४ जेष्ठ २०७८, मंगलवार

गर्भवती सदस्यलाई विकूद्वारा पोषिलो आहार वितरण

५ बैशाख २०७८, आईतवार
गर्भवती सदस्यलाई विकूद्वारा पोषिलो आहार वितरण

गैंडाकाेट : गर्भवती सदस्यको स्वास्थ्य सुरक्षाका लागि विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीको क्षेत्रमा नेपालमा पहिलो पटक पोषिलो आहार वितरण शुभारम्भ गरेको छ ।

`हाम्रो लक्ष्य, खुसी एवं स्वस्थ सदस्य´ भन्ने अवधारणाका साथ अघि वढेको विकूको बार्षिक कार्यक्रममध्ये यस कार्यक्रमलाई निकै फलदायि मानिएको छ । विकूले आईतबार मुकुन्दपुर क्षेत्रका गर्भवती महिलालाई पोषिलो आहार वितरण गरि कार्यक्रमको शुभारम्भ गरेको छ ।

पहिलो चरणमा ९० दिन पुगेका गर्भवती महिलालाई शेयर सदस्यहरुलाई पोषिलो आहार अन्र्तगत एक क्रेट अण्डा उपलब्ध गराएको छ । अण्डा खान नमिल्नेहरुका लागि फलफुल र घ्यू उपलब्ध गराएको छ । दोस्रो चरणमा १८० दिन पुगेपछि पुनः पोषिलो आहार उपलब्ध गराईनेछ ।

तेस्रो चरणमा गर्भवती भईसकेपछि सदस्यको घरमा नै पुगि सुत्केरी भेटघाट तथा भोटोटोपी, घ्यू र १ हजार नगद उपलब्ध गराउने गरेको छ । साथै आवाश्यकता परेमा वा कुनै उपचार गर्नुपरेमा र्निब्याजी ५० हजार ऋण उपलब्ध गराउने विकूका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

मुकुन्दपुर खानेपानी संस्थाको सभाहलमा कार्यक्रमको शुभारम्भ गर्दै गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले नगर क्षेत्रका कोही पनि महिलालाई कुनै अभाव हुन नदिने बताउनुभयो । विकूको यस कार्यक्रमले गर्भवति महिलालाई अझै सहज हुने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकामा सञ्चालित सुआहारा कार्यक्रम, स्थानीय तहमा ४ पटकसम्म चेकजाँच गराएमा हरेक गर्भवतीलाई ८०० रुपैयाँ, सुत्केरी भएपछि सरकारबाट पाईने १ हजार र नगरपालिकाको तर्फबाट थप ३ हजार उपलब्ध गराईने गरेको उहाँले बताउनुभयो । त्यसमाथी विकूले प्रदान गर्ने यस खालको सुविधाले नगरकै स्वास्थ्य अवस्थामा परिवर्तन आउने बताउदै आगामी दिनमा यस्ता खालका कार्यक्रममा सहकार्य गरेर अगाडि बढने बताउनुभयो ।

विकूका संस्थापक अध्यक्ष खेमराज सापकोटाले स्वास्थ्य अत्यन्तै संवेदनशिल कुरा रहेको उल्लेख गर्दै बाल मृत्यु दर र मातृ मृत्युदर कम गर्न सघाउ पुग्ने बताउनुभयो । स्वस्थ नागरिक राज्यको दायित्व रहेको बताउँदै सो कार्यमा विकूले अगुवाई गरेको बताउनुभयो । गैँडाकोट नगर स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत ईन्द्रराज शर्माले सरकारले स्वास्थ्य सम्बन्धी अत्यधिक कार्यक्रम गरेपनि त्यो अपुग रहेको अवस्थामा विकूको पोषिलो आहार वितरण कार्यक्रम नगरपालिकाको लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

संस्थाका लेखा सुपरीवेक्षक समिति संयोजक कमल सुवेदीले यस कार्यक्रमले गर्भावस्थामा स्वस्थ रहन मद्दत पुर्याउँदै गर्भधारणको अवधिलाई सुखद् बनाउन सहयोग पुग्ने बताउनुभयो । गैँडाकोट १३ का वडा अध्यक्ष पदमलाल पौडेलले विकूका कार्यक्रम र स्वास्थ्य सम्बन्धी कार्यक्रमको प्रशंसा गर्दै बढि भन्दा बढि लाभ लिन आग्रह गर्नुभयो । गर्भवतीको तर्फबाट बोल्दै गैँडाकोट १३ की शिला पौडेलले सम्पूर्ण गर्भवती महिलाको तर्फबाट विकूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

कार्यक्रमका अध्यक्ष एवं विकूका अध्यक्ष ओमप्रसाद सापकोटाले विकूले गर्भदेखी स्वर्गसम्मका कार्यक्रम सञ्चालन गरिरहेको जनाउँदै कार्यक्षेत्रका हरेक महिलाको गर्भको भ्रुण विकूको सम्पत्ती हो भन्दै त्यसको सुरक्षाको जिम्मेवारी विकूले लिने बताउनुभयो ।

कार्यक्रममा गैँडाकोट ११ का वडा अध्यक्ष गोविन्दप्रसाद सुवेदी, १० का वडा अध्यक्ष देविदत्त कंडेल, विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाका उपाध्यक्ष रामहरी शर्मा, मुकुन्दपुर खानेपानी संस्थाका अध्यक्ष शेषकान्त देवकोटा, भेडाबारी सामुदायिक वनका अध्यक्ष गुरुप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत गर्दै विकूका उपाध्यक्ष यमुनाथ आचार्यले पोषिलो आहार आफ्नो र बच्चाको स्याहारका लागि आवश्यक छ भन्ने सन्देश प्रवाह गर्नका लागि पनि यो कार्यक्रम गरिएको बताउनुभयो । आईतबार गैँडाकोट १०, ११, १२ र १३ का १३० भन्दा वढि गर्भवती महिलालाई पोषिलो आहार वितरण गरिएको हो । हाल विकू बचत तथा ऋण सहकारी संस्था लि. ले १९ वटा सेवा केन्द्र मार्फत करिब ९० हजार शेयर सदस्यलाई सेवा दिदैै आईरहेको छ ।

अभिलेख

लोकप्रिय