२० मंसिर २०७८, सोमबार

सहारा नेपाल सहकारीद्वारा ९३५ सदस्यलाई १ करोड ७ लाख रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण

२४ आश्विन २०७८, आईतवार
सहारा नेपाल सहकारीद्वारा ९३५ सदस्यलाई १ करोड ७ लाख रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण

झापा : सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ९ सय ३५ जनालाई सदस्यलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । संस्थाले सामाजिक सुरक्षा भत्ता अन्तर्गत सदस्यहरुलाई एक करोड सात लाख ४९ हजार रुपैयाँ वितरण गरेको हो ।

कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले विभिन्न छ वटा शीर्षकमा यो वर्ष एकसाथ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको जानकारी दिनुभयो । संस्थाले एकल महिला भत्ता, एकल पुरुष भत्ता, ज्येष्ठ सदस्य भत्ता, पूर्णरुपमा अशक्त र अपांगतालगायतका विधामा सदस्यलाई सम्मान तथा भत्ता बितरण गरेको हो ।

कार्यकारी प्रमुख गिरीका अनुसार एकल महिला भत्ता वापत आठ हजार रुपैयाँका दरले ५९२ जनालाई ४७ लाख ३६ हजार र ५८ वर्ष पूरा गरेका १२ जना एकल पुरुषलाई छ हजार रुपैयाँका दरले ७२ हजार रुपैयाँ वितरण गरिएको छ । यसैगरी, संस्थामा आवद्ध ७० वर्षसम्मका ज्येष्ठ सदस्यलाई आठ हजार र ७१ वर्षदेखि ८५ वर्षसम्मका ज्येष्ठ सदस्यलाई १० हजार रुपैयाँका दरले भत्ता प्रदान गरिएको गिरीले बताउनुभयो । यस्तै, ज्येष्ठ सदस्यहरु ८६ वर्षदखि ९९ वर्षसम्मका सदस्यलाई २५ हजार रुपैयाँ वितरण गरिएको छ । संस्थाले यो वर्ष २ सय ४२ जना ज्येष्ठ सदस्यलाई १६ लाख ७६ हजार रुपैयाँ प्रदान गरेको छ ।

हौसला कार्यक्रम अन्तर्गत पूर्णरुपमा अशक्त र अपांगता भएका नौ जना सदस्यलाई जनही १० हजार रुपैयाँका दरले ९० हजार रुपैयाँ प्रदान गरिएको छ ।

त्यस्तै, दिवंगत भएका सदस्य तथा कर्मचारीको सम्झनामा हरेक दुई–दुई वर्षमा आश्रित परिवारलाई २५ हजार रुपैयाँका दरले पाँच पटकसम्म रकम उपलब्ध गराउने संस्थाको नीति अनुरुप यो पटक ६३ जनालाई १५ लाख ७५ हजार रुपैयाँ प्रदान गरिएको संस्थाका कार्यकारी प्रमुख गिरीले बताउनुभयो ।

संस्थाले परिवार राहत कार्यक्रम अन्तर्गत ७५ वर्ष पुगेपछि स्वयम् सदस्यलाई नै तथा सदस्यको निधन भएका परिवारका सदस्यलाई एक लाखदेखि पाँच लाख रुपैयाँसम्म प्रदान गर्ने नीतिगत व्यवस्था अनुसार यो वर्ष १७ जना शेयर सदस्यहरुलाई २६ लाख रुपैयाँ प्रदान गरिएको छ ।

सोही कार्यक्रमका बीच संस्थाका पूर्वकर्मचारी स्वर्गीय यादव बस्नेतको स्मृतिमा उनको परिवारबाट स्वर्गीय यादव बस्नेत सहारा अक्षयकोषको घोषणा गरिएको छ। अक्षयकोषको राशि १० लाख रुपैयाँ रहेको छ । उक्त अक्षयकोषमा राखिएको रकमको ब्याजबाट घातक रोग लागेर उपचार गर्न नसक्ने विपन्न परिवारका मानिसलाई आर्थिक सहयोग गर्ने कोष संस्थापकको घोषणा छ । सो अक्षयकोषमा संस्थाको तर्फबाट पनि रकम थप गरिने जनाइएको छ ।

उक्त अवसरमा समाजमा ब्याप्त कुरिती, कुसंस्कार तोड्न प्रयत्नशील साहसी महिलाका रुपमा बिर्तामोड–८ की रेणुका नेपाललाई सम्मान गरिएको छ । कुरितीका विरुद्ध आवाज उठाएकोमा एकल महिला रेणुकालाई विशेष सम्मान गरिएको जनाइएको छ ।

बचत तथा ऋण सहकारी संघ १ नम्बर प्रदेश समितिका अध्यक्ष तथा नेफ्स्कूनका सञ्चालक घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

संस्थाका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका उप निर्देशक दिनेशबहादुर निरौलाले गरेका थिए भने सामाजिक सुरक्षा उपसमितिका संयोजक डिल्लीराम सिटौलाले कार्यक्रमको औचित्यबारे प्रष्ट पार्नुभएको थियो ।

अभिलेख

लोकप्रिय