२२ मंसिर २०८०, शुक्रबार

के हुन सक्छ सहकारी समस्या समाधानको संजीवनी बुटी?

२ मंसिर २०८०, शनिबार
के हुन सक्छ सहकारी समस्या समाधानको संजीवनी बुटी?

वर्तमान समयमा समग्र विश्व आर्थिक मन्दीको अवस्थाबाट गुज्रिरहेको छ । यस्तो विषम परिस्थितिबाट छुटकारा पाउनका लागि उपयुक्त नीति र कार्यान्वयन गर्ने उचित कार्यक्रमको आवश्यकता पर्दछ । कोभिड-१९ को महामारीबाट शुरु भएको अर्थतन्त्रको अेारालो यात्रा रुस युक्रेन युद्ध र हाल इजरायल प्यालेस्टाईन युद्धसम्म आईपुग्दा चरमचुलीमा पुगिसकेको छ । अझै कति समय लम्बिने हो यकिन छैन । आर्थिक मन्दीको जालो संसारका सम्पूर्ण क्षेत्रमा फैलिरहँदा नेपालको अर्थतन्त्रको तीन खम्बा मध्येको एउटा खम्बा सहकारी क्षेत्रमा पनि असर परिराखेको छ ।
सर्वसाधारण जनताको नजिकको संस्थाको रुपमा रहने सहकारीमा जनताको अत्याधिक विश्वास हुनु जरुरी छ। जसको लागि सहकारीका नियम कानुनको उचित परिपालन हुनु आवश्यक छ । नियामक निकायले उचित मार्ग प्रदान गरेर सहकारी संघ/संस्थाका तमाम वित्तीय लगायतका सुशासन सम्बन्धी समस्याहरुको ठोस रुपमा निकाशा निस्कने गरि सर्वपक्षीय सहमतीमा कार्ययोजना बनाई लागू गर्नु जरुरी छ ।

सहकारीको समस्या समाधान गर्नका लागि निम्नानुसारका कार्यहरु तत्कालका लागि संजीवनी बुटी बन्न सक्दछन्:
१) सहकारीलाई समुदायमा आधारित क्रियाकलापहरुमा अधिकतम रुपमा परिचालित गर्ने ।
२) नगद संकलनलाई मात्र जोड नदिई शेयर पुँजी लगायतका दीर्घकालिन पुँजीलाई वृद्धि गराउन तिर ध्यान दिने ।
३) एकैजना सदस्यबाट धेरै पुँजी संकलन गर्नुभन्दा धेरैजना सदस्यहरुबाट थोरै थोरै पुँजी संकलन गर्नु उपयुक्त हुन्छ ।
४) अनिवार्य रुपमा प्रत्येक महिनाको वित्तीय विश्लेषण गरि त्रुटि देखिएको पाटोमा सुधार गर्दै लैजाने ।
५) सहकारीको माध्यमबाट समाज रुपान्तरणमा  देखिएका सकारात्मक अभ्यासहरुको प्रचारप्रसार अधिक रुपमा गर्ने ।
६) सहकारी ऐनमा व्यवस्था भए बमोजिम कर्जा सूचना केन्द्र र कर्जा असूली न्यायाधिकरण तत्काल गठन गरि कार्य अगाडी बढाउने ।
७) ऋण लगानी गर्दा सहकारी ऐन र नियमावलीमा व्यवस्था भए बमोजिम र संघ/संस्थाको विनियमसँग मेल खाने गरि प्रचलित प्रक्रिया पुरा गराएर मात्र गर्ने ।
८) लगानी भएको ऋणको उपयोगीता परीक्षण अनिवार्य रुपमा गर्ने ।
९) नियामक निकायले सहकारीमा सुशासन कायम गराउनका लागि अनुगमन र निरीक्षण निरन्तर रुपमा गर्ने ।
१०) सहकारी एकीकरण अभियानलाई बढावा दिई वर्तमानको सहकारी संख्यालाई घटाउने ।
११) सहकारीको ब्याजदर निर्धारण बजारको माग र आपूर्ती बमोजिम संघ/संस्था स्वयमले निर्धारण गर्ने गरि व्यवस्था मिलाउने ।
१२) सहकारीका सदस्यहरुमा नयाँ जागरण ल्याउनका लागि सहकारी शिक्षा तथा अभिमुखीकरण कार्यक्रम निरन्तर रुपमा गर्दै जाने ।
१३) सहकारी स्तरीकरण कार्यक्रममा अधिकतम सहकारीहरुलाई जोड्दै जाने ।

माथि प्रस्तुत गरिएका सुझाव बमोजिम सहकारी संघ/संस्थाहरु सञ्चालन गर्ने हो भने पक्कै पनि यसले सहकारीमा देखिएका अधिकतम समस्याहरु समाधान हुने छन् ।

सहकारीलाई वर्तमान समस्याबाट छुटकारा गराउनका लागि सहकारीका सञ्चालकहरु र सदस्यहरु नै बढी क्रियाशील हुनुपर्दछ। विगतका गलत नीति र निर्णयको कारणले गर्दा देखिएका समस्याको समाधानका लागि तिनै निर्णयकर्तालाई जिम्मेवार ठान्दै कानुन बमोजिमको उपचार गरिनुपर्दछ। सहकारीलाई निजी व्यवसाय जसरी सीमित व्यक्तिको कब्जामा राखी गरिएका मनोमानी क्रियाकलापहरु अब सह्य हुने छैन। सदस्यहरुको रकम अपचलन गरि गरिएका जग्गा प्लटिङ, स्थापना गरिएका दर्जनौ नीजी कम्पनी अक्षरश: अब सदस्यहरुको साझा सम्पत्ति बन्नुर्नेछ। केही सहकारीका सञ्चालकहरुको सिन्डिकेट अब सदस्यहरुले तोडेर सहकार्यको जालो फैलाउनुपर्नेछ ।

सरकारको तर्फबाट नेपालको संविधानमा नै व्यवस्था भएको सार्वजनिक, निजी र सहकारी तीन खम्बे अर्थतन्त्र मध्येको एक सहकारी क्षेत्रलाई मजबुत र चलायमान गराउनका लागि अन्य क्षेत्रलाई जस्तै गरि उचित कदम चाल्नु अती आवश्यक र जरुरी भैसकेको छ। नियामक निकायले संस्था दर्ता गरेर मात्र दायित्व पूरा नहुने भएकाले सहकारीको प्रवर्धन र विकासमा समेत ध्यान दिनु जरुरी छ। अबको समय सहकारी क्षेत्रको उत्थानको लागि कार्य गर्नुपर्ने भएकोले नियामक र सहकारी अभियानले साझा कार्यक्रम तर्जुमा गरि आम सदस्यहरुको मन जित्ने खालको गतिविधि सञ्चालन गर्नु आवश्यक छ । सदस्यहरुलाई सहकारी क्षेत्र सुरक्षित रहेको र पुरानै लयमा पुग्ने  सन्देश प्रवाह गर्नुपर्ने अवस्था छ ।

अत: सहकारी क्षेत्रको समस्या समाधानका लागि सहकारीका प्रचलित कानुनको अक्षरश: पालना गर्नु पर्दछ । सहकारीलाई समुदाय केन्द्रीत बनाएर सदस्यहरुको दैनिक जनजिवनमा सहजता ल्याउनका लागि सहकारीको भूमिका केन्द्रीत गराउनुपर्दछ। नियामक निकायले निरन्तर रुपमा सहकारीको नियमन गर्दै सुधारको लागि मार्ग प्रदान गर्नु आवश्यक छ। सहकारी अभियान र सरकारको सहकार्यमा सहकारी केन्द्रीत सकारात्मक सन्देश प्रवाह गर्नु  वर्तमान सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि उचित कदम हुन सक्दछ ।
(लेखक बागमती प्रदेश सहकारी संघका व्यवस्थापक हुन्)

अभिलेख

लोकप्रिय