनाको सहयोगमा तत्कालीन समयमा चितवनमा बस्ती बसाल्न सहकारी स्थापना गरिएको थियो । उमेरका कारण शारीरिक रूपमा अशक्त कृष्णमान बखान सहकारीको कुरा गर्दा उत्साहित हुन्छन् । सहकारीको चिन्ता लिएर कहिलेकाहीँ उनको आँसु झर्छ । आफूले सुरुआत गरेको अभियान देशव्यापी भएकोमा उनी खुसी छन् । ‘आफूले बोकेको ढुंगाको त माया लाग्छ, यसको किन नलाग्नु ? ’ आँखा रसिलो बनाउँदै कृष्णमानले भने ।

हरेक वर्ष राष्ट्रिय सहकारी दिवस मनाइरहँदा उनीहरूको भूमिका संस्मरण गरिन्छ । २०१३ सालमा ६० जना मिलेर बखानपुर सहकारी ऋण समितिको नाममा पहिलो सहकारी स्थापना भएको हो । संस्थापकमध्ये अब तीन जना मात्रै जीवित छन् । २०१२ सालमा नेपाली कांग्रेसको वीरगञ्ज अधिवेशनले सहकारी खोल्ने निर्णय गरेर त्यसको जिम्मा बखानसिंह गुरुङलाई दिइएको दस्तावेज पाइन्छ । २०१३ साल चैत २० गते स्थापना भएको यो सहकारीले स्थापित हुन धेरै हन्डर खेप्नुप¥यो । समाजसेवी बखानसिंह गुरुङले गाउँको विकास गर्ने उद्देश्यले सहकारी स्थापना गर्ने योजना अघि सारेका थिए । जुन कुरामा स्थानीयले साथ दिए । त्यो बेला सहकारीमा पैसाको कारोबार खासै हुँदैन थियो ।

संस्थापकमध्यकै अर्का ईतिहास हुन ७८ वर्षीय इन्द्रसिंह गुरुङ । उनले त्यतिबेलाको केही कुरा मात्र सम्झिन्छन् । सहकारीका कारण जनताले सुख पाएको उनले बताए । सबै डाँडामाथिको घामजस्तै भएका छन् । उनी सबैभन्दा कान्छा सदस्य थिए त्यसबेलाका । बस्ती बसाल्न सहकारीले ठूलो योगदान गरेको भन्दा उनी खुसी देखिए । ‘सहकारी भएर पो मान्छेलाई सजिलो भयो’, रमाइलो स्वभावका इन्द्रसिंहले भने ‘बसाइ सरी आउनेलाई सहकारीले ठूलो सहयोग ग¥यो ।’ नेपालकै पहिलो सहकारीका संस्थापक हर्कबहादुर गुरुङ ८४ वर्षका भए । उनी शारीरिकरूपमा अशक्त छन् । उनी प्रष्ट बोल्न पनि सक्दैनन् । चाहेर पनि सहकारीमा पुग्न सक्दैनन् । सहकारीको गतिविधिबारे खुब चासो दिएर सोध्छन् ।

त्योबेला ६० जना सेयर सदस्य थिए । उनीहरूबाट प्रतिव्यक्ति १० रुपैयाँ लिइन्थ्यो । नयाँ प्रवेश गर्ने सदस्यलाई १ रुपैयाँ ‘मसद’ (प्रवेश शुल्क) लिइन्थ्यो । भैंसी, गाई, हलो, कुटो कोदालो किन्न सहकारीले पैसा सहयोग गथ्र्यो । तमसुक बनाएर सहकारीले आवश्यक मात्रामा किसानलाई पैसा सहयोग गथ्र्यो । त्योबेला बनाइएको तमसुक सहकारीमा अझै सुरक्षित छ । पछि २०१७ सालमा पञ्चायती व्यवस्था सुरु भयो । जसको असर सहकारीमा पनि प¥यो । सहकारी धरासयी बन्दै गयो । २०४६ सालपछि स्थानीयले सहकारीलाई बचाउनुपर्छ भन्दै लागिपरे र अहिले गाउँलेमा चेतना फैलँदै गई सहकारीप्रति मोह बढेको छ । अहिले सहकारीमा तीन सय ६२ जना सेयर सदस्य छन् । कृषिमा जोड दिएर स्थापना गरिएको सहकारीले तोरी खेतीलाई प्राथमिकता दिएको छ । सहकारीमा तोरी पेल्ने मिल छ । सहकारीले तेल मिल, तोरीको बीउ उत्पादन, बचत अभियान थालेको सहकारीका अध्यक्ष रेसम गुरुङले बताए । ‘पूरै देश सहकारीमय भएको ईतिहास जोगाउन लागिपरेका छौं’, उनले भने, ‘यसलाई अध्ययन अनुसन्धानको थलो बनाउने योजना हो ।’

संस्थापकहरू आज खुसी छन् कि आफूहरूले सुरु गरेको अभियानले देश नै सहकारीमय बनेको छ । बखान सहकारीलाई अहिले राष्ट्रिय सहकारी संग्रहालय बनाउन लागिएको छ । भरतपुर महानगरपालिका १९ मा रहेको बखान सहकारीको कार्यालय नजिक संग्रहालय निमार्ण गर्न लागिएको हो । नौ करोडको लागतमा निमार्ण हुने संग्रहालय बनाउन लागिएको हो । करिब चार बिघा क्षेत्रफलमा सहकारी निर्माण गर्न लागिएको छ । अहिले निर्माणको २० प्रतिशत काम सकिएको निर्माण समितिका संयोजक सोमप्रसाद भण्डारीले बताए । संग्रहालय निर्माण गरेपछि पहिलो सहकारी स्थापनाको क्रममा प्रयोग भएका सामग्री, दस्तावेज, कृषि सामग्री राखिनेछ । २००७ सालदेखि १३ सालसम्म प्रयोग भएका पुरातात्विक सामग्री राखिने सहकारीले जनाएको छ । बखान सहकारी संग्रहालयलाई सहकारी पाठशाला एवं अध्ययन केन्द्र स्थापना गर्न लागिएको छ ।

सहकारीको अध्ययन र अवलोकनका लागि विभिन्न जिल्लाबाट भ्रमण गर्न पनि आउने गरेका छन् । सहकारीबारे चासो राख्नेहरू उनीहरूलाई भेट्न पुग्छन् । सहकारीले बचत तथा ऋण कार्यक्रम चलाएको छ । सहकारीले कृषि कार्यालयमार्फत नै तोरी खेतीमा किसानलाई आकर्षित गरेको छ ।

अन्नपूर्ण पोस्ट्बाट साभार



प्रतिक्रिया दिनुहोस