३० श्रावण २०७७, शुक्रबार

सहकारीमार्फत आन्तरिक पर्यटन प्रवर्द्धन

११ असार २०७७, बिहीबार
सहकारीमार्फत आन्तरिक पर्यटन प्रवर्द्धन

काजी श्रेष्ठ

नवलपरासीको गैंडाकोट स्थित विकू बचत तथा ऋण सहकारी संस्थामा गत वर्ष २ सय ९६ सहकारी संस्थाका करिब १४ हजार सहकारीकर्मी तथा सदस्य अध्ययन अवलोकनका लागि पुगे । उनीहरु सहकारी संस्थाको अवलोकनसँगै सौरहा, देवघाट, सिजि घाम लगायत पर्यटकीय स्थलमा समेत घुम्न पुगे । त्यस्तै पोखरामा रहेको पोखरा रोयल बचत तथा ऋण सहकारीमा बार्षिक ५० देखि ६० वटा सहकारी संस्थाका प्रतिनिधि पुग्ने गर्दछन् । त्यस्तै बागलुङमा रहेको सिवाईसी बचत तथा ऋण सहकारीमा गत वर्ष ६ हजार जना पुगेका थिए । यी त उदाहारण मात्र हुन् । देशभरका सहकारीहरुमा सहकारीका प्रतिनिधिहरु पुगेर सिकाई, अनुभव र अभ्यास साटासाट गर्ने लहर नै छ । यो प्रक्रिया हरेक वर्ष चल्दछ ।

देभरभर ३४ हजार ८ सय ३४ सहकारीमा ६५ लाख ४ सय ६० जना आवद्ध भएका छन् । सहकारी संस्थाहरुले गरेको उत्कृष्ठ कामको सिकाईको लागि वार्षिक लाखौं संख्यामा सहकारीकर्मी विभिन्न जिल्लामा रहेका सहकारीमा पुग्ने गर्दछ । जसले गर्दा सिकाई, अनुभव र अभ्यास साटासाट हुनुको साथै आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत ठूलो मद्दत पुगेको छ । सहकारी संस्थामा अध्ययन, अवलोकनमा पुग्दै गर्दा यातायात क्षेत्र, होटल व्यवसाय, पर्यटकीय स्थल लगायतका क्षेत्रमा प्रत्यक्ष फाईदा पुग्दछ । नेपालमा पर्यटन सहकारीहरु पनि छन् तर न्यून संख्यामा । समग्र सहकारी क्षेत्रबाटै पनि आन्तरिक पर्यटन प्रवद्र्धनमा सहकारी क्षेत्रको ठुलो उपलब्धी हासिल गरेको छ । यति मात्र नभै सहकारी संस्थाका प्रायः तालिम तथा कार्यक्रमहरु प्नि जिल्ला बाहिर हुने गर्दछ । सहकारीले जिल्ला बाहिर गएर कार्यक्रमहरु गर्दा त्यस ठाउँको प्रचार प्रसार हुनुका साथै होटलहरुको व्यवसाय बृद्धि भएको छ ।

सञ्चार बचत तथा ऋण सहकारी संस्था लिमिटेड न्युरोड पोखराको टोली अध्ययन अवलोकन भ्रमणमा : फाईल फोटो

सहकारी अवलोकन भ्रमणका लागि काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, पोखरा, बागलुङ, कपिलबस्तु, रुपन्देही, दोलखा, इलाम, झापा, चितवन, नवलपरासी लगायतका जिल्लाहरु हुन् । यी जिल्लामा नियमित यस्ता कार्यक्रम भईरहेका हुन्छन् । यी जिल्लाका सहकारी रोजाईमा पर्नुको कारण हो उत्कृष्ठ सहकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ब्राण्ड प्राप्त गर्न सफल, पर्यकीय स्थल र धार्मिक स्थल । जसले गर्दा लाखौं संख्यामा सहकारीकर्मी र सदस्य त्यहाँ पुग्ने गर्दछन् । अहिले भईरहेको प्रयासलाई योजनावद्ध ढंगले गर्ने हो भने सहकारीमार्फत आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुर्याउन सकिने सहकारीकर्मीहरुको भनाई छ ।

राज्यको समेत फोकस भएको पर्यटन क्षेत्रमा सहकारी संघ÷संस्थामार्फत धेरै काम गर्न सकिने राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले बताउनुभयो । नेपाल सानो मुलुक भए पनि पर्यटकीय सम्भावना धेरै रहेको र यस क्षेत्रमा सहकारीलाई जोड्न ६३ औं राष्ट्रिय सहकारी दिवसको नारा नै पर्यटनसँग जोडिएको उहाँको भनाई छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन सहकारीमार्फत हुँदै आएको समेत उहाँको भनाई छ । विशेष गरी आन्तरिक पर्यटन प्रवद्र्धनमा सहकारीले प्रत्यक्ष अप्रत्यक्ष रुपमा भूमिका खेल्दै आएको कडेलको भनाई छ । ‘सहकारी क्षेत्रले पर्यटनलाई आर्कषण गर्ने खालको काम गर्न सक्दछन्’, अध्यक्ष कडेलले भन्नुभयो । होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस, होम स्टे सहकारीले सञ्चालन गर्न सकिने समेत उहाँले बताउनुभयो । पर्यटकीय स्थलहरुको समेत संरक्षण, व्यवस्थापनमा सहकारी क्षेत्रले काम गर्न सकिने उहाँको भनाई छ ।

कोलपातन बचत तथा ऋण सहकारी, पोखरा र सुभम् बचत तथा ऋण सहकारी, पोखराको टोलीले बेनीबजार स्थित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको स्थलगत अवलोकन भ्रमण : फाईल फोटो/२०७३

नेपालकै उत्कृष्ठ सहकारीको रुपमा परिचत वलपरासी स्थित विकू साकोसका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलका अनुसार विकू अवलोकनमा आउने सहकारीकर्मी तथा सदस्यहरुबाटै पनि आन्तरिक पर्यटन प्रवद्र्धन भईरहेको बताउनुहुन्छ । ‘विकू आउने सम्पूर्णलाई नजिकको पर्यटकीय स्थल घुम्नको लागि रिफर गर्दछौं’, उहाँले भन्नुभयो, ‘विकू आउने प्रायः आगन्तुक सौरहा, देवघाट, सिजी धाम पुग्ने गर्दछन् ।’ विकूले प्रर्यटन क्षेत्रका व्यवसायहरुमा समेत लगानी गर्दै आएको पौडेल बताउनुहुन्छ । बचत ऋण सहकारी संस्थाले पनि पर्यटकीय स्थलको बारेमा सदस्यलाई जानकारी, होर्डिङ बोर्डमार्फत जानकारी, स्थानीय निकायसँग मिलेर पर्यटकीय स्थलको पहिचान र प्रर्वद्धन, कर्जा प्रवाह गर्न सकिने उहाँको भनाई छ ।

पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ यस्ता कामलाई ‘सहकारी पर्यटन’ भन्न रुचाउनुहुन्छ । पोखराको पर्यटन प्रवद्र्धनमा सहकारी क्षेत्रको पनि महत्वपूर्ण भूमिका रहेको उहाँको भनाई छ । एउटा सहकारीमा भएको राम्रो कामको अनुषण हुनुका साथै आन्तरिक पर्यटन प्रवद्र्धन प्रत्यक्ष रुपमा सहकारीको माध्यमबाट भएको गुरुङ बताउनुहुन्छ । ‘हाम्रो संस्थामा आउने सबै सहकारीकर्मी पोखराको पर्यटकीय स्थल पुग्नुहुन्छ । होटलमा बस्तुहुन्छ । आफ्नो आफन्तलाई उपहार किन्नुहुन्छ’, गुरुङ भन्नुहुन्छ, ‘जसले गर्दा पर्यटन क्षेत्रमा उल्लेख्य मात्रमा टेवा पुगेको छ ।’ संस्थाका सदस्य दिदिबहिनीहरुले ‘रोयल किचन’ रेष्टुरेन्ट सञ्चालन गर्नुभएको उहाँको भनाई छ । रेष्टुरेन्टले पनि पर्यटन प्रवद्र्धन हुँदै आएको उहाँको भनाई छ । विशेषगरी सहकारी–सहकारी मिलेर पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण काम गर्न सकिने उहाँको धारणा रहेको छ । पोखरामा पर्यटन सहकारी रहेको र आफ्नो विषयमा भने काम हुन नसेको उहाँको भनाई छ ।

सहकारीको माध्यमबाट बागलुङको आन्तिरिक पर्यटन प्रवद्र्धनमा उल्लेख्य भूमिका खेलेको सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल बताउनुहुन्छ । सिवाईसी आइपुग्ने सहकारीकर्मी बागलुङ कालिका, पञ्चकोट अनिवार्य पुग्ने गरेको उहाँ बताउनुहुन्छ । बागलुङका होटल व्यवसायमा पनि यस्ता कार्यक्रमको प्रत्यक्ष फाइदा पुगेको उहाँको भनाई छ ।

बहुउद्देश्यीय सहकारीहरुले प्रयर्वन प्रर्वद्धनमा टेवा पुग्ने खालको काम गर्न सकिन्छ । बहुउद्देश्यीय प्रकृतिका काममा एउटा प्रकृति पर्यटन हुन सक्दछ । आन्तरिक पर्यटन प्रवद्र्धनमा आधारित व्यवसाय सञ्चालन गर्ने एउटा अवसर पनि हुन सक्दछ । सहकारी क्षेत्रले होमस्टे सञ्चालन गर्न सक्दछ । संस्था आफैले पनि सञ्चालन गर्न सक्दछन् भने सदस्यहरुलाई पनि यस क्षेत्रमा संलग्न गराउन सकिन्छ । त्यस्तै होटल, रेष्टुरेन्ट, खाजा घर, सुविधा सम्पन्न तालिम हल पनि सहकारीले सञ्चालन गर्न सक्दछन् । त्यस्तै कोशेली घर, यातायात, साँस्कृतिक कार्यक्रम तथा पर्यटकिय क्षेत्रको जानकारी पनि सहकारी बाटै गर्न सकिन्छ ।

 

अभिलेख

लोकप्रिय