२३ मंसिर २०८१, आईतवार

सहकारी कथा : विश्वासको धागो !

२०७९ वैशाख ६, मङ्गलबार
सहकारी कथा : विश्वासको धागो !

एक हुल महिला दिदिबहिनी एकैनासे सारी चोलोमा चटक्कै सजिएर बाटोमा जाँदै थिए । उनिहरु कुनै समुहको दिदिबहिनी हुन भन्ने लाग्दै थियो । अघि जाँदै गरेको ग्रुपबाट एक महिला रोकिईन र पछाडि फर्केर बोलिन् ।

अनु तिमी यहाँ ? के छ,

मेरो ठिक छ, निता तिम्रो के छ ?

यति राम्री भएर दिदिबहिनीहरु कहाँ जान लागेका ?

हाम्रो सहकारीले सहकारी शिक्षा कार्यक्रम राखेको छ त्यही जान लागेकी !

अनु केही सोचेझै गरेर बोली ! ए हो र…

मलाई पनि जान मन लाग्यो तर के गर्नु त्यहाँ सदस्यहरुलाई मात्र बोलाको होला, म सदस्य पनि छैन ।

ल हिड नजिकै छ जाउँ । म म्यामहरुलाई कुरा गर्छु । मिले बस, केही सिक । नमिले म तिमिलाई भेटेर भनौला ।

दुबै बाटो लागे !

उनीहरु बाल्यकालका साथी थिए । समय र परिस्थितिले सम्बन्धमा बाध्यताको धुलो बसेको थियो भेटघाट पातलो थियो ।

निताले साथीलाई सुनाई : श्रीमान् बिदेशमा बस्ने, छोराछोरी कलेज पढ्ने, आफुले सहकारीबाट ऋण लिएर व्यावसाय सुरु गरेको, सोही कमाईबाट छोराछोरीको खर्च र आफ्नो खर्च टरेको बताईन । श्रीमानले कमाएको पैसा सहकारी मै राखेको र सानो जग्गा किन्ने सोच रहेको बताई ।

अनुले निताको कुरा खुब ध्यान दिएर सुनी । अनि बोली तिमिलाई थाहै छ, मेरो श्रीमानको अकस्मात मृत्युपछि म एक्लो भए ! छोरालाई दुःख गरेर पाले । अहिले उ पनि बिदेश गयो सोचेजस्तो कमाई पनि छैन । म काठमाडौंमा बसेर उसैले पठाएको खर्चले दैनिकी चलाउँछु । कहिले होला प्रगती ! छोराको जिन्दगी बिदेश तिरै बित्ने हो की भन्ने चिन्ता लागेको छ ।

भलाकुसारी गर्दा गर्दै उनीहरु कार्यक्रम हलमा प्रवेश गरे !

निताले सहकारीको अध्यक्षलाई आफ्नो साथीसँग चिनाईन र कार्यक्रममा बस्न चाहेको कुरा बताईन ।

सस्थाकी अध्यक्षले खुसी ब्यक्त गर्दै कार्यक्रममा रहन र संस्थाको सदस्य बनी सहकार्य गर्न प्रेरित गरिन् ।

महिलाहरुलाई कसरी उद्यमी बनाउने ?, कसरी साना व्यवसाय सुरु गर्न सकिन्छ ?, कसरी बजार बुझ्न सकिन्छ ?, सहकारी संस्थाले कसरी आफ्ना सदस्यहरूलाई व्यवसाय गर्न ऋण दिन्छ ?, त्यो ऋणको किस्ता कसरी बुझाउने भन्ने बारे सिकायो । केही सफल महिला उद्यमीहरुका सफलताको कथा सुनाए । उपस्थित सदस्यहरुले आफुलाई लागेका जिज्ञासाहरु सोधपुछ गरे । संस्थाको अध्यक्ष, व्यवस्थापक र सफल व्यवसाय गरेकाहरुले उत्तर दिए ।

त्यो रात अनु निदाउनै सकिन,

भोली बिहान नितालाई फोन गरी सहकारीमा लगिदिन भनिन् ।

अनुलाई काठमाडौंमा टिकिरहनको लागि काम गर्न जरुरी थियो । २० बर्ष नोकरी गरि छोरा हुर्काउन गरेको दुःख मनमा ताजा थियो । सहकारी शिक्षा कार्यक्रममा भाग लिएपछि केही गर्छु भन्ने आट पलाएर आयो ।
आफ्नो पहिचान खुल्ने कागजपत्र सहित निताले दिएको लोकेसनमा पुगिन अनु ।

निताले कुरेर बसेकी थिईन । सहकारीमा पुगे संयोगले अध्यक्षलाई सहकारी कै गेटमा भेटियो ।

अनुले आज नै सदस्य बन्नको लागि आएको बताईन । संस्थाका अध्यक्षले अगाडीको प्रक्रिया बारे सदस्य बन्न निवेदन दिने काउन्टरमा लगि कर्मचारीलाई सहजिकरण गर्न लगाईन र आफू आफ्नो कक्षतिर जाँदै गर्दा बोलिन यहाँ काम सकेर मेरो कक्षमा आउनुहोस् है ।
अध्यक्षको कोठामा प्रवेश गर्दा अनुको मुहारमा एक प्रकारको बेग्लै चमक देखियो ।

उमेरले खारिएकी अनि व्यबहारले तिखारिएकी । समयसँगै आउने उतारचढावमा लड्दै उठ्दै अघि बढ्दै गरेकी जुझारु, मेहनती, खरो, मसिनो दुबै बोल्न जानेकी अध्यक्षले अनुको मुहार केहिबेरमै पढिन् ।

निधारको ठूलो टीका । आँखामा पावरवाला चस्मा । फुलेको कपाल । गोरो अनुहार । ठुला आँखा अनुलाई आफ्नो स्कुलको हेडमिस जस्तै लाग्यो उनी । टेबलमा नेम प्लेट राखिएको थियो । जसमा लेखिएको थियो अध्यक्ष सहनशिला नेपाली ।

अध्यक्ष मुस्कुराउँदै बोलीन्, कस्तो लाग्यो हिजोको सहकारी शिक्षा कार्यक्रम ?

अनु बिस्तारै बोलिन् म त रातभर निदाउन सकिन म्याम !

लौ किन ?

म्याम म के गर्न सक्छु भन्ने बारे सोंचे । केही गर्छु भन्ने अठोट गरे । रित्तो छु । एक्लो छु भनेर आफ्नै परिस्थिति सम्झे र सहाराको रुपमा सहकारी आँखामा आएर नाचिरहयो रात यसै बितिगयो ।

अध्यक्षले नितातर्फ हेर्दै बोलीनः तपाईं यति पुरानो सदस्य अनि साथीलाई आजसम्म किन नल्याई बसेको?

निताले बोलितन् : म्याम हाम्रो भेटघाट कमै हुन्थ्यो । अलि टाढा बस्थी ऊ । अहिले श्रीमान्को मृत्युपछि यता सरेर आएकी । नत्र भेट हुनै मुस्किल । आफ्नै दुःख ठूलो आफ्नै समस्या भारी लाग्ने रहेछ । म पनि आफ्नै दुनियाँमा थिए !
हिजो भेट्दा पो अनुले मनको कुरा खोली ।

सदस्यको लागि निबेदन दिनु भयो । केही गर्छु भन्ने आटेरै आए झै लाग्यो ।
केही योजना छ । कुनै सीप, केही रहर, यो काम गर्न पाए हुने भन्ने केही छ ?
निता : म्याम लुगा सिलाउन जानेकी छु ।
अनु : उनिको धागोबाट बन्ने पोसाक बनाउन सक्छे । मीठो खाना पकाउन आउँछ । मेहनती छे जे गरेपनी खुट्टा टेक्न सक्छे साथ दिने कोही भयो भने, म्याम ।

अध्यक्ष बोलिन : ल यति सिपालु मान्छे खाली बस्नै मिलेन ! आफू उद्यमी बन्ने बिस्तारै अरुलाई रोजगार दिन सक्ने बन्नु पर्छ । तपाईंसँग केही जम्मा पुँजी छ ?
अनु बोलिन् : छैन म्याम जोरजाम गरेर छोरो बिदेश पठाए !

निता बोलित : म्याम मैले लगेको ऋण तिरिसके मसँग केही पैसा छ, जग्गा किन्दा चाहिने हो । यदि उ काम गर्छे भने म सहयोग गर्छु । पछि त सहकारीले पनि ऋण दिन सक्छ हैन र म्याम ?

पैसाको लागि मेहनत गर्ने इमानदार मान्छे रोकिन पर्दैन ! कुन काम गर्ने त्यो एकिन हुन पर्यो ? प्रसङ्ग बदल्दै अध्यक्ष बोलीन तपाईले लगाएको पोसाक कति राम्रो कहाँबाट लिनु भयो अनु बहिनी?
अनु खुसी हुँदै भनी : म्याम पुरानो आमाको सारी थियो त्यसैबाट बनाएकी आफैले । म आफू लगाउने लुगा प्रायः घर मै रहेका सल सारीहरु बाट बनाउँछु ।
तपाईंले यही सीप अघि बढाउनुस् । महिला दिदिबहिनीहरुको घरमा यसरी कम प्रयोग हुने कयौं जोर कपडा आलमारीमा थन्किएको हुन्छन् । त्यसलाई समयानुकूल चलेको पहिरनमा सिउन सके दोहोरो प्रयोग दोहोरो फाईदा ! के छ बिचार ?

अनु केहीबेर मौन रही ! निता बोली के छ बिचार ?

घर मा भएको मेसिन पुरानो छ । इन्टरलक मेसिन छैन । आफ्नो लुगा सिएजस्तो अरुको गर्नु भएन । नयाँ मेसिन र बस्ने ठाउँ भए त गर्न सक्छु जस्तो लाग्छ मलाई ।

निता बोली म मेसिन किनिदिन्छु । कमाएर दिनु मलाई, छोरालेपनी सहयोग गर्ला भोली अनि नपुग सहकारीले हेरिदिन्छ ।

अनुले आँट गरी ! सहकारीको नाम जोडेर सहकारी सिलाई घर सुरु गरि र सानो सटरमा बसी !

सस्थाकी अध्यक्षले पुनः प्रयोग गर्न मिल्ने गरि दराजमा थन्किएको लुगा खोजिन र सिलाईको पहिलो ग्राहक बनेर सहकारी सीलाई घर पुगिन् ।

स्वतन्त्र रुपमा डिजाईन गर, अनेक नापमा र तयार भएपछि बोलाउनु मलाई ।

अनुले मेहनतै गरेर अनेक नापमा लुगा तयार पारी । एउटा साडिको सप्को आर्को लुगामा बाहुलामा प्रयोग गरि कतै फेर, कतै चोली ! एक टुक्रा समेत खेर नफाली सानोदेखि ठूलो सम्मको पोसाक तयार भयो ।
संस्थाकी अध्यक्षलाई फोन गरि

अर्को दिन अध्यक्ष आईन

सबै लुगा हेरिन् । लुगामा प्रयोग भएको म्याचिङ तथा सदुपयोग हेर्दा लाग्यो उस्ले धेरै कुरा गर्न सक्छे । उसको उडान सुरु भयो ।

अध्यक्षले पहिले सिलाएको लुगाफाटोको ज्याला तिरीन र बोलीन् यी सबै लुगाहरु सो गरेर राख बिस्तारै यहि डिजाइनहरु हेरेर सिलाईको चाप बढ्ने छ ।

सबैलाई भन घर मै भएको पुरानो कपडा ल्याउनु नयाँ बनाएर लैजानु । यी लुगाहरु मेरो आलमारीमा थन्केको थियो आज पोसाक बनेर सजियो । कोही खुसीको साथ किन्न चाहे बेच केही रकम सहकारीमा जम्मा गर केही ब्यापारमै थप लगानी गर ।

परिश्रम गर्ने, मेहनती अनुलाई कसैको म छु भन्ने भरोसा चाहिएको थियो । उसकै साथी निता बनी । उसको सीपलाई बजार दिनु थियो सहकारीकी अध्यक्षले सुरुवात गरीदिईन । वित्तीय लगानी सहकारीले गरीदियो ।
पुराना लुगाफाटोको नयाँ प्रयोग खुबै चर्चामा आयो साथ सहकारीको थियो । सहकारीकै सदस्यहरु पहिला ग्राहक बन्न पुगे ।

अनुको मेहनत, साथीको साथ, सहकारीको अध्यक्षले दिएको हौसला र सहकारीको सहयोगमा अनुले एक वर्षमा ५ मेसिन थपिन र ६ जनालाई रोजगार दिईन ।

समयसँगै उनको सहकारी सिलाई घर पुराना कपडामा मात्र सीमित रहेन नयाँ डिजाइन माग हुँदै गयो । सिलाईको कारखाना अलग ठाँउमा सारियो । कामदार थपिए । अनुको सानो सटर अडर लिने अफिस बन्यो । कारखानामा थप कामदार र कालीगड थपिए । उत्पादन भएका पोसाकहरु फुटपाथ तथा साना तिना पसलका आकर्षक बन्दै थिए ।

अनुले हेर्दाहेर्दै बजारमा कब्जा गर्न सफल बन्दै थिए । उसको उत्पादन सस्तो थियो । कम नाफा राखी बढी उत्पादन र बिक्रीमा ध्यान दिन पुगेकी थिई ।

आफुले तालिम लिदै अब तालिम दिन सुरु गरेकी अनु ५ बर्षमा सफल महिला व्यावसायी बन्न पुगी । सहकारी सिलाई घरबाट उत्पादन हुने कपडाहरु बिदेशी मुलुकमा पुग्न थालेका थिए । अनलाईन, फुटपाथ, पसल, शोरुम जस्ता ठाउँमा उसका उत्पादन पुग्न सफल भए ।
बैंकले सस्तो कर्जा दिई सहयोग गर्छु भन्न थाले । संघ संस्था सघाउन आए । विभिन्न संघ/सस्थाले सम्मान गरे, पुरस्कार पनि दिए । अनुको परिश्रम सबैलाई देखाउन लायक सफलताको कथा बन्यो ।
घरमा निराश भएर बसेकी एकल महिला जसलाई सहकारीले उघमी महिला बनायो । परिचित अनुलाई यो बेला भने राज्यले देख्यो र सम्मान गर्ने योजना रहेको सुनायो ।
समयले त्यो दिन ल्यायो नगद पुरस्कार सहित सम्मान पत्र ग्रहण गर्दा अनु भाबुक बनिन् ।

उनलाई सोधियो यो सफलताको पछि कस्को हात छ ?, कति कमाउनु भयो ?, कतिलाई रोजगारी दिनु भयो ?, भावी योजनाहरु के कस्ता छन ?

अनु बिस्तारै बोली : आज मलाई यो सम्मानले देशको ऋणी बनायो । जिम्मेवारी थप गरिदियो ।

नमन गर्दछु जसले मेरो परिश्रम देख्नु भयो । कति कमाए नगदको हिसाब भन्दिन । कमाए मैले खाडिमा पसिना बगाउने छोरा जो अहिले नेपाल फर्की मेरो व्यवसाय सम्हालेको छ । कमाएको छु, म सँग कुम जोडेर काम गर्ने सहकर्मी । कमाए मैले सडक पेटिमा बसेर व्यापार गर्ने देखि दोकान, सोरुम र बिदेशी पसल सम्मको बिश्वास र माया ।

अन्त्यमा बोलिन् अनु आज जे छ, म जहाँ छु केही को हात छ । मेरो साथी निता जसले पहिलो सिलाउने मेसिन दिई ।

सहकारीको तत्कालिन अध्यक्ष सहनशीला नेपाली जसले मलाई म छु भनी भरोसा दिनुभयो र मेसिनमा बाधिएको सियोमा अल्झेको धागो कुदाउने कपडा दिनुभयो ।

म माथी बिश्वास सजाउनु भयो । मेरो सहकारी जसले कहिले वित्तीय अभावबाट काम रोक्न दिएन ।

मेरो सहकारी जसले मलाई बोल्न सिकायो, चल्न सिकायो, धेरैको साथी बनायो । मेरो उत्पादनलाई माया गरी जनसम्पर्कमा ल्याउन सहयोग गर्ने मेरा सबै सहकर्मीहरु प्रती आभार ब्यक्त गर्दछु ।

म आज यहीँ बाट भन्छु म जे छु तपाईहरुको साथले छु । धन्यवाद सहनशील म्याम, साथी निता, मेरो सहकारीका सहकर्मी साथीहरु सबैलाई नमन ।
तपाईहरु हुनुहुन्छ र म छु,
अन्यथा म रित्तो हुँ
मेरो एकल पहिचान छैन
अन्त्यमा केही गर्ने आँट भए अझै पनि साथ दिनेहरुको कमी छैन आउनुहोस् अझै मीठो सहकार्य गरौं । जय सहकारी !

निवर्तमान अध्यक्ष सहनशीला टेलीभिजनमा अनुका कुरा सुन्दै थिईन र उनी खुशी थिएन सहकारी क्षेत्रमा पूरा जीवन यसै फालेको हो र भन्दै मोबाइल हातमा लिईन अनुलाई बधाई दिन । नदिइ बस्न कसरी सक्नु उस्ले पुराना कपडा मात्र हैन टुटेका मन र धमिला आशाहरुमा सियो चलाउँदै बिश्वास सिउँदै नयाँ आयाम जो कोरेकी छ ।

निता अनुकै अगाडि उभिएर खुसीका आँसु तपक्क आफ्नै पछेउरीमा चुहाउँदै मुस्कुराउँदै अनुलाई हेरीरही । कर्म भन्दा ठुलो कुनै धर्म हुँदैन, कर्म भित्र धर्म हुन्छ ।

घरघरमा लुकेर बसेको सिपलाई सहकारीका माध्यमबाट बाहिर ल्याउन सक्छौ यो समाजलाई हजारौं अनुको आवश्यकता छ । आउनुहोस् मिलेर सहकार्य गरौं ।

जय सहकारी !

(लेखक सज्जन महिला साकोस, काठमाडौंका अध्यक्ष हुनुहुन्छ)

अभिलेख

लोकप्रिय