१० कार्तिक २०७८, बुधबार

कोरोनाले अर्थतन्तमा पार्न सक्ने सम्भावित प्रभाव

१८ चैत्र २०७६, मंगलवार
कोरोनाले अर्थतन्तमा पार्न सक्ने सम्भावित प्रभाव

डा. ज्ञानेन्द्र प्रसाद पौडेल

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण र त्यसलाई नियन्त्रण गर्नका लागि घोषणा गरिएको लकडाउनका कारण विश्व अर्थतन्त्र नै धरासायी हुने अवस्थामा पुगेको छ । कोरोनाको उद्गमस्थलको रुपमा रहेको चिन यस महामारीबाट भरखरै तंग्रिन खोज्दैछ भने शुरुमा चीनलाई खिशीटिउरी गर्ने युरोप र अमेरिका लगायतका पश्चिमा राष्ट्रहरु कोरोनाको महामारीबाट प्रताडित भएका छन् । त्यतिमात्र होईन एसिया, अफ्रिका लगायत बाँकी विश्वका राष्ट्रहरु समेत कोरोनको यस महामारीबाट त्रसित बनी राखेका छन् ।

अर्थशास्त्रिय सिद्दान्त अनुसार बजार सन्तुलनको लागि माग र पूर्तिमा सन्तुलन कायम हुनु पर्दछ, तर अहिलेको अवस्थाले माग र पूर्तिको सन्तुलनमा समेत ठुलो उथल पुथल आईरहेको छ । विश्व बजारमा पहुँचको हिसाबले हेर्दा ठुलो परिमाणमा बस्तु र सेवाको उत्पादन गरेर पैठारी गर्न सक्ने हैसियत भएका राष्ट्रहरु चिन, युरोप र अमेरिका कोरोनाको महामारीमा रुमलिई राखेको अवस्था छ भने अस्ट्रेलिया, जापान, भारत, रुस जस्ता ठुलो परिमाणमा वस्तु र सेवाको उत्पादन गरी आपूर्ति गर्न सक्ने राष्ट्रहरु समेत उत्पादनलाई निरन्तरता दिन सक्ने अवस्थामा छैनन् । यसबाट वस्तु तथा सेवाको उत्पादनमा कमी आएर विश्व बजारमा समग्र आपूर्ति प्रणालीमा नै समस्या आउने कुरामा दुई मत छैन ।

अहिले विश्व बजारमा कोरोनाको संक्रमण रोक्नका लागि प्रयोग गरिने व्यक्तिगत सुरक्षण सामाग्रीहरु, दैनिक उपभोग्य सामाग्रीहरु र दुरसञ्चार सेवा लगायत केही सिमित वस्तु र सेवा बाहेक अन्य वस्तु र सेवाको कारोबारमा मन्दीको अवस्था रहेको छ । त्यसो त स्वास्थाकर्मीहरुले प्रयोग गर्ने व्यक्तिगत सुरक्षण उपकरणहरु सेनिटाईजर, मास्क, ट्वाइलेट पेपर लगायतका वस्तुको अभाब सँगै एक खालको कारोबजारी समेत देखिएको अबस्था छ । लगभग सबै मुलुकहरूमा लक डाउनको अवस्था भएको हुनाले यातायात, पर्यटन, होटेल तथा रेष्टुँरा जस्ता क्षेत्रहरु करिब करिब बन्दको अबस्थामा रहेका छन् । कोरोनाको सक्रमण थप नफैलिओस् भनेर निश्चित सामाजिक दुरी कायम राख्ने र क्वारेन्टाइनका मापदण्डहरू पुरा गर्नुपर्ने बाध्यतामा सिंगो मानव समुदाय रहेको छ । विश्व भरिका पुँजि बजारमा गिरावट आईरहेको छ भने अल्पकालिन रुपमा कतिपय शेयर बजार बन्द समेत गरिएको छ । यो समग्र परिस्थितिमा बान्छित सुधार नहोउन्जेल सम्म विश्व बजारमा समग्र मागको आकार बढ्न सक्ने अवस्था देखिदैंन ।

विश्व बजारमा समग्र माग र पूर्ति दुबैमा गिरावट आईरहेको र यो क्रम अझै बढ्न सक्ने देखिएको हुनाले यसले अर्थतन्त्रलाई दुरगामी रुपमा नकारात्मक प्रभाब पार्दछ । यसबाट रोजगारीका नयाँ अवसरहरुको सिर्जना नहुने कुरा त छैदैछ भैरहेको रोजगारी समेत गुम्दै गैरहेको अवस्था छ ।

कोरोना भाईरसले निम्त्याएको यो संकटसँग जुध्नको लागि र अर्थतन्त्रमा देखिएका यस्ता नकारात्मक असर र प्रभावलाई न्यूनीकरण गर्नका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैंक, एशियाली बिकास बैंक र सम्बन्धित राष्ट्रका केन्द्रीय बैंकहरुले आर्थिक सहायता योजना अगाडी ल्याएका छन् । आईएमएफकी प्रमुख क्रिस्टालिना जोर्जिएभाले भने जस्तै विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेश गरिसकेको र यो मन्दी सन् २००८ मा देखिएको मन्दीभन्दा पनि अझै भयाबह हुने भन्ने कुरामा बिश्वास गर्न सकिन्छ । यो अवस्थाबाट पार पाउन बिकसित मुलुकले अझै धेरै आर्थिक सहायता गर्नुपर्ने र बजारलाई सन्तुलनमा ल्याउनका लागि ठुलो परिमाणमा सहयोग रकम आवश्यक रहने कुरामा दुई मत छैन । आईएमएफले न्युन आय भएका सदस्य राष्ट्रहरुलाई आपतकालीन वित्तीय सहयोगका लागि ५० बिलियन अमेरिकी डलर सम्मको रकम कोरोना जस्ता महामारीसँग जुध्नको लागि लगानी गर्ने कुरा उल्लेख गरेको छ । त्यसैगरि विश्व बैंकले तत्कालका लागि १२ बिलियन अमेरिकी डलर बराबरको रकम विकासोन्मुख राष्ट्रहरुको स्वास्थ सेवा, रोगहरुको निगरानी, मेडिकल उपकरणको सहज उपलब्धता र ब्यबसायको चालु पुँजीका लागि उपलब्ध गराउने कुरा बताएको छ ।

विकसित मुलुकहरूको सङ्गठन (ओइसीडी) ले सन् २०१९ मा विश्वको कुल गार्हस्थ उत्पादन (जिडिपि) वृद्धि २.९ प्रतिशत रहेकोमा सन् २०२० मा गएर यो वृद्धि २.४ प्रतिशतमा सिमित रहने अनुमान यस अघिनै गरि सकेको थियो । नयाँ वर्षको पहिलो त्रैमास सकिँदाको अवस्था हेर्ने हो भने यो वृद्धि हासिल हुने कुरामा आशंका उत्पन्न भएको छ । इन्स्टिच्युट अफ इन्टरनेशनल फाइनान्सले त अब विश्वको आर्थिक वृद्धिदर १ प्रतिशत मात्रै रहने प्रक्षेपण गरि सकेको छ । जुन सन् २००८ को आर्थिक वृद्धि भन्दा पनि न्युन अबस्था हो ।

बेरोजगारीको समस्या बढ्दो क्रममा रहेको छ भने दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्नेहरुको जीवनस्तर अत्यन्तै कष्टकर बन्न पुगेको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले कोरोनाका कारण विश्वभर २ करोड ५० लाख भन्दा बढी मानिसले रोजगारी गुमाउने अनुमान सार्वजनिक गरिसकेको छ । मुडिज ईन्भेस्टरस् सर्भिसले भारतको सन् २०२० को जिडिपिको वृद्धिदर पहिले अनुमान गरिएको ५.३ बाट घटेर २.५ प्रतिशत मा सिमित हुने कुरा उल्लेख गरेको छ । त्यसैगरी एशियाली बिकास बैंकले कोरोनाको प्रभावको कारण चीनको आर्थिक वृद्धिदरमा ०.३ देखि १.७ प्रतिशतसम्म र एशियाका विकासोन्मुख राष्ट्रहरुको वृद्धिदरमा ०.२ देखि ०.५ प्रतिशत सम्मले संकुचन आउने कुरा उल्लेख गरेको छ भने विश्व अर्थतन्त्रमा ०.१ प्रतिशत अथवा ७७ बिलियन अमेरिकी डलर देखि ०.४ प्रतिशत अथवा ३४७ बिलियन अमेरिकी डलर सम्मको संकुचन आउन सक्ने आंकलन गरेको छ । साथै बैंकले विकासोन्मुख सदस्य राष्ट्रहरुलाई नोवेल कोरोना भाईरसको महामारीसँग लड्नका लागि ६.५ बिलियन अमेरिकी डलर बराबरको रकम सुरुवाती प्याकेजको रुपमा घोषणा समेत गरि सकेको छ ।

नेपाल पनि कोरोना भाईरसको महामारीबाट अछुतो छैन । नेपालमा हालसम्म परिक्षण भएका झन्डै ९०० व्यक्तिहरु मध्ये ५ जनालाई कोरोना भाईरस संक्रमण भएको कुरा पुष्टि भैसकेको छ भने संक्रमित पाँचै जना विदेश बाट नेपाल भित्रिएको र एक जनाको उपचार पछि निको भै घर फर्किसकेको अवस्था छ । उनीहरु जस्तै विदेशबाट नेपाल भित्रिने नेपालीको संख्या उल्लेख्य रहेको र ती मध्ये धेरै जसोले क्वारेन्टाइनमा बस्नुपर्ने सामान्य नियमको समेत पालना नगरेकोले धेरै व्यक्तिहरुमा यो भाईरस संक्रमण भएको छ कि ? भन्ने आशंका आम रुपमा रहेको छ । उनीहरुसँग सम्पर्कमा आएका थुप्रै व्यक्तिहरुको स्वाब परिक्षण हुन नसकेकोले पनि आम नेपालीहरुमा त्रासको अवस्था बिद्यमान रहेको छ । यसै परिप्रेक्ष्यमा नेपालले पनि कोरोना भाइरसको महामारी बाट बच्नका लागि सर्ट डाउनको घोषणा गरिसकेको अवस्था छ ।

कोरोनाको प्रभावले नेपालको होटेल, रेष्टुराँ, उत्पादन क्षेत्र, निर्माण क्षेत्र, यातायात, ब्यापार–व्यवसाय लगायत धेरै क्षेत्रमा प्रभाब पर्ने आंकलन एशियाली बिकास बैंकले गरेको छ । उसले कोरोना भाइरसको कारण नेपालको अर्थतन्त्रले ३६.७८ मिलियन अमेरिकी डलर बराबरको घाटा व्यहोर्नुपर्ने र जिडिपिमा ०.१३ सम्मले कमी आउन सक्ने कुरा उल्लेख गरेको छ । यसलाई अझ प्रष्ट पार्दै बैंकले कोरोनाको प्रभाब न्युनतम पर्दा ०.०४ प्रतिशत अथवा १२.१२ मिलियन अमेरिकी डलर, सामान्य पर्दा ०.०६ प्रतिशत अथवा १८.३ प्रतिशत मिलियन अमेरिकी डलर र बढी पर्दा (खराब अवस्था आएमा) ०.१३ प्रतिशत अथवा ३६.७८ मिलियन अमेरिकी डलर ले अर्थतन्त्रमा संकुचन आउने कुरा उल्लेख गरेको छ । बैंकले यो सबै अनुमान सन् २०१८ को नेपालको कुल गार्हस्थ उत्पादन जिडिपि २९ बिलियन अमेरिकी डलर मानेर गरेको कुरा उल्लेख गरेको छ । त्यसैगरि एसियाली विकास बैंकले कोरोनाको महामारीको कारण होटेल तथा रेष्टुरेन्ट व्यवसायमा ०.०३ अथवा ८ मिलियन अमेरिकी डलर देखि ०.८ अथवा २४.०७ मिलियन अमेरिकी डलर सम्मले संकुचन आउने कुरा उल्लेख गर्दै सबै क्षेत्रमा गरेर ५२१० देखि १५,८८० जना व्यक्तिले रोजगारी गुमाउने खतरा रहेको कुरा समेत ब्यक्त गरेकोछ । यी सबै प्रक्षेपणहरु र सरकारले गरेको सर्ट डाउनको कारण अर्थतन्त्रका प्रयास सबै क्षेत्रमा नकारात्मक असर परिसकेको छ र यो जति छिटो नियन्त्रणमा आउँछ त्यसको आधारमा क्षतिको न्यूनीकरण हुने कुरामा आशाबादी हुन सकिन्छ । अब हेर्नुछ कि सरकारले यो महामारीबाट जनता र अर्थतन्त्रलाई जोगाउनको लागि कस्ता खालका राहत प्याकेज, योजना र नितिहरु अगाडी सार्दछ त्यसैमा नै देशको भबिष्य निर्भर रहन्छ ।

एशियाली बिकास बैंकका प्रमुख अर्थशास्त्री यासुकी सावडाले भने जस्तै यो महामारीले भबिष्य अनिश्चित तुल्याईदिएको छ । यो अवस्था कति लामो समय सम्म रहन्छ भनेर कसैले अनुमान गर्न सक्ने अबस्था अहिलेलाई देखिदैन । त्यसैले पनि अबको मन्दी सन २००८ मा देखा परेको विश्वव्यापी आर्थिक मन्दि भन्दा अझै गम्भीर र चुनौतीपूर्ण हुने कुरामा कुनै द्विविधा रहेन ।

विकासोन्मुख देशहरुले यसबाट पार पाउनका लागि स्वास्थ क्षेत्रमा खर्च बढाउने, सामाजिक सुरक्षाका क्षेत्रमा लगानी वृद्धि गर्ने, निजि क्षेत्रलाई आबश्यकतानुसार सघाउने, महामारी प्रभावितलाई राहत प्याकेज वितरण गर्ने, विपन्न परिबारलाई जिबन यापनमा सघाउने लगायतका उपायहरु अबलम्बन गर्नु उपयुक्त हुने देखिन्छ ।

अभिलेख

लोकप्रिय