३० श्रावण २०७७, शुक्रबार

नेफ्स्कूनका सिइओ शिवजीको ५ वर्षे कार्यकाल सकिदैं

६ असार २०७७, शनिबार
नेफ्स्कूनका सिइओ शिवजीको ५ वर्षे कार्यकाल सकिदैं

पुनरावृत्तिको सम्भावना कति ?

सहकारी खबर टीम

काठमाडौं, ६ असार

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.(नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवजी सापकोटाको ५ वर्षे कार्यकाल यही महिना सकिदैछ । २०६३ सालमा कर्मचारीको रुपमा नेफ्स्कून प्रवेश गर्नुभएका उहाँले विभिन्न भूमिका हुँदै २०७२ सालदेखि वित्तीय सहकारीको एक मात्र छाता संघको व्यवस्थापकीय नेतृत्व सम्हाल्नुभएको हो ।

नेफ्स्कूनलाई आजको बलिष्ठ स्थितिमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने कैलाशभक्त प्रधानाङ्ग, मीनराज कँडेल, ऋषिराज घिमिरे, डीबी बस्नेत हुँदै वर्तमान अध्यक्ष परितोष् पौड्यालसँग अत्यन्त नजिक रहेर काम गर्ने अवसर प्राप्त गर्नुलाई अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि ठान्नहुन्छ सापकोटा । ‘यो साँच्चिकै अभूतपूर्व अवसर मिल्यो । यी दिग्गजहरुसँगको सामिप्यले मेरो दक्षता र क्षमता अभिवृद्धिमा सकारात्मक उर्जा प्राप्त भयो जसले नेफ्स्कूनलाई नमूना संघ बनाउन मद्दत गर्यो ।’

अभियानको उच्च नेतृत्व मात्र होइन, नेफ्स्कूनको सञ्जालभित्र समाहित विभिन्न प्रारम्भिक संस्थाका व्यवस्थापन प्रमुखहरु समेत संघको प्रमुख कार्यकारी अधिकृतमा सापकोटाको पुनरावत्ति निश्चित प्रायः रहेको धारणा राख्छन् । ‘मैले आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिका पूरा गर्न कुनै कञ्जुस्याइँ गरेको छैन । मन, वचन र कर्मले सधै सहकारी पूजक रहँदै आएको म नेफ्स्कूनलाई पवित्र मन्दिर ठान्ने व्यक्ति हुँ । बाँकी मेरो कामको मुल्याङ्कन गर्ने जिम्मा नेतृत्व र अभियानको हो । जुन दिनसम्म यो भूमिकामा छु, यसप्रति पूर्ण न्याय गर्न कुनै कसर बाँकी राख्दिनँ ।’
सरल र स्पष्टवक्ता सापकोटाको सहकारी यात्रारम्भ २०५४ सालबाट भएको हो । काभ्रेको पनौतीस्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाबाट सेयर सदस्यको रुपमा सहकारी प्रवेश गर्नुभएका उहाँ २०५७ सालमा सोही संस्थाको लेखा समिति सदस्य बन्नुभयो ।

नेफ्स्कून नेतृत्वको क्रममा उहाँले सहकारी क्षेत्रमा प्राविधिकीकरण, नीति निर्माण, जनशक्तिको क्षमता अभिवृद्धि, व्यवस्थापकीय सुधार र दुर्गम जिल्लाका अनौपचारिक बचत समूहहरुलाई सहकारीमा सामेल गराउने मात्र होइन तिनलाई जिल्ला एवम् केन्द्रीय सञ्जालहरुमा आबद्ध गर्ने काममा अहम् योगदान पुर्याउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालका करिब ६० जिल्लामा सहकारी सम्बन्धी ज्ञान, सीप र धारणाहरुलाई प्रचारप्रसार र सहजीकरणमा भूमिका खेले भन्ने लाग्छ ।’

नेपालमा २०६९ सालबाट पहिलो पटक सुरु गरिएको साकोस शिखर गोष्ठीले ५ वर्ष निरन्तरता पायो । ‘यो आफैमा इतिहास हो, सापकोटाले भन्नुभयो, ‘नेतृत्व एवं व्यवस्थापन गरी करिब ६ सय सहकारीकर्मीहरुको महाकुम्भमा भएको स्वदेशी र विदेशी विषय विज्ञहरुको प्रस्तुतीकरणमाथिको सघन छलफलको निचोड समस्त सहकारी क्षेत्रकै लागि कोशेढुङ्गो सावित भएको जगजाहेर छ ।’
संघको स्थायित्व र दिगोपनाका लागि मीनभवन बानेश्वरमा करिब एक रोपनी दुई आना क्षेत्रफलको भवन खरिद, सहकारी क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि आवासीय तालिम केन्द्र निर्माणको उद्देश्यले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१२ मा करिब २० रोपनी जग्गा खरिद गरी भवन निर्माणको डिजाइन र इस्टिमेट तयारी जस्ता कामसँग व्यबस्थापकीय भूमिकाका साथ जोडिन पाउनु गौरबको विषय भएको सापकोटाको दाबी छ । ‘नेफ्स्कूनको अर्को महत्वपूर्ण सफलता भनेको २०७५ सालमा विश्व ऋण परिषद्को प्रत्यक्ष सदस्यता प्राप्त गर्नु हो । यसले नेपालको बचत तथा ऋण सहकारी अभियानलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन सफल भएको छ । यस पुनीत कार्यमा जोडिन पाउनु जस्तो सुखानूभूति सायदै भएको छ मलाई’ सापकोटा बताउनुहुन्छ ।

विश्वमा बचत तथा ऋण सहकारीहरु नीति, विधि र प्रविधिमा एकरुपताका साथ सञ्चालनबाट सञ्चालित हुनुपर्छ, वित्तीय सहकारीहरुको सञ्जाल व्यवस्थापन केन्द्रीय संघले गर्नुपर्छ भन्ने परिकल्पनाको सञ्जाल व्यवस्थापन रणनीति २०७१ देखि लिँदै एसियाका बचत तथा ऋण सहकारीहरुमा स्तरीकरण र स्थिरीकरणमा नेपालको अभियानलाई दक्षिण कोरियापछि दोस्रो स्थानमा पुर्याउन समेत सापकोटा नेतृत्वको यवस्थापकीय कार्यकाल सफल भएको मानिन्छ ।

सापकोटाकै कार्यकालमा नेफ्स्कूनको वित्तीय सक्षमताले उल्लेख्य छलाङ मारेको छ । संघको सम्पत्ति २.९ अर्बबाट १३ अर्ब उकालो लागेको छ भने ११ वटामा सीमित फिल्ड कार्यालयको सख्ंया थपिएर हाल २७ वटामा विस्तारित भएको छ । त्यस्तै, २ हजार २ सय ८० सदस्य संख्या पनि बढेर ३ हजार ९ सय पुर्याउन उहाँको कम कसरत गर्नुभएन ।

जनशक्तिका हिसाबले पनि ४५ जना कर्मचारीको नेतृत्व गर्नुभएका सापकोटाको परिवारका सदस्य बढेर अहिले १ सय ५७ जना पुगेका छन् सदस्य संस्थाहरुमा जोखिम सुपरीवेक्षण एवम् गुणस्तर सुनिश्चितता कार्यक्रममार्फत एक हजार संस्थाहरुको प्रत्यक्ष अनुगमनको संयन्त्र निर्माण गरिनुलाई उहाँको कार्यकालको अर्को उपलब्धि मान्नुपर्छ ।

संघमा मानव स्रोत व्यवस्थापनका लागि प्रशासन तथा स्रोत केन्द्र, व्यवसाय र सदस्य सेवा गरी चार वटा बृहत् उद्देश्यका विभागीय संरचनाहरु कायम छन् भने मागमा आधारित सेवालाई विकेन्द्रिकृत र समयसापेक्ष बनाउने चुस्त व्यबस्था मिलाइएको सापकोटा बताउनुहुन्छ ।
हालै मात्र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सहकारी व्यवस्थापक, सदस्य सहायता/खजाञ्ची र बचत एवं ऋण परिचालनको कोर्स तयारी गरी सीपमुलक तालिमहरु सञ्चालन गर्ने सम्बन्धन समेत नेफ्स्कूनले पाइसकेको छ ।

सहकारी ऐन २०७४ मार्फत बचत तथा ऋण सहकारीहरुका लागि स्थिरीकरण कोषको व्यवस्थापनको जिम्मेवारी पाए अनुरुप संघका सदस्य संघ/संस्थाहरुलाई स्थिरीकरण कोषमा आबद्ध गराई सम्भावित जोखिमको व्यबस्थापनमा संलग्न गराउने पहलकदमी र बचत तथा ऋण सहकारीको असल अभ्यासमार्फत समुदायका व्यक्तिहरुको जीवनस्तर परिवर्तनको सम्भावनालाई अन्तर्राष्ट्रिय जगतमा एक सयभन्दा बढी तालिम तथा गोष्ठीहरुमार्फत प्रमुख कार्यकारी अधिकृत सापकोटाले उजागर गरिसक्नुभएको छ ।

जीवनका उर्जावान् २३ वसन्त सहकारी क्षेत्रमा ज्ञान, सीप र क्षमता बाँड्न खर्चिनुभएका सापकोटाले सहकारी नेतृत्व र व्यवस्थापनका लागि उपयोगी सयौं लेखहरु, प्रस्तुतीकरणहरु र विषयवस्तु सहजीकरण गर्नुभएको छ भने पछिल्लो १ वर्षबीचमा दुई वटा कृति पनि पस्कनुभएको छ । वित्तीय सहकारीको प्रवद्र्धन, विकास, व्यावसायीकरण, गुणस्तर सुनिश्चितता र सञ्जाल व्यवस्थापनमा बितेको सापकोटाको पाँच वर्षे कार्यकालको नेपालको समग्र सहकारी अभियानले उच्च मूल्याङ्कन गरेको मात्र छैन उहाँबाट थप सक्रिय निरन्तरताका साथ ठूलो अपेक्षा समेत राखेको छ ।

यही असारमा कार्यकाल पूरा गर्न लाग्नुभएका सापकोटा पुनः अर्को कार्यकालका लागि दोहोरिने प्रबल सम्भावना रहेको बुझिएको छ ।

अभिलेख

लोकप्रिय